बाल कक्षाको जग बसाल्दै झपाका विद्यालय

सामुदायिक विद्यालयका बालकक्षा सुधारका लागि झपाका विभिन्न विद्यालय सँगै स्थानीय तहले पनि चासो देखाउन थालेका छन् । दमक, कमल, गौरादह लगायत विभिन्न स्थानीय तहले पूर्वप्राथमिक तहमा अध्यापनरत शिक्षकलाई मन्टेसरी पद्धतिको तालिम गराएका छन् ।

झपाको दक्षिणवर्ती खजुरगाछी बजारदेखि करीब एक किलोमिटर दक्षिणमा आदिवासी, विपन्न तथा दलित समुदायको आधिक्य भएको खजुरगाछी नै नाम गरेको एउटा बस्ती छ । मध्य असारमा त्यहाँ अवस्थित खजुरगाछी माविमा पुग्दा एउटा कक्षाकोठामा अन्जुकुमारी यादव भाका हालेर गीत गाइरहेकी थिइन् । उनको भाकालाई ३० जना जति स–साना नानीले पछ्याइरहेका थिए । बालबालिकाले भाका बिगारेका ठाउँमा विमलाकुमारी राजवंशी सुधार्दै थिइन् ।

एक दशकदेखि यो माविको बाल विकास कक्षा यसैगरी चलिरहेको छ । यताका दिनमा बाल कक्षालाई नयाँ रूप पनि दिन खोजिंदैछ । त्यसनिम्ति गाउँपालिकाबाट विद्यालयले रु.२ लाख अनुदान पाइसकेको छ । प्रधानाध्यापक गहेन्द्रविक्रम शाहका अनुसार सो रकम शिशु कक्षा मात्र नभई कक्षा १ लाई समेत सुविधासम्पन्न तुल्याउने गरी खर्च गरिन लागेको छ । हाल गौरीगञ्ज गाउँपालिकाको वडा नं. ६ मा पर्छ यो विद्यालय । यहाँदेखि दक्षिणमा अरू मावि छैनन् । “हामी त कुनामा, पुछारमा भएर होला, यहाँ कसैको आँखा पुगेको छैन” सोही विद्यालयका पूर्व विद्यार्थी समेत रहेका प्रधानाध्यापक शाहले भने– “तर शिक्षाको जग भनेको प्राथमिक र पूर्वप्राथमिक तह हो, यो कुरालाई हामीले बुझ्ेका छौं । अब अभिभावक र समुदायलाई पनि बुझउँदैछौं ।”

यस शैक्षिक सत्रमा २७ छात्र र १७ छात्रा गरी ४४ जना विद्यालयको पूर्वप्राथमिक तहमा भर्ना भइसकेका छन् र यो संख्या बढेर कम्तीमा ५० जना पुग्ने प्रअ शाहको अनुमान छ । तर अभिभावकप्रति उनको गुनासो पनि छ । राम्रो आम्दानी भएका, व्यापार व्यवसाय गर्ने र जागिर भएका ९० प्रतिशत भन्दा बढी अभिभावकले आफ्ना सन्तान बोर्डिङमा पठाउने गरेका छन् ।

“हाम्रो बालकक्षा त बिरुवा हुर्काउने नर्सरी जस्तै हो” उनले भने, “यहाँ बच्चालाई पढाउने होइन स्याहार्ने हो । हामी विभिन्न व्यावहारिक ज्ञानसहित खेल्न र पढ्न सिकाउँछौं तर बच्चा जब अलिक हुर्किन्छन् र अभिभावकले कमाइ राम्रो गर्न थाल्छन्, यहाँबाट निकालेर बोर्डिङमा पठाइहाल्छन् ।”

प्राथमिक र पूर्वप्राथमिक तहदेखि नै सामुदायिक विद्यालयमा अध्ययन गरेको विद्यार्थी लगातार मावि तहसम्म अध्ययन गरे निजीमा पढेको भन्दा कमजोर हुन नदिने उनको अठोट छ । तर समुदायले अझ्ै नपत्याएकोमा उनी चित्त दुखाउँछन् ।

‘पढ्ने होइन, सिक्ने ठाउँ’
यसैगरी झपा, गौरादहको जनता माविमा पुग्दा ५० जना जति बालबालिका दुई वटा कक्षामा खेल्दैथिए । कोही पीङमा रमाएका, कोही चाकाचुली, कोही चाहिं प्लाष्टिकका घोडामा चढेर हट् हट् गर्दैथिए । बेला–बेला छुस्केरी मार्दै चल्न खोज्नेलाई शिक्षक शिला सुवेदीले सम्झइन्, “तपाईं यहाँ बस्नु है, साथीले खेलिसकेपछि तपाईंको पालो ।” भर्खर तोते बोली फुटेका नानीलाई उनले ‘तपाईं’ सम्बोधन गरेर फकाइन् । “यो शिशु कक्षा पढ्नेभन्दा पनि संस्कार सिक्ने र उनीहरू रमाउने ठाउँ हो । त्यसैले हामीले जस्तो बोल्न सिकायौं, जस्तो खान सिकायौं, जे गर्न सिकायौं उनीहरूले पछि ठूलो होइन्जेल त्यसै गर्ने हो”, स–साना नानीहरूलाई तपाईं भनेर सम्बोधन गर्नुको कारण उनले अथ्र्याइन् । पूर्व प्राथमिक तह पढ्ने नभई सिक्ने ठाउँ रहेको उनको भनाइ छ । यहाँ उनीहरूले खेल्न, समूहमा रमाउन, सम्बोधन गर्न जस्ता स–साना कुरा सिक्ने गरेको उनले बताइन् ।

त्यही बेला एउटी नानीले ‘मिस बाहिर जाने’ भनिन् । शिलाकै सहकर्मी सफला अधिकारीले हात समाएर ढोका बाहिर लगिन् ती नानीलाई । अनि चप्पल लगाऊ भनिन् । ती सानी नानीले जानिनन् । उनले खुट्टा र चप्पल समाएर लगाउन सिकाइन् । अनि बल्ल उनले चप्पल लगाउन जानिन्÷सिकिन् र सफलाका आँखामा हेरेर मुस्कुराइन् । “स–साना काम पनि हामीले सधैं आफैं गरिदियौं भने उनीहरूले कहिले जान्ने र !” सफलाले भनिन्, “माया गरेर सिकायौं भने आफूले गर्नुपर्ने सानातिना कामहरू उनीहरू आफैं गर्न सक्ने हुन्छन् । अनि स–साना काम गर्न उनीहरू आफैंले सके भने उनीहरू खुशी पनि हुन्छन् ।”

बालकक्षामा आउने बालबालिकालाई गृहकार्यको बोझ् दिन नहुने सफलाको भनाइ छ । “हामी चार÷पाँच वर्ष पुगेका नानीहरूले घरमा पुगेर पनि पढुन् भनेर केही सामान्य गृहकार्य दिन्छौं; गरे खुशी हुन्छौं, नगरे पनि दण्ड दिंदैनौं”, उनले बताइन् ।

सुहाउँदो संरचना
प्राथमिक र पूर्वप्राथमिक तह सञ्चालन अन्य कक्षामा पढाए जसरी मात्रै हुँदैन । बालबालिका बस्ने, खेल्ने, थकाइलाग्दा सुत्ने जस्ता पूर्वाधारहरू पूर्वप्राथमिक तहमा चाहिने बताउँछन्, गौरीगंजका विद्यालय स्रोतव्यक्ति, डिल्लीराम अधिकारी । “भुईंमा सुकुल ओछ्याएर गीत गाउन लाउँदैमा वा चित्र देखाउँदैमा बालकक्षा हुँदैन” उनले भने, “त्यहाँ नानीहरूले म पढ्न आएको छु भन्ने महसूस नै नगरून्, यदि अलिक ठूलालाई कुर्सीमा राख्ने हो भने त्यही अनुसारका आकार र बनोट चाहियो । उनीहरूको कलिलो शरीरलाई असर नगरोस् । खुल्ला हावा, प्रकाश, तापको सन्तुलन चाहियो । खेलौना पनि सिकाइलाई सघाउ पुग्ने प्रकारका चाहियो नि !’ उनको यो भनाइमा सहमत छन्, खजुरगाछी माविका प्रधानाध्यापक गहेन्द्रविक्रम शाह ।

बालबालिकाका लागि अनुकूल बनाउनकै लागि पुरानो छाना समेत परिवर्तन गर्न लागिएको उनले बताए । ‘पुरानो टीनको छानामा नानीहरूलाई राखेर कसरी बालबालिकालाई सुहाउँदिलो वातावरण बनाउन सकिन्छ र ?’ उनले भने, “कुनै पनि ढंगबाट बोझ् महसूस हुने बित्तिकै नानीहरू सिक्न सक्दैनन्, कक्षाकोठालाई यातना गृह ठान्यो भने त्यो बच्चाले कसरी सिक्न सक्छ ? यही कारण हो उनीहरूमा विद्यालयप्रति वितृष्णा जाग्ने ।”

गौरादहको जनता माविका प्रधानाध्यापक बुद्धिमान कार्की जुनसुकै कक्षाका विद्यार्थीका लागि पनि उपयुक्त वातावरण चाहिने बताउँछन् । अझ् भर्खरै विद्यालय आउन अभ्यस्त हुनेहरूका लागि त नभई नहुने ठान्छन् । बालअनुकूल भनेको चाहिं के हो नि ? उनले अर्थ लगाए, “बालअनुकूल वातावरण भनेको त्यस्तो वातावरण हो, जहाँबाट उसले कुनै पनि अर्थमा आफूलाई अप्ठेरो नठानोस् । बस्ने ठाउँ, खानेकुरा, खेल्ने सामग्री र मैदान, सिकाउने तथा उत्प्रेरणा दिने शिक्षकहरूको सम्बोधन र व्यवहार जस्ता हरेक कुरा उनीहरूलाई प्रिय लाग्नुपर्छ । अनि मात्र बालअनुकूल वातावरण सिर्जना हुन्छ ।” बालअनुकूल वातावरणमा रहँदा बालबालिकाले पढेको वा पढाएको महसूस नगर्ने बरु खेलेको, रमाएको महसूस गर्ने भएकाले खेल्दा खेल्दै, रमाउँदा रमाउँदै उनीहरूले धेरै कुरा सिक्ने कार्की बताउँछन् ।

प्रतिस्पर्धाको आधार
सामुदायिक विद्यालयमा शुरू भएको बालअनुकूल सिकाइ, पूर्वप्राथमिक तह र अंग्रेजी माध्यम प्रतिस्पर्धाका आधार पनि बन्दै गएका छन् । निजी विद्यालयमा नर्सरी तथा मन्टेसरी कक्षाका लागि नानीहरू पठाउने अभिभावकले सामुदायिक विद्यालयमा त्यस्तो सुविधा नै विगतमा नपाएको बताउँछन्, गौरादह स्रोत केन्द्रका स्रोत व्यक्ति हरि अधिकारी । “अहिले नानीहरू ५÷६ वर्षको उमेरसम्म घरैमा राख्ने कुरा आउँदैन, पहिला पहिला पूर्वप्राथमिक तह नहुँदा कक्षा १ मा नै भर्ना गर्नुपर्ने बाध्यता थियो, तर अढाइ÷तीन वर्षको नानी कक्षा १ मा भर्ना गर्ने कुरो पनि आएन” उनले भने, “केही अघिसम्म अभिभावकहरूका लागि आफ्ना सन्तानलाई निजी विद्यालयमा पठाउनुपर्ने बाध्यता थियो । तर जब सामुदायिक विद्यालयहरूको ध्यान पूर्वप्राथमिक तह वा बाल कक्षातर्फ गयो, समुदायको आकर्षण पनि बढेर गएको छ । अनि पूर्वप्राथमिक तहमा अभिभावक र विद्यार्थीको चित्त बुझने वातावरण विद्यालय तथा शिक्षकहरूको तर्फबाट भयो भने अभिभावकले किन रोज्छ र निजी बोर्डिङ ?” योसँगै सामुदायिक विद्यालयमा प्राथमिक तहदेखि नै अंग्रेजी माध्यमको पठनपाठन शुरू हुँदै गएकाले पनि भाषाकै कारण बोर्डिङ पठाउनुपर्ने बाध्यता हट्दै गएको उनको भनाइ छ । “सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम, मन्टेसरी विधि र बालकक्षा सञ्चालन निजी विद्यालयहरूसँग प्रतिस्पर्धाका बलिया आधार हुन्” उनले भने, “निजीमा जे पढ्छन्, जस्तो सिक्छन् सबै कुरा हामीले दियौं भने समुदायको आकर्षण त्यसै बढिहाल्छ नि !”

निजीभन्दा अब्बल
दमकका कुमार राईका पाँच जना सन्तान छन् । तीमध्ये दुइटी छोरीले ७ र ८ कक्षासम्म निजी स्कूलमा पढे । छोराले कक्षा ६ सम्म र अर्की छोरीले पनि नर्सरी बोर्डिङमा नै पढेका हुन् । त्यसपछि भने उनले दमकमै रहेको हिमालय माविमा भर्ना गराए ।

चार सन्तानलाई बोर्डिङबाट निकालेर सामुदायिक विद्यालयमा भर्ना गराएका उनले कान्छी छोरीलाई भने नर्सरी कक्षादेखि नै सोही विद्यालयमा पढाएका छन् । “बोर्डिङभन्दा सरकारी स्कूल कम नभएपछि किन धेरै खर्च गर्नु” बोर्डिङबाट छोराछोरी निकालेर हिमालय माविमा भर्ना गर्नुको कारणबारे राईले खुलाए, “बोर्डिङबाट निकालेर ल्याए पनि यहाँ सिट पाउनै गाह्रो, त्यसैले सानीलाई नर्सरीदेखि नै यहीं पढाएको छु ।” आशा राईले पनि छोरी तयामीलाई यही सामुदायिक विद्यालयमा भर्ना गराएकी छन् । “खेल्ने, पढ्ने, सबै कुरा बोर्डिङको भन्दा राम्रो भएपछि को कुदाओस् बोर्डिङतिर !” एलकेजीमा पढ्ने आफ्नी छोरीलाई विद्यालय पु¥याउन आएकी उनले थपिन्, “घरमा पनि नानीको पढाइलाई ध्यान दिने हो भने बोर्डिङ लगाउनै नपर्ने रहेछ ।”

हिमालय माविले कक्षा–१ भन्दा तल बोर्डिङ स्कूल जस्तै गरी तीन वटा कक्षा चलाएको छ– नर्सरी, एलकेजी र यूकेजी । हाल नर्सरीमा ६१, एलकेजीमा ६० र यूकेजीमा ४० गरी १६१ जना बालबालिका पूर्वप्राथमिक तहमा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झले जानकारी दिए । अभिभावकको आकर्षण बढ्नुको मुख्य कारण प्राथमिक र पूर्वप्राथमिक तहदेखि नै थालिएको सुधारको प्रयास हो भन्छन्, उनी । एकैपटक कक्षा १ मा भर्ना गर्दा बालबालिका ठूलो भइसक्ने भएकाले पनि अभिभावकलाई निजी विद्यालयतर्फ जानुपर्ने आवश्यकता रहने झको भनाइ छ । तर निजी सरह पूर्वप्राथमिक तहमा गुणस्तरीय शिक्षा दिन थालेपछि निजीतर्फ धाउने बाध्यता अभिभावकमा नहुने उनले बताए । “बोर्डिङभन्दा स्तरीय प्लेगु्रुप, अतिरिक्त क्रियाकलापमा जोड, गुणस्तरीय शिक्षण सिकाइ भएपछि सामुदायिक विद्यालयको विद्यार्थी निजीको भन्दा तेज हुन्छ” प्रअ झले भने, “हामीले यो अभ्यास गरेकै कारण हाम्रा नियमित भन्दा अरू विद्यार्थीलाई भर्ना नै लिन सकेका छैनौं ।” विद्यार्थीको अधिक चाप रहेको भन्दै उनले बाध्यता सुनाए, “हामीकहाँ आउने भनेकै वरिपरिका बोर्डिङका विद्यार्थी हुन्, तर पनि हामी सबैलाई भर्ना लिन सक्दैनौं, त्यसैले कक्षा १ भन्दा तल र कक्षा ९ मा मात्र यो वर्ष नयाँ भर्ना गर्न सकियो ।”

प्रधानाध्यापक झले यसो भनिरहँदा झपाको शिवसताक्षी नगरपालिकाका अधिकृत प्रकाश चौधरीले कक्षा ११ मा छोरी प्रणिता र कक्षा १० मा छोरा प्रज्वललाई भर्ना लिइदिन झलाई आग्रह गरिरहेका थिए । विराटनगरमा बोर्डिङमा पढाइरहेका उनले आफ्नो जागिरको सरुवासँगै सन्तानलाई दमकमा पढाउन ल्याएका हुन् । तर अरू निजी विद्यालयहरू चहार्दा पनि हिमालय माविकै गुणस्तर र पद्धतिले आकर्षित पारेको चौधरीले बताए । चौधरीको आग्रहलाई झले विषय मिले र सिट रहेको भए भर्ना लिइदिने भनेर आश्वस्त पारिरहेका थिए ।

“सामुदायिक विद्यालयहरूले पूर्वप्राथमिक तहमा ध्यान दिएपछि समुदायको आकर्षण बढेको छ । अभिभावक र विद्यार्थीको चित्तबुझने वातावरण यसमै भयो भने अभिभावकले किन रोज्छ र निजी बोर्डिङ ?”

तालिमपछि फेरिएको शैली
सामुदायिक विद्यालयका बालकक्षा सुधारका लागि झपाका विभिन्न विद्यालय सँगै स्थानीय तहले पनि चासो देखाउन थालेका छन् । दमक, कमल, गौरादह लगायत विभिन्न स्थानीय तहले पूर्वप्राथमिक तहमा अध्यापनरत शिक्षकलाई मन्टेसरी पद्धतिको तालिम गराएका छन् । यसप्रकारको तालिम लिएपछि पढाउने र सिकाउने शैली नै फेरिएको बताउँछिन्, हिमालय माविकी यशोदा विक । १५ वर्षदेखि शिक्षण गर्दै आएकी उनी तालिम लिनुअघि किताबमा भएको पढाउने र जानेको कुरा खेलाउने गर्दै आएकी थिइन् । “तालिम लिएपछि त तरिका नै फेरियो नि !” उनले भनिन्, “नानीहरूलाई पढाएर मात्र नहुने रहेछ, झ्न् कक्षा १ भन्दा पनि तलकालाई त गीत गाएर तथा खेलाएर नै बुझउनुपर्ने रहेछ । अचेल त्यसै गर्ने गरेकी छु ।” यस्तै तालिम लिएपछि गीता गौतमको पनि पढाउने शैली फेरियो । उनले शिक्षण पेशा थालेको १८ वर्ष पुग्यो । दमक १ को भृकुटी आधारभूत विद्यालयमा अध्यापनरत उनले एक महीने मन्टेसरी तालिम लिइन् । पहिले नै यस्तो तालिम लिएको भए कुरै अर्कै हुने रहेछ भन्ने उनलाई अहिले लागेको छ ।

वर्षौंदेखि अध्यापनरतलाई मात्रै होइन, शिक्षण पेशामा नवप्रवेशीलाई पनि मन्टेसरी तालिमले बाटो सजिलो पारिदिएको छ । दिपिनी आधारभूत विद्यालयमा यसै वर्षदेखि अध्यापन गराउँदै आएकी सपनादेवी कार्कीले मन्टेसरी तालिमले नानीहरूलाई चित्र, खेल तथा गीतको माध्यमबाट पढ्न सिकाउने भएकाले छिट्टै सिक्ने र सिकेको कुरा नबिर्सने अनुभव बताइन् ।

उनीहरूलाई दमक नगरपालिकाले यसप्रकारको तालिम उपलब्ध गराएको हो । प्राध्यापन पेशामा अढाइ दशक बिताएकी दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी भन्छिन्, “सामाजिक रूपान्तरणको जग शिक्षा हो र शिक्षाको जग प्राथमिक तथा पूर्वप्राथमिक तह हो, त्यसैले माथिल्लो कक्षाको गुणस्तरमा मात्र ध्यान दिनुभन्दा शिशु कक्षादेखि नै गुणस्तरको जग बसाल्न तालिमको व्यवस्था गरिएको हो ।”

commercial commercial commercial commercial