दृष्टिभ्रम चित्रकारिता

प्रसंग र प्रारम्भ
हामी संसारलाई आँखाको माध्यमबाट हेर्छौं । आँखाले देख्छौं । आफ्नो आँखाले देखेको कुरामा हामी विश्वास गर्छौं । आँखाले देखेको कुरा नै सत्य हुन्छ भन्नेमा हामी विश्वास गर्छौं । तर, आँखालाई छक्याउने, झुक्याउने र दृष्टिलाई भ्रमित गर्ने थुप्रै उदाहरण पनि जीवनमा भोग्नुपर्छ, आत्मसात् गर्नुपर्छ । प्रकृतिमै पनि दृष्टिभ्रम (Optical illusion) का थुप्रै उदाहरण भेटिन्छन् । मानिस स्वयंले पनि आफ्नो कला, सीप र बौद्धिक बठ्याइँ प्रयोग गरेर दृष्टिभ्रम सिर्जना गर्दछ ।

बाल्यकालमा मेरा पिताजी नै मेरा गुरु हुनुहुन्थ्यो । कालो सिलेट (स्लेट) को पाटीमा हिसाब सिकाउनुहुन्थ्यो । खरी वा चकले कोरेका अक्षर र अंक मेट्ने एउटा सानो टालो त्यही सिलेटको फ्रेममा झुण्डिएको हुन्थ्यो । बुवाबाट वीरबलका कथा सुन्न पनि मलाई ज्यादै रमाइलो लाग्दथ्यो । एक दिन बुवाले सिलेटमा एउटा सोझे लकिर या धर्को कोर्नु भो । त्यसलाई ‘छुँदै नछोई छोटो गर्न सक्छस् ?’ भनेर हाँक दिनुभयो । मेरो बुद्धि पुगेन । उहाँले वीरबलको बुद्धि पैंचो लिएर त्यो लकिरको मुनि अर्को लामो लकिर कोर्नु भो । पहिलो लकिर त्यसै छोटो देखियो । मैले सापेक्षताबाट हुने दृष्टिभ्रमको पहिलो शिक्षा पाएँ ।


चित्रकारिताको छलकपट मार्फत वास्तविकता सिर्जना गर्ने सयौं कलाकृतिहरू सरसर्ती अवलोकन गरेपछि दृष्टिभ्रमको कौतूहलले मनलाई छुन पुग्यो ।

मेरो पाठशाला दरबार हाईस्कूल थियो । कक्षा–८ पुगेपछि मैले चित्रकलालाई आफ्नो अतिरिक्त विषय रोजें । त्यसवेला तेजबहादुर चित्रकार हाम्रा शिक्षक हुनुहुन्थ्यो । उहाँले हामीलाई आ–आफ्नो कापीमा हाँसको अण्डाको चित्र कोर्न लगाउनुभो । त्यस अण्डाको डल्लो आकृति कसरी निर्माण हुन्छ भन्ने सिकाउन उहाँले हाम्रो कापीमा हामीले कोरेका अण्डासँगै पेन्सिलले त्यसको छायाँ कोरी दिनुभयो । चेप्टो अण्डा अब डल्लो देखियो । त्यसैगरी एकपल्ट कालोपाटीमा उहाँले हात्तीको चित्र कोर्नुभो । मान्छे भन्दा हात्ती कति ठूलो हुन्छ भन्ने कुरा चित्रमा देखाउनु थियो । उहाँले चार÷पाँच जना मान्छेका ठूला साना आकृति पनि हात्ती छेउमा कोर्नुभो । अनि हामीले अग्ला–अग्ला मानिसको चित्र डस्टरले मेट्दै गयौं । हात्तीको आकृतिसँग सापेक्ष मानिसलाई बाँकी राख्यौं ।

सापेक्षताको त्यस्तै कलात्मक करामत हालै थाइल्याण्डको एउटा चित्रकला संग्रहालयमा देख्न पाइयो । पटायास्थित ‘आर्ट इन पाराडाइज म्यूजियम’ अर्थात् ‘स्वर्गमा चित्रकला’ नामक उक्त संग्रहालय विश्वकै सबभन्दा ठूलो दृष्टिभ्रम कला (इल्यूसन आर्ट) संग्रहालय रहेछ । त्यहाँ सबै किसिमका जुत्ता मोजा पहिल्यै फुकालेर पाइतालाले मात्र टेकेर घुम्नुपर्ने नियम रहेछ । वातानुकूलित १० वटा ग्यालरीका भित्ता र भुईं विशाल चित्रकलाका रङ र रोगनले पोतिएको छ । चित्र माथि नै बस्ने वा उभिने र मान्छेको सापेक्ष आकृतिमा चित्रकलाको रसस्वाद लिने वा त्यसको तस्वीर आफ्नो मोबाइल वा क्यामेरामा उतार्ने बन्दोबस्त पनि मिलाइएको हुँदोरहेछ ।

चित्रकलाका संग्रहालयहरूमा सामान्यतः फोटो खिच्न र फ्लासलाइट बाल्न वर्जित हुन्छ । तर पटायाको त्यो संग्रहालय भने फोटो खिच्नकै लागि विशेष रूपमा निर्माण भएको रहेछ । त्यसबाट प्रोत्साहित पर्यटकहरू चित्रकारिताको चमत्कारले भावविभोर भएर त्यहाँबाट विदा हुने वातावरण बन्दोरहेछ । म र मेरी श्रीमतीले त्यस संग्रहालयमा एक घण्टा बितायौं । सयौं फोटा मोबाइलको क्यामेराबाट खिच्यौं । यहाँ दृष्टिभ्रम कलाका तिनै केही अनुभव र अनुभूति नेपाली विद्यार्थी एवं शिक्षक वर्गमा साटफेर गर्ने जमर्को गर्दैछुः


अन्त्यमा,
चित्रकारिताको छलकपट मार्फत वास्तविकता सिर्जना गर्ने यस कला संग्रहालयका सयौं कलाकृतिहरू सरसर्ती अवलोकन गरेपछि दृष्टिभ्रमको कौतूहलले मनलाई छुन पुग्यो । त्यसपछि, कलाकारले मात्र हैन प्रकृतिले पनि यस्ता दृष्टिभ्रमहरू हाम्रोसामु तेस्र्याइरहेको हुन्छ भन्नेतिर पनि विचार मोडिन थाल्यो ।

मरुभूमिको यात्रामा देखिने मृगतृष्णाका जलभ्रम अर्थात् मिराज (Mirage) का चर्चा धेरै सुन्दछौं । गर्मीको दिनमा चौडा पिच सडकबाट यात्रा गर्दा पनि हामी जलभ्रम (मिराज)का दृश्यहरू देख्दछौं । जमीन माथि हावाका तहहरूमध्ये कुनै ज्यादै तातो र कुनै चिसो भइदिनाले प्रकाशले सोझो यात्रा गर्न पाउँदैन । तातो तहबाट आएको प्रकाश चिसो तहमा आइपुग्दा त्यसले बाटो फेर्नुपर्ने हुन्छ । यसो हुँदा टाढाको सडक सतह नजिकै देखिन्छ र त्यहाँको हावा थरथर थर्केर पानी जस्तै देखिने हुन्छ । अगाडि बढ्दै जाँदा त्यहाँ पानी हुँदैन । त्यो पानी अलि परतिर देखिन्छ । प्रकृतिले सिर्जना गरेको यस्तो दृष्टिभ्रमलाई हामी मृगतृष्णा भन्दछौं ।


चित्रकलाका संग्रहालयहरूमा सामान्यतः फोटो खिच्न र फ्लासलाइट बाल्न वर्जित हुन्छ। तर पटायाको त्यो संग्रहालय भने फोटो खिच्नकै लागि विशेष रूपमा निर्माण भएको रहेछ ।

प्रकाशले बाटो फेर्दा सिर्जना हुने भ्रममध्ये हाम्रा स्वीमिङ पुलको गहिराइ कम देखिनु सामान्य अनुभवकै कुरा हो । त्यस्तै कुनै गिलासमा आधा पानी राखेर त्यसमा चम्चा डुबाएर हेर्न थाल्यौं भने त्यो चम्चा भाँचिएको जस्तो देखिन्छ । पानी बढी घनत्व भएको वस्तु हुनाले त्यसभित्र डुबेको चम्चाबाट आएको प्रकाश हावामा आइपुग्दा त्यो प्रकाशले बाटो फेरेर हाम्रो आँखातिर आइपुग्छ । त्यहाँ चम्चा भाँचिने हैन प्रकाश भाँचिने हो । त्यसबाट हाम्रो आँखा झुक्किन्छ।

प्राकृतिक दृष्टिभ्रमका धेरै उदाहरण छन् । तर वर्तमान विश्वमा विज्ञान–प्रविधिका चमत्कारले सिर्जेका दृष्टिभ्रमहरू रंगमञ्च र सिनेमाटोग्राफीमा अधिक प्रयोग हुने गरेका छन् । टेलिभिजन, सिनेमा र रंगमञ्चका स्टेजहरू वर्तमान युगको डिजिटल प्रविधिका कारण दृष्टिभ्रम ( Optical Illusion) लाई नवीनतम उँचाइमा पुर्‍याउन सफल भएका छन् । तर कुचो, कलम र रङको कलाकारिताले प्रस्तुत गरेको दृष्टिभ्रम कला (Ilusion Art) को रसास्वादनको अनुपम अनुभव भने पटायाको आर्ट इन पाराडाइज मा प्राप्त छ ।

शिक्षक  मासिक, २०७६ वैशाख अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial