सुन्ने सीप

हेर्नु, बोल्नु, सुन्नु— यी सबै स्वाभाविक क्रिया हुन् । हेर्ने काम आँखाले स्वतः गर्छन्, तर आँखालाई कुनै वस्तुमा केन्द्रित गर्न बच्चाले बिस्तारै सिक्तै जान्छ । आँखा र हातको समायोजन भने उसले अभ्यासबाट सिक्छ । हाम्रो शिक्षण–प्रणालीमा सामान्यतः सबैभन्दा बढी ध्यान हेर्नमै दिइन्छ । पढ्नु र लेख्नु स्कूली शिक्षामा सबैभन्दा उच्च हैसियतका गतिविधि हुन्, त्यसैले भाषाको पाठ्यक्रमले यिनै कुरामा बढी जोड दिन्छ ।

बोल्नु र सुन्नु पनि भाषाका काम हुन्, तर यिनको शिक्षा अधूरो रहन पुग्छ र यसलाई उपेक्षा पनि गरिन्छ । ‘बोलाइ’ एकदम छिट्टै स्कूलमा शिक्षकको घेराबन्दीमा पर्छ । शिक्षकहरूलाई लाग्छ, केटाकेटीको उच्चारण शुद्ध हुनुपर्छ र तिनले ज्यादा बोल्नुहुँदैन । बोलाइलाई नैतिकताको दृष्टिले हेर्न उनीहरू अभ्यस्त हुन्छन्, त्यसैले आफ्नो ध्यान केटाकेटीले ‘नराम्रो’ अथवा फाल्तु कुरा नगरुन् भन्नेमा केन्द्रित गर्छन् । अधिकतर शिक्षकको मान्यता त के पनि हुन्छ भने, केटाकेटीलाई चूप लगाउनु सबैभन्दा जरूरी कुरा हो, नत्र तिनले केही सिक्न सक्तैनन् ।

‘सुनाइ’ का बारेमा शिक्षकहरूका धारणा अझ् अचम्मका छन् । तिनलाई लाग्छ— जसले शिक्षकको कुरा ध्यानपूर्वक सुन्दैनन् अथवा शिक्षकले बारम्बार भन्दा पनि टेर्दैनन्, उनीहरू स्वभावतः उद्दण्ड र अनुशासनहीन हुन् । शिक्षकले ठान्छन्— मैले आफ्नो इच्छा स्पष्ट रूपमा बताइदिंदा पनि विद्यार्थीले मेरो कुरा सुन्दैन भने उसले मेरो भनाइलाई बेवास्ता गरेको हो । यसको अर्थ मलाई बेवास्ता गरेको हो । यसरी, सुनाइ एउटा स्वाभाविक प्रक्रियाको सट्टा नैतिकताको मापदण्ड बन्न पुग्छ । यसको एउटा कारण के पनि हुन सक्छ भने, सुन्नका निम्ति कान खोल्नुपर्दैन, ती सधैं खुलै हुन्छन् । विद्यार्थीले अरूतिर हेरेको छ अथवा आँखा चिम्लेको छ भने शिक्षकले उसलाई हप्काउँछ र ब्ल्याकबोर्डतिर हेर्न आदेश दिन्छ । तर कान त सधैं खुलै हुन्छन् र तिनलाई छुट्टै कुनै दिशातिर मोड्न नसकिने हुँदा ‘कान ब्ल्याकबोर्डतिर फर्काऊ’ भन्न पनि सम्भव हुँदैन । शिक्षकले के ठानेको हुन्छ भने विद्यार्थीका कानले आफ्नो काम निरन्तर गरिरहेका छन् । यसैले ऊ कान र ध्यानबीचको सम्बन्ध बुझ्रिहेको हुँदैन । ‘सुनाइ सीप’ को मुख्य आशय भने यही सम्बन्ध हो । सुनाइका सन्दर्भमा भाषा–शिक्षाको अर्थ हो— यो सम्बन्धलाई विकसित गर्नु ।

तीन प्रक्रिया
सुनाइको सीपको एउटा पक्ष आफू वरिपरिको भौतिक जगतमा विद्यमान ध्वनिहरू चिन्नु हो भने अर्को पक्ष आफ्नो सामाजिक जगतमा प्रवेश पाउनु, त्यसबाट परिचित हुनु र त्यसमा सक्रिय सहभागी बन्नु हो । भौतिक जगत वा प्रकृतिका आवाज सुन्ने सीप विकसित गर्न अपेक्षाकृत सरल छ; तिनमा ध्यान केन्द्रित गर्न थाल्नासाथ तिनको तह र विविधता छुट्टिन थालिहाल्छ । तर सामाजिक जगतमा सुनाइको सीप विकसित गर्न त्यति सरल हुँदैन । यसमा अनेक जटिलता हुन्छन् । एउटा जटिलता त के हो भने, सामाजिक जगतमा सुनाइ भनेकै प्रायः ‘बोल्ने’ भूमिका अथवा तयारीका रूपमा हुन्छ । हामी कसैसँग कुराकानी गर्दा उसका कुरा सुन्छौं, अनि केही भन्छौं । एकतर्फी रूपमा कसैको प्रवचन सुनिरहँदा पनि त्यसप्रतिको प्रतिक्रिया अथवा आफ्नो शैलीमा पछि त्यो कुरा अभिव्यक्त गर्ने प्रक्रिया मानसिक तहमा निरन्तर चलिरहेको हुन्छ । अर्थात्, सुनाइको बोलाइसँग अन्योन्याश्रित सम्बन्ध हुन्छ र यस क्रममा भाषाको क्षमताले निरन्तर काम गरिरहेको हुन्छ ।

मसीनो गरी हेर्ने हो भने सुनाइ–सीप अन्तर्गत कम्तीमा तीनवटा प्रक्रिया स्पष्ट पहिचान गर्न सकिन्छः
१. क्रमको ध्यान— अर्थात् कुरा अघि बढ्दै जाँदा पहिले भनिएका कुरा नबिर्सीकन तिनलाई मनमा सिलसिलाबद्ध रूपमा मिलाउँदै जानु ।
२. अर्थको रचना— अर्थात् कुरामा प्रयोग गरिएका शब्दहरूलाई मनमनै रूप र भावमा अनूदित गर्दै जानु ।
३. संयम— अर्थात् बीचमा अर्काको कुरा काटेर आफ्नो कुरा भन्ने लोभ नियन्त्रण गर्नु ।

बुझदै सुन्नु
सुनाइका सन्दर्भमा ‘ध्यान दिनु’ को आशय यिनै तीन प्रक्रियासँग सम्बन्धित छ । ध्यानपूर्वक सुन्नु एउटा सम्पूर्ण सीप हो, जसमा सुनिरहिएका कुराको क्रमको बोध, अर्थको संयोजन र संयमको विकासले एकसाथ काम गर्छन् । यी तीनवटै क्रिया सामाजिक छन्, अर्थात् यिनका माध्यमबाट हामी अरूसँग सम्बन्ध निर्माण गर्छौं । यसको तात्पर्य के पनि हो भने, सुनाइको क्रिया समाजको जीवनमा व्याप्त नियम अन्तर्गत संचालित हुन्छ । यो कुरा सुँघाइमा लागू हुँदैन र हेराइमा पनि सीमित अर्थमा मात्र लागू हुन्छ ।

सुँघ्नु यस्तो क्रिया हो, जसलाई सामाजिक नियमहरूद्वारा नियन्त्रित गर्न सकिंदैन । हावामा कुनै सुगन्ध अथवा दुर्गन्ध फैलिएको छ भने त्यसलाई पहिले वयस्कहरूले महसूस गरून् र त्यसपछि मात्र केटाकेटीको पालो आओस् भन्ने नियम बनाउन सकिंदैन । हेराइको स्थिति केही फरक छ । वयस्कहरूले चाहेमा केटाकेटीलाई कुनै चीज हेर्न रोक लगाउन सक्छन् । तर, सामान्यतः हेर्ने स्वतन्त्रता खोस्न सकिंदैन । आँखा चिम्म गरेर बस भन्ने आदेश कसरी दिने ?

सुनाइमा चाहिं सामाजिक दबाव निकै बढी हुन्छ । एउटा केटाकेटीले अर्को केटाकेटीको कुरा काटेर बीचैमा बोल्न पाउँछ, तर वयस्कको कुरा चूपचाप पूरै सुन्नुपर्छ भन्ने अपेक्षा गरिन्छ । उनीहरूमाथि वयस्कहरूको कुरा सुन्ने र त्यसलाई तत्काल व्यवहारमा उतार्ने दबाव हुन्छ । यस्तो दबाव कहिलेकाहीं ज्यादै उग्र तवरमा (जस्तै हप्काएर वा चर्को स्वरमा बोलेर) कायम गरिन्छ ।

त्यसवेला केटाकेटीका कानले यान्त्रिक रूपमा मात्र सुनिरहेका हुन्छन्, दिमागले केही सुनेको हुँदैन । कान र दिमाग बीचको यो सम्बन्ध वस्तुतः सबै इन्द्रियहरूमा लागू हुन्छ— फरक फरक ढंगले । र, केटाकेटीले प्रश्न गर्ने कि नगर्ने, जवाफ फर्काउने कि नफर्काउने भन्नेबारे पनि वयस्क–निर्मित सामाजिक नियम लागू भएका हुन्छन् ।

यहाँनेर के पनि बुझनु जरूरी छ भने, सुनाइमा समय खर्च हुन्छ । ठीक त्यसैगरी, जसरी पढाइमा ‘ठाउँ’ खर्च हुन्छ । पढ्ने क्रममा हाम्रा आँखा कागतको एउटा कुनाबाट अर्को कुनासम्म दौडिरहेका हुन्छन् । सुन्ने क्रममा हाम्रो ध्यान बोल्ने मानिसका कुरा सँगसँगै अघि बढिरहेको हुन्छ । यसरी अघि बढ्दा कुराका पछिल्ला अंश हराउँदै, विस्मृत हुँदै जान्छन् । तिनलाई ध्यान अर्थात् तात्कालिक स्मृतिमा कायम राखेर मात्र समग्र कुरा बुझन सकिन्छ । म २० वर्ष माथिका युवाहरूलाई पढाउने गर्छु । यस क्रममा प्रायः के महसूस गर्छु भने उनीहरू मेरा कुरा अवश्य सुनिरहेका हुन्छन्, तर कुरा अघि बढ्दा त्यसको पछिल्लो अंश प्रायः बिर्सिसकेका हुन्छन् । तिनले कि त मेरो कुराको अन्तिम अंश अथवा शब्द पक्रिन्छन्, कि पूरै कुरा फेरि भन्न आग्रह गर्छन् । प्रायशः उनीहरू ध्यानसँग सुन्नुको सट्टा मेरो कुरा जस्ताको तस्तै नोटबूकमा लेख्ने प्रयास गर्छन् । बुझदै सुन्नु बेग्लै कुरा हो र यसका लागि सुनाइको सीप विकसित गर्नु जरूरी हुन्छ ।

कथा सुन्नु
यस सन्दर्भमा कथा सुनाउने गतिविधिको विशेष महŒव छ । कथा सुन्दा माथि भनिएका तीनवटै प्रक्रिया सक्रिय हुन्छन् ।

श्रोतालाई क्रमको अटूट बोध भइरहन्छ, उसले शब्दहरूलाई रूप र भावसँग जोडेर निरन्तर अर्थ निर्माण गरिरहेको हुन्छ अनि बीचमा स्वयं बोल्ने इच्छा माथि नियन्त्रण कायम गरेको हुन्छ । केटाकेटीको मानसिक स्तर अनुरूप कथा चुनिएको छ र त्यो आफैंमा रोचक तथा चुस्त छ भने त्यसले उनीहरूको ध्यान अवश्य आकर्षित गर्छ । कथा नसकिउन्जेल उनीहरूको ध्यान त्यसैमा केन्द्रित हुन्छ ।

 

राम्रो कथामा अब के होला भन्ने उत्सुकता जगाइराख्ने सामथ्र्य हुन्छ । यो सामथ्र्य प्रायः पात्र, स्थान र परिस्थितिहरूको वर्णनमा निर्भर हुन्छ । तिनको सटीक वर्णनले केटाकेटीको मनमा पात्रको रूप तथा स्थान र परिस्थितिको चित्र अनायास निर्माण हुँदै जान्छ । राम्रा–नराम्रा हरेक पात्रको मनमा पैदा हुने भावसँग उनीहरू जोडिन पुग्छन् । यस क्रममा उनीहरूमा विभिन्न भाव स्वतः पैदा हुँदै जान्छन् जसले कथामा निहित घटनाक्रममा रुचि पैदा गरिदिन्छन् ।

प्रत्येक कथा एउटा प्रस्तुति हो, जसका माध्यम हुन्छन्— शब्द । तिनैले बोधको ढोका खोल्छन् । शब्दको अर्थ, त्यसको गहिराइ र व्यापकतासँग थप परिचित हुँदै जान कथाले गहन भूमिका खेल्छ । केटाकेटीलाई सुनाउन लायक कथामा एउटा पात्र तिनको प्रतिनिधि हुन्छ, अर्थात् उनीहरू ऊसँग जोडिन सक्छन् । त्यस मार्फत उनीहरू त्यो तनावमा प्रवेश गर्छन् जसलाई कथाले पहिले निर्माण गर्छ र पछि शान्त पार्छ । तनावबाट गुज्रिन र त्यो सुल्झ्एिको आनन्द लिन कथा ध्यानपूर्वक सुनेर मात्र सम्भव हुन्छ ।

शिक्षाका विविध पक्षमा निरन्तर चिन्तन र लेखनमा संलग्न कृष्ण कुमार दिल्ली विश्वविद्यालयमा शिक्षाशास्त्रका प्रोफेसर हुन् ।
‘शैक्षणिक सन्दर्भ’ (अंक–१०६) बाट साभार ।

अनुवाद÷सम्पादन ः शरच्चन्द्र वस्ती

commercial commercial commercial commercial