आन्तरिक प्रतिस्पर्धा असारमा

खुलाको असोजमा गर्ने तयारी

२०७४ सालमा चार पटकसम्म स्थगित गरिएको अस्थायी शिक्षक परीक्षा शिक्षा ऐन नवौं संशोधन अनुसार असारभित्र गर्ने शिक्षक सेवा आयोगको तयारी छ ।

पटक–पटक परीक्षा स्थगित भएका कारण आलोचना भइरहेका बेला शिक्षक सेवा आयोग यो वर्ष पाँच वटा परीक्षा गर्ने तयारीमा जुटेको छ । जस अनुसार २०७५ सालभित्र दुईवटा खुला परीक्षा लिइनेछ । यसै गरी अस्थायी शिक्षक, शिक्षण अनुमतिपत्र र बढुवाको परीक्षा लिइनेछ । आन्तरिक प्रतिस्पर्धाको परीक्षा मिति र खुला प्रतिस्पर्धाको विज्ञापन छिट्टै प्रकाशित गरी रिक्त दरबन्दीमा स्थायी शिक्षक नियुक्ति प्रक्रिया अघि बढाउने गरी आयोगले तयारी गरिरहेको बताइएको छ । आन्तरिक प्रतिस्पर्धाको मिति तोकिएको एक महीनाभित्र परीक्षा लिइने आयोगका अध्यक्ष तानागौतमले जानकारी दिए । असार मसान्तभित्र आन्तरिक परीक्षा लिइसक्ने आयोगको तयारी छ । यसै गरी दुईवटा खुला प्रतिस्पर्धामध्ये पहिलो असोज र दोस्रो पुस–माघतिर गर्ने गरी आयोगले गृह कार्य अघि बढाएको छ ।

आयोगका प्रवक्ता दामोदर आचार्यका अनुसार आयोगले प्रकाशित गरेको पहिलो , दोस्रो र तेस्रो विज्ञापनमा आवश्यक संख्यामा दरखास्त परेको छैन । यसो हुँदा ती तीनवटै पदमा रिक्त दरबन्दी खुलामा ल्याइएको छ । जस अनुसार २०४८ अघिको विज्ञापन नम्बर–१ (वि.नं.) २०४८ देखि २०६१ सम्मको वि.नं. २ र २०६१ देखि २०७२ सम्मको वि.नं. ३, वि.नं. ३ को २५ प्रतिशत र २०७२ देखि २०७४ फागुनसम्मको शतप्रतिशत खुलामा प्रतिस्पर्धागराइनेछ । जस अनुसार १२ हजार ७५२ दरबन्दी खुलामा आएको छ । खुला प्रतिस्पर्धाका लागि आन्तरिकबाट बचत भएको ३ हजार २६ दरबन्दी, २५ प्रतिशत खुलाबाट आएको २ हजार ६६७ तथा २०७२ पछि रिक्त ७ हजार ५९ दरबन्दी रहेको छ (हे . तालिका) । यसबाहेक आन्तरिक प्रतिस्पर्धामा फेल हुनेको दरबन्दी खुलामा ल्याउने आयोगको तयारी छ । त्यसपछि खुलाको दोस्रो परीक्षा पुस– माघतिर गर्ने बताइएको छ ।

आन्तरिक प्रतिस्पर्धामा उमेर हद तोकिएको छैन भने खुला प्रतिस्पर्धा गर्ने का लागि उमेर हद र शैक्षिक योग्यता तोकिएको छ । जस अनुसार त्यस्ता उम्मेदवार ४० वर्ष ननाघेको, अध्यापन अनुमतिपत्र भएको र प्राविको हकमा कम्तीमा दश जोड दुई उत्तीर्ण गरेको हुनुपर्नेछ । आयोगका प्रवक्ता दामोदर आचार्यका अनुसार तर राहत शिक्षकको हकमा अध्यापन र शैक्षिक योग्यता अनिवार्य भए पनि एक पटकका लागि उमेर हद लागू हुने छैन । आन्तरिक र खुलाका दुवै परीक्षामा ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोधिनेछ ।

आयोगको तयारी अनुसार परीक्षा भएमा लामो समय देखि विद्यालय शिक्षामा लामो समय देखि व्याप्त अस्थायी शिक्षक समस्या हल हुनेछ । यसका साथै खुला प्रतिस्पर्धाबाट योग्य र सक्षम जनशक्ति विद्यालयमा भित्रिनेछ । जसले अन्ततः गुणस्तरीय शिक्षामा टेवा पुग्नेछ ।

commercial commercial commercial commercial