शैक्षिक सामग्री बनेको सागको मुठो!

शिक्षकको अलिकति जोश र जाँगरका भरमा पनि शैक्षिक सामग्रीहरू सहजै जुट्न सक्छन्। त्यस्ता सामग्रीको प्रयोगले पढाइप्रति विद्यार्थीको उत्साह र सहभागिता सयौं गुणा बढाइदिन्छ। उत्साही विद्यार्थी आफैं सिक्न, खोज्न र बुझन थाल्छन्। सिकाइ उपलब्धि पनि बढिहाल्छ। त्यसको सर्वाधिक श्रेय अन्ततः शिक्षककै भागमा पर्न जान्छ।

थ्वी माध्यमिक विद्यालय (गुल्मी, मदाने) को कक्षा–६ का विद्यार्थी र शिक्षकबीच छलफल चलिरहेको थियो । छलफलको विषय थियो— विद्यालयको करेसाबारीको साग किन पहेंलो र सानो भयो ? छलफलको शुरूआत छात्रा अञ्जना नेपालीको रायोको सागको मुठाबाट भएको थियो । विषय शिक्षक राजन पौडेलसँग अञ्जनाको प्रश्न थियो— “हाम्रो घरको साग बढेर यति ठूलो र हरियो भयो, स्कूलको साग चाहिं किन नबढेको ?”

अघिल्लो दिन कक्षामा पेशा व्यवसाय र प्रविधि शिक्षा विषयको तरकारी खेती पाठमा रहेको करेसाबारी परिचय शीर्षकमा पुग्दा शिक्षक पौडेलले ६ कक्षाका बालबालिकालाई विद्यालयको करेसाबारी अवलोकन गराएका थिए । त्यही अवलोकनका आधारमा अञ्जनाको दिमागमा स्कूलको करेसाबारीको साग सानो हुनुको कारण जान्ने उत्सुकता पैदा गराइदियो । आफ्नो खुल्दुलीलाई शिक्षकसामु स्पष्टसँग राख्न उनले भोलिपल्ट घरको बारीबाट रायोको साग बोकेर आइन् ।

अञ्जनाले ल्याएको सागको मुठा देखाउँदै शिक्षक पौडेलले बालबालिकासामु प्रश्न राखे, “ल भन त, विद्यालयको करेसाबारीमा रहेको साग किन बढेन होला ? कसको घरमा ठूलो साग छ ? किन साग बढ्दैन होला ?” शिक्षकले प्रश्न सोधी नसक्दै ममता श्रेष्ठले उठेर भनिन्— “मेरो घरमा नि साग ठूलो छ सर !” कक्षाका अरू बालबालिका पनि आ–आफ्ना तर्क, बुझइ र अनुमान राख्दै गए, “गोडमेल र पानी पुगेन कि सर !, करेसाबारीको माटो राम्रो छैन सर !, करेसाबारीमा मल पनि छैन सर !, गोडमेल पनि त गरेनौं नि सर !”

“ल तिमीहरूलाई नै थाहा रहेछ, साग किन सानो भयो भन्ने त” शिक्षक पौडेलले थपे, “उसो भए अब के गर्ने त ?” ममताले भनिन्, “भोलि स्कूल आउँदा घरबाट सबैले गाई, भंैसी, बाख्राको मल ल्याउने र मल राखेर गोडमेल गर्ने ।”
लामो छलफलपछि बालबालिकाले स्कूलको करेसाबारीमा सागका बिरुवा नबढ्नुका कारणको सूची बनाए ः
१.    करेसाबारीको माटो राम्रो नहुनु,
२.    करेसाबारीमा मल नपुग्नु,
३.    करेसाबारीको गोडमेल नहुनु,
४.    करेसाबारीमा समय मिलाएर सिंचाइ नहुनु ।

सागको यो छलफलमा खुबै चासोका साथ सबैजसो बालबालिका सहभागी भए । शिक्षक पौडेलले अञ्जनालाई घरबाट साग नै ल्याएर प्रश्न सोधेकोमा विशेष धन्यवाद दिए । पौडेलले भने, “उनले साग ल्याइदिएका कारण हामीले थुप्रै व्यावहारिक कुराहरू जान्न पायौं । सबैले बुझ्निे गरी सिक्न पायौं ।” छलफल सकिएपछि शिक्षकसहित सबै बालबालिका करेसाबारीमा गए । त्यहाँ कसैले हजारीबाट सागका बोटमा पानी सिञ्चित गरे भने कसैले बिरुवाको बीचमा रहेको झरपात निकाले ।

कक्षाको अन्त्यमा, ‘आज के सिक्यौं त’ भन्ने जिज्ञासामा सोही कक्षाकी अर्की छात्रा अस्मिता परियारले बिरुवा रोप्नका लागि मल, पानी र गोडमेल आवश्यक पर्ने कुरा सिकेको सुनाइन् । उनले घरमा गएर कक्षामा सिके अनुसार बारीमा साग रोप्ने र त्यो ठूलो सानो के हुन्छ आफूले प्रत्यक्ष हेर्ने पनि बताइन् ।

अन्यत्र पनि
गुल्मीको पृथ्वी माविमा मात्र होइन अरू विद्यालयहरूमा पनि यसरी विद्यार्थीले ल्याएका, बनाएका वस्तुहरू शैक्षिक सामग्रीको रूपमा प्रयोग गर्ने प्रचलन यताका दिनमा बढ्दै गएको पाइएको छ । रूपन्देहीका सीता मावि, जनचेतना आधारभूत विद्यालय र जितेश्वरी माविमा पनि विद्यार्थीले शैक्षिक सामग्री बनाउने गरेका छन् । ती सामग्री कक्षा शिक्षणमा सहयोगी हुने गरेको शिक्षकहरू बताउँछन् ।

देवदहमा अवस्थित सीता माविको कक्षा–८ का भित्तामा बालबालिकाले बनाएका शैक्षिक सामग्री झ्ुन्ड्याइएका छन् । त्यहाँ जडीबुटीको नाम र उपचार हुने रोगको नाम उल्लेख छ । जडीबुटीहरू जंगलबाट खोजेर नामसँगै चार्टमै टाँसिएको विद्यार्थीहरू बताउँछन् । सो चार्ट पेशा–व्यवसाय विषयको पाठ पढ्दा तयार गरेको उनीहरूले बताए । ललिसरा सिंजाली र सुकमाया पुन (हे. तस्वीर) ले जंगलमा जडीबुटी खोज्न आमा र दिदीहरूले सघाएको बताए । सुकमायाका अनुसार, कक्षालाई चार समूहमा विभाजन गरी सबै समूहलाई अलग अलग जडीबुटी खोज्ने जिम्मा दिइएको थियो । सो कक्षाकी विषय शिक्षक सुमित्रा उपाध्यायले प्रयोगात्मक रूपमा सिकाउँदा मात्र बालबालिकाले राम्ररी सिक्ने हँुदा आफूले त्यसै गरेको बताइन् । उनले कक्षा ६ र ८ मा पेशा व्यवसाय र कक्षा ४ र ५ मा नेपाली विषय अध्यापन गर्दै आएकी छिन् ।

प्रयोगात्मक ढंगबाट पठनपाठन गर्दाको अनुभव सुनाउँदै शिक्षक उपाध्याय भन्छिन्, “घोकाउनै नपर्ने रहेछ, काम गर्दा त्यत्तिकै सिक्ने रहेछन् ।” बालबालिकाले आफूबाट मात्र नभई घरपरिवार, किसान र उद्योगीबाट समेत सिकेको उनको भनाइ छ । यो सिकाइ आफूले कक्षाकोठामा बुझउन खोजेको भन्दा बढी प्रभावकारी भएको पाएको उनले बताइन् । कक्षा ६, ७ र ८ मा पेशा व्यवसाय विषय ऐच्छिक विषयको रूपमा पठन–पाठन हँुदै आएको छ । १०० पूर्णाङ्क रहेको यो विषयको ५० नम्बरको पाठ्यभार प्रयोगात्मक छ ।

भैरहवा भुमही सडक खण्डदेखि दक्षिणतर्फ रहेको जनचेतना आधारभूत विद्यालयले पनि प्रयोगात्मक कक्षाको सफल कार्यान्वयन गरेको छ । रोहिणी गाउँपालिकामा अवस्थित उक्त विद्यालयमा बालबालिकाले प्रशस्त मात्रामा शैक्षिक सामग्री बनाउने गरेका छन् । उनीहरूले बनाएका सामग्री कक्षाकोठामा टाँस्ने, झ्ुन्ड्याउनुका साथै कार्यालयमा संग्रह गरी राख्ने गरिएको विद्यालयकी प्रधानाध्यापक लक्ष्मी जिसी बताउँछिन् । सोही विद्यालयको कक्षा ६ की छात्रा सम्झ्ना कोइरीले कक्षाकोठामा टाँसिएका रंगीचंगी चित्रहरू आफूहरूले बनाएको बताइन् । “चित्र बनाउँदा रमाइलो भयो; कक्षाकोठामा पनि राम्रो भएको छ,” उनले थपिन् । वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यार्थी निर्मित सामग्रीको विद्यालयमै प्रदर्शनी गर्ने गरेको प्रधानाध्यापक जिसीले बताइन् । जिसीले भनिन्, “यसले कक्षाको सिकाइमा प्रभाव त पारेको छ नै, त्यसका साथै विद्यार्थी, अभिभावकलाई हौसला बढाएको छ ।”

बुटवलको जितेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीले मासिक रूपमा भित्ते पत्रिका प्रकाशन गर्ने गरेका छन् । नवकोपिला नामको भित्ते पत्रिकामा विद्यालयमा हुने अतिरिक्त क्रियाकलापका गतिविधि, पुरस्कृत लेख–रचना र जानकारीमूलक कुराहरू समेटिने गरेको बालक्लबकी अध्यक्ष खुश्बू घिमिरे बताउँछिन् । आफ्ना विद्यार्थीले भित्ते पत्रिका प्रकाशनसँगै विज्ञान, सामाजिक, गणित, पेशा व्यवसाय विषयका शैक्षिक सामग्री बनाउने र संकलन पनि गर्ने गरेको प्रधानाध्यापक उपेन्द्र ज्ञवालीले बताए ।

पाठ अनुसार आवश्यक पर्ने शैक्षिक सामग्रीको प्रयोग गर्नका लागि बालबालिकाको सहयोगमा सामग्री निर्माण र संकलन गर्न सकिने रोहिणी गाउँपालिका, शिक्षा शाखाका विद्यालय निरीक्षक नारायण लामिछाने बताउँछन् । उनले त्यस्ता सामग्री कक्षाकोठामा सबैले देख्ने गरी भित्तामा टाँग्न सकिने र पाठ प्रसंग अनुसार शैक्षिक सामग्री प्रयोग गरी शिक्षण गरिसकेपछि विद्यालयले भविष्यका निम्ति सुरक्षित ढंगबाट राख्नुपर्ने सुझव पनि दिएका छन् ।

कृष्ण मल्ल, बुटवल

commercial commercial commercial commercial