विद्यार्थी नियमित गराउने एउटा मौलिक अभियान ‘दिनहुँ स्कूल आउ, पुरस्कार पाउ!’

सप्तरीको महदेवा गाउँपालिका–१, सोनराका वीरेन्द्र मण्डलले आफ्ना छोरा विशाललाई घर नजिकैको विद्यालयमा कक्षा–२ मा भर्ना गराए पनि विद्यालय पठाउँदैनथे । छोरालाई कहिले घर कुर्न त कहिले खेतको काममा पठाउँथे । तर, पहिले पहिले आक्कल–झ्ुक्कल मात्र विद्यालयमा देखापर्ने विशाल एक महीनादेखि नियमित स्कूल आउन थालेको प्रधानाध्यापक वसन्तकुमार चौधरी बताउँछन् ।
यसैगरी कम उपस्थित हुने गरेका कक्षा–३ की अनिताकुमारी यादव र कक्षा–४ की सुष्माकुमारी मण्डल पनि अहिले नियमित विद्यालय आउन थालेको प्रअ चौधरीले बताए ।
डाक्नेश्वरी नगरपालिका–८ स्थित राजाजी आभूवि, भीमपुरमा पढ्ने बालबालिका पनि यताका दिनमा नियमित विद्यालय आउन थालेका छन् । सो विद्यालयका प्रअ लखिन्द्र साह भन्छन्, “पहिले साताको एक दिन मात्र विद्यालय आउने बालबालिका अहिले नियमित आइरहेका छन् ।”
यी दुई विद्यालयमा बालबालिका नियमित हुनुको कारण हो, अभिभावकमा आएको जागरुकता । र, यस्तो जागरण ल्याउने अभियानका अभियन्ता हुन्– इन्जिनियर सूर्यनारायण यादव । इन्जिनियर यादवले विद्यालयमा नियमित हाजिर हुने बालबालिकाको तथ्याङ्क संकलन गर्न लगाई उनीहरू र तिनका अभिभावकलाई समेत सम्मानित एवं पुरस्कृत गर्न थालेपछि बालबालिकाहरू विद्यालयमा नियमित आउन थालेका हुन् ।
शैक्षिक सत्र शुरू हुनेबित्तिकै विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई भर्ना गराउन कम्मर कस्ने तर भर्ना भएकाहरूको निरन्तरताबारे खासै ध्यान नदिने प्रवृत्तिमा सुधार ल्याउन सप्तरीका समाजसेवी यादवको यो नयाँ प्रयोग प्रेरणादायी भएको छ ।
समस्यामा परेकाहरूलाई यथाशक्य सहयोग गर्दै समाजसेवीको पहिचान बनाएका पूर्व सरकारी कर्मचारी यादवले बालबालिकालाई विद्यालयमा टिकाउने कार्यलाई विशेष महŒव दिएका छन् । यसनिम्ति उनले केही महीना अघिदेखि जिल्लाको ग्रामीण भेगमा छोराछोरीलाई विद्यालयमा नियमित पठाउने अभिभावकको खोजी गरी उनीहरूलाई बालबालिकासँगै विद्यालयमा बोलाएर सम्मानित गर्न शुरू गरेका थिए । त्यसपछि, त्यस्तै सम्मान र पुरस्कार पाउने आशामा छोराछोरीलाई घरमै काम लगाएर राख्ने अभिभावकले पनि धमाधम विद्यालय पढ्न पठाउन थालेका हुन् ।
आफ्नो प्रयासबारे समाजसेवी यादव भन्छन्, “यसो गर्दा अभिभावकहरू झ्न् हौसिएर आफ्ना बालबालिकालाई सधैं विद्यालय पठाउँछन् । अन्य सरोकारवालाहरूले पनि बालबालिकालाई विद्यालयमा टिकाउन यस्ता गतिविधि गर्नु जरूरी छ ।” यादवले शुरू गरेको यो अभियानबाट विद्यालयमा बालबालिकाको उपस्थिति वृद्धि गर्न मद्दत पुग्ने शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीका प्रमुख शंकरराज लुइँटेल बताउँछन् ।
इन्जिनियर यादवले महदेवा गाउँपालिका–१ स्थित सोनरा राप्राविबाट बालबालिका तथा अभिभावक सम्मान गर्ने अभियानको थालनी गरेका थिए । त्यस अन्तर्गत नियमित विद्यालय आउने कक्षा–५ का प्रशान्तकुमार मण्डल र रुवीकुमारी सदा समेत विभिन्न कक्षाका डेढ दर्जन विद्यार्थी र तिनका अभिभावकहरू सर्वप्रथम पुरस्कृत र सम्मानित भएका थिए । अहिले यो अभियान आधा दर्जन विद्यालयमा चलिरहेको र कम बालबालिका आउने विद्यालयको तथ्याङ्क लिने काम भइरहेको अभियन्ता यादवले जानकारी दिए । नियमित विद्यालय आउने बालबालिकाका अभिभावकलाई पुरस्कार दिंदा खादा ओढाई थाल, गिलास, झ्ुल तथा महिला भए साडी र पुरुष भए धोती लगायतका काम लाग्ने सामग्री प्रदान गर्ने गरिएको छ । बालबालिकालाई पुरस्कारस्वरुप यादवले कापी, कलम र चकलेट बाँड्ने गरेका छन् । अभिभावकले पुरस्कारसँगै सम्मान पत्र पनि पाउँछन् ।
“यसरी विद्यालयमै बोलाएर सम्मानित÷पुरस्कृत गर्दा अन्य अभिभावक पनि पुरस्कार लिने मनसायका साथ आएको देख्यौं” यादव भन्छन्, “तिनीहरूलाई हामी पुनः अर्को महीना आउँछौं, त्यस बेलासम्म जसका बालबालिका बढी विद्यालय आउँछन्, उनीहरूलाई समेत दिन्छौं भनेका छौं ।”
इन्जिनियर यादवले आफ्ना पिता धर्मी र माता हल्फाको नाममा धर्मीहल्फा महिला विकास क्लब नामक सामाजिक संस्था खोलेका छन् । यही संस्था अन्तर्गत दैवीप्रकोपमा परेकाहरूलाई राहत प्रदान गर्ने काममा पनि यादव अग्रसर हुँदै आएका छन् । बाढी आएका बेला त्यस्ता राहत लिएर ग्रामीण भेगमा जाँदा उनी विद्यालयहरूमा पनि पस्ने गर्थे । त्यहाँका विद्यालयमा बालबालिकाको संख्या अत्यन्तै न्यून देखेपछि उनीहरूको उपस्थिति बढाउन उनले सम्मान तथा पुरस्कारको यो अभियान थालेका हुन् । उनी भन्छन्, “कुनै कुनै विद्यालयमा त २०० विद्यार्थी भर्ना भएकोमा २५ देखि ५० जनासम्म मात्र नियमित आइरहेको पाएँ, त्यो थाहा पाउँदा दुःख लागेर यस्तो उपाय निकालें ।”
विद्यालयमा पुरस्कार तथा सम्मानका लागि चाहिने रकम अभियन्ता यादव आफैं खर्च गर्ने गर्छन् । “यस अभियानलाई मन पराएर केही व्यक्तिले रकम दिन खोजे पनि हामीले लिएका छैनौं, जेजति सकिन्छ आफैं गर्दै जाने योजना छ”, यादवले भने ।
जागिर छाडेर शिक्षासेवी
इन्जिनियर यादव २०५७ सालमा भौतिक योजना मन्त्रालय अन्तर्गत सरकारी सेवामा ताप्लेजुङमा काम गर्थे । त्यसबेला उनको गाउँ सप्तरीको लालापट्टीमा सानो प्राथमिक विद्यालय थियो । विदामा घर आउँदा सो विद्यालयलाई ठूलो बनाउने सोच उनमा पलायो । त्यसलगत्तै आफ्नो १५ कट्ठा विद्यालयलाई दिएर मावि तहमा स्तरोन्नति गर्ने कागजी प्रक्रियाका विद्यालयका तत्कालीन प्रअसँग आग्रह गरेर काममा फर्केका थिए । तर प्रअले प्रक्रिया अगाडि बढाइदिएनन् । विद्यालय प्राविबाट मावि भएमा आफू प्रअ रहन्न भन्ने डर उनमा रहेकाले त्यो योजना अघि नबढेको यादव सम्झ्न्छन् । तर त्यही निहुँमा उनी जागिर छाडेर शिक्षासेवी बन्न पुगे । “प्रअले विद्यालयको स्तर उकास्नतर्फ काम नगरेपछि २०५८ सालमा जागिरबाट राजीनामा दिएर शिक्षामै सेवा गर्ने योजनाले गाउँ फर्किएँ”, उनले सुनाए ।
गाउँ फर्केपछि सम्पूर्ण प्रक्रियामा आफैं सामेल भई उनले तत्कालीन प्राविलाई मावि बन्न सघाए । त्यसबेला उनले गरेको योगदानस्वरुप यादवका मातापिता धर्मी र हल्फाको नामबाट विद्यालयको नामकरण पनि गरिएको थियो । तर पछि उक्त नाम हटाइयो । विद्यालयबाट दाताहरूको नाम किन हटाइयो भन्ने बारेमा आफूले खासै चासो नराखेको उनी बताउँछन् ।
पछिल्लो समयमा देशको पहाडी भेगका विद्यालयले दिने शिक्षामा राम्रो सुधार भए पनि मधेशको शिक्षा दिन प्रतिदिन कमजोर बन्दै गएको ठान्ने यादव मधेशका विद्यालयहरूमा सामूहिक भन्दा व्यक्तिगत स्वार्थ हावी हुँदै जानुलाई त्यसको प्रमुख कारण ठान्छन् । विद्यालय शिक्षाको स्तर र विद्यार्थीको उपस्थितिमा तत्कालै सुधार नल्याए मधेशको समाज भविष्यमा झ्न् ठूलो अन्धकारमा भासिने खतरा देखेर आफू शिक्षाको सेवामा लागेको उनको कथन छ ।
श्रवणकुमार देव