विज्ञान विषयमा कक्षा ८ का विद्यार्थी दयनीय छ सिकाइ उपलब्धि

पछिल्लो गुणस्तर परीक्षणले विज्ञान विषयमा विद्यार्थीको सिकाइ उपलब्धिको अवस्था अत्यन्तै कमजोर रहेको देखाउँछ । विद्यार्थीले केही कण्ठ गर्नुपर्ने प्रश्नहरू समाधान गर्न सकेका भए पनि वैज्ञानिक आचरणको विकास गराउने, विज्ञानमा प्रक्रियागत सीपहरू विकास गर्ने खालका प्रश्नहरूमा उनीहरूको उपलब्धि अत्यन्तै कमजोर पाइन्छ ।

विश्वका प्रायः सबै देशमा विद्यार्थीको सिकाइ उपलब्धिको लेखाजोखा गर्ने प्रयोजनको लागि राष्ट्रिय, क्षेत्रीय र  अन्तर्राष्ट्रिय परीक्षणहरू सञ्चालन गर्ने गरिन्छ । यसको नतिजाबाट पाठ सिकेर समग्र शिक्षा प्रणालीमा सुधार गर्ने गरिन्छ । यस्ता परीक्षणका नतिजाप्रति शिक्षाका सरोकारवालाहरूको तीव्र चासो रहेको पाइन्छ । त्यसैले, यो आलेख विद्यार्थीको सिकाइ उपलब्धिको परीक्षण के हो ? अन्तर्राष्ट्रियस्तरमा यसको अवस्था के छ ? नेपालमा यसको अभ्यास कसरी गरिंदैछ ? यस्ता ठूला परिमाणका परीक्षणहरू किन गर्ने ? नेपालमा राष्ट्रिय परीक्षण कसरी गरिन्छ ? कक्षा–८ को विज्ञान विषयमा हाम्रो राष्ट्रिय परीक्षणको नतिजाले के अवस्था देखाएको छ ? यसको सुधारको लागि के गर्न सकिन्छ ? जस्ता विषयहरूमा केन्द्रित रहनेछ । यो आलेख विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षणको सन् २०१८ को प्रतिवेदनमा आधारित छ ।

विषय प्रवेश
विद्यार्थीमा पाठ्यक्रमले अपेक्षा गरेको ज्ञानको अवस्था के छ ? पाठ्यक्रमले प्रदान गरेको वा गर्ने भनेको ज्ञान व्यवहारमा कुन हदसम्म कसरी प्रयोग भएको छ ? विषयवस्तुका विभिन्न क्षेत्रमा विद्यार्थीको अभिवृत्ति र रुचिको अवस्था के छ ? पाठ्यक्रममा दिएको भन्दा विद्यार्थीको थप ज्ञानको अवस्था के छ ? समाजका विभिन्न समूहको सिकाइ उपलब्धि के छ ? विगतका वर्षहरूको तुलनामा शिक्षा प्रणालीमा सुधारको अवस्था के छ ? विद्यार्थीमा एक्काइसौं शताब्दीका सिकाइ सक्षमताहरूको अवस्था के छ ? यी र यस्ता प्रश्नहरूको लेखाजोखा गरी सम्बन्धित पक्षलाई पृष्ठपोषण प्रदान गर्नको लागि विश्वका प्रायः सबै देशले अन्तर्राष्ट्रिय क्षेत्रीय अथवा परीक्षण प्रणालीमध्ये सबै या कुनै एउटा अवलम्बन गरेर शिक्षा प्रणालीलाई पृष्ठपोषण प्रदान गर्ने गर्छन् ।

यस सन्दर्भमा, एशिया प्रशान्त क्षेत्रका केही देशहरूको सन् २००५ देखि २०१५ सम्मका परीक्षणहरूको अवस्था हेर्दा, अफगानिस्तानमा यो अवधिमा जम्मा एउटा मात्र राष्ट्रिय परीक्षण भएको पाइन्छ । भूटानमा ७ वटा राष्ट्रिय परीक्षण, कम्बोडियामा पाँच वटा राष्ट्रिय परीक्षण र दुई वटा क्षेत्रीय परीक्षण भएको देखिन्छ । त्यस्तै मलेशियामा ११ वटा राष्ट्रिय र पाँच वटा अन्तर्राष्ट्रिय परीक्षण, माल्दिभ्समा एउटा राष्ट्रिय परीक्षण, मंगोलियामा पाँच वटा राष्ट्रिय र एउटा अन्तर्राष्ट्रिय परीक्षण, पाकिस्तानमा पाँच वटा राष्ट्रिय परीक्षण, कोरियामा ११ वटा राष्ट्रिय र ७ वटा अन्तर्राष्ट्रिय परीक्षण, श्रीलंकामा ६ वटा राष्ट्रिय परीक्षण, भियतनाममा ७ वटा राष्ट्रिय, एउटा क्षेत्रीय र दुइटा अन्तर्राष्ट्रिय परीक्षण भएको पाइन्छ । नेपालको सन्दर्भमा भने २०११ देखि अहिलेसम्म जम्मा पाँच वटा राष्ट्रिय परीक्षण भएको पाइन्छ ।

यसबाट कम्बोडियाले क्षेत्रीय र राष्ट्रिय दुवै परीक्षणमा भाग लिने गरेको, मलेशिया, मंगोलिया र कोरियाले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै परीक्षण सञ्चालन गर्ने गरेको; भियतनामले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय समेत तीन तहकै परीक्षणहरू सञ्चालन गर्ने गरेको पाइन्छ । नेपाल, भूटान, माल्दिभ्स, पाकिस्तान, श्रीलंका जस्ता देशहरूमा भने राष्ट्रिय परीक्षण मात्र हुने गरेको छ ।

किन गर्ने ठूलो परिमाणको परीक्षण ?
ठूलो परिमाणका परीक्षण ९ीबचनभ कअबभि बककभककmभलत० मा स्तरीकृत विधि प्रयोग गरिएको हुन्छ र नतिजाको वैधता पनि उच्च हुने गर्दछ । अन्तर्राष्ट्रियस्तरका परीक्षणहरूले विश्वस्तरमा आफ्नो देशको अवस्था र राष्ट्रिय परीक्षणले देशभित्र शिक्षा प्रणालीले कसरी कार्य गरिराखेको छ भनेर झ्ल्काउने कार्य गर्दछ । परीक्षणको नतिजाको आधारमा शिक्षाका नीतिहरूको पुनरावलोकन गर्ने, प्रधानाध्यापक तथा विद्यालय नेतृत्वको पेशागत विकासका निम्ति आवश्यक कार्यक्रमहरू सञ्चालन गर्ने, शिक्षकको पेशागत विकासमा ध्यान दिने, पाठ्यक्रम पुनरावलोकन गर्ने र नतिजाले कमजोर देखिएका समूह, विद्यालयका प्रकार र क्षेत्रहरूमा विशेष कार्यक्रम सञ्चालन गरेर सुधारका कार्यहरू गर्ने गरिन्छ ।

नेपालको सन्दर्भ
नेपालमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापनापूर्व केही मात्रामा राष्ट्रिय परीक्षणहरू भएका भए पनि सो केन्द्रको स्थापनापछि सन् २०११ मा कक्षा–८ को गणित, अंग्रेजी, सामाजिक र नेपाली विषयमा पहिलो पटक ठूलो स्तरको राष्ट्रिय परीक्षणको शुरूआत गरिएको थियो । अहिलेसम्म कक्षा–३ र ५ मा दुई पटक, कक्षा–८ मा तीन पटक गरेर जम्मा पाँच वटा राष्ट्रिय परीक्षणहरूको नतिजा सार्वजनिक भइसकेको छ । विषयवस्तुको क्षेत्रको आधारमा हेर्दा कक्षा–३ मा नेपाली र गणित, कक्षा–५ मा नेपाली, गणित र अंग्रेजी तथा कक्षा–८ मा विज्ञान, गणित, नेपाली, अंग्रेजी र सामाजिक विषयको परीक्षण गरिएको छ । पछिल्लो पटक, २०७५ वैशाखमा कक्षा–८ को विज्ञान, गणित र नेपाली विषयको राष्ट्रिय परीक्षणको नतिजा सार्वजनिक गरिएको हो । यो आलेख सोही प्रतिवेदनमा आधारित छ ।

राष्ट्रिय परीक्षण कसरी गरिन्छ ?
विद्यार्थीको उपलब्धिको राष्ट्रिय परीक्षणको लागि स्तरीकृत विधिको प्रयोग गरिन्छ । यसमा प्रश्नावलीमार्फत विद्यार्थी, शिक्षक र प्रअको पृष्ठभूमि र विवरण संकलन गरिन्छ । विषयवस्तुको सिकाइ उपलब्धि परीक्षणको लागि प्रत्येक विषयमा तीन तीन सेट प्रश्न प्रयोग गरिन्छ ।

कतिपय देशमा प्रत्येक विद्यार्थीको जाँच लिएर अथवा व्यक्ति–गणना ९ऋभलकगक० विधि प्रयोग गरेर विद्यार्थी उपलब्धिको परीक्षण गर्ने अभ्यास रहेको पाइन्छ । तर नेपाल लगायत धेरै देशहरूमा वैज्ञानिक विधिबाट नमूना छनोट गरी नमूनामा आधारित परीक्षण गरिन्छ । प्रश्नपत्र निर्माणको लागि विज्ञहरूको कार्यशाला र विषय समितिको बैठकमार्फत तयार गरिएको राष्ट्रिय मूल्याङ्कन प्रारूप तयार गरिन्छ । यही मूल्याङ्कन प्रारूपलाई आधार मानेर विषय शिक्षक, पाठ्यक्रमका विज्ञ, पाठ्यपुस्तक लेखकहरूको समितिबाट प्रश्न ब्याङ्क तयार गरी त्यसबाट ६ सेट प्रश्नपत्र तयार गरिन्छ । विज्ञ समितिले पारित गरेपछि प्रश्नपत्रहरूको भाषा सम्पादन र विषय समितिबाट आवश्यक परिमार्जन गरी पूर्व परीक्षणमा पठाइन्छ । देशभरिको प्रतिनिधित्व हुने गरेर प्रत्येक सेट प्रश्नपत्रबाट ५०० जनाको परीक्षण गरी विभिन्न तथ्याङ्क शास्त्रीय विधिहरूको प्रयोग गरेर प्रश्न र उत्तरहरूको विश्लेषण गरिन्छ । प्रत्येक विषयका तीन सेट प्रश्नपत्र परीक्षणमा समावेश गरिन्छन् । प्रश्न विश्लेषणको लागि ‘एसपीएसएस’ र ‘कनक्वेस्ट’ सफ्टवेयरको प्रयोग गरिन्छ । परीक्षणबाट प्राप्त नतिजाको विश्लेषणको आधारमा प्रतिवेदन सार्वजनिक गरिन्छ ।

विज्ञान विषयको सन्दर्भमा हाम्रो अवस्था के छ ?
वैशाख २०७५ मा नतिजा सार्वजनिक गरिएको कक्षा–८ को विज्ञान विषयमा विद्यार्थीको उपलब्धिको राष्ट्रिय परीक्षण पनि नमूनामा आधारित परीक्षण थियो । यो परीक्षण २६ जिल्लाका ६५० विद्यालयमा कक्षा–८ मा अध्ययनरत १५ हजार ४१५ विद्यार्थीमा गरिएको थियो । यो परीक्षणका निम्ति २४ वटा क्राइटेरियाहरूको प्रतिनिधित्व हुने गरी प्रश्न निर्माण गरिएको थियो । त्यस्तै जम्मा ११९ वटा प्रश्न सोधिएकोमा ६० वटा बहुवैकल्पिक र ५९ वटा विषयगत थिए ।

तथ्याङ्कको विश्लेषण गरी नतिजा निकाल्नको लागि ‘आई आर टी’ ९क्ष्तझ च्भकउयलकभ त्जभयचथ० को प्रयोग गरिएको थियो । यसमा हरेक प्रश्नको कठिनाइ स्तर अनुसार विद्यार्थीको क्षमता निकालिएको थियो । त्यसपछि राष्ट्रिय औसत ९ल्बतष्यलब िःभबल० लाई ५०० मा सेट गरेर स्कोरहरू निकालिएको थियो । विद्यार्थीले प्राप्त गरेको स्कोरको आधारमा वा उनीहरूको क्षमतालाई ६ वटा तहहरूमा वर्गीकरण गरिएको थियो । तह–१ मा पर्ने विद्यार्थीले सजिला प्रश्न मात्र हल गर्न सक्ने र तह–६ मा पर्ने विद्यार्थीले त्योभन्दा तल्लो तहका सबै प्रश्नको उत्तर लेख्न सक्ने सम्भाव्यता हुन्छ भन्ने सैद्धान्तिक आधारमा तालिका–१ मा कुन–कुन तहको क्षमता भएका विद्यार्थीले के–के गर्न सक्छन् ? भनेर दिइएको छ । माथिल्लो तहमा परेको विद्यार्थीले तल्लो तहका सबै प्रश्न समाधान गर्ने सम्भाव्यता हुन्छ । जस्तै तह–६ प्रश्नको समाधान गर्न सक्ने विद्यार्थीको त्योभन्दा तलका सबै तहका प्रश्न समाधान गर्ने सम्भाव्यता हुन्छ ।

तालिका–१ मा कुन तहका विद्यार्थीले के–के गर्न सक्छन् ? भन्ने विवरणहरू देखाइएको छ । यी नतिजाहरू विश्वव्यापी रूपमा मान्यता प्राप्त ‘आई आर टी’ को प्रयोग र विज्ञहरूसँगको छलफलबाट तयार गरिएको हो ।

अब कक्षा–८ को राष्ट्रिय परीक्षणको नतिजा अनुसार कुन तहमा कति प्रतिशत विद्यार्थी परेका छन् ? भनेर चित्र–१ अनुसार विश्लेषण गरिन्छ ।

नतिजाले दुई प्रतिशतभन्दा कम विद्यार्थीमा मात्र तह–६ का कार्यहरू गर्ने क्षमता रहेको देखाउँछ भने ९० प्रतिशत विद्यार्थीको क्षमता तह–५ भन्दा न्यून रहेको पाइन्छ । त्यस्तै सबैभन्दा धेरै, करीब ३९ प्रतिशत विद्यार्थीमा तह–३ को क्षमता रहेको देखिन्छ भने १८ प्रतिशतभन्दा बढी विद्यार्थीमा कक्षा–८ को विज्ञान विषय सिक्नको लागि सामान्य आधारभूत ज्ञान समेत नरहेको पाइन्छ ।

वैशाख २०७५ मा नतिजा सार्वजनिक गरिएको राष्ट्रिय परीक्षण २६ जिल्लाका ६५० विद्यालयमा कक्षा–८ मा अध्ययनरत १५ हजार ४१५ विद्यार्थीमा गरिएको थियो । यो परीक्षणका निम्ति जम्मा ११९ वटा प्रश्न सोधिएकोमा ६० वटा बहुवैकल्पिक र ५९ वटा विषयगत थिए ।


यसले विज्ञान विषयमा विद्यार्थीको सिकाइ उपलब्धिको अवस्था अत्यन्तै कमजोर रहेको देखाउँछ । विद्यार्थीले केही कण्ठ गर्नुपर्ने प्रश्नहरू समाधान गर्न सकेका भए पनि वैज्ञानिक आचरणको विकास गराउने, विज्ञानमा प्रक्रियागत सीपहरू विकास गर्ने खालका प्रश्नहरूमा उनीहरूको उपलब्धि अत्यन्तै कमजोर रहेको देखिन्छ । यसबाट विज्ञान विषयको पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण सिकाइ क्रियाकलाप तथा शिक्षक तालिमहरूमा केही न केही रूपान्तरण नगर्ने र यही अनुसार चलाउने हो भने शिक्षामा लगानी बालुवामा पानी हुने सम्भावना अत्यन्तै उच्च रहेको स्पष्ट हुन्छ ।

विज्ञान सिकाइमा विभिन्न तत्वहरूको प्रभाव कस्तो छ ?
विद्यार्थीले विषयवस्तुमा प्राप्त गरेको नतिजालाई उनीहरूको पृष्ठभूमिसित तुलना गरेर सिकाइ उपलब्धिमा रहेको विभिन्न तत्वहरूको प्रभाव पत्ता लगाइएको थियो । यस खण्डमा, विज्ञान विषयको सिकाइ उपलब्धिमा विद्यार्थीको सामाजिक र आर्थिक पृष्ठभूमिले कस्तो प्रभाव पार्छ भन्ने पक्ष उल्लेख गरिएको छ ।



१)    प्रदेशगत रूपमा सिकाइ उपलब्धि : विज्ञान विषयमा प्रदेश–३ को सिकाइ उपलब्धि सबैभन्दा उच्च रहेको देखिन्छ भने प्रदेश–१ का विद्यार्थीको सिकाइ उपलब्धि सबैै प्रदेशको भन्दा न्यून रहेको देखिन्छ । प्रदेश–३ र ४ बाहेक सबै प्रदेशको सिकाइ उपलब्धि राष्ट्रिय औसतभन्दा न्यून छ ।
२)    लैङ्गिक पृष्ठभूमि : छात्रहरूको भन्दा छात्राको सिकाइ उपलब्धि तुलनात्मक रूपमा न्यून देखिन्छ ।
३)    विद्यालयको प्रकार : संस्थागत भन्दा सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि न्यून देखिन्छ । सामुदायिक विद्यालयहरूको सिकाइ उपलब्धि राष्ट्रिय औसत (५००) भन्दा पनि न्यून रहेको छ ।
४)    आमाबुबाको शैक्षिक योग्यता : निरक्षर भन्दा साक्षर, साक्षर भन्दा माध्यमिक शिक्षा पास गरेका आमाबुबाका छोराछोरीको सिकाइ उपलब्धि राम्रो देखिन्छ अर्थात् आमाबुबाको शैक्षिक योग्यता राम्रो हँुदा बालबालिकाको सिकाइ उपलब्धि राम्रो देखियो ।
५)    आमाबुबाको पेशा : शिक्षण, सरकारी सेवा र व्यापारमा आवद्ध आमाबुवाका सन्तानहरूको सिकाइ उपलब्धि अन्य पेशामा संलग्न अभिभावकका बालबालिकाको भन्दा उच्च देखिन्छ ।
६)    आर्थिक, सामाजिक पृष्ठभूमि : आर्थिक रूपमा सबल परिवारका बालबालिकाको सिकाइ उपलब्धि राम्रो देखियो । आर्थिक रूपले सबल परिवारका बालबालिकामध्ये अधिकांश संस्थागत विद्यालयमा अध्ययन गरिरहेको पाइन्छ ।
७)    गृहकार्य र पृष्ठपोषण : गृहकार्य दिने र गृहकार्यको परीक्षण गरी आवश्यक पृष्ठपोषण प्रदान गर्ने शिक्षकले पढाएका विद्यार्थीको सिकाइ उपलब्धि उच्च देखिन्छ ।
८)    पाठ्यपुस्तकको उपलब्धताको प्रभाव : कक्षा–८ का ४ प्रतिशत विद्यार्थीसँग विज्ञान विषयको पाठ्यपुस्तक शैक्षिक सत्रको अन्तसम्म पनि नरहेको पाइयो भने पाठ्यपुस्तक भएका विद्यार्थीको सिकाइ उपलब्धि पाठ्यपुस्तक नभएका विद्यार्थीको भन्दा उच्च देखिन्छ ।
९)    वुलिङ : विद्यालयमा जिस्क्याउने, नाम बिगार्ने, हेप्ने, गाली गर्ने, सामान चोरी गर्ने वा वुलिङ हुने गरेको पाइन्छ । विज्ञान विषयको परीक्षणमा संलग्न करीब पचास प्रतिशत भन्दा बढी विद्यार्थीले कुनै न कुनै प्रकारको ‘वुलिङ’को शिकार हुने गरेको बताए । यस्ता विद्यार्थीको सिकाइ उपलब्धि अन्य विद्यार्थीको भन्दा न्यून देखिन्छ ।
१०)    सन् २०१३ को कक्षा–८ को राष्ट्रिय परीक्षणको नतिजासितको तुलनाः सन् २०१३ र २०१७ को विज्ञान विषयको नतिजालाई तुलना गर्दा २०१३ को भन्दा विद्यार्थीको सिकाइ उपलब्धि घटेको देखियो । यसले २०१३ पछि विज्ञान विषयको सिकाइ उपलब्धि सुधारका लागि गरिएका क्रियाकलापहरू तुलनात्मक रूपमा फलदायी नभएको देखिन्छ ।

के हो त नतिजाले देखाएको बाटो ?
यो परीक्षणको नतिजाले देखाएका महŒवपूर्ण पक्षहरू निम्न छन्ः
१.    विज्ञान विषयको सिकाइ उपलब्धिको अवस्था न्यून रहेको देखिन्छ । यसैले विद्यार्थीको सिकाइ उपलब्धि सुधारका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ ।
२.    विद्यार्थीमा वैज्ञानिक आचरण र प्रक्रियागत सीपहरूको विकास हुनसकेको देखिंदैन । बालबालिकहरू कण्ठ गर्ने कुराहरूमा अलिकति राम्रो देखिए पनि विश्लेषण गर्ने, सिकेको सीपको प्रयोग गर्ने, कारण दिने, गणितीय समस्या समाधान गर्ने कुरामा अत्यन्तै कमजोर अवस्था रहेको पाइन्छ । त्यस्तै छोटकरीमा भन्दा विद्यार्थीमा विज्ञान सिकाइका लागि आवश्यक पर्ने सामान्य आधारभूत ज्ञान समेत नरहेको पाइन्छ । यी विषयवस्तुमा केन्द्रित गरेर शिक्षक तालिम, सन्दर्भ सामग्रीको निर्माण र सिकाइ सहजीकरण प्रक्रिया तय गर्नुपर्दछ ।
३.    ९० प्रतिशतभन्दा बढी विद्यार्थीले पाँचौं तह समेत पार गर्न सकेको देखिंदैन । कक्षाका क्रियाकलापहरू कण्ठ गराउनमा केन्द्रित भएको यसले देखाउँछ । त्यसैले विज्ञानमा सिकाइ सहजीकरण क्रियाकलापलाई प्रयोगात्मक र व्यावहारिक बनाउनुपर्ने देखिन्छ ।
४.    पाठ्यपुस्तक अझ्ै सबै विद्यार्थीको पहँुचमा नरहेको अवस्था पाइन्छ । सबै विद्यार्थीको लागि पाठ्यपुस्तक सुनिश्चित गर्नुपर्दछ ।
५.    आर्थिक, सामाजिक अवस्था उच्च भएका परिवारका बालबालिकाको सिकाइ उपलब्धि राम्रो देखिन्छ । आर्थिक रूपले सबल नभएका बालबालिकाका लागि छात्रवृत्ति, दिवा खाजा, सन्दर्भ सामग्रीको व्यवस्था गर्नुपर्ने देखिन्छ ।
६.    विद्यालयमा वुलिङ हुने गरेको यसले बालबालिकाको सिकाइ उपलब्धिलाई नराम्ररी प्रभाव पार्ने गरेको देखिन्छ । त्यसैले विद्यालय प्रशासनले विद्यालयमा हुने वुलिङको पहिचान गरी त्यसलाई समयमै निराकरण गर्नुपर्ने देखिन्छ ।
७.    प्रदेश–३ र ४ बाहेकका प्रदेशमा विज्ञान विषयमा विद्यार्थीको सिकाइ उपलब्धि राष्ट्रिय औसत भन्दा न्यून देखियो । कमजोर सिकाइ उपलब्धि भएका प्रदेशहरूमा सिकाइ उपलब्धि किन कमजोर भयो ? भन्ने सन्दर्भमा थप अध्ययन गरी आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।
८.    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ उपलब्धि राष्ट्रिय औसत भन्दा पनि कम रहेको देखियो । यसको तुलनामा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ उपलब्धि उच्च देखिन्छ । तर कुनै कुनै सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि संस्थागत विद्यालयको भन्दा पनि राम्रोे रहेकोले यस्ता राम्रो सिकाइ उपलब्धि भएका विद्यालयहरूका असल अभ्यासहरू अन्य सामुदायिक विद्यालयले समेत अवलम्बन गर्ने वातावरण सिर्जना गर्नुपर्दछ ।
९.    गृहकार्य दिने र त्यसको परीक्षण गरी पृष्ठपोषण दिने कार्यले विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पारेको देखिएकाले सरोकारवालाले यसमा पनि ध्यान दिनु जरूरी छ ।

निष्कर्ष
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले यसको स्थापनाकालदेखि विद्यार्थीको सिकाइ उपलब्धिको पहिचान गरी आम सरोकारवालालाई देशको शिक्षा प्रणालीको प्रतिविम्ब प्रदर्शन गर्ने कार्य गरिरहेको छ । यसको नतिजाले मुख्यतया विज्ञान विषयको शिक्षण र सिकाइसँग सम्बन्धित पक्षलाई घचघच्याएको हुनुपर्दछ । पाठ्यक्रमका विषयवस्तु के समय अनुकूल छन् ? कि पाठ्यक्रम पुनरावलोकन गर्नुपर्ने हो ? शिक्षक तालिमको नाममा भएको लगानी के ठीक ठाउँमा छ ? कि यसको विषयवस्तु र मोडालिटीको बारेमा रूपान्तरणको आवश्यकता छ ? हरेक दिन अथक् मिहिनेतका साथ विज्ञान विषयको सिकाइ उपलब्धिमा सुधार गर्न खटिरहेका शिक्षकहरूको सिकाइ सहजीकरणमा केही रूपान्तरण पो आवश्यक छ कि ? अभिभावकले अहिले निर्वाह गरेको भूमिकामा केही रूपान्तरण गर्नुपर्ने त छैन ? समग्र देशको शिक्षा नीतिले नै केही परिवर्तन पो खोजेको हो कि ? स्थानीय सरकारहरू यो दुरवस्थासित जानकार छन् कि छैनन् ? स्थानीय सरकारले यसमा सुधार ल्याउन कसरी कार्य गर्न सक्छन् ?

यदि अहिलेको दुरवस्थाबाट पार पाउने कुरा कसैले सोचेको छ भने माथिका प्रश्नहरू गहन रूपमा सरोकारवालामाझ् छलफलमा ल्याएर ठोस निचोड निकाल्नुपर्ने देखिन्छ । त्यही निष्कर्षका आधारमा स्पष्ट कार्ययोजना निर्माण गरेर त्यसको कार्यान्वयन सुनिश्चित गर्न सकियो भने सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षणको अर्को चक्रमा यो अवस्थामा उल्लेखनीय सुधार आएको पाउन सकिन्छ ।

अधिकृत (विज्ञान), शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सानोठिमी भक्तपुर

commercial commercial commercial commercial