अनद्यतन र परोक्ष भूतकाल

संस्कृतमा भूतकाल तीन प्रकारका छन्– सामान्य भूतकाल, अनद्यतन भूतकाल र परोक्ष भूतकाल । अघिल्ला पाठमा सामान्य भूतकालको परिचय दिइयो, केही उदाहरण पनि देखाइए । यस पाठमा अनद्यतन भूतकाल र परोक्ष भूतकालका विषयमा चर्चा गरिंदै छ ।

अनद्यतन भूतकाल

अद्यको अर्थ आज हो, अद्यतन भनेको आज हुने भनेको हो । आज नहुनेलाई अनद्यतन (न+अद्य+तन) भन्दछन् । संस्कृतमा आज नभएर हिजो वा त्योभन्दा पनि अघि भएको कुरालाई समय तोकेर वा नतोकीकन पनि भन्दा अनद्यतन भूतकालको प्रयोग गरिन्छ । संस्कृतका प्रत्येक धातुबाट अनद्यतन भूतकाल बुझाउन पाणिनीय व्याकरणअनुसार लङ् लकारको प्रयोग हुन्छ । सामान्य भूतकाल वा अनद्यतन भूतकाल बुझउन नेपालीमा एउटै क्रियापद भयो, गर्यो, खायो, खेल्यो, गयो इत्यादिको प्रयोग हुन्छ भने संस्कृतमा अनद्यतन भूतकाललाई बुझउन सामान्य भूतकालका क्रियापदभन्दा फरक अभवत्, अकरोत्, अखादत्, अखेलत्, अगच्छत् इत्यादि लङ् लकारका क्रियापदको प्रयोग हुन्छ । अर्थात् आज वा हिजो–अस्ति बितिसकेको वा भैसकेको क्रिया बुझउन नेपालीमा एउटै क्रियापद प्रयुक्त हुन्छन् भने संस्कृतमा आजै भएको र हिजो–अस्ति भएको भूतकालको क्रिया बुझउन अलग–अलग क्रियापद प्रयोग गर्नुपर्ने नियम छ ।

परस्मैपदी भू सत्तायाम् (भू, हुनु) धातुका लङ् लकारका (अनद्यतन भूतकालका) रूपहरू–

                        एकवचन              द्विवचन               बहुवचन

प्रथम पुरुष–          अभवत्               अभवताम्             अभवन्

मध्यम पुरुष–         अभवः                अभवतम्             अभवत

उत्तम पुरुष–          अभवम्               अभवाव              अभवाम ।

वृ–धातुका परस्मैपदमा रूपहरू– अकरोत् अकुरुताम् अकुर्वन्, अकरोः अकुरुतम् अकुरुत, अकरवम् अकुर्व अकुर्म । परस्मैपदी गम्–धातुका रूपहरू– अगच्छत् अगच्छताम् अगच्छन्, अगच्छः अगच्छतम् अगच्छत, अगच्छम् अगच्छाव अगच्छाम । परस्मैपदी खाद्–धातुका रूपहरू– अखादत् अखादताम् अखादन्, अखादः अखादतम् अखादत, अखादम् अखादाव अखादाम

अनद्यतन भूतकालका क्रियापदको वाक्यमा प्रयोग–

ह्यः मम पुत्रः विद्यालयम् न अगच्छत् ।

(हिजो मेरो छोरो विद्यालय गएन ।)

सः ह्यः गृहे एव अभवत् । (ऊ हिजो घरमा नै थियो ।)

द्वौ कर्मकरौ ह्यः अस्वस्थौ अभवताम्

(दुई जना कामदार हिजो बिरामी भए ।)

तौ ह्यः कर्म कर्तुम् न आगच्छताम्

(तिनीहरू हिजो काम गर्न आएनन् ।)

ह्यः त्वम् कुत्र अभवः ? (हिजो तिमी कहाँ थियौ ?)

यूयम् ह्यः कुत्र अगच्छत ? (तिमीहरू हिजो कता गयौ ?)

अहम् ह्यः कार्यालये अभवम् । (म हिजो कार्यालयमा थिएँ ।)

आवाम् ह्यः पायसम् अखादाव ।

(हामी दुई जनाले हिजो खीर खायौं ।)

ह्यः (हिजो), अद्य (आज), अपि (पनि), न (निषेध) इत्यादि पद अव्यय हुन् । अव्ययको रूप बदलिंदैन । अगच्छताम्को अगाडि आ उपसर्ग जोडिएपछि सन्धि भएर आगच्छताम् (आ+अगच्छताम्) हुन्छ । उपसर्ग लागेपछि धातुको अर्थ बदलिन्छ ।

परोक्ष भूतकाल

परोक्ष भनेको प्रत्यक्षको विपरीत हो । आफैंले सोझै नदेखेको वा नसुनेको तर पछि कतैबाट थाहा पाएको विषय परोक्ष हो । परोक्षलाई बुझउनु पर्दा संस्कृतमा परोक्ष भूतकालको अर्थात् लिट् लकारको प्रयोग गरिन्छ । जस्तै– बभूव (भएछ, रहेछ), चकार (गरेछ), चखाद (खाएछ), जगाम (गएछ), पपात (खसेछ, परेछ), जगाम (गएछ), ददौ (दिएछ), इत्यादि । लिट् लकारका रूपहरू अल्लि फरकप्रकारका हुन्छन् । जस्तै–

भू–धातुका लिट् लकारका (परोक्ष भूतकालका) रूपहरू–

                        एकवचन              द्विवचन               बहुवचन

प्रथम पुरुष–          बभूव                 बभूवतुः              बभूवुः

मध्यम पुरुष–         बभूविथ             बभूवथुः             बभूव

उत्तम पुरुष–          बभूव                 बभूविव              बभूविम ।

वृ–धातुका परस्मैपदमा रूपहरू– चकार चक्रतुः चक्रुः, चकर्थ चक्रथुः चक्र, चकार/चकर चकृव चकृम । परस्मैपदी गम्–धातुका रूपहरू– जगाम जग्मतुः जग्मुः, जगमिथ/जगन्थ जग्मथुः जग्म, जगाम/जगम जग्मिव जग्मिम ।

परोक्ष भूतकालका क्रियापदको वाक्यमा प्रयोग–

त्रेतायुगे भगवान् रामचन्द्रः अयोध्यायाः राजा बभूव

(त्रेतायुगमा भगवान् रामचन्द्र अयोध्याका राजा भएछन् ।)

सीतालक्ष्मणौ रामेण सह वनम् जग्मतुः

(सीता र लक्ष्मण रामसित वन गएछन् ।)

द्वापरयुगे पाण्डवाः बभूवुः । (द्वापरयुगमा पाण्डवहरू भएछन् ।)

अद्य रात्रौ अपि पानीयम् पपात । (आज राति पनि पानी परेछ ।)

भ्राता सहपाठिने एकम् पुस्तकम् ददौ

(भाइले सहपाठीलाई एउटा पुस्तक दिएछन् ।)

कर्मकराः ह्यः कर्म कर्तुम् न आजग्मुः

(काम गर्ने मान्छेहरू हिजो काम गर्न आएनछन् ।)

(जिज्ञासा वा स्पष्टीकरणका निम्तिः amoda67@hotmail.com;  twitter: @amoda67

शिक्षक  मासिक, २०७६ वैशाख अंकमा प्रकाशित



 

commercial commercial commercial commercial