जिज्ञासा र जवाफ

विद्यालयको जग्गा सदुपयोग मात्रै गर्न पाइन्छ

सामुदायिक सिंहकाली मावि, तिङ्ला, सोलुखुम्बुको नाममा ३५० रोपनी जग्गा छ । त्यसमध्ये विद्यालय परिसरसँगै ४ रोपनी र बाँकी जग्गा अन्यत्र छ । विद्यालयबाट करीब तीन किलोमिटर पर रहेको एउटा जग्गा विद्यालयले सोलु हाइड्रोपावरलाई ३५ वर्षका लागि रु.१० लाखमा भाडामा दिएको छ । विद्यालयको जग्गा यसरी भाडामा लगाउन पाइन्छ कि पाइँदैन ? पाइन्छ भने कसले कुन विधिबाट दिन पाउँछ ? भाडाका शर्तहरू के कस्ता हुनुपर्छ ?

नानीकाजी खड्का

सिंहकाली मावि, तिङ्ला, सोलुखुम्बु

विद्यालयको जग्गा अथवा अचल स्रोत साधन विद्यालयको अधिकतम हित हुने काममा मात्र उपयोग गर्न पाइन्छ । त्यसैगरी शिक्षा नियमावलीको नियम १५८ मा विद्यालयको नाममा रहेको सम्पत्तिको सुरक्षा गर्ने प्रमुख दायित्व व्यवस्थापन समिति र प्रधानाध्यापकको हुने र विद्यालयको सम्पत्ति संरक्षण गर्न हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा विद्यालय सम्पत्ति संरक्षण समिति रहने व्यवस्था छ । नियमावलीको नियम १५९ मा विद्यालय सम्पत्ति संरक्षण समितिले विद्यालयको नाममा रहेको सम्पत्तिलाई अधिकतम फाइदा हुने काममा प्रयोग गर्न व्यवस्थापन समितिलाई निर्देशन दिने व्यवस्था छ ।

यसैगरी, विद्यालयको जग्गा भाडाका सम्बन्धमा चितवन मावि भरतपुरका विरुद्ध परेको एउटा रिटमा सम्मानित सर्वोच्च अदालतबाट दुई वर्षअघि भएको फैसलामा सामुदायिक विद्यालयको नाममा रहेको जग्गा ‘सार्वजनिक सम्पत्ति’ भएकाले यस्तो सम्पत्तिलाई व्यावसायिक प्रयोजनका लागि भाडामा लगाउन नपाइने आदेश आएको छ । सोही फैसलासँगै विद्यालयले टेण्डर प्रक्रियाबाट भाडामा दिइसकेको करीब दुई बिघा जग्गाको भाडासम्बन्धी करार समेत रद्द गर्दै अदालतले सो जग्गा खाली गराइदिएको नजिर पनि छ । यस प्रकरणबाट के बुझनुपर्छ भने सामुदायिक विद्यालय एक सार्वजनिक निकाय भएकाले त्यसको स्वामित्वमा रहेको सार्वजनिक सम्पत्ति तोकिएका सम्पूर्ण विधि र प्रक्रियाहरू अनिवार्य रूपमा पूरा भएको अवस्थामा मात्र भाडामा लगाउन पाइन्छ ।

नगेन्द्रप्रसाद रेग्मी

निर्देशक, शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविक शिक्षा विभाग)

मैले पाउने ग्रेड दुई कि तीन ?                                                        

म २०५४/०६/०३ मा अस्थायी र  २०६३/०९/१३ मा स्थायी नियुक्ति लिएको प्राथमिक तहको शिक्षक हुँ । २०६५ वैशाखबाट ग्रेड बापत तलबमा थप रु.११० पाउन शुरू भई २०७१ असारसम्म ७ ग्रेड पाएकोमा त्यही सालको साउनमा तलब स्केलसँगै ग्रेड समायोजन हुँदा ४ ग्रेड र २०७२ वैशाखबाट ५ ग्रेड पाएकोमा २०७२/०२/०८ बाट द्वितीय श्रेणीमा बढुवा भएँ । खाईपाई आएको तलब स्केल र ग्रेड भन्दा द्वितीय श्रेणीको तलब स्केल रु.३० ले कम भएकाले नियमानुसार २०७२ जेठबाट नै थप १ ग्रेड बोनस पाएको थिएँ । २०७३ वैशाखबाट रु.४८० बराबरको २ ग्रेड पाएको भए पनि त्यही वर्षको साउनमा ग्रेड समायोजन हुँदा रु.७८३ बराबरको १ ग्रेड कायम भएकाले २०७४ वैशाखबाट २ र २०७५ वैशाखबाट ३ ग्रेड पाउनुपर्नेमा विद्यालय शिक्षक किताबखानाले जारी गरेको तलबी प्रतिवेदन फारम २०७५ मा मैले पाउने ग्रेड २ उल्लेख भएको पाइयो । प्रतिवेदनमा त्रुटि भएको हो कि मैले पाउने ग्रेड नै २ हो यकिन गरिपाऊँ ।

रुद्रप्रसाद पराजुली

कागेश्वरी मावि, त्रिपुरासुन्दरी गाउँपालिका–१, घोर्थली, सिन्धुपाल्चोक

तपाईंको नियुक्ति मिति हेर्दा हालसम्मको सेवा अवधिभर अध्ययन, असाधारण र वेतलबी विदा नलिएको र कुनै विभागीय सजाय नपाएको अवस्थामा २०७५ वैशाखबाट तपाईंले ३ ग्रेड पाउने देखिन्छ । शिक्षा नियमावली २०२८ (संशोधन सहित) को नियम १२६, उपनियम (१) को (ङ) बमोजिम तपाईंको विद्यालय रहेको गाउँपालिका वा नगरपालिकाले २०७५ शैक्षिक सत्रको तलबी प्रतिवेदन यस कार्यालयबाट पारित गराउँदा यदि आफूले पाउनुपर्ने ग्रेड संख्या पारित नभएको खण्डमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइबाट माथि उल्लिखित विदा नलिएको र विभागीय सजाय नपाएको पत्र, तपाईंको स्थायी नियुक्ति र बढुवाको पत्रको फोटोकपी संलग्न राखी सम्बन्धित गाउँपालिका÷नगरपालिकाको सिफारिश सहित यस कार्यालयमा सम्पर्क राख्नुभएमा नियमानुसार तपाईंले पाउनुपर्ने ग्रेड संख्या पारित गरिनेछ ।

रवीन्द्रकुमार बुढाप्रिथी

निर्देशक, विद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौं

 

अनुत्तीर्ण अस्थायीलाई उमेरको हदबन्दी छुट दिन मिल्दैन

करीब ४० प्रतिशत परीक्षार्थी आन्तरिक परीक्षाबाट बाहिरिन पुगेको अवस्थामा उमेरले पनि भर्खर ४०/४१ पुगेका असफल परीक्षार्थीले आगामी खुला प्रतिस्पर्धामा आवेदन दिनको लागि उमेरको हदबन्दी लाग्छ कि लाग्दैन ? यदि पुनः एक पटकलाई उमेरको हदबन्दी हटाइदिएको खण्डमा धेरै पीडित शिक्षकहरू (पाँचवर्षे सेवा अवधि नपुगेका) जो ‘गोल्डेन ह्याण्डसेक’ बाट पनि वञ्चित भई शिक्षण पेशाबाटै बाहिरिने स्थितिमा पुगेका छन्, तिनको जीवनको संजीवनी स्वरुप अन्तिम परीक्षामा सहभागी हुन गई आफ्नो भूल सुधार्न पाउँथे कि ?

ठाकुर बैरागी

शुक्लागण्डकी नगरपालिका–३, दुलेगौंडा, तनहुँ

शिक्षक सेवा आयोगबाट २०७३ सालमा प्रकाशित विज्ञापन अनुसार शिक्षा ऐन २०२८ (संशोधन सहित) दफा ११ च (१) को (ख) अनुसार अस्थायी शिक्षकहरूलाई अन्तिम एक पटकका लागि मात्र उम्मेदवार हुन पाउने गरी लिइएको लिखित परीक्षा र अन्तर्वार्ताको अन्तिम मूल्याङ्कनबाट समेत सिफारिश भइसकेको छ । यस सन्दर्भमा दोस्रो पटकको लागि त्यसरी आन्तरिक परीक्षामा असफल भई विस्थापित भएका शिक्षकहरूको लागि प्रचलित कानून अनुसार तोकिएको योग्यता नचाहिने भन्ने व्यवस्था नभएको र शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम १० अनुसार ४० वर्ष पूरा भएको व्यक्तिलाई उमेरको हदबन्दी लाग्ने भएकाले यस विषयमा ऐन कानूनले तोकेभन्दा अन्यथा गर्न सम्भव हुने देखिंदैन ।  

भुवनेश्वर जोशी

शाखा अधिकृत, शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविक शिक्षा विभाग)

commercial commercial commercial commercial