जिज्ञासा जवाफ

पोशाक भत्ता चैतको तलबसँगै
कुनै अस्थायी शिक्षकले स्थायी भई शुरू नियुक्ति लिंदा उसले पोशाक भत्ता बापत पाउने रकम कति अवधि सेवा गरेपछि पाउँछः ६ महीना, एक वर्ष, चार महीना ? यदि कुनै शिक्षक माघ ४ गते नियुक्ति लिएको छ भने उसले जेठको तेस्रो चौमासिकमा पोशाक भत्ता पाउँछ कि पाउँदैन ।
हरिनारायण गौतम
भगवती मावि चैनपुर–२ संखुवासभा

स्थायी कार्यरत शिक्षकले समानस्तरको निजामती कर्मचारीले पाउने सेवासुविधा पाउने प्रावधान बमोजिम पोशाक भत्ता पनि तोकिएको स्थानका लागि तोकिए बमोजिमको रकम पाउनुहुन्छ । पोशाक सुविधा सामान्यतः चैत महीनाको तलबभत्ता विवरणसँग उपलब्ध गराउनुपर्ने भएकोले चैत महीनामा तलबभत्ता वितरण गर्दा कार्यरत स्थायी शिक्षकले पोशाक सुविधा पाउनु नै हुन्छ ।
राजेन्द्र भट्टराई
लेखा अधिकृत, शिक्षा विभाग

अन्त जानु नपर्ला
म शिक्षक सेवा आयोगबाट २०७५ असार २९ र ३० गते लिइएको ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धामा सहभागी भएको छु । यदि म उक्त परीक्षामा उत्तीर्ण भएँ भने मेरो नियुक्ति म कार्यरत विद्यालयमा नै हुन्छ कि अन्य विद्यालयमा पनि हुन सक्छ ?
नवीनकुमार शाही
श्री सरस्वती मावि चौकुने–१० घाटगाउँ, सुर्खेत

खुलाको हकमा मेरिट लिष्टलाई आधार बनाइए पनि आन्तरिकको हकमा आन्तरिक परीक्षाबाट उत्तीर्ण भइसकेपछि व्यवहारतः सोही विद्यालयमा नियुक्ति गर्ने सामान्य प्रचलन रहेको छ ।
अर्जुन शाही
शाखा अधिकृत, शिक्षा विभाग

मेरो ग्रेड कति हुन्छ ?
मेरो स्थायी नियुक्ति २०४८÷०५÷२५ मा प्रावि तृतीय श्रेणीमा भएको हो । सो पदबाट २०६२÷०५÷३१ मा प्रावि द्वितीय श्रेणीमा बढुवा भएको हो । यस आधारमा २०७५ साल वैशाखदेखि मेरो ग्रेड संख्या कति हुन्छ ?
कम्मानबहादुर ठगुन्ना
श्री जनप्रिय निमावि, किम्तडी, दार्चुला

२०४८ मा नियुक्त भएको शिक्षकको ग्रेड गणना २०५० वैशाखबाट शुरू हुन्छ । २०५० देखि २०५४ सम्म ५ ग्रेडको रु.१८ का दरले रु.९० हुन्छ । २०५५ र २०५६ मा २ ग्रेडको रु.८४ का दरले रु.१६८ हुन्छ । २०५७ सालदेखि २०६२ सालसम्म ६ ग्रेडको रु.११० का दरले रु.६६० हुन्छ । यसरी हिसाब जोड्दा रु.९१८ हुन्छ । त्यतिखेर २०६२ मा तृतीय श्रेणीको तलब स्केल रु.४९२० हो । त्यसमा ग्रेडको रु.९१८ जोड्दा रु.५,८३८ हुन्छ । २०६२ मा द्वितीय श्रेणीको तलब स्केल रु.५,८८० हो । यसमा तपार्इंले खाईपाई आएको रु.५८३८ भन्दा बढुवा भएको माथिल्लो श्रेणीको रु.५८८० हुने हुँदा तपाईंको समायोजन ग्रेड आउँदैन । २०६२ मा द्वितीय श्रेणीमा बढुवा भएको हुँदा २०६४ सालदेखि ग्रेड गणना शुरू हुन्छ । २०६४ देखि २०७१ सम्म तपाईंको ग्रेड ८ हुन्छ ।

८ ग्रेड भनेको ४ ग्रेड बराबर हो । २०७२ मा १ ग्रेड, २०७३ मा १ ग्रेड गरी २०७३ असार मसान्तसम्म तपाईंको ६ ग्रेड हुन्छ । यो भनेको रु.१,४४० हो । २०७३ साउनदेखि नयाँ ग्रेडदर कायम भएको हुँदा रु.७३८ ले १,४४० लाई भाग गर्दा १.८३ आउँछ । यो भनेको २ ग्रेड हो । यसरी २०७३ साउनदेखि २ ग्रेड, २०७४ वैशाखदेखि ३ ग्रेड र २०७५ वैशाखदेखि ४ ग्रेड हुने देखिन्छ ।
रवीन्द्रकुमार बुढाप्रिथी
उपनिर्देशक, शिक्षक किताब खाना  

commercial commercial commercial commercial