लुम्बिनीमा के हेर्ने, कसरी हेर्ने ?

शैक्षिक भ्रमणका लागि निस्कने नेपाली विद्यार्थीका लागि केही वर्षयता गौतम बुद्धको जन्मस्थल लुम्बिनी एउटा रोज्जा गन्तव्य भएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीले आ–आफ्नो मार्गदर्शकका रूपमा र अन्य धर्मावलम्बी तथा कुनै धर्म नमान्ने वर्गले पनि अत्यन्तै आदर सत्कार गरिएका गौतम बुद्धको जन्म मायादेवीको कोखबाट लुम्बिनीमा इ.पू. ५६३ को वैशाख पूर्णिमाका दिन, एउटा सालवृक्ष मुनि भएको हो । ८० वर्षको उमेरमा, इ.पू. ४८३ मा आफ्नो महापरिनिर्वाण (मृत्यु) अघि बुद्धले आफ्नो जीवनका महŒवपूर्ण घटनासँग सम्बन्धित केही ठाउँहरूको उल्लेख भिक्षु आनन्दसँग गरेका थिए । ती ठाउँहरूको भ्रमण गरेर श्रद्धालुले संवेजना प्राप्त गर्न सक्छन् भन्ने उनको कथन थियो । त्यस्ता ठाउँहरूमध्ये लुम्बिनी एउटा थियो । उसै बेलादेखि बुद्धप्रति आस्थावान् मान्छेहरू लुम्बिनीको भ्रमणमा आउन थालेका हुन् ।

लुम्बिनीको ऐतिहासिक, पुराताŒिवक तथा मानवीय मूल्यलाई ध्यानमा राखेर पछिल्लो समयमा संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व संस्था ‘युनेस्को’ ले सन् १९९६ मा यो ठाउँलाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ । त्यसपछि देशविदेशमा लुम्बिनीको लोकप्रियता दिनप्रतिदिन बढिरहेको छ ।

बुद्ध जन्मदा लुम्बिनी नामको एक सुन्दर बगैंचा कपिलवस्तु गणराज्यको सीमान्त क्षेत्रमा पर्दथ्यो । ई.पू. २४९ मा मौर्य सम्राट अशोक यहाँ तीर्थयात्रामा आउँदा बुद्धको जन्मस्थल (लुम्बिनी) वरिपरि सानो गाउँ बसिसकेको थियो भन्ने कुरा अशोकले लुम्बिनीमा राखेको अभिलेखबाट पुष्टि हुन्छ ।

यहाँ बुद्ध जन्मनु अघिदेखि हालसम्ममा विभिन्न अवधिमा थुप्रै निर्माण कार्य भएर नष्ट पनि भइसकेका छन् । यो पूरै क्षेत्र सयौं वर्षसम्म विस्मृतिको गर्भमा विलिन थियो । सबै कुरा माटोले पुरिएर चिन्न–देख्न नसकिने अवस्था थिए । लुम्बिनी कहाँ पर्दछ भन्ने कुरा नै खोजीको विषय बनेको थियो । प्राचीन लुम्बिनी यही हो भनेर सन् १८९६ मा पहिचान गर्ने पुरातŒवविद् डा. ए. फूहरर हुन् र त्यसपछि अन्य पुरातŒवविद्हरूको पहलमा उत्खनन् र संरक्षण भई यसको हालको अवस्था कायम भएको हो ।

लुम्बिनीको भ्रमण गर्दा पुराना भग्नावशेष मात्र देख्न पाइने नभई विभिन्न कालका ती भग्नावशेषहरूको इतिहास तथा वास्तु संरचना पनि बुझन सकिन्छ । विश्वभरका बौद्धहरू यहाँ पुग्ने हुँदा तिनीहरूको चालचलन तथा पूजा–अर्चना गर्ने तौरतरिका लगायतका कुराहरूबारे पनि थाहा पाउन सकिन्छ । यहाँ निर्मित विश्वका विभिन्न देशका बौद्ध विहारहरूको भ्रमण गरेर ती ती देशको बौद्ध कला, वास्तुकला, इतिहास र संस्कृति पनि थाहा पाउन पाइन्छ । तसर्थ भन्न सकिन्छ, लुम्बिनी बौद्ध अध्ययनका लागि गतिलो नमूना स्थल पनि हो ।

भ्रमणको शुरूआत कसरी गर्ने ?
लुम्बिनी क्षेत्रलाई तीन भिन्नाभिन्नै प्लटमा विभाजन गरी विकास गरिएको छ । प्रत्येक प्लट एक वर्ग माइल (२.५८ व.कि.मी.) क्षेत्रफलको छ । यी प्लट उत्तर–दक्षिण फैलिएका छन् । सबैभन्दा दक्षिणको प्लट पवित्र उद्यान, बीचको विहार क्षेत्र र उत्तरको प्लट नयाँ लुम्बिनी ग्राम हो । विहार क्षेत्र र नयाँ लुम्बिनी ग्राम क्षेत्रको बीचमा सार्वजनिक सडक छ । विहार क्षेत्रमा लुम्बिनी आउने गाडीहरू पार्किङ गर्न ठूलो बसपार्क रहेको छ । बसपार्क वरिपरि चिया नास्ता खाने तथा किनमेल गर्ने पसलहरू रहेका छन् । लुम्बिनी सम्बन्धी जानकारी उपलब्ध गराउने सूचना केन्द्र तथा विदेशीका लागि प्रवेश टिकट पनि यहीं उपलब्ध हुन्छ । नेपालीलाई भने प्रवेशका लागि टिकट काट्नु पर्दैन ।

बसपार्कबाट मायादेवी अर्थात् बुद्धको जन्मस्थलतर्फ बढ्ने क्रममा एउटा लामो पोखरी जस्तो नहर आउँछ । नहरको दायाँ बायाँ ईंटा छापिएका चौडा बाटाहरू छन् । त्यही बाटो भएर लुम्बिनीको मुख्य स्थल मायादेवी मन्दिरसम्म पुग्ने हो । त्यहाँ विद्युतीय सवारी साधन पनि गुड्छन् । नहरमा उपलब्ध डुंगा चढेर पवित्र उद्यान क्षेत्रमा पुग्ने वैकल्पिक व्यवस्था पनि गरिएको छ । यो नहर हालसालै मात्र बनाइएको हो । यी दुवै सेवा सशुल्क हुन् ।

उत्तरबाट दक्षिणतर्फ जाँदा, जहाँ नहर सकिन्छ त्यहाँ शान्तिदीप देख्न पाइन्छ । दिनरात अटूट रूपमा बलिरहने यो दीप कुनै दैवी चमत्कार वा त्यहीं प्राकृतिक रूपमा पाइने ग्यास बलेको भने होइन । हाम्रा घर–घरमा प्रयोग हुने ग्यासकै सिलिन्डरबाट यो बत्ती बालिएको हो । यहाँबाट पनि अगाडि बढ्दा बीच बाटोमा उत्तर फर्केको सिद्धार्थ (गौतम बुद्धको गृहस्थ नाम)को दायाँ हात उठाएको मूर्ति पाइन्छ । बुद्धत्व लाभ गरी बुद्ध हुनुअघिको अवस्थालाई ‘बोधिसत्व’ भनिने हुनाले यो मूर्तिलाई ‘बोधिसत्व सिद्धार्थ’को मूर्ति भन्नु उपयुक्त हुन्छ । यो मूर्ति थाइल्यान्डका बौद्ध उपासकहरूबाट केही वर्षअघि मात्रै स्थापना गरिएको हो । कसै कसैले यसलाई ‘लिटिल बुद्ध’ पनि भन्ने गरेको पाइन्छ, तर बौद्ध परम्परामा यस्ता शब्दहरूको चलन छैन । यहाँभन्दा पनि अगाडि बढ्दा मायादेवी मन्दिर परिसरको प्रवेशद्वारमा पुगिन्छ । मन्दिर प्रवेश गर्न जुत्ता फुकाल्नुपर्छ ।

बौद्ध ग्रन्थहरूमा बुद्धको जन्म एक साल वृक्षमुनि भएको उल्लेख पाइन्छ । तर पछि त्यही सालको रूख वरिपरि विभिन्न निर्माण संरचनाहरू मात्र बनेनन्, भत्केर बिग्रिए पनि । पछि सो ठाउँमा उत्खनन् गरेर तिनका जगहरू फेला पारिए ।

हाल ती सबै कुरालाई छोपेर एउटा भवन बनाइएको छ र त्यसैलाई ‘मायादेवी मन्दिर’ नाम दिइएको हो । यो भवन अर्थात् मन्दिरमा मुख्य रूपमा ‘मार्कर स्टोन’ हेर्ने हो । बुद्धको जन्म अलि यता पनि होइन, अलि उता पनि होइन, ठिक यहीं भएको हो भनेर देखाउन चिह्नको रूपमा राखिएको ढुंगा हो त्यो । त्यो ढुंगो पनि अहिले राखिएको चाहिं होइन । बुद्धलाई आफ्नो शास्ता (मार्गनिर्देशक) का रूपमा स्वीकार्न पुगेका मौर्य सम्राट अशोकले राखेको उक्त ‘मार्कर स्टोन’ पछि यताउता सारिएला र जन्मस्थलका बारेमा भ्रम होला भनेर उनले त्यसको चारैतिर ईंटाको पर्खाल उठाई सुरक्षित पारिदिएका थिए । ईंटाको पर्खाल र ‘मार्कर स्टोन’ लाई हाल बुलेट प्रुफ सिसाभित्र राखी सबैले देख्न मिल्ने बनाइएको छ । ढुंगा साधारण हो, त्यसमा कुनै मूर्त आकार छैन । ढुंगामा रहेको खाल्डाखुल्डीलाई पाइताला ठानेर कसैकसैले यसलाई बुद्ध जन्मिँदा टेकेको पहिलो पाइलाको छाप भन्ने, त्यस्तै गाइड गर्नेहरू पनि भेटिन्छन् । यस्तो विवरण रहेका लेखरचना पनि पाइन सक्छन् तर ती सबै किंवदन्ती या जनउक्ति मात्र हुन् भनेर बुझनुपर्दछ ।

‘मार्कर स्टोन’ भएको ठाउँभन्दा ठीक माथि ढुंगाको एउटा ठूलो मूर्ति पूर्व दिशा फर्काएर राखिएको छ । धेरै नै क्षतिग्रस्त यो मूर्तिलाई अलि नियाल्ने हो भने रूखको हाँगा समाएर उभिएकी मायादेवी, त्यसको बगलमा अर्की नारी आकृति र मुनि बोधिसत्व सिद्धार्थ तथा पुरुष आकृतिहरू देख्न पाइन्छन् ।

मायादेवी मन्दिरभित्र फोटो खिच्ने अनुमति छैन । यहाँ होहल्ला नगरी शान्त चित्तले हेर्ने र गौतम बुद्धप्रति आदरभाव प्रकट गर्दै हिंड्नु राम्रो मानिन्छ । मन्दिरको दक्षिणको ढोकाबाट निस्कँदा बीस बाइस पाइला पर एउटा पोखरी देख्न पाइन्छ । शिशु जन्माउनुअघि मायादेवीले पोखरीमा स्नान गरेको र बाइस पाइला उत्तरतिर गएपछि प्रसव भएको उल्लेख बौद्ध ग्रन्थहरूमा पाइने हुनाले उक्त पोखरी यही हो भन्न सकिएको हो ।

यसरी नै मायादेवी मन्दिरको पश्चिमतिरको पटाङ्गिनीमा फलामको रेलिङभित्र एउटा शिलास्तम्भ देख्न पाइन्छ । लुम्बिनीको अशोक स्तम्भ भनेर थुप्रै ठाउँमा चर्चा गरिने यही शिलास्तम्भ हो । यसको माथिल्लो भाग भाँचिएर तल्लो भाग मात्र बाँकी रहेको छ । स्तम्भ सग्लो अवस्थामा छँदा स्तम्भमाथि घोडाको मूर्ति रहेको वर्णन पाइन्छ तर हाल त्यो घोडाको मूर्ति पाइएको छैन ।

स्तम्भको पश्चिमी मोहडामा स्पष्ट अक्षरमा अभिलेख अंकित छ तर ब्राह्मी लिपि नजान्नेले यो अभिलेख पढ्न सक्दैनन् । आजभोलि प्रचलित धेरै लिपिहरूको विकास ब्राह्मी लिपिबाट भएको हो । यहाँ त्यही ब्राह्मी लिपिमा तत्कालीन प्रचलित पालि भाषामा अभिलेख राखिएको छ । लुम्बिनीको खोजी गर्दै हिंडेका पुरातŒवविद् डा. ए. फूहरर यहाँ पुगेका थिए र यही अभिलेखको आधारमा उनले बुद्धको जन्मस्थल लुम्बिनी यही हो भनेर पहिचान गर्न सकेका थिए । यस स्तम्भमा रहेको अभिलेखमा ‘हिद बुध जाते’ अर्थात् बुद्ध यहाँ जन्मेको भन्ने सूचना छ । बुद्धहरू त थुपै्र छन्, कुन बुद्धको जन्म भएको ? भन्ने सन्दर्भमा ‘शाक्यमुनि’ शब्द र कहाँ भन्ने सन्दर्भमा ‘लुंमिनी गामे’ भन्ने शब्द पनि परेका कारण धेरै कुराहरू स्पष्ट भएको छ ।

शैक्षिक भ्रमणका क्रममा लुम्बिनीलाई सर्सर्ती मात्र हेर्ने हो भने पनि पूरा एक दिन लाग्छ । हेरेका कुराहरू बुझने पनि हो भने त एक–दुई दिनको बसाइ बनाउनुपर्छ । यसर्थ भन्न सकिन्छ, लुुम्बिनी सानो छैन । यसलाई बौद्ध विषयवस्तुको एउटा सानो विश्व नै भन्दा पनि हुन्छ ।

मायादेवी मन्दिर, पोखरी र अशोक स्तम्भ वरिपरि अन्य थुप्रै निर्माण संरचनाका अवशेषहरू देख्न पाइन्छन् । ती अवशेषहरू ज्यादाजसो त्यतिबेला निर्मित बौद्ध विहार र स्तूपका हुन् । यी प्राचीन अवशेषहरू मौर्य, शुंग, कुषाण र गुप्त कालका हुन् । त्यसै क्षेत्रमा कुषाणकालमा निर्मित एउटा इनार पनि देख्न पाइन्छ ।

विभिन्न देशका बौद्ध विहार
विहार क्षेत्रको नहर र बाटोको दायाँ बायाँ हरिया रूखले ढपक्कै ढाकिएको छ । यहाँ विभिन्न देशका आकर्षक बौद्ध विहार रहेका छन् । नहरको पूर्वतिर हिनयानी बौद्ध सम्प्रदायका र पश्चिमतिर महायानी बौद्ध सम्प्रदायका विहार रहेका छन् । तत्तत् देशका समाजको झ्ल्को दिने गरी बनाइएका ती विहारहरू शैक्षिक भ्रमणकै अभिन्न अङ्ग बन्न सक्छन् । विहार भनेका बौद्ध भिक्षुभिक्षुणीहरूका लागि मात्रै हुन् कि जस्तो लागेर कतिपय आगन्तुकहरू बाहिरबाटै फर्कने गरेको पनि पाइन्छ । तर अनुरोध गरेर ती विहारहरू भित्र पस्न पनि सकिन्छ । आफ्नो देशको परिचय दिन पाएर ती विहारका भिक्षुभिक्षुणीहरू खुशी नै हुन्छन् । बरु ध्यान दिनुपर्ने कुरा हो, विहारमा कसैले पनि होहल्ला वा अनावश्यक वादविवाद मन पराउँदैनन् ।

विभिन्न देशका बौद्ध विहारहरू आ–आफ्नै शैलीका छन् । आफ्नो कला र पहिचानलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा गम्भीर भएर बनाइएका विहारहरू वास्तवमा ती देशका नमूना पनि हुन् । ती विहारमा पस्दा त्यही देशको कुनै विहार क्षेत्रमा पुगेको अनुभूति हुने गर्दछ । विभिन्न देशमा आ–आफ्नै संस्कृति र परम्परा अनुसार बौद्ध धर्मको अभ्यास गर्ने गरिन्छ । अन्य धर्ममा जस्तो बौद्ध धर्ममा एकरूपता होइन, विविधता पाइन्छ । यस्ता कुरा कुनै देशको विहारमा प्रवेश गर्नुभन्दा पहिल्यै जानकारीमा राख्नुपर्दछ ।

म्यूजियम र पुस्तकालय
लुम्बिनीको विहार क्षेत्रभित्र अन्तर्राष्ट्रियस्तरको पुस्तकालय र म्यूजियम संचालित छन् । म्यूजियममा लुम्बिनी क्षेत्रबाट प्राप्त पुरावस्तुहरू मात्र नभएर विभिन्न देशका नमूना तथा फोटोग्राफ पनि संकलित छन् । जसरी विभिन्न विहारको भ्रमण गरेर धेरै ज्ञान प्राप्त गर्न सकिन्छ त्यसरी नै यो म्यूजियमबाट पनि सूचना र ज्ञान प्राप्त गर्न सकिन्छ । यहाँको पुस्तकालयमा बुद्ध र बौद्ध विषयका उच्चस्तरका पुस्तक तथा अन्य सामग्रीहरू संकलित छन् ।

नव लुम्बिनी ग्राम
लुम्बिनी क्षेत्रको सबैभन्दा उत्तरी प्लटलाई ‘नव लुम्बिनी ग्राम’ नाम दिइएको छ । यहाँ लुम्बिनीको यात्रा गर्न आउने तीर्थयात्रुहरू बस्नका लागि विभिन्न स्तरका होटल, लज, रेस्टुरेन्ट तथा धर्मशाला र अन्य सुविधाहरू उपलब्ध गराउने योजना रहेको छ । तर यी निर्माण कार्यहरू सम्पन्न भइसकेका छैनन् । जापानको बौद्ध संस्था ‘निप्पोनजान म्याहोजी’ बाट निर्मित विश्वशान्ति स्तूप यहाँ नै रहेको छ । यही स्तूप बनाइरहेको बेला सन् १९९७ जुलाई ३ को रात जापानी भिक्षु युताका नावातामेको गोली हानी हत्या गरिएको थियो । घुम्न तथा दर्शन गर्न आउनेहरूका लागि यो विश्व शान्ति स्तूप बिहानदेखि बेलुकासम्म नै खुल्ला रहन्छ ।

लुम्बिनीमा ध्यान दिने विषयवस्तु भनेकै विभिन्न समयमा बनेका र भत्केका पुराताŒिवक अवशेषहरू हुन् । यहाँ बुद्ध जन्मनुअघि र पछिका पुरावशेषहरू उत्खनन् गरेर सार्वजनिक प्रदर्शनमा राखिएका छन् ।

सानो छैन लुम्बिनी
जानकारीको अभावमा मान्छेहरूलाई लाग्न सक्छ— लुम्बिनीमा हेर्ने र बुझने कुरा त्यति धेरै छैनन् । प्रायः यात्रीहरू सोझ्ै मायादेवी मन्दिर पुग्ने र वरिपरिका ईंटाका थुप्रो, बगैंचा आदिमा दुई–चार वटा फोटो खिचेर फर्कने गर्छन् । ‘लुम्बिनी धेरै प्रचारित भएको र के–के न हेर्न पाइन्छ भनेर गएको, तर केही रहेनछ’ भनेर असन्तुष्टि पोख्दै टिप्पणी गर्नेहरू पनि पाइन्छन् । तर यस्तो होइन । जहाँ जे छ, त्यही हेर्नुपर्छ र त्यसैका बारेमा जानकारी लिएर रमाउन सक्नुपर्दछ । लुम्बिनीमा बुद्ध र बौद्ध धर्मबाहेक अन्य कुरा थप्दा यसको ऐतिहासिकता र चिनारीमा नै असर पर्ने भएका कारण त्यसो गर्न मिल्दैन ।

लुम्बिनीमा ध्यान दिने विषयवस्तु भनेकै विभिन्न समयमा बनेका र भत्केका पुराताŒिवक अवशेषहरू हुन् । यहाँ बुद्ध जन्मनुअघि र पछिका पुरावशेषहरू उत्खनन् गरेर सार्वजनिक प्रदर्शनमा राखिएका छन् । यहाँ कुन कालमा कस्ता खालका संरचनाहरू बनेका थिए भन्ने जानकारी ज्ञान–विज्ञान र इतिहाससँग सम्बन्धित छन् । ज्यादाजसो निर्माण संरचना साना–ठूला स्तूप र विहारहरू हुन् । ईंटाका थुप्रोजस्तो लाग्ने सबै संरचना स्तूपका अवशेष हुन् । त्यसरी नै ईंटका गाराहरू अरू नभएर त्यतिवेला बनेका बौद्ध विहारका जग हुन् । बौद्ध धर्मावलम्बीहरू यी सबैलाई उत्तिकै आदरसत्कार गर्दछन् । ती ईंटका थुप्रालाइं नमस्कार तथा छोएर ढोगेको पनि देख्न पाउँछौं । बौद्ध धर्म संसारभर छरिएर रहेको छ र सबैको अभ्यास एउटै पाराको छैन ।

यहाँ संसारभरबाट बौद्धहरू आउने हुनाले कुन देश वा समाजका बौद्धहरू कसरी आफ्नो आस्था प्रकट गर्दछन् भनेर जान्ने मौका पनि मिल्दछ ।

शैक्षिक भ्रमणका क्रममा लुम्बिनीलाई सर्सर्ती मात्र हेर्ने हो भने पनि पूरा एक दिन लाग्छ । हेरेका कुराहरू बुझने पनि हो भने त एक–दुई दिनको बसाइ बनाउनुपर्छ । यसर्थ भन्न सकिन्छ, लुुम्बिनी सानो छैन र प्राप्त गर्न सकिने ज्ञानका आधारमा त यसलाई बौद्ध विषयवस्तुको एउटा सानो विश्व नै भन्दा पनि हुन्छ । यस्तो राम्रो लुम्बिनीको विकासका लागि जापानका वास्तुविद् केन्जो टाँगेले गुरुयोजना बनाएका हुन् ।

(सामाजिक तथा वातावरणीय परिवर्तन अध्ययन संस्था (आईसेट) नेपालको सहयोगमा)

commercial commercial commercial commercial