स्कूल–पुस्तकालय र हामी पुस्तक बिक्रेता

केही प्रकाशकले एक लाखको किताब किन्दा एक लाखकै किताब सित्तैंमा भन्ने अफर ल्याएका छन् । अधिकांश विद्यालयले यो पुराना र बिक्री नभएका किताब बिकाउने खेल हो भन्ने बुझन सकेको देखिएन ।

गत वर्षदेखि शुरू भएको ‘एक विद्यालय एक पुस्तकालय’ अभियानअन्तर्गत सरकारले छानिएका विद्यालयहरूलाई पुस्तक किन्न भनेर एकमुष्ट अनुदान दिंदै आएको छ ।

यस बीचमा विद्यालय पुस्तकालयका बारेमा केही प्रश्न उब्जिएका छन् । गत वर्ष विनियोजित बजेटबाट शिक्षक–विद्यार्थीका लागि उपयोगी पुस्तक र सामग्रीहरू खरीद गरिए त ? सरकारको अनुदानबाट जे–जस्ता किताब किनिएका वा किनिंदैछन् त्यसबाट हाम्रा नानीहरू लाभान्वित होलान् ? यी प्रश्नमा केही अपवाद छाडेर पुस्तकालय राख्ने विद्यालयका प्रधानाध्यापक, पुस्तक बिक्रेता, जिशिकाका अधिकारी र प्रकाशन संस्थाहरू समेत ढुक्क हुने अवस्था पाइँदैन ।

यसको सीधा अर्थ हो— किताब किन्ने, किनाउने कुरामा केही नराम्रो पक्कै भइरहेको छ । हामी जस्ता व्यापारीसँग पुस्तकालय सामग्री खरीद गर्न आइपुग्ने अधिकांश विद्यालयका प्रअ तथा विव्यस अध्यक्ष र अन्य कर्मचारीको कुरो पत्याउने हो भने अनुदान प्राप्त विद्यालयसँग अनुदान योजना पार्नकै लागि पहिले नै जिशिकाका कर्मचारीले आफ्नो भागशान्ति टुंगो लगाउने गरेका छन् ।

अनुदानको रु.६ लाख ५० हजारको केही प्रतिशतमा गोप्य सहमति भएपछि मात्र स्कूलको खातामा पैसा जान्छ । त्यसपछि शुरू हुन्छ स्कूलको माथापच्ची– कस्तो किताब राख्ने, कुन पसलबाट कति छूटमा पाउने किताब राख्ने, प्रअ र विव्यस अध्यक्षको भागमा केही पैसा पर्छ कि पर्दैन आदि । खरीद प्रक्रिया शुरू भएपछि पालो आउँछ बिक्रेताको । बिक्रेता स्वभावैले नाफा खोज्छ । उसले हेर्छ– विद्यालयलाई कति प्रतिशत छूट दिनुपर्छ, आफूले त्यो सामान कति छूटमा पाउँछ, मार्जिन कति बस्छ । पुस्तकालयमा कमजोर किताब पर्ने प्रक्रियाको शुरूआत हुन्छ छूटको दरबाट । प्रकाशकहरूले चलेका, उत्कृष्ट, पुरस्कृत र काम लाग्ने किताबमा धेरै छूट दिन सक्दैनन् । त्यसैले, धेरै प्रतिशत छूट माग्ने स्कूलले गतिला प्रकाशन, गतिला किताब पाउने सम्भावना न्यून छ ।

बिक्रेताले छूट प्रतिशत अनुसार काम गर्छ । विद्यालयले राम्रा पुस्तक खोजे बिक्रेताले सामान्य छूटमा मिहिनेत गरेकै हुन्छ । साधारणतया पुस्तकालयलाई २० प्रतिशत छूटमा दिने चलन छ । प्रकाशकले छापेर बेच्न नसकेका, बिक्रेताको गोदाममा थन्किएका जस्ता पुस्तक २५–३५ प्रतिशत छूटमा पाइन्छ । अनि, ५० प्रतिशत छूटको अफरमा लेखकलाई पारिश्रमिक दिनु नपर्ने, भाषा सम्पादन नगरिएका, शुद्धाशुद्धि नहेरेका, बजार भाउ भन्दा बढी मूल्य भएका, कवाडीलाई बेच्न ठिक्क पारेका वा कवाडीबाटै जोखेर खरीद गरेका किताबहरू पर्दछन् ।

यसबीचमा मौका छोप्दै केही प्रकाशकले एक लाखको किताब किन्दा एक लाख बराबरको अर्को किताब सित्तैंमा भन्ने अफर ल्याएका छन् । जसलाई अधिकांश विद्यालयले यो पुराना र बिक्री नभएका किताब बिकाउने खेल हो भन्ने बुझन सकेको देखिएन । बजार र गोदाममा वर्षौंदेखि बिक्री नभएर थन्किएका किताब यसै मौकामा कटाउने प्रकाशकको सोझे नियत हो । जसले गर्दा यस्ता व्यापारिक प्रकाशन गृहको लाभको नकारात्मक असर धेरै विद्यालयका अबोध नानीहरूले भोग्नुपर्ने निश्चित छ ।

त्यसो त अपवादमा राम्रा पनि भेटिएका छन् । केही जिशिकाले अनुगमन पनि गरेका छन् । अछामका जिशिअ झ्ंकार बिष्टले केही राम्रो पहलकदमी लिनुभएको जस्तो लाग्छ । केही पुस्तक बिक्रेता मार्फत पुस्तक सूची जम्मा पारी राम्रा किताबको सूची जिशिकाको नोटिस बोर्डमा टाँसेर त्यस अनुरूप पुस्तक खरीद गर्न भनिएको थियो । तर उक्त सूची अनुसारकै किताब खरीद भए जस्तो चाहिं लाग्दैन । किनभने सूचीमा उल्लेख भएका डोरबहादुर बिष्ट, डा. हर्क गुरुङ, सिल्भा लेभी, डा. तीर्थबहादुर श्रेष्ठ जस्ता लेखकका कतिपय किताब अछाम र त्यहाँको सम्भावित बजारमा ४६ वटा प्रति बिक्री भएको पनि भेटिएन । जबकि अछाममा अघिल्लो वर्ष ४६ ओटा विद्यालयलाई पुस्तकालय अनुदान दिइएको थियो ।

जुन विद्यालयका प्रअ तथा शिक्षकहरू अध्ययनशील छन् त्यस्ता विद्यालयमा तुलनात्मक रूपमा राम्रो किताब छान्न जोड दिइने रहेछ । नमूना विद्यालय चन्दननाथ मावि खलंगा, जुम्लाका प्रअ टंक महतको पुस्तक छनोट साँच्चै सम्झ्नलायक थियो ।

जनजागृति मावि, सिन्दुरेघारी, रौतहटका शिक्षक दीपक पौडेलको पुस्तक छनोट प्रशंसनीय थियो । सुरजिदेवी मावि पर्साका प्रअ अनिल बर्नवालले त विद्यालयको पुस्तकालय स्कूल समय बाहेक आंशिक रूपमा स्थानीय युवालाई पनि खुल्ला गर्नुभएको छ । यो र उहाँको पुस्तकमोह देख्दा तराईका विद्यालयमा यस्ता अध्ययनशील प्रअ अझ्ै धेरै भैदिए शिक्षाको स्तर बढ्ने थियो जस्तो लाग्छ । हामी बिक्रेतासँग धेरै किसिमका किताब हुन्छन्, तर तिनीहरूमध्येबाट राम्रो पुस्तक छान्न अध्ययनशील, हरेक ज्ञान र सीपलाई अद्यावधिक गर्नेले मात्र सक्छ ।

विद्यालयमा पुस्तक छनोट गर्ने तरिका
–    अधिक पाठकले रुचाएका, धेरै बिक्री हुने किताब खोजी गर्ने,
–    विभिन्न पुरस्कारबाट पुरस्कृत पुस्तकहरू खोजी गर्ने,
–    प्रकाशक, लेखक या सम्पादकको सामाजिक हैसियत र पृष्ठभूमि ख्याल गर्ने,
–    केही हरफ नमूनाका रूपमा पढेर पुस्तकको भाषा तथा प्रस्तुति शुद्ध, सरल, बुझ्निे खालको, सरर्र बगेको छ कि छैन यकिन गर्ने,
–    पत्रपत्रिकामा प्रकाशित पुस्तक समीक्षा, रचनागर्भ, पुस्तक अंश, पुस्तक चर्चा आदि पढेर पनि पुस्तक छनोट गर्न सकिन्छ,
–    अध्ययनशील पाठकहरूको सिफारिशमा पनि पुस्तक छनोट गर्न सकिन्छ,
–    विद्यालय, शिक्षक र विद्यार्थीलाई काम लाग्ने शिक्षक निर्देशिका, शैक्षिक विषयवस्तुका पुस्तक तथा शैक्षिक सामग्री छनोट गर्ने ।

सुनवर्षी बुक हाउस, धापासी, काठमाडौं

commercial commercial commercial commercial