आकाशे पानी संचयन प्रणाली स्कूलहरू अघि लाग्न सक्छन्

नेपालको सन्दर्भमा, पानीको प्रयोग र व्यवस्थापनबारे छलफल गर्दा सधैं सम्झ्निुपर्ने दुइटा वास्तविकता हुन्ः (१) यहाँको धरातलीय स्वरूप र (२) जलचक्र । हिमालय पर्वतमाला सहितको हाम्रो भू–भाग भारतीय र युरेसियन प्लेटको प्रत्यक्ष टकराहटको प्रतिफल हो । यो भू–भागमा तिब्बती पठार, हिमालय र त्योभन्दा होचा पर्वतमाला, उपत्यका, बेंसी, देउराली, टार, चुरे, भावर, तराई–मधेशका मैदानी क्षेत्र आदि छन् । यस भेगको जलचक्रलाई मनसुनी र पश्चिमी वायुप्रणालीले निरन्तरता दिन्छन् । हाम्रो हावापानीको विविधता, त्यसमा आधारित विशिष्ट स्थानीय प्राकृतिक प्रणाली र त्यसै अनुसारको सामाजिक व्यवस्था पनि यिनै दुई वास्तविकता अनुसार सिर्जना भएका छन् ।

पश्चिमी वायुप्रणालीले नेपालमा जाडो महीनामा पानी पार्छ । यो प्रणालीको तुलनामा मनसुनी वायुप्रणालीले प्रशस्त पानी पार्छ । मनसुनका चार महीनामा नेपालमा सरदर १४०० मिमि वर्षा हुन्छ भने बाँकी अन्य महीनामा करीब ३६० मिमि । यो सरदर आँकडालाई वर्षाको स्थानीय भिन्नताका आधारमा थप व्याख्या गर्नु जरूरी हुन्छ— पानीको प्रयोग र व्यवस्थापन सही हिसाबले गर्न ।

नेपालमा मनसुनी वायुप्रणाली मोटामोटी असारदेखि असोजसम्म कायम रहन्छ । यस अवधिमा वर्षाको पानीले जमीन भित्रैसम्म भिज्छ; मूल फुट्छन्, जलभण्डारहरू भरिन्छन् ।

जताततै हरियाली छाउँछ । नदीहरू उर्लिन्छन् । खानेपानी र खेतीपातीका निम्ति पानीको परिपूर्ति तुलनात्मक हिसाबले सजिलो हुन्छ । तर सँगसँगै नदी पनि उर्लिन्छन् । उर्लिएका नदीले बाढीको विपत्ति ल्याउँछन् । भीषण वर्षा, अनियन्त्रित बसोबास एवं शहरीकरण र वनजङ्गल विनाशका कारण गएको वर्ष नेपालको तराई–मधेश व्यापक बाढीको चपेटामा प¥यो । यस वर्ष भारतको केरलमा बाढीको त्यस्तै विपत्ति दोहोरियो ।

नेपालमा पानी पर्ने परिमाण पनि क्षेत्र अनुसार फरक हुन्छ । मनसुनमा पूर्वी नेपालमा धेरै पानी पर्छ भने पश्चिममा कम । त्यस्तै चुरे शृङ्खलाको दक्षिण भेगमा बढी पानी पर्छ भने उत्तरतर्फ कम । सबैभन्दा नाटकीय उदाहरण मध्य नेपालको पोखरा र मुस्ताङ हो । कुनै वर्ष पोखराको लुम्लेमा ५ हजार मिमिसम्म वर्षा नापिएको छ भने त्यसको ठीक उत्तरको मुस्ताङमा २५० मिमि मात्र । समय अनुसार वर्षाको भिन्नता अर्को चरित्र हो । मनसुनका चार महीना अर्थात् १२० दिनमा निरन्तर पानी पर्ने पनि होइन, खासमा ५० प्रतिशत पानी करीब १० दिनमा पर्छ । २४ घन्टामा ५०० मिमिभन्दा बढी हाँडीघोप्टे वर्षा भएका कैयौं दृष्टान्त छन् । परिमाण कम भए पनि हिउँदका महीनामा पर्ने वर्षाले हिउँ पार्न र माटोको चिस्यान कायम राख्न सघाउँछ ।

तर जलवायु परिवर्तनले हाम्रो भू–भागको यो स्थापित प्रणालीमा फेरबदल गर्दैछ । अर्थात् आजको वर्षाको चरित्र ३० वर्षअघिको जस्तो छैन । मनसुनकै महीनामा पनि कहीं पानी पर्छ कहीं सुक्खा हुन्छ । पानी केही समय पर्छ अनि रोकिन्छ । यसर्थ वर्षाको बेला पानीको जोहो अर्थात् आकाशे पानीको संकलन (‘रेनवाटर हार्भेस्टिङ’) पानी आपूर्ति र व्यवस्थापनको एउटा वैकल्पिक उपाय हुनसक्छ ।

पानी संकलनका चुनौती
नेपाल, फिलिपिन्स, दक्षिण–पूर्व एशियाली मुलुक र चीनका पहाडी क्षेत्रमा धान खेती गर्न गह्रा बनाउने गरिन्छ । गह्रा प्रणालीमा वर्षाको पानी जमाइराख्न अनि एउटा गह्रामा पानी भरिएपछि त्योभन्दा तल्लोमा जाने व्यवस्था हुन्छ । यसलाई वर्षाको पानी–व्यवस्थापन गर्ने एउटा परम्परागत तरिका पनि मान्न सकिन्छ । यसैगरी स्थानीय पोखरी र आहालमा जम्मा भएको पानीले माटोको आर्द्रता कायम राख्दै तलतिरका मुहानहरूलाई निरन्तर राख्न सहयोग गर्छन् ।

विगत केही वर्षयता स्थानीय जलचक्र, धरातलीय वास्तविकता र सामाजिक संवेदनशीलता बिर्सेर एक्साभेटर र बुल्डोजरका अनियन्त्रित प्रयोग सहित गरिएका सडक निर्माणले नेपालका कमजोर पाखापखेराहरूमा ठूलो हलचल आएको छ । पानीका मुहान र मूलहरू मासिंदैछन् । पहाडका साना ठूला बजार क्षेत्रहरूमा पुराना पोखरीहरू पुरेर सडक, बस बिसौनी र प्रशासकीय भवन बनाइएका छन् । यस्ता अनेक प्रकारका हस्तक्षेपका कारण बँचे–खुचेका पोखरी र आहालहरू मासिएका छन् । माथिल्लो भेगका पोखरी र आहालहरू मासिएका कारण तल्लो भेगका मुहान सुक्दैछन् । काठमाडौंका राजकुलाहरू र ढुङ्गेधाराका लागि पानी जोहो गर्ने परम्परागत विधि हुन् तर त्यो प्रणाली धेरैअघि नै तहसनहस भइसकेछ ।

केही दशक पहिले अर्थात् विकासको आधुनिक यात्रा शुरू हुनुअघिसम्म, यातायातको असुविधाका कारण हाम्रा गाउँठाउँमा पानी संकलन गरेर राख्न ट्यांकी बनाउने प्रविधि र निर्माण सामग्रीहरू उपलब्ध थिएनन् । त्यसैले जति दुःख भए पनि धेरै ठाउँमा बस्तीभन्दा तल रहेका मूल अथवा स्रोतबाट पानी ओसारेर जीविका चलाइन्थ्यो । घरमा पानीको जोहो मूलतः महिलाहरूले गर्ने भएकाले पनि वर्षाको पानी सञ्चय गर्ने विधिका बारेमा सोच्ने र काम गर्नेतर्फ सामाजिक अगुवाहरूको ध्यान गएको थिएन ।
    
विकल्पको उदय
नेपालमा सन् १९६० को दशकमा एक दुई ठाउँमा आकाशबाट परेको पानी ट्यांकीमा संकलन गर्ने प्रयास शुरू भइसकेका थिए तर त्यो क्रम धेरै अगाडि बढ्न सकेन । सन् १९८० मा अन्तर्राष्ट्रिय खानेपानी र सरसफाइ दशक शुरू भएपछि सूक्ष्मस्तरमा वर्षाको पानी प्रयोग गर्ने प्रयास शुरू भयो र सन् १९९० पछि त्यसले हल्का गति लियो । दातृनिकायहरू र गैरसरकारी संस्थाहरूले त्यसका लागि सहयोग उपलब्ध गराए । सामुदायिक खानेपानी प्रणालीमा ‘फेरोसिमेन्ट’ (कुखुराको खोर बनाउन प्रयोग गरिने जाली र सिमेन्ट प्रयोग गरी बनाइने ट्यांकी) प्रविधि स्थापित भइसकेको थियो । वर्षाको पानी जम्मा गरी खानेपानी आपूर्ति गर्न फेरोसमेन्टको घैंटा (भकारी) बनाउने प्रविधि पनि प्रयोग हुन थाल्यो । हिजोआज धेरैजसो प्लाष्टिकका ट्यांकी प्रयोग गरिन्छ ।

नेपालको ग्रामीण र शहरी क्षेत्रमा घरायसी प्रयोजनका लागि वर्षाको पानी संकलनमा सघाउन हाल स्मार्ट पानी, हेल्भेटास, रुरल भिलेज वाटर रिसोर्सेज म्यानेजमेन्ट प्रोजेक्ट, नेपाल रेडक्रस सोसाइटी, बायोग्यास सपोर्ट कार्यक्रम, प्लान नेपाल, स्वास्थ्यको लागि पानी, इन्भायरोमेन्ट एन्ड पब्लिक हेल्थ अर्गनाइजेसन, एकीकृत शहरी विकास केन्द्र, वेस्ट पानी र नोभा रेन जस्ता संस्थाहरू क्रियाशील छन् । यी संस्थाहरूको प्रयासमा अहिलेसम्म करीब ७० हजार घनमिटर (१ घनमिटर=१००० लिटर) आकाशे पानी संचय गर्ने प्रणाली निर्माण भइसकेको छ । यसबाट करीब ५० हजार घरपरिवार लाभान्वित भएको आँकडा छ ।

बुटवल निवासी नगेन्द्रराज पाण्डे विगत डेढ दशकदेखि पहाडी जिल्लाका साना किसानलाई तरकारी खेतीका लागि समेत उपयोगी हुने पोखरी निर्माण गर्ने व्यवसाय नै गरिरहेका छन् । उनले सिल्पोउलिन प्लाष्टिक सिट प्रयोग गरेर धाराबाट बगेको र वर्षाको पानी पोखरीमा सञ्चय गर्ने विधि प्रयोग गर्ने गरेका छन् । आफूले व्यवसाय शुरू गरेयता ३० हजारदेखि ३ लाख लिटरसम्मका करीब १२०० वटा पोखरी निर्माण गरिसकेको उनको अनुमान छ ।

वर्षाको पानी सङ्कलनका लाभ
क)    बलेसीमा परेको वा खेतबारीमा जम्ने पानीलाई उचित बाटो बनाई पोखरीमा जम्मा गर्दा स्थानीय भू–धरातलमा पानी वितरित हुन्छ र जमीनभित्र सोसिन्छ, माटो क्षय हुनबाट जोगिन्छ, मूलहरू बौरिन थाल्छन् ।    
ख)    ट्यांकीमा संकलन गरेको वर्षाले घरमा खानेपानी आपूर्ति एवं सरसफाइका लागि सहज बनाउँछ । पानी बोक्न लाग्ने बोझ् कम र समयको बचत हुन्छ ।

ग)    शहरी क्षेत्रमा घरको छतमा परेको वर्षाको पानीलाई सहजै भूमिगत तहमा भण्डार गर्न सकिन्छ ।
घ)    जम्मा गरेको वर्षाको पानी शौचालय फ्लसका लागि प्रयोग गर्न सकिन्छ । यसका लागि पानीको ट्यांकीबाट पाइप सोझ्ै फ्लस गर्ने ट्यांकीमा जोड्नुपर्छ । यसो गर्दा पाइप प्रणालीबाट आउने प्रशोधित पानी ढल बन्नबाट रोकिन्छ । ट्याङ्करको पानी किन्न भइरहेको पैसाको बचत हुन्छ । सङ्कलित पानी लुगा धुन र नुहाउनका लागि समेत प्रयोग गर्न सकिन्छ ।
ङ)    ‘सिल्पोउलिन सिट’ प्रयोग गरेर पोखरीमा जम्मा गरेको पानी थोपा सिंचाइसित जोडेर तरकारी खेतीमा प्रयोग गरी किसानको आम्दानी बढाउन पनि सकिन्छ ।

सीमाहरू
आकाशे पानीको संकलन र व्यवस्थापन– पानी आपूर्ति सहज बनाउने एउटा उपाय हो । अरू विकल्पको तुलनामा यो प्रविधि सजिलो भए पनि यसका केही सीमा भने छन्ः
१)    वर्षा नै भएन भने ट्यांकीमा पानी जम्मा हुन पाउँदैन । जस्तो, असारदेखि असोज महीनामा पनि हरेक दिन पानी पर्दैन र ट्यांकी खाली हुन सक्छ । त्यसैले पानीको प्रयोग सुझ्बुझ्ले गर्नुपर्छ ।
२)    सहज भए पनि ट्यांकी, पाइप र अन्य सरसामानका लागि लगानी आवश्यक पर्छ । धेरै पानी जम्मा गर्न ठूलो क्षमताको ट्यांकी राख्न सकिन्छ तर त्यसो गर्दा खर्च माथि जान्छ । अर्कोतर्फ पानी परिहाल्यो भने ट्यांकी भरिन्छ, पानी खेर जान्छ । हाल बजारमा प्रचलित दरअनुसार १ लिटर अटाउने प्लाष्टिक ट्यांकीको रु.१४ पर्छ । त्यसअनुसार १ हजार लिटरको ट्यांकीको लागत रु.१४ हजार भयो । फिल्टर, पाइप, धारा र मिस्त्रीको हिसाब ग¥यो भने मोटामोटी रु.२० हजार खर्च पर्छ । कुखुरे जालीको ट्यांकी निर्माण गर्न १ लिटरको रु.१० पर्छ । सर–सामान ढुवानीको हिसाब गर्दा यसको खर्च अरू बढ्न सक्छ ।
३)    आकाशे पानी संकलन प्रणालीको निरन्तर रेखदेख र मर्मत आवश्यक हुन्छ । पिउने पानीको गुणस्तर कायम राख्न सरसफाइ अत्यन्तै जरूरी हुन्छ । वर्षाको पहिलो भल ट्यांकीमा जान दिनुहुँदैन, बाहिर फाल्ने व्यवस्था गर्नुपर्छ । छाना, डुँड र ट्यांकी नियमित सफा गर्नुपर्छ । वर्षाको पानीलाई भूमिगत जलभण्डारमा पठाउने हो भने फिल्टर राख्नु जरूरी हुन्छ । भूमिगत जलभण्डारको पानी प्रदूषित भयो भने त्यसलाई शुद्ध पार्न मुश्किल हुन्छ ।
४)    शहरी क्षेत्रका घरमा प्रणालीको ट्यांकी राख्ने स्थान नै उपलब्ध नहुन सक्छ । त्यस्ता घर–परिवारले चाहेर पनि वर्षाको पानी संकलन गर्न सक्दैनन् ।
५)    प्रविधि सहज भए पनि यो प्रणाली निर्माण गर्न दक्ष मिस्त्रीको सहयोग आवश्यक पर्छ ।
६)    आर्थिक सम्पन्नता बढ्दै जाँदा घरपरिवारहरूको पानीको आवश्यकता पनि बढ्छ । परिणामतः उनीहरूका निम्ति आपूर्ति बढाउन थप स्रोतको खाँचो पर्न सक्छ ।
७)    ग्रामीण भेगका कम आम्दानीका परिवारको घरमा निर्माण गरिएका ट्यांकीले तिनको पानीको आवश्यकता सामान्यतः पूर्ति गर्ने गरेको छ । तर कुनै साल वर्षाको मौसममै पानी कम पर्दा ट्यांकी नभरिने र त्यसबाट प्रणालीप्रतिको उनीहरूको विश्वासमा कमी हुन गएका केही दृष्टान्त पनि छन् ।

स्कूलमा चाहिएको छ पानी
पानीको आपूर्तिका लागि गरिने समग्र व्यवस्थापनका उपायहरूमा आकाशे पानीको संकलन, भण्डारण र संरक्षण गर्ने कार्य व्यापक बन्नु जरूरी छ । अहिले नेपालको पहाडी लगायत अन्य भेगमा यातायात व्यवस्था तुलनात्मक हिसाबले सुध्रिएको छ ।

आकाशे पानी भण्डारण प्रणाली बनाउन आवश्यक पाइप, धारा, भल्भ, किलाकाँटा र अन्य सामग्रीहरू स्थानीय बजारमा पनि किन्न पाइन्छन् । बजारमा दक्ष मिस्त्रीहरू छन् सँगै शुल्क लिएर सेवा प्रदान गर्ने उद्यमीहरू पनि तयार भइसकेका छन् ।

नेपालका हरेक जस्तो भूभागमा आकाशे पानी संकलनको अभियानलाई व्यापक पार्न उचित प्रकारको संस्थागत व्यवस्था आवश्यक रहेको छ । आजको सन्दर्भमा स्थानीय सरकारहरूले आकाशे पानीको संचयन; पोखरी प्रवद्र्धन एवं निर्माणलाई आफ्नो कार्य क्षेत्र बनाउन सक्छन् । तिनले घरघरमा आकाशे पानीका कुवा र घैंटा, ‘एक वडा एक पोखरी’ अनि ‘एक विद्यालय एक पानी संकलन प्रणाली’ जस्ता कार्यक्रमलाई अभियानका रूपमा अघि बढाउन सक्छन् ।

हाम्रा धेरैजसो स्कूल ठिङ्गो भवनका रूपमा भेटिन्छन्, त्यहाँ बिरुवा, रूख, बगैंचा केही हुँदैन, उराठ लाग्दा हुन्छन् । कतिपय विद्यालयहरूमा पिउन र चर्पीमा प्रयोगका लागि समेत पर्याप्त पानीको व्यवस्था छैन । वर्षाको पानी संकलन गर्ने प्रणालीको स्थापनाले त्यस्ता विद्यालयमा पानीको उपलब्धता सहज हुन सक्छ । पानी भएपछि स्कूलको वरिपरि रैथाने घाँस तथा रूख–बिरुवा लगाउन र बगैंचा बनाउन पनि सकिन्छ जसले विद्यालयलाई रमाइलो र उपयोगी बनाउँछ । यो पद्धतिमा वर्षा र तापक्रम नाप्ने नागरिक विज्ञान पनि जोड्न सके सुनमा सुगन्ध थपिनेछ । त्यसबाट विद्यार्थीले प्रकृतिमैत्री संस्कार विकास गर्ने मौका समेत पाउने छन् ।

commercial commercial commercial commercial