यस पटक इलाम घुमौं !

इलाम जहाँ जहाँ जसरी घुमे पनि रमाइलै छ । मुख्य कुरा हो, गाडीबाट सरर्र सडकै सडक मात्र यात्रा नगर्नुहोस् । रोकिनुहोस्, ओर्लिनुहोस् र मौका मिलेसम्म हिंड्नुहोस् । गाउँतिर पस्नुहोस् । चिया बगान वा चिया फ्याक्ट्रीतिर पस्नुहोस् ।

सजिलो गरी देशदर्शन गर्न चाहनेहरूको एउटा आकर्षक गन्तव्य हो, इलाम । मध्यपहाडी क्षेत्रको, यातायातको राम्रो सुविधा भएको इलाम घुम्नका लागि कुनै आँट गरिरहनु पर्दैन । दूरी अनुसार लाग्ने गाडीभाडा बाहेक पोखरा, चितवन वा लुम्बिनी घुम्न जति खर्च र समय लाग्छ त्यति भए इलाम पनि घुमिन्छ ।

कतै घुम्न जाने योजना बनाउनुअघि नै ‘त्यहाँ किन जाने ?’ भन्ने बारेमा आफू स्पष्ट हुनुपर्छ । जस्तो, दृश्यावलोकनका लागि पोखरा जाने व्यक्तिलाई थाहा हुन्छ, ऊ त्यहाँका प्रसिद्ध ताल हेर्न र डुंगा चढ्न, हिमाल हेर्न, लेकसाइडमा रमाउन, गुफा हेर्न गएको हो । ऊ भ्याए–पाएसम्म सराङकोट वा फेवाताल पारि अनदु डाँडामा रहेको विश्व शान्ति स्तूप पनि जान चाहन्छ ।

कुनै पनि ठाउँमा धेरै कुरा देख्न पाइन्छन् । सरसर्ती हेर्दा देखिने कुरा एकथरी हुन्छन्, गहिरिएर हेर्न सकिने कुरा अनेक हुन्छन् ।

पोखराकै कुरा गरौं, भूगर्भ विज्ञानको विद्यार्थी त्यहाँ गयो भने उसको अभिरुचि पोखरा उपत्यकाको निर्माण कसरी भयो भन्ने विषयमा बढी हुन्छ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा वा गोही हेर्न जाने व्यक्तिहरूकै चाखमा पनि निकै अन्तर हुन्छ । सबैतिर लागू हुने यो कुरा इलाम भ्रमणका क्रममा पनि विचार गर्नुपर्छ, तपाईं ‘इलाम किन जाँदै हुनुहुन्छ ?’

किसानलाई चाख लाग्ने र विद्यार्थीलाई चाख लाग्ने कुरामा निकै अन्तर हुन्छ । त्यसैले यात्रा गर्दा विचार गर्नुपर्ने कुरा हो; आफूले खर्च गर्न सोचेको पैसा र समयको सदुपयोग के गर्दा हुन्छ ?

‘इलाम सुदूरपूर्वको चियाखेती हुने, वर्षैभरि हरियाली रहने, विभिन्न किसिमका नगदेबालीका कारण किसानका हातमा पैसा परिरहने, दार्जीलिङको सङ्गतले पहिल्यैदेखि शिक्षा–दीक्षामा अगाडि रहेको जिल्ला हो’— तपाईंले इलामका बारेमा सुनेजानेका कुरा सामान्यतया यस्तै हुनुपर्छ । आउनुहोस्, आज यस्तै कुरा हेर्दै इलाम घुमौं ।

इलाम छिर्ने विभिन्न बाटाहरूमध्ये सबभन्दा चल्तीको हो मेची राजमार्ग । पूर्वपश्चिम राजमार्गको प्रारम्भबिन्दु काँकरभिट्टाबाट १२ किमि पश्चिममा रहेको चारआलीमा शुरू भएर ताप्लेजुङसम्म पुग्ने पहाडी राजमार्ग नै मेची राजमार्ग हो । मेची राजमार्गको सुनमाई (१७ किमि) देखि राँके बजार (११३ किमि) सम्मको करीब १०० किमि भाग इलाम जिल्लामा पर्छ ।

सुनमाईमा एउटा सानो पानी विनाको कल्भर्टमा इलाम जिल्ला प्रवेशका सङ्केतहरू देखेपछि बाटो सट्ट उकालिन्छ र करीब २०० मिटरमा एउटा घुम्ती नाघेपछि इलामको प्रवेशबिन्दु भन्न मिल्ने जोरकलश पुगिन्छ । सडकमा स्वागतद्वार बनाउँदा बनाइएका दुइटा घैलाकार ठूला गमलाका कारण यस ठाउँको नाम जोरकलश रहेको हो । यहाँ एउटा पर्यटक सूचनाकेन्द्र, प्रहरी पोस्ट तथा चियाखाजा खाने ठाउँ र सशुल्क शौचालय छन् ।

जोरकलशको यो बिन्दुदेखि तपाईंले पहाडी राजमार्गमा यात्रा गर्नका लागि आफूलाई शारीरिक र मानसिक रूपमा तयार गर्नुपर्छ । बाटो घुमाउरो छ । तपाईंलाई कुनै प्रकारको बिसन्चो नहोस् ! जीउ तन्याकतुनुक पारेर गाडीमा चढ्नुहोस् सोच्नुहोस्, म हेर्न, घुम्न, रमाइलो गर्न आएको हुँ । म स्वस्थ र प्रशन्न छु र यस्तै फर्किनेछु । यात्रामा शरीरभन्दा अघिअघि कुद्‍ने त मनै हो । मनले नै राम्रो सोचेपछि शरीरले त्यसैलाई पछ्याउँछ ।

बिस्तारै उकालो
चारआली÷जोरकलशबाट करीब पाँच किलोमिटर माथि लसुने भञ्ज्याङबाट इलामको इरौंटारका केही भाग र झपाको शान्तिनगर क्षेत्र देखिन्छ । तर लसुनेपछि तपाईंका नजरमा इलाम जिल्लाका अरू गाउँहरू पर्न थाल्छन् ।  

साह्रै हतार छैन भने गाडी एकछिन कोलबुङको डाँडामा (जोरकलशबाट १० किलोमिटरमा, रोङ गाउँपालिकाको भवन नजिकै) रोकौं !

गाडीमा यात्रा गर्र्दा हामी द्रुतगतिमा अगाडि गइरहेका हुन्छौं र प्रायः पछाडि फर्केर हेर्न भ्याउँदैनौं । पैदल यात्रामा भने पछाडि पनि हेरिराखिन्छ । कस्तो बाटोबाट कसरी आइयो भन्ने कुरा हेर्न र बुझन रमाइलो हुन्छ । पैदल यात्राको विशेषता हो बिस्तारैसित देखिने र गाडीको यात्राको विशेषता हो छिटो छिटो टाढा पुगिने र धेरै कुरा देखिने । यी दुवैको लाभ लिन नसकिने होइन ।

कोलबुङ डाँडामा उभिएर तलतिर हेर्दा तपाईंले झपाबाट आफू आएको बाटो देख्नुहुन्छ । यहाँ अनुभव हुने अर्को कुरा हो, झपाबाट मात्र १२–१५ किलोमिटरको दूरीमा फेरिने हावापानी ।

यहाँभन्दा अगाडि पनि इलामतिरको बाटो घुमाउरो नै छ तर तलका जस्ता चिम्टी घुम्ती (हेयरपिन बेन्ड) नभएर क्रमशः उकालिंदै जान्छ र कुटीडाँडामा पुग्छ । कुटीडाँडाबाट इलामको पाथीभरा देवीको मन्दिर जाने सिंढी उकालिन्छ । २०४० को दशकदेखि बिस्तारै प्रसिद्धि पाएको यो देवस्थलमा मन्दिर बनेको त २०५० को दशकमा मात्र हो । अहिले यो इलामको प्रमुख धार्मिक गन्तव्य बनेको छ । आफ्नो धार्मिक विश्वास अनुसार मन्दिर जानु आफ्नै ठाउँमा छ । तर माथि चढ्दा देवीको दर्शन मात्र नभएर सुन्दर र विविधतापूर्ण प्राकृतिक आनन्द पनि उठाइन्छ । आकाश खुलेको छ भने कञ्चनजंघा हिमालको राम्रो दृश्य पनि देखिन्छ । तपाईंहरू यहींबाट मन्दिरतिर लाग्नुहुन्छ भने गाडीलाई चाहिं करीब आधा किलोमिटर पर्तिर हाँसपोखरीमा गएर

पर्खिन भन्नुहोला । पाथीभराको मन्दिर यताबाट गए हाँसपोखरीतिरबाट ओर्लिन र उताबाट चढे यताबाट ‌ओर्लिन राम्रो हुन्छ । दाहिने फन्को मिलाउनका लागि कतिपय मानिसहरू हाँसपोखरीतिरबाट चढेर यताबाट ओर्लिन्छन् ।

हाँसपोखरीको जङ्गल मध्यपहाडी क्षेत्रका वनहरूमध्ये जैविक विविधता, खासगरी सुनाखरीका प्रजातिहरूको उपलब्धताका हिसाबले अत्यन्त सम्पन्न मानिन्छ । यहाँबाट इलामका पश्चिम र उत्तरतिरका विभिन्न भाग देखिन्छन् । तपाईं आएको राजमार्ग यहाँबाट पश्चिमतिर देखिने डाँडैडाँडा, करफोक आइतबारे हुँदै अघि बढ्छ ।

यहाँबाट दुई किलोमिटर अघि बढेपछि हरकट्टे पुगिन्छ । हरकट्टे पहिले झपाको निन्दा सलकपुर हुँदै नक्सलबाडीतिर जाने नाका थियो । अहिले यो वरिपरिका गाउँहरूका लागि व्यापारिक केन्द्र बनेको छ । यहाँ केही होटल र रेस्टुरेन्टहरू छन् ।

पूर्वी नेपालका गाउँघरमा अन्तभन्दा अलि बढी आर्थिक गतिशीलता छ भनिन्छ । त्यसको एउटा प्रमुख कारण हो साप्ताहिक (पहिले कतै कतै पाक्षिक रूपमा पनि लाग्ने) हाटबजार हुन् । सिमानापारिबाट उपभोग्य सामान ल्याएर बेच्ने र यताका कृषि उत्पादनहरू पारि लैजाने व्यापारीहरूका कारण अन्तभन्दा चाँडै नै यहाँ किनबेचको प्रचलन शुरू भएको मानिन्छ । चाहिएका कुरा पाइने वा पाइएका कुरा चाहिएको अनुभव हुने भएपछि त्यो किन्नका लागि स्रोत जुटाउनुपर्ने भयो र बिक्ने कुराहरूको खेती हुन थाल्यो ।

सुनसरी, मोरङ, झपा र इलाम जिल्लामा हप्ताका सातै दिन हाट लाग्ने ठाउँहरू छन् र तीमध्ये कतिपयका नाम हाट लाग्ने बारकै नामबाट रहेका छन् । आइतबारे, मङ्गलबारे, बुधबारे, शुक्रबारे, शनिश्चरे जस्ता प्रसिद्ध ठाउँका नामकरण ती ठाउँमा लाग्ने हाटका आधारमा भएको हो ।

मेची राजमार्गले भेट्ने इलामका हाट लाग्ने बजार हरकट्टे (मङ्गलबार); फिक्कल र इलाम बजार (बिहीबार), तीनघरे र इलाम बजार (आइतबार) र पशुपति नगर (सोमबार) हुन् । बार मिलेको छ भने हाटबजारमा केहीबेर रोकिनुहोला । यतातिरका हाटबजारहरू सामाजिक भेटघाटका पनि माध्यम पनि हुन् ।

हरकट्टेपछि रोङ गाउँपालिकाको सीमा सकिन्छ र तपाईं सूर्योदय नगरपालिका प्रवेश गर्नुहुन्छ । कोलबुङदेखि डाँडाको पश्चिमतिरबाट कुदिरहेको सडक एउटा सानो भञ्ज्याङबाट पर्लक्क फर्केर पूर्वतिरबाट दौडिन थाल्छ । यहाँदेखि देखिन थालेका चियाका बोट प्रसिद्ध कन्याम चिया बगानका हुन् । कन्याम— आन्तरिक पर्यटकहरूले सबभन्दा धेरै फोटो खिच्ने र फोटोबाट चिनिने नेपालका प्रमुख ठाउँहरू मध्येमा एउटा हो ।

यहाँ कतै गाडी रोकेर पूर्वमा अन्तुडाँडो र त्यस पारिका भारतीय भूभाग (मिरिक र खर्साङ); पश्चिमतिर इलामको डाँडा; उत्तरतिर मानेभञ्ज्याङ, चित्रे गुम्बा, तुम्लिङ जौबारी हुँदै इलामकै सबभन्दा अग्लो भूभाग सन्दकपुर जाने डाँडा हेर्नुहोस् र यहाँको सुपरिचित चियाबारीमा फोटा खिच्नुहोस् ।

कन्याम २०२७ सालमा स्थापित, पहाडी क्षेत्रको सबभन्दा ठूलो (४६० हेक्टर) चियाबगान हो । कन्याम चिया कमान हुनु अघि यहाँ फराकिलो नागी थियो हाल कन्याम भनेर सबभन्दा बढी चिनिने ठाउँलाई यहाँ चल्ने तीव्र बतासका कारण हुर्हुरे भञ्ज्याङ भनिन्थ्यो ।

अन्तुतिर
कन्यामबाट तीन किलोमिटर अगाडि गएपछि तपाईं छिपिटार पुग्नुहुन्छ । त्यहाँबाट अन्तुडाँडातिर जाने बाटो फाट्छ । ११ किलोमिटर परको अन्तुडाँडो सूर्योदय हेर्नका लागि प्रसिद्ध ठाउँ हो । नजिकै पूर्वतिर अग्ला डाँडा नभएकाले अन्तुबाट सूर्योदयको दृश्य फरक देखिएको हो । यहाँबाट कञ्चनजंघामा सूर्यकिरणहरू प्रतिबिम्बित भएको राम्रो दृश्य समेत देखिन्छ । कतिपय मान्छेहरू “अन्तुबाट बङ्गोप सागरमा सूर्यका किरण प्रतिबिम्बित भएको देखिन्छ”, भन्छन् । त्यो सत्य होइन । अन्तुबाट सीधा पूर्वमा त हजारौं किलोमिटर टाढा ‘इष्ट चाइना सी’ पर्छ र बङ्गोप सागर अर्थात् बङ्गालको खाडी भने सीधा दक्षिणमा पर्छ ।
सूर्योदय नै हेर्न अन्तु जाने हो भने कात्तिक–मंसीरमा यात्रा मिलाउनु राम्रो हुन्छ । मानवनिर्मित पोखरी हेर्न, चियाबारी र राम्रो आतिथ्यका लागि भने अन्तु जहिले गए पनि हुन्छ ।

अन्तुतिर नलागी अगाडि बढे फिक्कल पुगिन्छ । फिक्कलबाट ११ किलोमिटर पूर्वमा पशुपतिनगर छ । नेपालभारत सिमानाको यो बजार इलामको प्रगतिको मूल ढोका पनि हो ।

इलाम र दार्जीलिङ
इलाममा भारतको दार्जीलिङको ठूलो प्रभाव छ र यसको मुख्य कारण यहाँको भूबनोट नै हो । इलाम र दार्जीलिङ दुवै नै कञ्चनजंघा हिमालबाट दक्षिणतिर लागेको सिंहलीला नामक शृंखलाका पहाडी हाँगामा अवस्थित छन् र भूबनोटका हिसाबले इलामको कुनै पनि ठाउँबाट दार्जीलिङ जान खोलो तर्नु वा हिमाल नाघ्नु पर्दैन ।

‘इलामबाट दार्जीलिङ जान खोलो तर्नु पर्दैन’ भन्ने कथन सुनेपछि तपाईं सोध्न सक्नुहुन्छ, अनि मेची नदी नि ? मेची नदी इलामको सानो खोल्सो मात्र हो र झपामा चाहिं यो करीब ३५ किलोमिटरसम्म भारतसितको सिमाना बनेर बग्छ । मेची नदी बन्ने खोल्सोको शुरूआत पशुपतिनगरभन्दा अलिकति दक्षिणपूर्वमा सिंहलीला पर्वतमा नै हुन्छ ।

ताप्लेजुङ, पाँचथरमा पनि भारतसितको सिमानाको प्रकृति यही हो, तर हिमाल र ठूला नदीहरूका कारण गाउँहरूबाट सिमानासम्म पुग्न सजिलो थिएन । त्यसैले पहिले, पुलहरू सहज नभएका बेला सजिलै सिमाना नाघ्ने सुविधाका लागि, ताप्लेजुङ, पाँचथरदेखिका मान्छे, खासगरी लिम्बूहरू मुगलान जान, सिमाना वारिपारि बन्दव्यापार गर्न इलामको बाटो (जमुनाबाट जौबारी हुँदै वा गोर्खे मानेभञ्ज्याङ हुँदै वा पशुपतिनगर हुँदै) हिंड्थे । उनीहरूका लागि यी बाटा घुमाउरा भए पनि सजिला थिए र उनीहरूले आफ्नै भाषामा यिनको नाम इ (घुमाउरो) लाम (बाटो) राखे  । पछि बाटो मात्र नभएर यो भेक नै इलाम भनेर चिनिन थाल्यो । सुगौली सन्धि पछि पूर्वी खलङ्गाकै नाम इलाम भयो र अहिले जिल्ला नै इलाम भयो ।

खोलो नतरी वा हिमाल ननाघी भारतीय भूभागमा आवतजावत गर्ने यो सुविधा व्यापारका लागि मात्र भएन, भारतमा शासन गर्ने बेलायतीहरूले बङ्गालको ग्रीष्मकालीन राजधानी दार्जीलिङमा बनाउने बित्तिकै इलामले धेरै कुरा देख्न पायो । १४० वर्ष अघि (सन् १८७९ मा) त त्यहाँ रेल कुद्‍न थालिसकेको थियो । त्यतैका व्यापारीले यताको अलैंची, कुचो आदिलाई भाउ दिन थाले । घर छाप्ने जस्तापाता र पानीका पाइप जस्ता कुरा नेपालका अरू भागमा भन्दा चाँडो यता भित्रिन थाले ।

एउटा पनि हिमाच्छादित पर्वत नभएको र हिमनदी नबग्ने इलाममा हिंडेरै भए पनि यताउता गर्न अन्तका तुलनामा सजिलो थियो । पहिले पनि भनिएको कुरा, हाटबजारले गतिशीलता ल्याउन थाल्यो । पुगिसरी र चेतना हुनेहरूले दार्जीलिङ लगेर भए पनि छोरा पढाउन थाले । २००७ साल पछि यता स्कूल खोल्न पाइएपछि दार्जीलिङतिरबाट शिक्षक ल्याएर स्कूलहरू चलाउन पनि यहाँ सजिलो भयो ।

इलाम राम्रोसित हेर्न र बुझनका लागि यहाँका यी डाँडाहरूको प्रकृति र सिमाना वारपार गर्नमा तिनले पु‍¥याएको सुविधाका कुरा पनि बुझनुपर्छ ।

फिक्कल इलामको महŒवपूर्ण बजार हो । दार्जीलिङको विकास भएपछि त्यहाँ व्यापार गर्न आएका मारवाडी व्यापारीहरूले करीब डेढ सय वर्ष अघि नै फिक्कल र गोर्खेबजारका सम्भावनाहरू बुझ्े र यता आएर व्यापार गर्न थाले । इलामलाई आर्थिक गतिशीलता प्रदान गर्नमा मारवाडी समुदायको अत्यन्त ठूलो भूमिका छ । फिक्कलको पुरानो बजारमा रहेका मारवाडीहरूका घर–दोकानमा अहिले पहिलेजस्तो व्यापारिक चहलपहल त छैन तर यस्ता कुरामा चासो हुनेहरूका लागि हेर्न लायक कुरा ती पुराना काठका घरहरू पनि हुन् ।

फिक्कलबजार माथिको डाँडाबाट वरिपरि हेरेर नै इलामका धेरै कुरा देखिन्छन् । गाउँघर चिनाइदिने मान्छे पनि भए त अझ् बेस हुन्छ । यहाँबाट देखिने अधिकांश चियाबारी निजी हुन् । इलाममा पचासौं चिया फ्याक्ट्री र करीब २० वटा चीज फ्याक्ट्री छन् । अहिले आधुनिक हिसाबले छुर्पी बनाएर कुकुरको आहारका रूपमा अमेरिका पठाउने उद्योगले पनि धेरैलाई रोजगारी दिएको छ (त्यो हामीले खाने छुर्पीभन्दा केही फरक हुन्छ) ।

फिक्कलबाट इलामबजारतिर लाग्दा चार किलोमिटर पूर्वमा करफोक विद्या मन्दिर माध्यमिक विद्यालय र पञ्चकन्या देवीको मन्दिर छ । वि.सं. २००९ मा करफोक विद्या मन्दिरमा भएको कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि देवकोटा र स्वनामधन्य बालकृष्ण सम उपस्थित राष्ट्रिय कविगोष्ठीलाई इलामले नै प्रतिष्ठाको विषय मान्ने गरेको छ । यहाँ मास्तिरको पूर्णेडाँडामा वि.सं. १८७२ मा सुगौलीको सन्धि पछिका तीन वर्षसम्म खलङ्गा रहेको थियो भनिन्छ । भ्याउनुभयो भने पूर्णेडाँडासम्म पनि पुगेर इलामको सम्पूर्ण भाग हेरे राम्रै हुन्छ ।

पूर्णेडाँडाबाट इलामको अर्को झ्लक हेरेपछि तीनघरे बजार हुँदै इलामबजारतिर लागिन्छ । भालुखोपभन्दा पर्तिरबाट शुरू हुन्छ १२ वटा चिम्टी घुम्तीको लहरो । अनि गोदक हुँदै माई खोला पुगिन्छ । बाटामा बायाँतिर फराकिलो ठाउँमा दुई वटा नदीको सङ्गम देखिन्छ । यो माई र जोगमाईको सङ्गम हो जहाँ माघेसंक्रान्तिमा प्रसिद्ध माईबेनी मेला लाग्छ । पहिले यी नदीका बगर फराकिला र मट्यैला देखिन्थे । इलाममा हरियाली बढ्दै गएपछि भूक्षय र बाढीमा भएको कटौती यी नदीका बगर माथिबाटै हेरेर पनि बुझन सकिन्छ ।

राजदुवालीमा माईको पुल तरेपछि बाटो इलाम बजारतिर उकालो लाग्छ । यो पुलभन्दा यहाँ वारि र पारि दुईवटा जलविद्युत् केन्द्र सञ्चालित छन् पारि इलामबजारतिरको जलविद्युत् इलामबजार भन्दा उत्तर पश्चिमको पुवामाईको पानी दुई÷तीन किलोमिटर लामो सुरुङबाट यता फर्काएर निकालिएको हो ।

यहाँबाट ११ किलोमिटर माथि इलाम बजार छ । यहाँ नेपालको सबभन्दा पुरानो चियाबगान पनि छ । यो चिया बगान चन्द्रशमशेरका पालामा यहाँ बडाहाकिम भएका हर्कजङ्ग थापाले लगाउन शुरू गरेका हुन् । तर धेरै मानिस यसलाई पछि यहाँ बडाहाकिम भएका हर्कजङ्गका छोरा गजराजजङ्ग थापाले लगाएको भन्नेमा विश्वास गर्छन् । यहाँ लगाइएको चियाको बीउ भने चीनका बादशाहले नेपालका राजालाई कोसेलीस्वरूप पठाइदिएका थिए ।  

त्यसैबेला स्थापित चिया पेल्ने र सुकाउने मेसिनहरू भने अव्यवस्थाको शिकार भइसकेका छन् ।  

धेरै मान्छे ‘इलाम’ भनेर आउने र घुम्ने मुख्य मुख्य ठाउँ यति नै हुन् । तपाईंको बासका लागि यहाँ होटल र लजहरू छन् र नजिकका गाउँहरूमा होमस्टेहरू पनि छन् ।

तर इलाम यति मात्र होइन । तपाईं यहाँबाट माथि माईपोखरीहुँदै सन्दकपुरतिर जान सक्नुहुन्छ । जमुना, जौबारीको पुरानो व्यापारिक बाटोका अवशेषहरू हेर्न जान सक्नुहुन्छ । हाब्रे (रेड पान्डा) हेर्न चोयाटारतिर लागे हुन्छ । राजमार्ग पछ्याउँदै रक्से, राँके हुँदै पाँचथर र ताप्लेजुङतिर लाग्न सक्नुहुन्छ । पश्चिम इलाम घुम्न बाँकी नै छ । राँकेबाट डाँडैडाँडा रवितिर लाग्दै दमकतिर निस्किन सक्नुहुन्छ ।

जता गए पनि हुन्छ । मुख्य कुरा हो, गाडीबाट सरर्र सडकै सडक मात्र यात्रा नगर्नुहोस् । रोकिनुहोस्, ओर्लिनुहोस् र मौका मिलेसम्म हिंड्नुहोस् । गाउँतिर पस्नुहोस् । चिया बगान वा चिया फ्याक्ट्रीतिर पस्नुहोस् । भौगोलिक, सामाजिक र ऐतिहासिक रूपमा इलाम चिन्न र चिनाउन कोशिश गर्नुहोस् ।

(यो फिचरको उत्पादन र प्रकाशनका निम्ति हामीले आइसेट–नेपालको सहयोग लिएका छौं । सं.)

commercial commercial commercial commercial