किन दुख्छ टाउको ?

“कस्तो टाउको दुख्यो नि... !”
“यसले त टाउको नै दुखाउँछ बा...”
“यस्तो सानो कुरामा पनि किन टाउको दुखाउनु प¥या होला ?”

यो उदाहरणबाट प्रष्ट हुन्छ— ‘टाउको दुख्ने’ समस्या या प्रवृत्ति हाम्रो समाजमा निकै व्यापक छ । तर यहाँ चर्चा गर्न लागिएको चाहिं यसको स्वास्थ्य सम्बन्धी पाटोको मात्र हो ।

चिकित्सकीय कोणबाट हेर्दा टाउको दुख्नु आफैंमा रोग नभई, कुनै व्यक्त या अव्यक्त रोगको लक्षण हुन सक्दछ । तथापि माइग्रेन, टेन्सन टाइप हेडेक जस्ता टाउको दुख्ने रोगहरू चाहिं अपवाद हुन् । विश्वव्यापी रूपमा टाउको दुख्ने समस्या अहिले सामुदायिक स्वास्थ्यको एउटा महŒवपूर्ण पक्ष रहेको छ । हालसालै गरिएको एक राष्ट्रव्यापी अध्ययनले करीब ८५ प्रतिशत नेपालीमा जीवनको कुनै न कुनै बेला यो समस्या आइपरेको देखाएको छ ।

टाउको दुख्ने समस्या जुनसुकै उमेरका महिला हुन् या पुरुष, विवाहित या अविवाहित, बेरोजगार या जुनसुकै पेशाका— सबैले समान रूपमा व्यक्त गर्ने गर्दछन् । अस्पतालका जुनसुकै विभागमा पनि यो लक्षण भएका बिरामीहरू भेटिन्छन् । तर पनि, ‘टाउको दुख्ने’ बिरामीहरू सोझ्ै या रिफर भएर प्रायः अस्पतालको मनोचिकित्सा विभागमै आइपुग्छन् ।

टाउको दुख्नु एउटा सामान्य लक्षण हुँदाहुँदै पनि यसले प्रायः कुनै मस्तिष्कजन्य रोगलाई नै अभिव्यक्त गरिरहेको हुन सक्छ, जस्तैः ब्रेन ट्यूमर, मेनिन्जाइटिस आदि । त्यस्तै, ज्वरो आएका टाइफाइड, न्यूमोनिया आदि बिरामीहरूमा पनि प्रारम्भिक लक्षण यही नै हुन सक्छ । अनि दम जस्ता श्वासप्रश्वासजन्य बिरामीमा पनि रगतमा अक्सिजनको मात्रा कम भएमा ‘शिरदर्द’ देखा पर्दछ । व्यक्तिको रगतमा ग्लूकोज को मात्रामा कमी आएमा पहिलो समस्या टाउको दुख्ने नै हुन सक्छ । त्यस्तै उच्च रक्तचाप, अस्पतालमा भर्ना गरेर राखिएका, अपरेशन गरिएका बिरामी या चर्को घाममा काम गर्नेहरूमा पनि टाउको दुख्ने समस्या हुनसक्छ । यी सबै दुखाइका कारण भने फरक–फरक हुनसक्छन् ।

हाम्रो टाउकोको बाहिरी आवरण छाला, हड्डी आदिले बनेको भए तापनि नशा एवं रक्तनलीहरूले यसको पोषण एवं संचारका लागि काम गरिरहेका हुन्छन्, अनि यसभित्र मस्तिष्क सुरक्षित रहन्छ । अतः टाउको दुख्नुमा मस्तिष्कमा परेको आघात मात्र नभई रक्तनलीहरूको प्रवाहमा हुने घटीबढी या नसाहरूका चाप, खप्परको चोट, छालाको घाउ आदि धेरै कुरा जिम्मेवार हुन्छन् । त्यस्तै नाक, आँखा, कान, मुख, दाँत जस्ता महŒवपूर्ण अंगहरू टाउकोसँग नै सम्बन्धित भएकाले पिनास, दृष्टिशक्तिमा हुने परिवर्तन, कान पाक्ने रोग, मुखको घाउ, दाँत कीराले खाने आदि समस्याहरूका कारण समेत ‘टाउको दुख्ने’ हुन्छ ।

मस्तिष्क र खप्परबीचको झ्ल्लिीमा दबाब प्रतिरोधक तत्वका रूपमा सेरेब्रोस्पाइनल फ्लूड नामक पदार्थ रहेको हुन्छ । मस्तिष्कमा हुने संक्रमण, ट्यूमर, चोट आदिका कारण यस पदार्थको चाप बढ्न गई ‘टाउको दुख्ने’ समस्या देखा पर्दछ ।
त्यस्तै, माथि उल्लेख भए झ्ैं ‘टाउको दुख्ने’ समस्या आफैं नै एक मौलिक रोग नै पनि हुन सक्छ, जसका आफ्नै प्राथमिक कारणहरू हुन्छन् । माइग्रेन टाउकोमा बग्ने रक्तनलीहरूको प्रवाहसँग सम्बन्धित छ भने टेन्सन टाइप हेडेक टाउकोको मांसपेशीको संकुचनका कारण हुन सक्छ । अरू प्राथमिक कारकतत्वमा क्लस्टर हेडेक पनि पर्दछ । हामीले हालसालै गरेको नेपालव्यापी सर्भेक्षणमा माइग्रेन र टेन्सन टाइप हेडेक दुवै समस्या ज्यादा पाइएका थिए । त्यस अनुसार माइग्रेन करीब ३५ प्रतिशतमा अनि टेन्सन टाइप हेडेक ४१ प्रतिशतमा भेटिएको थियो ।

मनोरोगसँग सम्बन्धित कारणहरूमध्ये डिप्रेसनमा टाउको दुख्नु प्रमुख लक्षण भित्र पर्छ । निद्राको गडबडी, भोक नलाग्ने, भित्रभित्रै गुम्सेर बस्ने, अनि शरीरको आवश्यक हेरविचार नगर्ने आदि कारकतŒवहरूले ‘शिरदर्द’ झ्नै बढाउने गर्दछ । त्यस्तै भित्री डर एवं उत्तेजनाका कारण पनि शारीरिक लक्षणका रूपमा टाउको दुख्ने हुनसक्छ । शारीरिक रोगहरूको भयरोग (हाइपोकोण्ड्रियासिस) या सोमाटोफर्म डिस्अर्डर जस्ता मनोरोगमा पनि मानिसहरू टाउको दुख्ने समस्या लिएर विभिन्न चिकित्सककहाँ धाउने गर्दछन् । दीर्घ रूपमा मद्यपान, धूम्रपान या कुनै पनि लागूऔषधको सेवन गर्नेहरूमा आफूले प्रयोग गर्ने पदार्थको मात्रामा कमी हुन जाँदा या त्यसको अभाव हुनपुग्दा देखाउने विभिन्न समस्याहरूमध्ये ‘टाउको दुख्नु’ पनि प्रमुख रूपमा रहेको पाइन्छ । टाउको दुख्ने समस्या डिप्रेसन र एङ्गजाइटी जस्ता मानसिक रोगहरूसँग अति नै सम्बन्धित रहने त हाम्रै अध्ययनले नै पनि देखाएको छ ।

अतः ‘टाउको दुख्ने’ आफैंमा एउटा रोग पनि हुनसक्छ, खाली अन्य रोगको लक्षण मात्र नभइकन । अनि साधारण समस्यादेखि डरलाग्दो रोग समेत सुषुप्तावस्थामा यसका लक्षणमा अन्तर्निहित हुन सक्छन् । यी सब पक्षहरूलाई हृदयङ्गम गरेर नै, अचेल अस्पतालहरूमा हेडेक क्लिनिक भनेर यस्तै लक्षणमा आधारित सेवा पनि संचालन हुन थालेका छन् ।

वास्तवमा यो समस्याका पाटाहरू विभिन्न छन् । यसको उपचारका लागि कहिले सामान्य रूपमा रगतमा हेमोग्लोबिन या आँखाको दृष्टि परीक्षण मात्र गरे पुग्छ भने कहिले त सिटीस्क्यान, एम.आर.आई जस्ता जटिल जाँच समेत गराउनुपर्ने हुन सक्दछ । कहिले सामान्य चश्मा या सिटामोल जस्ता सरल, सुलभ एवं सुपथ औषधिले नै यसको प्राथमिक उपचार सम्भव हुन्छ त कहिले अति सघन उपचार नै चाहिन पनि सक्छ ।

commercial commercial commercial commercial