शिक्षामा एउटा सुन्दर अवसर गुम्दै !

केही दिन मात्र हुन्छ कि भनेर अनुमान गरिएको लकडाउन महीनौं लम्बिएपछि मानिसहरूमा उकुसमुकुसको अनुभूति हुन्छ । त्यो उकुसमुकुस अन्य क्षेत्र झैं शिक्षामा पनि देखिन्छ । यसैलाई मध्यनजर गरी संघीय सरकारले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका जारी गर्छ । सो निर्देशिकाले २०७७ असार १ गतेदेखि विद्यार्थी भर्ना लगायत सम्भव छ भने अनलाइनबाट र अरू विकल्प नभए सानो समूह बनाई गाउँटोलमा शिक्षक र स्वयंसेवक मार्फत शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सकिने व्यवस्था गर्छ । यसका लागि प्रमुख भूमिका स्थानीय तह र विद्यालयको हुने कुरा पनि निर्देशिकामा उल्लेख गरिन्छ । निर्देशिकाले गरेको व्यवस्थालाई आत्मसात् गर्दै लामो समय घरमा बसी उकुसमुकुसको अनुभूति गरेका केही विद्यालयले सहजीकरणका अन्य विकल्पको पहुँच नभएका विद्यार्थीका निम्ति विद्यालयमै कोरोना विरुद्धका सकेसम्मका सबै उपायको अवलम्बन गर्दै सानो समूह बनाई विद्यार्थीसँगको भेटघाट, भलाकुसारी र शिक्षण सिकाइ क्रियाकलापको आरम्भ गर्छन् । नतिजा भने अनुमान गरेभन्दा फरक आउँछ । यस्तो नतिजाको बारेमा यो पङ्तिकारले समेत अनुमान गर्न सकेको थिएन ।

एकजना शिक्षकले फेसबूकमा लेखेको देखें । ‘कुनै पनि विद्यालयले आफ्नो छवि सुधार्ने बहानामा अर्काका छोराछोरीमाथि खेलबाड गरेर पढाए झैं गरेको भए कारबाही अघि बढाउनुपर्छ ।’ विद्यालय पुग्दा विद्यालय सुनसान देखेर अर्को एकजना शिक्षकबाट एउटा मुक्तक फेसबूकमा पोष्ट गरिन्छ— ‘जहाँ सरस्वती बसेकी छिन् अनि ज्ञान बसेको छ, आज त्यहाँ न कसैको चासो न त ध्यान बसेको छ, देशका सपूत अनि योद्धा जन्माउने ठाउँ नै अहिले छटपटीमा हेर एक्लै कसरी सुनसान बसेको छ ।’ शिक्षकबाटै आएका प्रतिक्रिया यस्ता हुन्छन्— ‘कोरोना बम जस्तै हो खेलबाड नगर, बैंस कलिलै छ कुल्चेर नमार ।’ त्यस्तै अर्को प्रतिक्रिया यस्तो रहेको छ– ‘अनिकालमा बीउ जोगाउनु, महामारीमा जीउ जोगाउनु, जीवन रहे संसार देखिन्छ’ यस्तै यस्तै । फेसबूकमा यस्ता कुराहरू पोष्ट गर्नु अगावै केही जिल्ला प्रशासन कार्यालय र केही स्थानीय तहहरूले समेत जारी गरेका ‘विद्यालय नखोल्नु, खोलेमा कारबाही भइजाने व्यहोरा अनुरोध छ’ भन्ने आशयका निर्देशनहरू सामाजिक सञ्जालहरूमा छरपष्ट भइसकेका थिए ।


अन्य विकल्पको पहुँच नभएका विद्यार्थीका निम्ति विद्यालयमै कोरोना विरुद्धका सकेसम्मका सबै उपायको अवलम्बन गर्दै सानो समूह बनाई विद्यार्थीसँगको भेटघाट, भलाकुसारी र शिक्षण सिकाइ क्रियाकलापको आरम्भ गर्छन् । नतिजा भने अनुमान गरेभन्दा फरक आउँछ । यस्तो नतिजाको बारेमा यो पङ्तिकारले समेत अनुमान गर्न सकेको थिएन ।

मेरो चासो र सरोकार, केही गरौं भन्ने सोचका विद्यालय र शिक्षकहरूले केन्द्रीय सरकारले जारी गरेको निर्देशिकालाई नै पछ्याउँदै बालबालिकाका निम्ति केही गर्न खोज्दा मानिसहरू किन यत्ति धेरै नकारात्मक ? संघीय सरकारको निर्देशिकाको आधारमा सानो सानो समूहमा अध्यापन गरिरहेका विद्यालयहरूले समेत स्थानीय सरकारको निर्देशनमा उक्त कार्य स्थगन गरेको अवस्था छ । विद्यालयले एकाध महीना यसरी अध्यापन गर्दा कति जना मानिस र बालबालिका संक्रमित भए ? के यसरी कक्षा सञ्चालन गर्दा सरकार थर्कमान हुनुपर्ने अवस्था थियो र ? मलाई त लाग्छ, शिक्षण र प्राध्यापन पेशा भनेको विद्वत् वर्गले गर्ने पेशा हो । उनीहरूले गरेको कर्मलाई गुण र दोषको आधारमा नपर्गेली हुकुमी शैलीमा ठाडो आदेश गरेको देखियो ।

सबैभन्दा दुखद पक्ष शिक्षकहरूले नै अरू शिक्षकले गरेका क्रियाकलापको विरोध गरिरहेको सन्दर्भ हो । यस्तो लाग्दैछ कि, विद्यालय सञ्चालनको विरोध गर्ने शिक्षकहरूलाई विद्यालय सञ्चालनको पक्षमा रहेका शिक्षकहरूलाई भन्दा बालबालिका, नागरिक समाज र देशको माया धेरै छ क्या रे ! यस्तै माया लाग्दा लाग्दै विद्यालय नगएरै एक चौमासिकको तलब भत्ता गोजीमा हालियो क्या रे ! यही पाराले अर्को चौमासिक पनि बुझ्ने बेला आउँदैछ । शायद, यो पाराले त त्यतिबेलासम्म सरकार पनि कङ्गाल भइसक्छ होला । शायद त्यतिबेला बालबालिका र सरकारको माया गरेर विद्यालय खोल्नुहुन्न भन्ने शिक्षकहरूले हामीले नपढाएको अवधिको तलब भत्ता नलिएर सरकारलाई सहयोग गर्छौं भन्न सकेमा कति महानता झल्किन्थ्यो होला । त्यो अवस्थामा यो पङ्तिकार आफैंले अहिले टीकाटिप्पणी गरेका शिक्षकहरूलाई बधाई र धन्यवाद ज्ञापन गर्न कति छिटो अघि सथ्र्यो होला ? तथापि त्यस्तो होला जस्तो लाग्दैन मलाई । बरू काम नगरेको अवधिको तलब पाइँदैन भनेपछि भोलिपल्टदेखि नै त्यस्ता शिक्षकहरू खुरुखुरु विद्यालय जाने अवस्था भने देखेको छु ।

कोरोनाको भ्याक्सिन पत्ता लागेर प्रयोगमा नआउँदासम्म कोरोनाको कहर यस्तै हो । भ्याक्सिन पत्ता लाग्न अझै वर्षौं लाग्न सक्छ । त्यतिबेलासम्म विद्यालय बन्द गर्ने सपना कसैले देख्छ भने त्यो जस्तो दुर्भाग्य अरू हुन सक्दैन । लकडाउन झन् देशलाई कोल्याप्स गर्ने खेलो हो भने भन्ने कुरा चार महीने लकडाउनबाट पुष्टि भइसक्यो । अब फेरि लकडाउनको सपना देख्नु भनेको देश उठ्न नसक्ने गरी रसातलमा भासिनु भन्दा अरू होइन । यसै कुरालाई मध्यनजर गरी धेरै मुलुकले लकडाउन खोलेर सुरक्षाका आवश्यक सावधानीहरू अपनाउँदै जीवनचर्या अगाडि बढाइसके । यूनिसेफको प्रतिवेदन अनुसार अहिले पनि १०६ मुलुकमा विद्यालयहरू खुल्न सकेका छैनन् । ५५ वटा मुलुकहरूले यसको जिम्मा स्थानीय सरकारलाई दिएर कतै बन्द त कतै खुलेको अवस्था छ भने ४८ वटा मुलुकहरूले आवश्यक सावधानीका साथ विद्यालयहरू खोलिसकेको अवस्था छ । बन्द गरेका भनिएका देशहरूले समेत अनलाइन कक्षाहरू शुरूदेखि नै सञ्चालन गरिरहेको अवस्था छ । हामी पनि आवश्यक सावधानीहरू अपनाउँदै विद्यालय खोल्न सक्छौं । मैले यसो भन्नुका पछाडि केही सुन्दर पक्षहरू पनि छन् ।


यूनिसेफको प्रतिवेदन अनुसार अहिले पनि १०६ मुलुकमा विद्यालयहरू खुल्न सकेका छैनन् । ५५ वटा मुलुकहरूले यसको जिम्मा स्थानीय सरकारलाई दिएर कतै बन्द त कतै खुलेको अवस्था छ भने ४८ वटा मुलुकहरूले आवश्यक सावधानीका साथ विद्यालयहरू खोलिसकेको अवस्था छ । 

अरू मुलुकमा जस्तो हाम्रा अधिकांश विद्यालयहरूमा विद्यार्थी संख्या बढी नभई अपेक्षाकृत न्यून छ । सरकारी आँकडा नियाल्दा पनि हाम्रा ३५ हजार विद्यालयमध्ये १५ हजार विद्यालयमा १०० भन्दा कम विद्यार्थी छन् । त्यसमध्ये पनि पाँच हजार विद्यालयमा त २५ जनाभन्दा कम विद्यार्थी रहेको अवस्था छ । त्यसमा पनि म जन्मे–हुर्केको र जागीर खाइरहेको कर्णाली प्रदेशका करीब ३२०० विद्यालयहरूमध्ये आधा भन्दा बढी विद्यालयमा १०० जनाभन्दा कम विद्यार्थी भएको देखिन्छ । पुरानो कर्णालीमा त यतिबेला कतिपय विद्यालयहरू बन्द गर्नु जरूरी नै थिएन । त्यस्ता ठाउँमा एउटा गाउँ विशेषमा एउटा एउटा विद्यालय छन् । गाउँका सबैले सवैलाई चिन्छन् । अवस्था सबैको सबैलाई जानकारी हुन्छ । गाउँमा सबै ठीकठाक छन् र कोही बाहिरबाट पनि आएको छैन भने विद्यालय बन्द गर्नु आवश्यक नै थिएन । आफैं आइसोलेसनमा रहेको त्यो गाउँको विद्यालय बन्द गर्ने र खुल्ने बारेमा माथिबाट बोल्नुको कुनै तुक पनि थिएन ।

विद्यार्थी संख्या बढी भएका विद्यालयहरूमा पनि आवश्यक सुरक्षा र सावधानी अपनाएर आलोपालो गरी विद्यार्थीलाई बोलाएर शिक्षण सिकाइ गर्न सकिन्छ । मानौं कि कुनै कक्षामा ६० जना विद्यार्थी छन् भने एक दिनमा २० जना विद्यार्थीलाई बोलाएर शिक्षण गर्न सकिन्छ । यसरी गर्दा एउटा विद्यार्थी हप्तामा तीन दिन विद्यालय आउँछ भने तीन दिन घरमा रहन्छ । विद्यालयमा रहने दिन मध्ये हामी दुई दिन शिक्षण गर्छौं भने एकदिन गृहकार्य दिने र जाँच गर्ने काम गर्छौं ।  । हामीले विद्यार्थीलाई दिने गृहकार्य र परियोजना कार्य अन्तर्गत उसको सीप, प्रवृत्ति र सामाजिक व्यवहारमा बढोत्तरी हुने गरी क्रियाकलाप गर्ने र सोको बारेमा प्रतिवेदन तयार गरी ल्याउने काम दिन सकिन्छ । उदाहरण दिएर भन्नुपर्दा भान्सामा काम गर्न सिकेर सोको प्रतिवेदन तयार पार्ने । करेसाबारी र खेतबारमिा काम गरेर सोको बारेमा लेखेर बुझाउने । समाजमा मानिसहरूसँग भलाकुसारी गरेर सोको प्रतिवेदन बनाउने । तीन दिनसम्म घरमा रहँदा बाबाआमा लगायत परिवारका सदस्यहरूलाई घरायसी काममा सघाउँदै सोको बारेमा प्रतिवेदन तयार पार्ने ।

यत्ति मात्र नभई विद्यार्थीले घरमा गएर गर्ने कामको बारेमा कक्षा शिक्षकले नेपाल टेलिकमले प्रदान गरेको १०/१२ रुपैयाँको सय मिनेट भन्दा बढी कुरा गर्न मिल्ने भ्वाइस प्याकको प्रयोग गर्दै अभिभावकसँग भलाकुसारी गरेर अभिभावकसँगको सहकार्यलाई जीवन्त बनाउन पनि सक्छन् । बढी विद्यार्थी हुने विद्यालयमा बिहान र दिउँसोको सिफ्ट समेत गरी उल्लिखित क्रियाकलापहरू सञ्चालन गर्न सकिन्थ्यो । साँच्ची, कोरोना कालमा हामीले यसरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सकेको भए हाम्रो शिक्षा कति सुन्दर हुन्थ्यो होला ? सुन्दरको मतलब गुणस्तरीय । जीवनोपयोगी र व्यावहारिक । घोकन्ते र अव्यावहारिक शिक्षाबाट ब्रेकथ्रोको माध्यमबाट अघि बढ्न सकिने । कुनै पनि घटना र परिघटनाले विकराल समस्या मात्र नभई सुन्दर समाधान पनि ल्याएर आएको हुन्छ । तर सदैव नकारात्मकताको खेती गर्ने हाम्रो मस्तिष्कले सोच्न नसकेर होला शायद, कोरोना लकडाउनले ल्याइदिएको एउटा सुन्दर अवसरलाई पनि हामी गुमाउँदैछौं शैक्षिक क्षेत्रबाट ।


हाम्रा ३५ हजार विद्यालयमध्ये १५ हजार विद्यालयमा १०० भन्दा कम विद्यार्थी छन् । त्यसमध्ये पनि पाँच हजार विद्यालयमा त २५ जनाभन्दा कम विद्यार्थी रहेको अवस्था छ । त्यसमा पनि म जन्मे–हुर्केको र जागीर खाइरहेको कर्णाली प्रदेशका करीब ३२०० विद्यालयहरूमध्ये आधा भन्दा बढी विद्यालयमा १०० जनाभन्दा कम विद्यार्थी भएको देखिन्छ । पुरानो कर्णालीमा त यतिबेला कतिपय विद्यालयहरू बन्द गर्नु जरूरी नै थिएन ।

लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीमा विभिन्न समस्या देखा पर्ने स्थिति छ । यूनिसेफले भनिसक्यो कि लकडाउनको कारणले विश्वमा करीब एक करोड युवा तथा बालबालिकाले पढाइ छोड्दैछन् । विद्यार्थीको सम्पर्कमा यदि कोही शिक्षक हुनुहुन्छ भने उहाँहरूलाई जानकारी होला, कक्षा ६-७ देखि कक्षा ११-१२ सम्म अध्ययन गर्ने कति विद्यार्थीले उमेर नपुग्दै पढाइ छोडेर यही मौकामा विवाह गरिसकेका छन् । अभिभावक गतिला नभएका कतिपय बालबालिकाहरू मनोरोगी भएका छन् भने कतिपय घरमै विभिन्न हिंसाका शिकार भएका छन् । कतिपय गरीबी र कुपोषणको शिकार भएका छन् । यस्तो अवस्थामा अरू केही गर्न नसके पनि शिक्षकहरूले आफ्नो भूमिका आफैं खोजी समाजमा कोरोना विरुद्धको चेतना र सामाजिक परामर्शदाताको बाहकको भूमिका निर्वाह गर्न सक्नुपथ्र्यो । सरकारले समेत अरू देशले जस्तै शिक्षकहरूलाई अभिभावक र विद्यार्थीहरूको घरघरमा पुगेर शिक्षा र चेतना बाँड्ने संवाहक बनाउनुपथ्र्यो । यो काम गरेन सरकारले । किनभने शिक्षाका कुनै पनि मान्छेको विश्वास छैन सरकारलाई । मति बिग्रिएपछि यस्तै यस्तै हुन्छ । पहिलेका सरकार छोडेर पाखा लागेकाहरूलाई समेत यस्तै यस्तै हुन्थ्यो ।

काम रोक्नु, विद्यालय बन्द गर्नु अर्थात् लकडाउन भनेको समाधान होइन । समाधान त त्यही काम फरक तरिकाले गर्नु हो । कोरोनाले शिक्षाका सम्पूर्ण सरोकारवालाहरूलाई दुई भागमा विभाजन गरिदिएको छ । एउटाले शिक्षालय र शिक्षण सिकाइ बन्द गर्नुमा समाधान देखिरहेको छ भने अर्कोले शिक्षण सिकाइको अर्को विकल्प खोजिरहेको छ । हाम्रो जस्तो बिजुली र इन्टरनेटको विश्वसनीय आधार नभएको ठाउँमा सानो सानो समूहमा शिक्षण गर्ने जुक्ति खोज्दैछ । आवश्यकतानुसार अनलाइनलाई पनि त्यसैमा फ्यूजन गर्ने सोच बनाउँदैछ । शिक्षालय बन्द गर्नुमा समाधान देख्ने समूह भनेको शिक्षामा केही गर्न नचाहने र घरै बसीबसी तलब थाप्न चाहने समूह हो । मेकग्रेग्ररको सिद्धान्तमा यो समूहले एक्स थ्यौरीको प्रतिनिधित्व गर्दछ भने विकल्प खोजेर शिक्षण सिकाइ सञ्चालन गर्नुपर्छ भन्ने समूह शिक्षामा चिन्ता, चासो र केही गर्नुपर्छ भन्ने भावना भएको समूह हो । मेकग्रेग्ररको सिद्धान्तमा यसले वाइ थ्यौरीको प्रतिनिधित्व गर्दछ । सरकारले यस्ता समूहको राम्रोसँग पहिचान नगरी केही गर्न नचाहनेको सोच अनुसार काम गर्न थाल्यो भने शिक्षामा मात्र नभई मुलुकको सबै क्षेत्रमा अनिष्ट बाहेक केही निम्तिने छैन । सबैलाई चेतना भया !

commercial commercial commercial commercial