जिज्ञासा जवाफ

यसरी थाहा हुन्छ तपाईंको अवकाश मिति
म स्थायी शिक्षक हुँ । २०३६ साल भदौ १८ गते जारी भएको मेरो नागरिकताको प्रमाणपत्रमा जन्म साल, महीना र गते नखुलाई ‘वर्ष १८ का यादवप्रसाद गौतमलाई यो नागरिकताको प्रमाणपत्र दिइएको छ’ भनी लेखिएको छ । मेरो शैक्षिक योग्यताको प्रमाणपत्रमा भने मेरो जन्ममिति २०१८÷०९÷२६ उल्लेख छ । अब मेरो अवकाश कुन जन्ममितिका आधारमा हुन्छ र मैले केको आधारमा कहिले अवकाश पाउँछु ?
यादवप्रसाद गौतम
भगवती मावि, चैनपुर नपा–२, चित्लाङ, संखुवासभा

तपाईंको जिज्ञासा अनिवार्य अवकाशसँग सम्बन्धित जस्तो लाग्यो । यदि त्यसो हो भने कुनै पनि शिक्षकले ६० वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने व्यवस्था प्रचलित शिक्षा नियमावली २०५९ ले गरेको छ । तपाईंको पत्रबाट आफ्नो नागरिकताको प्रमाणपत्रमा जन्ममिति नलेखिएको तर शैक्षिक योग्यताको प्रमाणपत्रमा स्पष्टसँग जन्ममिति उल्लेख भएको भन्ने बुझ्यिो । त्यसबाहेक, तपाईं आफैंले लेखेर बुझएको अर्को विवरण अर्थात् वैयक्तिक नोकरी विवरण (सिटरोल) मा साल, महीना र गतेसहितको जन्ममिति उल्लेख भएको हुनुपर्छ, जुन अभिलेख विद्यालय शिक्षक किताबखानामा सुरक्षित रहेको हुन्छ ।

नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र तथा आफैंले भरेर किताबखानामा बुझाएको सिटरोलमा उल्लेख भएको जन्ममिति वा उमेरमध्ये जुनबाट गणना गर्दा तपाईं सबैभन्दा पहिले ६० वर्ष पुग्नुुहुन्छ त्यही नै तपाईंको अवकाश गणनाको मिति हुनेछ।

यसप्रकार कुनै पनि शिक्षकको उमेर सम्बन्धी अभिलेख कम्तीमा पनि नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र सिटरोल गरी तीन वटा दस्तावेजमा उल्लेख गरिएको हुन्छ । तपाईंले भने झ्ैं कसैकसैको नागरिकताको प्रमाणपत्रमा वर्ष मात्र लेखिएर अन्य दुई दस्तावेजमा साल, महीना र गतेसहितको जन्ममिति उल्लेख भएको हुन सक्छ भने कतिपयको हकमा यी तीनैथरी कागजातमा अलग–अलग जन्ममिति उल्लेख भएको पनि हुन सक्छ । त्यस्तो जटिलता उत्पन्न भएमा अवकाशको मिति निर्धारण गर्ने उपाय शिक्षा नियमावली २०५९ को पछिल्लो संशोधनले स्पष्टसँग औंल्याएको छ । त्यस नियमावलीको नियम १३१ ले शिक्षकको अनिवार्य अवकाश सम्बन्धी व्यवस्था गरेकोमा त्यसैको उपनियम (१) मा अवकाशको उमेर गणना गर्ने देहाए बमोजिमको विधि उल्लेख गरिएको छः
‘कुनै शिक्षकको उमेर ६० वर्ष पूरा भएपछि निजलाई विद्यालयको सेवाबाट अवकाश दिइनेछ । यस नियमको प्रयोजनको लागि शिक्षकको उमेर गणना गर्दा निजले सेवा प्रवेश गर्दा पेश गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आएको उमेर वा नागरिकताको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आएको उमेर वा निजले सेवा प्रवेश गर्दा भरेको वैयक्तिक नोकरी विवरण (सिटरोल) मा लेखिएको जन्ममिति वा वर्षबाट हुन आएको उमेरमध्ये जुन उमेरबाट निजको पहिले अवकाश हुन्छ, सोही आधारमा गणना गरिन्छ ।’

अतः उपर्युक्त व्यवस्थाका आधारमा तपाईंको नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र तपाईं आफैंले भरेर विद्यालय शिक्षक किताबखानामा बुझएको सिटरोलमा उल्लेख भएको जन्ममिति वा उमेरमध्ये जुनबाट गणना गर्दा तपाईं सबैभन्दा पहिले ६० वर्ष पुग्नुुहुन्छ त्यही नै तपाईंको अवकाशको लागि गणना गरिने मिति हुनेछ ।
संगीता रेग्मी
निमित्त महानिर्देशक, विद्यालय शिक्षक किताबखाना

परीक्षा नदिएका अस्थायी शिक्षकले के सुविधा पाउँछन् ?
म २०६६÷०९÷१३ देखि निमावि तहको स्थायी दरबन्दीमा कार्यरत अस्थायी शिक्षक हुँ । शिक्षक सेवा आयोगले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने प्रयोजनका लागि २०७५ असारमा लिएको परीक्षामा सहभागी हुन आवेदन फारम भरेको थिएँ । तर परीक्षाको समयमा स्वास्थ्य अवस्था प्रतिकूल हुन गई उक्त परीक्षा दिन पाइनँ । अब म कार्यरत दरबन्दी खाली नै रहन्छ कि त्यसमा परीक्षामा उत्तीर्ण भएर आउने नयाँ स्थायी शिक्षकको पदस्थापन हुन्छ ? यदि नयाँ शिक्षकको पदस्थापनसँगै मैले अवकाश पाउनुपर्ने भएमा सरकारी कोषबाट मैले के कस्तो सुविधा प्राप्त गर्न सक्छु ?
अस्मिता शर्मा
लक्ष्मी मावि, भमपा–४, चितवन

अस्मिताजी, तपाईंको सन्दर्भमा शिक्षा ऐन २०२८ नवौं संशोधन २०७४ को दफा ११ (च) को उपदफा (९) र (१०) बमोजिमका व्यवस्थाहरू आकर्षित हुने देखिन्छ । उपदफा (९) मा आवेदन फारम भरेर परीक्षा नदिएका शिक्षकको हकमा छुट्टै व्यवस्था नगरे पनि स्थायी पदमा नियुक्तिका लागि दरखास्त दिएका तर शिक्षक सेवा आयोगबाट सिफारिश हुन नसकेका अस्थायी शिक्षकले पाउने सुविधाबारे उल्लेख छ । ऐनले भनेको छ, ‘संवत् २०७३ असार १५ गतेसम्म अविच्छिन्न रूपमा कार्यरत रहेका अस्थायी शिक्षकले स्थायी पदको लागि भएको विज्ञापनमा दरखास्त नदिएमा वा दरखास्त दिए पनि स्थायी पदमा आयोगबाट नियुक्तिको लागि सिफारिश हुन नसकेमा त्यस्ता शिक्षकलाई ५ वर्षदेखि १० वर्षसम्म सेवा गरेको भए प्रत्येक वर्षको निमित्त आखिरी आधा महीनाको तलब बराबरको रकम, १० वर्षभन्दा बढी १५ वर्षसम्म सेवा गरेको भए प्रत्येक वर्षको निमित्त आखिरी एक महीनाको तलब बराबरको रकम र १५ वर्षभन्दा बढी सेवा गरेको भए प्रत्येक वर्षको निमित्त आखिरी डेढ महीनाको तलब बराबरको रकम सुविधावापत उपलब्ध गराइनेछ ।’

प्रश्नमा उल्लेख गर्नुभएको नियुक्ति मितिअनुसार तपाईंको अस्थायी सेवा अवधि ९ वर्ष पूरा भएको देखिएकाले ऐनको उपदफा (१०) को व्यवस्था अनुसार अवकाश भएमा तपाईंले सेवा गरेको प्रत्येक वर्षको आखिरी आधा महीनाको दरले साढे चार महीनाको तलब बराबरको रकम सुविधावापत पाउन सक्ने देखिन्छ । सो उपदफाले स्थायी नियुक्ति प्रयोजनका लागि लिइएको परीक्षामा छनोट हुन नसकेका अस्थायी शिक्षक प्रतियोगितात्मक परीक्षाको नतिजा प्रकाशित भएको मितिबाट स्वतः अवकाश भएको मानिने व्यवस्था गरेको छ । यहाँ उल्लेख भएको ‘परीक्षामा छनोट हुन नसकेका अस्थायी शिक्षक’ भन्नाले परीक्षा दिएर अनुत्तीर्ण भएका शिक्षकहरू त पर्ने नै भए । तपाईं जस्ता दरखास्त फारम भरेर परीक्षा नदिएका शिक्षक यसमा पर्छन् या पर्दैनन् भन्ने बारे यस किताबखानालाई मन्त्रालयबाट स्पष्ट निर्देशन आउन बाँकी छ । अहिले अस्थायी शिक्षकहरूको विवरण संकलनको काम भइरहेकाले सम्बन्धित जिल्ला शिक्षा समन्वय इकाइमा आफ्नो विवरण टिपाउनुहोला । मन्त्रालयबाट निर्देशन प्राप्त भएपछि तपाईंको अवकाश र सरकारी कोषबाट प्राप्त हुने सुविधाबारे उचित निर्णय हुने नै छ ।
संगीता रेग्मी
निमित्त महानिर्देशक, विद्यालय शिक्षक किताबखाना

बिरामी बिदाः यसरी बुझ्दा राम्रो
शिक्षकले वर्षभरि कामकाज गर्दा जम्मा १२ दिन बिरामी बिदा पाउने कुरा सर्वविदितै छ । तर कोही शिक्षकले शैक्षिक सत्रको बीचतिर वा अन्त्य हुने बेलामा स्थायी नियुक्ति लिएको छ भने निजले पाउने बिदाका सम्बन्धमा एकमत छैन । एकाथरीको मत काम गरेको समयका आधारमा मात्र बिदा पाइन्छ भन्ने छ भने अर्कोथरी मत शैक्षिक सत्रको मध्य वा अन्त्यमै नियुक्ति लिएको भए पनि वर्षभरिकै बिदा (१२ दिन) पाइन्छ भन्ने पक्षमा छ । यी दुईमध्ये कुन मत सही हो ? त्यस्तै शैक्षिक सत्रको शुरूमै वा बीचमा अनिवार्य अवकाश हुने शिक्षकले वर्षभरिकै बिरामी बिदा पाउँछन् कि काम गरेको अवधिसम्मको मात्र ?   
इन्द्रकुमार श्रेष्ठ
सरस्वती मावि, खानीभञ्ज्याङ, ओखलढुंगा

प्रचलित शिक्षा नियमावलीको नियम १०६ मा शिक्षकले पाउने बिदाका सम्बन्धमा व्यवस्था गरिएको छ । त्यसको उपनियम १ (ग) मा बिरामी बिदाको सुविधाबारे उल्लेख छ, जसमा ‘बिरामी बिदा वर्षभरिमा १२ दिन’ लेखिएकाले त्यसको आशय सेवा अवधि एक वर्ष पूरा भएपछि मात्र १२ दिन बिरामी बिदा पाइन्छ भन्ने नै बुझ्न्छि । किनभने वर्षभरि भनेको १२ महीना हो । वर्षभरि पाइने बिदा पकाउन १२ महिना सेवा अवधि पूरा गरेको हुनुपर्छ । यदि त्यस्तो छैन भने सम्बन्धित जिल्लाका शिक्षा कार्यालयहरूले सिफारिश गरेर पठाए पनि पूरा अवधि सेवा नगरेको शैक्षिक वर्षको १२ दिन सञ्चित बिदाको पारिश्रमिक दिने गरिएको छैन ।

शिक्षकले सेवामा प्रवेश गर्दा वा अवकाश पाउँदा शैक्षिक वर्षको जति महीना सेवा गरेको हो त्यति दिनको मात्र सञ्चित बिदा गणना गर्ने गरिएको छ । उदाहरणका लागि, कुनै शिक्षक माघमा नियुक्त भएको छ भने निजले फागुन र चैत दुई महीनाको दुई दिन मात्र बिरामी बिदा पाउँछ र माघमा अवकाश पाएको छ भने सम्बन्धित शैक्षिक वर्षको बिरामी बिदा ९ दिन मात्र पाउँछ । कुनै अमूक महीनामा केही दिन हाजिर हुँदा महीनाभर काम गरे वापत पाउने बिरामी बिदा पाइँदैन । विद्यालय शिक्षक किताबखानाको २०७३÷०९÷२८ मा बसेको बैठकले शिक्षा नियमावलीमा भएको बिदा सम्बन्धी व्यवस्थाबारे बुझइमा देखिएको अस्पष्टता अन्त्य गरी सो निर्णयबारे २०७३÷१२÷०२ मा सबै जिल्ला शिक्षा कार्यालयहरूलाई पत्र पठाएर जानकारी गराइसकिएको छ ।
रवीन्द्रकुमार बुढाप्रिथी
निर्देशक, विद्यालय शिक्षक किताबखाना

अस्थायी छँदादेखि सञ्चित बिदाको रकम पाइन्छ कि पाइँदैन ?
म मिति २०५३÷०५÷२८ देखि निमावि तृतीय श्रेणीको अस्थायी (लियन) पदमा रही अध्यापन गर्दै आएको थिएँ । २०६० सालमा निमावि तृतीय श्रेणीको पदमा स्थायी भएँ । यसप्रकार म अस्थायी र स्थायी सेवामा गरी २०५३ भदौदेखि हालसम्म निरन्तर अध्यापनरत छु । मैले अस्थायी (लियन) पदमा सेवा गर्दाको ६८ दिन बिरामी बिदा सञ्चित छ । मैले अब अवकाश लिदा अस्थायी सेवामा हुँदादेखि सञ्चित रहेको उक्त ६८ दिन बिदाको रकम पाउँछु कि पाउँदिन ?
हरिबहादुर पछाई
जनता मावि, सरावल–२, मनरी, नवलपरासी

हरिबहादुरजी, शिक्षा नियमावलीको नियम १०९ मा अस्थायी शिक्षकले बिरामी बिदा सञ्चित गर्न पाउने व्यवस्था भए पनि लियन पदमा कार्यरत अस्थायी शिक्षक रहँदाको बिरामी बिदा सञ्चय गर्न पाउने व्यवस्था छैन । तसर्थ, तपाईंले सेवा स्थायी हुनुअघि जम्मा गरेको ६८ दिन बिरामी बिदाको पारिश्रमिक पाउनुहुन्न । शुद्ध स्थायी दरबन्दीमा २०६७ माघ १० भन्दा पहिले नियुक्त भएका अस्थायी शिक्षकले भने सञ्चित बिरामी बिदा प्रमाणित भएमा त्यसको पारिश्रमिक पाउने व्यवस्था रहेको छ ।  
रवीन्द्रकुमार बुढाप्रिथी
निर्देशक, विद्यालय शिक्षक किताबखाना

शीर्षकसँग पाठ मेल खाएन
कक्षा–४ को अंग्रेजी अध्ययनको पाठ–११ मा दिइएको ूक्उयचतक मबथू भन्ने पाठको पहिलो लेखाइ र चित्र त पाठसँग केही मेल खान्छ, बाँकी तीनवटा चित्रले पाठको शीर्षकसँग कुनै सरोकार नै राख्दैनन् । होचो–अग्लो मोटो–पातलो र अग्लो–होचो भन्ने कुरा खेलकुद सम्बन्धी विधा नै होइनन् । पाठमा अन्य कुराहरू क्यारमबोर्ड, लुडो, भलिबल, फूटबल, चेस, हाइजम्प, ट्रिपल जम्प तथा जिशिकाले विद्यालयलाई उपलब्ध गराएका र उनीहरूले खेल्न सक्ने खालका खेलकुदहरू समावेश गरी दिएको भए ‘शीर्षक र पाठ मेल’ हुन्थ्यो कि ?

अझ् त्यसमा पनि पाठमा नै प्रश्नहरू Comparative Degree मा सोधिएको छ । तर उत्तरहरू भने Superlative Degree सोधिएका छन् । हामी विषय शिक्षकले कसरी अध्यापन गराउने ?
कुमारध्वज बस्नेत
सरस्वती आ.वि., कटारी नपा–७, उदयपुर

कुमार सरलाई जिज्ञासाको लागि धन्यवाद । तपाईंले भनेजस्तै दिइएका चित्रहरू पाठको शीर्षकसँग मिल्ने गरी दिइएको भए झ्नै राम्रो हुन्थ्यो । पाठको शीर्षक यस पाठ भित्रको च्भबमष्लन तभहत को आधारमा दिइएको देखिन्छ । र यो पाठले भाषाका चारवटै सुन्ने, बोल्ने, लेख्ने र पढ्ने सीपलाई समेटेको छ । दिइएका चित्रले चाहिं सुन्ने र बोल्ले सीप विकासमा जोड दिएको छ । जहाँसम्म Comparative degree मा सोधिएका प्रश्नको जवाफ Superlative degree मा दिइएको कुरा छ, One word answer ले Coherence र Cohesion को काम गरेको छ । जवाफको दोस्रो भागले Comparative सँगसँगै Superlative पनि सिकाउन खोजेको छ ।
रमेशप्रसाद घिमिरे
पाठ्यक्रम अधिकृत, पाठ्यक्रम विकास केन्द्र

commercial commercial commercial commercial