चन्दननाथको नवीन प्रयोग कक्षामै पीङ !

साना नानीहरूलाई रमाई–रमाई स्कूल आउने वातावरण बनाउन जुम्ला सदरमुकाम खलंगामा रहेको चन्दननाथ माविले शुरू गरेको नयाँ प्रयोग अन्य स्कूलका लागि उपयोगी हुनसक्छ । - (रिपोर्ट बाल विकास कक्षा)

बालबालिकाले मन पराउने खेलौना सामग्रीहरू, विभिन्न जनावरका चित्र,गुडिया आदि । प्रायः स्कूलका प्रारम्भिक बाल विकास कक्षामा स–साना नानीहरूका लागि राखिने खेलौना यी र यस्तै हुन्छन् । तर जुम्ला जिल्लाको सदरमुकाम खलंगा बजारको बीच भागमा रहेको चन्दननाथ माविको बाल विकास कक्षामा भने यस्ता खेलौनासँगै एउटा कुनापट्टि दलिनमा डोरीको पीङ झुण्डिएको छ । तीन वर्ष भयो यो पीङ झुण्ड्याइएको । पीङ खेल्दा उनीहरूमा शारीरिक र मान सिक व्यायाम हुन्छ । यति मात्र होइन, यो खेल खेल्दा बच्चाहरूबीच आपसी सहयोगीको भावना समेत विकास हुने गरेको छ । हुन पनि शिक्षक वा अरू साथीको सहयोग नभई डोरीमा दुईहातले समातेर आफैं अघि बढ्न बच्चाहरू सक्दैनन् । त्यसैले हरेक बच्चालाई यो खेल खेल्न अरूको मद्दत नभई हुँदैन । उनीहरू आफ्नो पालो पर्खेर पीङ खेल्ने गर्छन् ।

सधैंगुडिया मात्रै खेलाउन दिंदा बच्चाहरू सन्तुष्ट नहुने भएको ले थप मनोरञ्जन होस् भनेर कक्षाभित्रै पीङ खेल्ने व्यवस्था मिलाइएको बताउँछिन् बाल विकास शिक्षक पार्वती श्रेष्ठ । बाबुआमाको काख छाडेर स्कूल आएका बच्चालाई एक्लो महसूस हुन नदिई यस्ता खेलौनाले मनोरञ्जन दिने गरेको श्रेष्ठको अनुभव छ । आपसमा झ्गडा गरेर रोएका बच्चालाई पीङमा राखेर डोरी हल्लाइदिएपछि उनीहरू खुशी हुने गरेको बताउँछिन् शिक्षक श्रेष्ठ

स्वास्थ्य चासो

चन्दननाथको बाल कक्षामा तीन वर्ष माथिका २० जना बालबालिका भर्ना भएका छन् । शिक्षक पार्वतीको भनाइमा तीमध्ये १५ जना नियमित स्कूल आउने गर्छन् । बच्चाहरूलाई जाडोबाट जोगाउनका लागि स्कूलले उनीहरू पढ्ने कोठामा कार्पेट बिछ्याउने व्यवस्था मिलाएको छ । साना विद्यार्थी अनुशासित पनि छन् । आफू बसेर पढ्ने कार्पेट सफा राख्न उनीहरू सधैं जुत्ता खोलेर मात्र कक्षामा पस्छन् । ढोका छेउमै राखिएको रयाकमा जुत्ता थन्क्याउँछन्, उनीहरू ।

विद्यार्थीको स्वास्थ्यलाई ख्याल गरेर स्कूलले जंक फूड भित्रिन रोक लगाएको छ । चार वर्षअघि यस्तो नियम बसाएपछि माथिल्लो कक्षाका विद्यार्थी प्रायः घरबाटै खाजा ल्याउने गर्छन् । घरबाट ल्याउने खाजामा मकै, भटमास तथा कोदो र फापरको रोटी जस्ता परिकार हुन्छन् । विद्यालयका प्रधानाध्यापक टंक महतका अनुसार यसले एकातिर विद्यार्थीको स्वास्थ्य बिग्रनबाट जोगाएको छ भने अर्कातिर रैथाने बालीको प्रवद्र्धनमा समेत मद्दत मिलेको छ । यति मात्र होइन, कमजोर आर्थिक अवस्थाका अभिभावकलाई राहत समेत मिलेको उनको बुझइ छ

माथिल्लो कक्षाका विद्यार्थीले घरबाटै खाजा ल्याए पनि स–साना नानीहरूलाई भने स्कूलले नै दिउँसोको खाजा खुवाउने व्यवस्था मिलाएको छ । स्कूलले उनीहरूलाई चना, अण्डा, हलुवा, खिर, पुरी, तरकारी, समसा, भटमास लगायत पालैपालो खाजा दिने गरेको छ ।

स्कूलले पढाइ र खानपिनका साथै विद्यार्थीको स्वास्थ्यप्रति पनि उत्तिकै चासो दिंदै आएको छ । खास गरी साना नानीहरूलाई बिहान स्कूल आउँदा कसैले मुख नधोई आएको छ भने शिक्षकले धारामा लगेर मुख धोइदिने गर्छन् । आफ्नो सानो छोरालाई यही बाल विकास केन्द्रमा पढाएकी शिक्षक पार्वती भन्छिन्, “सबै बच्चा आफ्नै सन्तान ठानेर उनीहरूलाई सफासुग्घर बन्न सिकाउँछौं ।” यति मात्र होइन, कुनै दिन अभिभावकहरू बिहानै काममा गएका बेला कतिपय बच्चा कुनै दिन खाना नखाई स्कूल आउने गर्छन् । त्यसैले साना नानीहरू कक्षामा आउनासाथ शिक्षकले बिहान खाना खाए/नखाएको सोध्ने चलन छ । खाना नखाई आएका नानीहरूलाई स्कूलको क्यान्टिनमा लगेर खाना खुवाउने गरिएको श्रेष्ठले बताइन् । भोको पेटले पढ्न मात्र होइन, खेल्न पनि नसक्ने भएको ले स्कूल आउनासाथ खाना खाए/नखाएको सोध्ने गरिएको उनको भनाइ छ । खाना खुवाइसकेपछि बच्चाहरूमा बोल्ने बानीको विकास गराउन आफ्नो नाम, बाबुआमाको नाम, स्कूलको नाम भन्न लगाइन्छ । यसो गर्दा बोल्ने बानीको विकास हुनुका साथै उनीहरूलाई स्कूल जाऊँ जाऊँ लाग्ने हुन्छ ।

फकाउने काइदा

जेठ १० गते चन्दननाथ माविको बाल विकास कक्षामा पुग्दा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर रोकाय खल्तीबाट चकलेट निकालेर स–साना नानीहरूलाई बाँड्दै थिए । रोकायको खल्तीभरि चकलेट थियो । साथमै रहेका प्रअ टंकबहादुर महतले भने “साना कक्षामा पढाउने प्रायः सबै शिक्षकका खल्तीमा चकलेट हुन्छ ।” कतिपय शिक्षकले आफ्नै पैसामा चकलेट ल्याएर बाँड्छन् भने कतिपयलाई विद्यालयले नै चकलेट किन्ने पैसा दिने गरेको प्रअ महतले बताए

अभिभावकले स्कूलगेटमा पुर्याएर छाडेपछि शुरूका दिनमा अधिकांश बच्चाहरू रुने गर्द छन् । त्यति मात्र होइन, कुनैबेला आपसमा झ्गडा हुँदा पनि बच्चाहरू रुने, कराउने गर्द छन् । त्यस्तो बेला उनीहरूलाई खुशी बनाउनका लागि आफूहरूले चकलेट दिने गरेको बताउँछिन् बाल विकास शिक्षक  श्रेष्ठ । उनको भनाइमा बच्चाहरूलाई शुरूका दिनमा स्कूल आउने बानी बसाउन यसै गरी चकलेट बाँड्ने गरिएको छ । श्रेष्ठ भन्छिन्, “उनीहरूलाई फकाउन दुई साताभन्दा बढी समय लाग्छ ।” स्कूलमा आएर रुन छाडेपछि बल्ल उनीहरू घुलमिल हुने गरेको शिक्षक श्रेष्ठले जानकारीगराइन् ।  भर्खर स्कूल भर्ना भएका बच्चालाई स्कूलले पढाउनतिर ध्यान दिंदैन । यो उमेर समूहका बच्चालाई पढाउने भन्दा पनि कक्षामा पढ्न आऊँआऊँ लाग्ने बनाउनु बाल विकास कक्षाको मुख्य उद्देश्य हो । शिक्षक पार्वती भन्छिन्, “रमाई–रमाई स्कूल आउने वातावरण बनाउन सकियो भने त्यसपछि खेल्दै पढ्न उनीहरू आफैं अग्रसर हुन्छन् ।” आपसमा मिलेर खेल्न सक्ने भएपछि बल्ल उनीहरूलाई क, ख सिकाउने गरिएको उनले बताइन् । शिक्षक श्रेष्ठका अनुसार सबै बच्चालाई क, ख सिकाउन महीना दिनभन्दा बढी लाग्छ । विगत ११ वर्ष देखि बाल कक्षामा पढाउँदै आएकी थापाले आफ्नो बच्चा पनि यही कक्षामा भर्ना गराए की थिइन् ।

बाल कक्षामा अहिले भएका खेलौना पर्याप्त नभएको उनको गुनासो छ । “साना नानीहरूलाई भरपूर मनोरञ्जन दिनका लागि हामीसँग पर्याप्त खेलौना छैन” शिक्षक पार्वतीले भनिन्, “मनोञ्जन नपुगेर हो कि बच्चाहरू रुने गरेका छन् ।” एकै पटक धेरै खेलौना किन्न पर्याप्त बजेट नभएको स्वीकार्दै प्रअ महतले भने “तर पनि हामीले हरेक वर्ष बाल विकास कक्षामा खेल सामग्री भने थप्दै आएका छौं ।”

(शान्ति शिक्षा अभियान नेपाल, आभिओन्टे हो प फाउण्ड े सन नेपाल र शिक्षक मासिकको सहकार्य  )

 

commercial commercial commercial commercial