‘कोरोना’ बारे के भन्छन् शहरका बालबालिका ?

कोरोना (कोभिड–१९) को बर्थडे आउने बेला भइसक्यो । अर्थात् यस धर्तीमा त्यसले आफ्नो उत्पात मच्चाएको एक वर्ष नै हुने बेला भइसक्यो । हाल अमेरिकामा बस्ने ४ वर्षकी भतिजीको शब्द सापट लिएर भन्नुपर्दा ‘कोरोना राक्षस’ले विगत ६–७ महीना देखि उनी जस्ता साना बालबालिकालाई आफ्ना साथीसंगीबाट टाढा, खेल–मैदानबाट पर, आफ्नो स्कूल–मामाघर आदिबाट भिन्न, घरैमा चार पर्खालभित्र कैद गरेर राखेको राख्यै छ ।

तर अब उनी लगायत हरेकजसो बालबालिकाले कम्प्युटर–इन्टरनेट मार्फत् आफ्ना कक्षा–सिकाइहरू प्राप्त गर्ने, अनलाइन बाटै परीक्षा दिने, जूमच्याटबक्स कै विधिबाट साथीभाइहरूसँग भावना साटासाट गर्ने, भाइवर–मेसेन्जर द्वारा नै मामाघर, समवयी बन्धुहरू आदिसँग कुराकानी–रमाइलो गर्ने न्यूनर्मल (नयाँ यथार्थ) जस्तो नै भइसक्यो । मास्क ले मुख छोप्ने, नछोइकन कुराकानी गर्ने, कसैको जूठो नखाने, बेलाबेलामा साबुन–पानीले हात धोइरहने आदि क्रियाकलाप नयाँ संस्कृतिकै रूपमा चलिसक्यो । पूर्वीय संस्कृतिमा भिजेका बालबालिकाहरूलाई नमस्कार गर्ने, बारम्बार पानी चलाउने, चुठ्ने, कुल्ला गर्ने आदि विधि व्यवहार सिक्न अनि अवलम्बन गर्न त्यत्ति गाह्रो पनि छैन । कोरोना चाँडै विदा नहोला जस्तो छ यो संसारबाट, अतः सबैजना यस्तै आनी–बानीमा भिज्नुबाहेक अरू केही उपाय पनि देखिंदैन ।

अरू कुरामा अविकसित नै रहिरहे तापनि विगत दुई दशकयता सूचनाप्रविधिका क्षेत्रमा नेपालले पनि छलाङ मारेको नै छ । हातहातमा मोबाइल (अझ स्मार्टफोन नै) शहरमा मात्र नभई गाउँघरमै पनि नौलो हुन छोडिसक्यो । हजूरबा–हजूरआमा पुस्ता पनि स्मार्टफोन बाटै भजन-पुराण सुन्ने, नाचगान–रमाइलो हेर्ने भइसके । साना नातिनातिना र बाजेबज्यैबीच मोबाइल का लागि तानातान–झगडा सबै घरघरको कहानी नै भइसक्यो । वास्तवमा यो प्रविधि नहुँदो हो त आज कोरोना नियन्त्रणमा अवश्य थप कठिनाइ हुने थियो होला । अहिलेका वृद्ध बाबुआमालाई टाढा रहेका या आफूसँग प्रत्यक्ष भेटघाट गर्न नपाएका छोराछोरी, नातिनातिनाहरूसँग कुराकानी, भलाकुसारी गर्नका लागि मेसेन्जर, भाइवर, भिडियोकल आदि प्रयोग गर्न सम्भव भएको तथा साना केटाकेटीहरूको स्कूल बन्द भएको अवस्थामा पनि अनलाइन कक्षा लिन सक्षम भइएको इन्टरनेट को पहुँचले नै हो । बालबालिकाहरूलाई घरैभित्र बाँधेर राख्न सफल भएको पनि जूम, युटयुब आदि प्रविधिकै कारण हो । तर यो सबै शहरी क्षेत्रका मध्यम वर्गीय परिवारको कुरा हो । न्यून आय भएका वर्ग र गाउँघर, जहाँ इन्टरनेट को पहुँच छैन; त्यहाँका बालबालिका र तिनका परिवारको कथा–व्यथा भने अवश्य भिन्न छ ।

पद्मोदय माविको ईसीडी कक्षा । शिक्षक फाइल तस्वीर

हामीले पनि हाल उपलब्ध संचार प्रविधिहरू प्रयोग गरी परिवारका अन्य सदस्य, स्वदेश या विदेशमा रहेका दिदीबहिनी, भान्जाभान्जी, भाइबन्धु बीच छलफल, भजनकीर्तन आदि जस्ता कार्यक्रमहरू चलाउने गरेका छौं बेलाबेलामा । यसबाट कोरोना कालको बन्दाबन्दीले सिर्जना गरेको नियास्रो मेटिने गरेको छ । साथै संक्रमण नियन्त्रणका लागि पनि केही मात्रामा सघाउ पुगेको छ ।

यही क्रममा एकपटक साना बालबालिका (छोराछोरी, भान्जाभान्जी) को जमघटको मौका पारेर तिनमा रहेका कोरोना सम्बन्धि ज्ञानका बारेमा केही जानकारी पाउने उद्देश्यका साथ “कोरोनाका बारेमा तिमीलाई के थाहा छ ?” केही वाक्यहरू लेखेर सबैलाई भन्ने अनि मलाई पठाइ दिने एक हप्ताको गृहकार्य दिएको थिएँ । तिनका उत्तरहरू देख्दा मलाई ठूलो सन्तुष्टी अनि राहत नै मिल्यो, खुशी पनि लाग्यो । सूचनाप्रविधिले त गज्जबै गरेको रहेछ । स्कूल जान नपाए पनि ती बालबालिकाले अहिलेको महामारीजन्य परिस्थितिका बारेमा यथेष्ट जानकारी राखेका रहेछन् ।

कक्षा–२ मा पढ्ने ७ वर्षे छोरीलाई कोरोना भनेको चीनबाट फैलिएको भाइरसजन्य रोग हो अनि यसका कारण नेपाल र भारतमा थुप्रै व्यक्तिको मृत्यु भइसकेको छ भन्ने जानकारी रहेछ । त्यसबाट बच्न काम नपरी बाहिर निस्कन नहुने, मास्क लगाउनु पर्ने, २० सेकेण्डसम्म हात धुनुपर्ने, हाँछ्यूँ गर्दा मुख छोप्नुपर्ने आदि उपाय बारे पनि उसलाई थाहा रहेछ । उसले यी सब उपायहरू आफूले पनि अबलम्बन गरिरहेको देखेको छु मैले ।


सूचनाप्रविधिको वर्तमान युगमा शहरी बालबालिकाहरु कोरोनामहामारीका बारेमा अनभिज्ञ छैनन्, बरु जानकार छन् अनि त्यसबाट बच्ने उपाय अवलम्बन गर्न आफैं अग्रसर पनि । यस्तै चेतना तिनका बाजेबज्यै पुस्ता अनि प्रविधिको पहुँच नपुगेका गाउँघरमा पनि पुर्‍याउनु अत्यावश्यक छ ।

कक्षा–५ मा पढ्ने ११ वर्षे भान्जीहरूलाई त अझै बढी जानकारी रहेछ कोरोनाका बारेमा । यसले श्वासप्रश्वासमा असर पुर्‍याउँछ, विश्वभरिमा ३ करोड भन्दा बढी संक्रमित अनि १० लाख भन्दा बढीको ज्यान गइसकेको तथ्य पनि तिनले बताए । अमेरिका, भारत, ब्राजिल, रसिया जस्ता देशहरू धेरै प्रभावित भएको तथ्य पनि तिनले देखाए । अझ बढी, एउटीले त “विदेशमा रहेका कतिपय नेपालीहरू आफ्नो घर फर्कन नपाएर विदेश गएकोमा पश्चात्ताप गरिरहेका होलान्” भन्ने जस्तो भावनात्मक कुरा समेत पोख्न भ्याइन् । अर्की भान्जी कोरोना विरूद्धका खोपहरू समेत विकसित भइरहेको तथ्यतर्फ पनि जानकार रहेको पाएर झनै खुशी लाग्यो । यसबाट बच्ने उपायहरूका बारेमा दुवै अभ्यस्त भइसकेको पाउँदा थप ढुक्क भयो ।

कक्षा–६ मा अध्ययनरत हाल क्यानाडामा रहेका १३ वर्षे भान्जा ‘महामारी’ को वैज्ञानिकताका बारेमा समेत जानकार रहेछन् । स्कूल बन्द रहँदा अलि उदास रहेका उनी क्यानाडामा स्कूल खुल्न थालेपछि खुशी भएका झैं देखिए । तर पनि कोरोनाबाट बच्ने उपायहरू अवलम्बन गर्ने, बाहिर धेरै नजाने, अनि चाडबाडमा अझ बढी सतर्कता अपनाउने दृढ इच्छाशक्ति भने उनले राखिरहेका छन् ।

सूचनाप्रविधिको वर्तमान युगमा शहरी बालबालिकाहरु कोरोना–महामारीका बारेमा अनभिज्ञ छैनन्, बरु जानकार छन् अनि त्यसबाट बच्ने उपाय अवलम्बन गर्न आफैं अग्रसर पनि । यस्तै चेतना तिनका बाजेबज्यै पुस्ता अनि प्रविधिको पहुँच नपुगेका गाउँघरमा पनि पुर्‍याउनु अत्यावश्यक छ । यस्ता जानकारीका साथसाथै तिनका मनमस्तिष्कमा आउन सक्ने कोरोनाप्रतिको डर आदिले पार्ने मनोवैज्ञानिक प्रभावतर्फ भने सावधान रहनैपर्दछ हामी ।

मानसिक रोग विशेषज्ञ, धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालय अस्पताल

 

 

 

commercial commercial commercial commercial