जिज्ञासा जवाफ

टीपीडी तालिमको श्रेणी अन्योल किन ?

टीपीडी तालिमको प्रमाणपत्रमा श्रेणी खुलेको नपाइएपछि सो तालिम सम्पन्न गरेको प्रमाणपत्र भएकाहरू सबैलाई द्वितीय श्रेणी सरह मानेर समान २ अङ्क दिने गरिएको छ ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ (नवौं संशोधन २०७१÷१०÷२६ द्वारा थप) को बढुवा प्रयोजनसँग सम्बन्धित नियम ३१ को उपनियम (४) बमोजिम ‘सम्बन्धित तह वा श्रेणीका लागि तोकिएको पेशागत विकास सम्बन्धी कम्तीमा एकमहीने सेवाकालीन तालिम प्राप्त शिक्षकलाई श्रेणीको आधारमा क्रमशः ३, २ र १ अङ्क दिइनेछ’ भनी उल्लेख गरिएको छ । तर शिक्षकहरूलाई दिइएको टीपीडी मोड्युल सम्पन्न प्रमाणपत्रमा श्रेणी खुलाइएको छैन । त्यसमा ‘सम्पन्न गरेको टीपीडी मोड्युल विवरण’ मात्र लेखिएको छ । तालिमको लब्धाङ्कपत्र नै नदिइएपछि प्रथम, द्वितीय वा तृतीय कुन श्रेणी आयो भनेर कसरी छुट्टियोस् ? यस्तो अवस्थामा उपर्युक्त उपनियम (४) बमोजिम तालिम बापतको श्रेणीगत अङ्क पाइन्छ कि पाइँदैन ? पाइन्छ भने तीन वटै मोड्युल सम्पन्न गर्ने शिक्षकले केका आधारमा कति अङ्क पाउँछन् ? एक वा दुई वटा मात्र मोड्युल सम्पन्न गरेका शिक्षकले अङ्क पाउँछन् कि पाउँदैनन् ?
हरिकृष्ण जोशी
नारायण आभूवि, बेलुवा, कैलाली


जवाफ–१
तालिम पूरा गर्ने सबैलाई २ अंक

आयोगको नियमावली बमोजिम नै शिक्षकलाई बढुवामा अनुभव बापत प्रति वर्ष १ अङ्कका दरले बढीमा १२ सम्म, न्यूनतम शैक्षिक योग्यता बापत उत्तीर्ण श्रेणी अनुसार प्रथम, द्वितीय र तृतीय श्रेणीका लागि क्रमशः ३, २ र १ अङ्क तथा पेशागत तालिम बापत पनि सोही सरहको श्रेणीगत अङ्क दिने व्यवस्था छ । तत्कालीन शैक्षिक जनशक्ति विकास केन्द्रले शिक्षकका लागि सञ्चालन गर्ने पेशागत तालिम (टीपीडी) को प्रमाणपत्रमा श्रेणी उल्लेख हुने अपेक्षाका साथ नियमावलीमा यस किसिमको प्रावधान राखिएको हो । तर टीपीडी तालिमको प्रमाणपत्रमा त्यस्तो श्रेणी खुलेको नपाइएपछि टीपीडी तालिम सम्पन्न गरेको प्रमाणपत्र भएकाहरूलाई प्रचलित कानूनी व्यवस्था बमोजिम सबैलाई द्वितीय श्रेणी सरह मानेर २ अङ्क दिने गरिएको छ । अर्को कुरा, टीपीडीका तीन वटै मोड्युल पूरा भएपछि मात्र प्रमाणपत्र दिने प्रचलन रहेकाले एक वा दुई मात्र मोड्युल पूरा गरेकाले अंक पाउने या नपाउने भन्ने कुरा प्रासंगिक रहेन ।
रामराजा खकुरेल
उपसचिव एवं सूचना अधिकारी
शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुर

जवाफ–२
श्रेणी खोल्न व्यावहारिक कठिनाइ छ

यस विषयमा शिक्षकहरूबाट उठ्ने गरेको गुनासो जायज भएर पनि केही प्राविधिक कठिनाइका कारण त्यसलाई सम्बोधन गर्न सकिएकोे छैन । पहिले शिक्षक सेवा आयोग नियमावलीमा बढुवा प्रयोजनका लागि तालिम बापत अङ्क पाइने व्यवस्था थिएन । शिक्षक सेवा नियमावलीमा २०७१ सालको संशोधन हुनुअघि नै करीब ४० हजार शिक्षकले टीपीडी पूरा गरेर प्रमाणपत्र समेत पाइसकेका थिए । त्यसबेला तालिमबापत अङ्क दिने व्यवस्था नभएकै कारण तालिम सकिएपछि परीक्षा लिने प्रचलन थिएन । परीक्षा नलिएपछि श्रेणी खुलेको प्रमाणपत्र दिने कुरा पनि भएन । त्यस समयमा तालिम पूरा गरेका शिक्षकलाई सहभागिताको प्रमाणपत्र मात्र दिइन्थ्यो ।

शिक्षक सेवा आयोगको संशोधित नियमावलीको मनसाय अनुरूप २०७२ सालपछि सञ्चालित टीपीडी तालिमको अन्त्यमा परीक्षा लिने व्यवस्था गरियो । त्यसयता पनि पुगनपुग २० हजार जति शिक्षकले सो तालिम पूरा गरेर प्रमाणपत्र पाइसकेका छन् । तर उनीहरूलाई दिइएको प्रमाणपत्रमा पनि श्रेणी खुलाइएको छैन । त्यसो गर्नुको विशेष कारण छ । पहिलेका टीपीडी तालिममा परीक्षा लिने प्रचलन थिएन । अब पछि तालिम लिने शिक्षकहरूलाई परीक्षा लिएर श्रेणी सहितको प्रमाणपत्र दिंदा एउटै प्रकृतिको तालिममा दोहोरो मापदण्ड अपनाएको ठहर्र्ने भयो । प्रमाणपत्र पनि दुई खालका हुने भए । पछिका शिक्षकलाई श्रेणी खुलेको प्रमाणपत्र जारी गर्दा पहिले नै नखुलेको प्रमाणपत्र लिएका शिक्षकहरूलाई सीधै मर्का पर्ने देखियो । पछि तालिम लिएका शिक्षकले प्रथम श्रेणी ल्याएमा बढी अङ्क पाएर पहिलेकालाई उछिन्न सक्ने, तर पहिले तालिम लिएका शिक्षकहरू प्रमाणपत्रमा श्रेणी नखुलेकै कारण द्वितीय श्रेणीको अङ्कमा सीमित भई बढुवाको अवसरबाट बञ्चित हुन सक्ने भए ।

त्यही प्राविधिक समस्यामा कसैमाथि अन्याय नहुने गरी समाधान खोज्ने उपायस्वरुप तत्कालीन शैक्षिक जनशक्ति विकास केन्द्र सञ्चालक परिषद्ले सबै शिक्षकमाथि समान व्यवहारका लागि २०७२ पछि परीक्षा सहित सञ्चालित टीपीडी तालिमका प्रमाणपत्रमा पनि श्रेणी उल्लेख नगरी एकरूपता कायम गर्ने निर्णय गरेको हो । अहिले शैक्षिक जनशक्ति विकास केन्द्र छुट्टै अस्तित्वमा नभई शिक्षा तथा मानव स्रोत विकास केन्द्र  मातहत छ । शिक्षामन्त्री अध्यक्ष रहेको तत्कालीन परिषद्ले तालिमको प्रमाणपत्रमा श्रेणी उल्लेख नगर्ने भनी गरेको निर्णयको वैधानिकता रहेसम्म श्रेणी उल्लेख भएको टीपीडी प्रमाणपत्र जारी गर्न सम्भव छैन ।
बौधराज निरौला, निर्देशक
शिक्षा तथा मानव स्रोत विकास केन्द्र
(साविकको शिक्षा विभाग)
सानोठिमी, भक्तपुर

अवकाशकै कुरा !
शैक्षिक प्रमाणपत्र अनुसार मेरो जन्ममिति २०१६÷४÷३१ हो । मैले २०४२÷९÷१३ मा नागरिकताको प्रमाणपत्र लिंदा त्यसमा मेरो उमेर २७ वर्ष उल्लेख छ, जुन उमेर वास्तविक जन्ममिति भन्दा करीब एक वर्षले बढी देखिन्छ । मेरो स्थायी नियुक्ति मिति २०४५÷८÷१२ हो । नागरिकताको प्रमाणपत्रमा लेखिएको उमेर अनुसार मैले अनिवार्य अवकाश पाउने मिति गत पुसमा कटिसके जस्तो लाग्यो । यसबारे स्पष्ट हुन जिल्ला शिक्षा कार्यालयमा सम्पर्क गर्दा नागरिकता र शैक्षिक प्रमाणपत्रमा उल्लेख भएको उमेरमा देखिएको फरक एक वर्ष वा सोभन्दा कम भएमा पछिल्लो मिति अर्थात् मेरो हकमा शैक्षिक प्रमाणपत्रमा उल्लेख भएको मितिका आधारमा नै अवकाश हुन्छ भन्ने जवाफ पाएँ । यो जवाफले म स्पष्ट हुन नसकेकाले वास्तविकता के कसो हो प्रष्ट जवाफ पाउने आशामा छु ।  
धनप्रसाद दाहाल, पञ्चोदय मावि
धनगढी उपनपा–१४, फूलबारी, कैलाली

शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम १३१ मा शिक्षकहरूको अनिवार्य अवकाशको बारेमा उल्लेख छ । जसअनुसार शिक्षकको ६० वर्ष पुग्ने उमेरको गणना गर्दा शिक्षण संस्थाबाट जारी प्रमाणपत्रमा किटिएको जन्मदिन वा नागरिकताको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आएको उमेर वा निजले सेवा प्रवेश गर्दा भरेको सिटरोलमा लेखिएको मितिबाट गणना गर्दा हुन आएको उमेरमध्ये जुन उमेरबाट पहिले अवकाश हुन्छ सोही आधारमा गणना हुने व्यवस्था छ ।

तपाईंको नागरिकताको प्रमाणपत्र बमोजिम जन्ममिति २०१५÷९÷१३ रहेको देखिन्छ । कुनै एक प्रमाणपत्रमा उमेर वर्ष मात्र वा कुनैमा जन्म साल मात्र उल्लेख भई जारी मिति लेखिएको र कुनैमा साल, महीना तथा गते सहितको पूरा जन्ममिति खुलेको रहेछ भने त्यस्ता फरक फरक प्रमाणपत्रहरूमा जनाइएको जन्ममितिको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा मिति प्रष्टसँग खुलेको प्रमाणपत्रको जन्ममितिलाई आधार मान्ने कानूनी प्रावधान छ । तपाईंको नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लिखित जन्ममितिबीच देखिएको फरक एक वर्षभित्र नै परेको हुँदा शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेख भएको मिति २०१६÷४÷३१ बमोजिम २०७६÷४÷३१ मा अनिवार्य अवकाश हुने देखिन्छ । तर नेपालबाट एसएलसी परीक्षा दिनेहरूको हकमा शैक्षिक योग्यताको प्रमाणपत्रसँगै परीक्षा नियन्त्रण कार्यालयबाट जारी जन्ममिति खुलेको प्रमाणपत्र पनि पेश गर्नुपर्छ ।

तपाईंले आफ्नो जिज्ञासामा सिटरोलको संकेत नं. उल्लेख नगर्नुभएकाले विवरण हेर्न सकिएन । सिटरोलमा आफ्नो जन्ममिति जुन उल्लेख गर्नुभएको छ, त्यसैलाई आधार मानेर अवकाशको उमेर गणना गर्नुहुन अनुरोध छ ।
रवीन्द्रकुमार बुढाप्रिथी
निर्देशक, विद्यालय शिक्षक किताबखाना

मावि शिक्षकको योग्यता स्नातक नै हो
शिक्षा ऐन २०२८ को आठौं संशोधनमा विद्यालय शिक्षालाई आधारभूत (१–८) र माध्यमिक (९–१२) भनी उल्लेख गरिएको छ । अब शिक्षकहरूको वर्गीकरणमा पनि यसै बमोजिम फेरबदल आउँछ कि आउँदैन ? मैले अंग्रेजी विषयमा तीनवर्षे बीएड गरेको छु । सोही योग्यताका आधारमा माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा सहभागी भएको थिएँ तर सफल हुन सकिनँ । अब हुने परीक्षामा मैले माध्यमिक तहकै अध्यापन अनुमतिपत्रको लागि आवेदन दिन पाउँछु कि एमएड गरेको हुनुपर्छ ? साथै अबको अध्यापन अनुमतिपत्र विषयगत हुने हुँदा मैले अंग्रेजी बाहेक सामाजिक विषयको पनि अध्यापन अनुमतिपत्र लिन चाहेमा पाउने अवस्था छ कि छैन ?
पल्लवराज जोशी, चौलानी मावि
शैल्यशिखर–९, गोकुलेश्वर, दार्चुला

प्रचलित शिक्षा ऐनले आधारभूत र मावि तह भनी गरेको वर्गीकरण शिक्षकका लागि नभई विद्यालयका लागि हो । शिक्षा ऐन र नियमावलीको वर्गीकरण बमोजिम नै अहिले पनि प्रावि, निमावि र मावि तहका शिक्षकहरू कार्यरत छन् । यी तीन तहमध्ये माविको अध्यापन अनुमतिपत्र लिनका लागि चाहिने न्यूनतम शैक्षिक योग्यता शिक्षामा स्नातक (बीएड) नै हो । अध्ययन अवधि जति वर्षको भए पनि त्यो तहको योग्यता पूरा गरेपछि अध्यापन अनुमतिपत्रको परीक्षामा आवेदन गर्न बाधा पर्दैन । तसर्थ तपाईंले आगामी परीक्षामा मावि तहकै अध्यापन अनुमतिपत्रका लागि आवेदन दिन पाउनुहुन्छ ।

अब हुने परीक्षाबाट विषयगत अध्यापन अनुमतिपत्र दिइने हुँदा एउटा मुख्य ९ःबवयच० र अर्को सहायक ९ःष्लयच० गरी दुई विषयमा अध्यापन अनुमतिपत्र लिन पाइन्छ । त्यसका लागि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रमा अध्यापन गराउन चाहेका विषयहरू अध्ययन गरेको चाहिं देखिनुपर्छ । परिमार्जित विषयगत पाठ्यक्रम अनुसार आगामी चैतमा अध्यापन अनुमतिपत्रको परीक्षा हुनेछ । परीक्षाको विस्तृत पाठ्यक्रम यस आयोगको वेबसाइट धधध।तकअ।नयख।लउ मा उपलब्ध छ ।
रामराजा खकुरेल, सूचना अधिकारी
शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुर

दुई खुद्रे जिज्ञासा
१.    निमित्त प्रधानाध्यापकले अस्थायी शिक्षकलाई विदेश घुम्ने प्रयोजनका लागि एक महीना लामो विदा स्वीकृत गर्न मिल्छ कि मिल्दैन ? यदि मिल्दैन भने त्यस्तो विदा लिने शिक्षक र विदा दिने प्रधानाध्यापकलाई के कारबाही हुन्छ ?
२.    विद्यालयमा १० बजेदेखि ४ बजेसम्म हाजिर भएको शिक्षक सोही दिन शिक्षक सेवा आयोगले लिएको बढुवाको अन्तर्वार्तामा सामेल भएको देखिएमा त्यस्ता शिक्षकलाई के कारबाही हुन्छ ?
रत्नविरही घिमिरे
श्रमजीत किशोर मावि ललितपुर

१.    शिक्षा नियमावली २०५९ को नियम १०७ अनुसार सञ्चित विदाबाट कट्टा हुने गरी शिक्षकको विदा प्रधानाध्यापकले स्वीकृत गर्न सक्ने व्यवस्था छ । शिक्षकले विदा स्वीकृत गराई विदा माग्नुको कारण बमोजिमको कार्य गर्न कुनै बाधा पर्दैन ।
२.    परीक्षामा सामेल हुनका लागि विदा स्वीकृत गराउनुपर्दछ । कार्यरत शिक्षकले विदा स्वीकृत नगराई परीक्षामा सहभागिता जनाएको पाइएमा विद्यालय वा परीक्षामा गरिएको हाजिरमध्ये एउटा रद्द हुन्छ ।
नगेन्द्रप्रसाद रेग्मी
शिक्षक व्यवस्थापन तथा समन्वय शाखा
शिक्षा तथा मानव स्रोत विकास केन्द्र
सानोठिमी, भक्तपुर

 

commercial commercial commercial commercial