लुम्बिनी प्रदेशका सामुदायिक विद्यालयः यसरी हुन थाल्यो पठन-पाठन

कोरोना महामारीले विद्यालयको पठन–पाठन अवरूद्ध भएका बेला लुम्बिनी प्रदेशका केही स्थानीय पालिकाले भने पठन–पाठनको चाँजोपाँजो मिलाएका छन् । यसले विद्यालयमा लामो समयदेखि रोकिएको प्रत्यक्ष उपस्थितिको पठन–पाठनको अवसर दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ लाई आधार बनाई ती पालिकाले पठन–पाठनको क्रियाकलाप गराएका हुन् ।

निर्देशिकाको दफा नं. ३३ मा सिकाइ सहजीकरण कार्यान्वयन सम्बन्धी विशेष व्यवस्था रहेको छ । यसमा भनिएको छ, “निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि कुनै क्षेत्र विशेषमा नियमित विद्यालय संचालन हुन सक्ने अवस्था भएमा प्रत्यक्ष शिक्षण सिकाइ क्रियाकलाप संचालन गर्न बाधा पर्ने छैन ।”

बंगलाचुली गाउँपालिका, दाङ

दाङको बंगलाचुली गाउँपालिकाले विद्यालय संचालन गरिसकेको छ । ४ असोजबाट पहिलो चरणमा कक्षा १ देखि ५ सम्म विद्यालय खोलेको गाउँपालिकाले ११ असोजबाट कक्षा ६ देखि १० सम्मको पठन–पाठन पनि शुरू गरेको छ । पालिकामा कोरोना संक्रमितको संख्या शून्य भएपछि विद्यालयमा पठन–पाठन शुरू गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले बताए । उनका अनुसार पालिकामा पहिले १६२ जना कोरोना संक्रमित देखिएकोमा अहिले एकजना पनि छैनन् । वली भन्छन्, “पहिलो चरणमा सानो कक्षाको पठन–पाठन शुरू गरेर हेर्‍यौं; त्यसपछि अरू कक्षा पनि चलाउन सकिन्छ भन्ने आँट आयो ।” हरेक कक्षामा ३०/३५ जनाभन्दा कम विद्यार्थी भएका हुँदा पढाइ संचालन गर्न सजिलो भएको उनको भनाई छ ।

त्यहाँ विद्यार्थी धेरै भएका कक्षालाई सेक्सन बाँडेर सानो समूह बनाइएको छ र घण्टी पनि ३० मिनेटमा झारिएको छ । प्रशासकीय अधिकृत वलीका अनुसार साना कक्षाको पठन–पाठन २ बजेसम्म र ठूला कक्षाको पठन–पाठन ३ बजेसम्म गर्ने गरिएको छ । विद्यालयमा सकेसम्म कम समय विद्यार्थी राख्दा जोखिम कम हुने ठानेर त्यसो गरिएको पनि उनले बताए ।

रुरुक्षेत्र गाउँपालिका, गुल्मी

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले पनि आफ्ना विद्यालयमा पठन–पाठन शुरू गरेको छ । धेरै विद्यार्थी भएका कक्षामा जोर/बिजोर रोलनम्बरका आधारमा विद्यालयमा उपस्थित गराएर अनि थोरै विद्यार्थी हुने कक्षालाई नियमति रूपमा पठन–पाठन गरिएको छ । गाउँपालिकाका शिक्षा प्रमुख रामप्रसाद अधिकारीले विद्यालयको भौतिक अवस्था, विद्यार्थी संख्या र कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरी विद्यालयमा पठन–पाठन शुरू गरिएको जानकारी दिए ।

गुल्मीको रुरु गाउँपालिकामा पठनपाठन चल्दै ।

पहाडी गाउँका विद्यालयमा विद्यार्थी संख्या कम भएकोले विद्यालयमै पठन–पाठन गर्नका लागि सहज भएको उनले बताए । १ असोजदेखि नियमित पठनपाठन शुरू गरेको सो गाउँपालिकाले वडा–१ मा कोरोना संक्रमित देखिएपछि उक्त वडामा केही दिनका लागि विद्यालय बन्द गरेको छ । अरू वडाहरूमा नियमित रूपमा पठनपाठन भइरहेको छ ।

सन्धिखर्क नगरपालिका, अर्घाखाँची

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका विद्यालयले सिकाइ सहजीकरण योजना स्वीकृत गरी शैक्षिक कार्यक्रम अगाडि बढाएका छन् । विद्यालयका योजनामा बालबालिकालाई बोलाई प्रत्यक्ष पठनपाठन गराउनेदेखि टोल–टोलमा पुगेर स्वास्थ्य मापदण्ड पूरा गरी सहजीकरण गर्नेसम्मका कार्यक्रम छन् ।

सन्धिखर्क–७, डिहीडाँडामा रहेको चन्द्रप्रभा माविका प्रधानाध्यापक शिवहरि भट्टराईले अघिल्लो हप्तासम्म टोल–टोलमा शिक्षक पुगेर विद्यार्थीलाई पठन–पाठनमा सहयोग गरेकोमा अहिले विद्यालयमै टोल–टोलका विद्यार्थीलाई छुट्टाछुट्टै दिन बोलाएर पठनपाठन शुरू गरिएको बताए । सो विद्यालयले आफ्नो वडालाई ६ वटा टोलमा विभाजन गरी विद्यार्थीलाई फरक–फरक दिनमा बोलाउने गरेको छ । एउटै टोलका बालबालिका विद्यालयमा बोलाउँदा अर्को टोलका बालबालिकामा संक्रमण हुने सम्भावना कम हुने हुँदा त्यस्तो जुक्ति निकालेको प्रधानाध्यापक भट्टराईको भनाई छ ।

यस क्षेत्रका धेरैजसो विद्यालयले विद्यार्थीलाई विद्यालयमै उपस्थित गराइ पढाउने गरेका छन् । कम विद्यार्थी भएका र कोरोना प्रभावित नदेखिएका क्षेत्रका विद्यालयमा विद्यार्थीहरू नियमित रूपमा आउने गरेका छन् भने विद्यार्थी धेरै भएका विद्यालयले भने विद्यार्थीको रोलनम्बर जोर/बिजोरको आधारमा विद्यार्थीलाई विद्यालयमा बोलाउने गरेका छन् ।

सन्धिखर्क नगरपालिकाका शिक्षा प्रमुख युगल बसेलले विद्यालयले ल्याएका सहजीकरण योजनालाई नगरपालिकाले स्वीकृत गरिसकेको बताए । उनका अनुसार कुनै वडाले वडाभित्र रहेका सबै विद्यालयको एउटै खालको सहजीकरण विधि बनाएका छन् भने धेरैजसो विद्यालयले विद्यालयगत रूपमा सिकाइ सहजीकरण योजना बनाएका छन् । उनले थोरै विद्यार्थी भएका विद्यालयले सबै विद्यार्थीलाई नियमित प्रत्यक्ष रूपमा पठनपाठन गरिरहेको र धेरै विद्यार्थी हुने विद्यालयले रोलनम्बर जोर/बिजोरको आधारमा विद्यालयमा बोलाउने गरी योजना पेश गरेको बताए ।

सन्धिखर्क नगरपालिकाले उपलब्ध गराएको विवरण अनुसार संगम आधारभूत विद्यालय, जयनेटाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सानो समूहमा विद्यालयमै शिक्षण गर्ने योजना बनाएको छ । त्यस्तै, दुर्गा आधारभूत विद्यालय, छापडाँडा र बराहनेटा आधारभूत विद्यालयले स्वास्थ्य सतर्कता र सामाजिक दूरी जस्ता मापदण्ड पूरा गरी विद्यालयमा कक्षा सञ्चालन गर्ने योजना उल्लेख गरेका छन् ।  जनजागृति आधारभूत विद्यालय, अँधेरीले स्वास्थ्य सुरक्षाको ख्याल गर्दै विद्यालय हातामै सिकाइ प्रक्रिया अगाडि बढाउने र शिशु कल्याण आधारभूत विद्यालय, फलेपतले स्वास्थ्यसम्बन्धी सतर्कता अपनाएर विद्यालयमा शिक्षण सिकाइ अघि बढाइरहेको जनाएको छ । विद्यार्थी सिकाइ योजना विद्यालयपिच्छे फरक छन् ।

अन्य विद्यालयहरूको योजना यस्तो छ–

अर्घा भगवती आधारभूत विद्यालयः विद्यार्थीहरूलाई समूहमा विभाजन गरी एकअर्काबीच टाढा राखेर विद्यालयमै शिक्षण गर्ने ।

अर्घा रजस्थल, माविः प्रतिबेन्च दुईजना र प्रतिकक्षा २० जनाभन्दा बढी विद्यार्थी नहुने गरी स्वास्थ्य मापदण्डको सम्मान गर्दै सिकाइ सहजीकरण गर्ने ।

पार्वती आधारभूत विद्यालय, पटुवाथुमः विद्यार्थीलाई दुई समूहमा विभाजन गरी हरेक दिन दुई चरणमा सामाजिक दूरी कायम गरी शिक्षण गर्ने ।

पडेरी आधारभूत विद्यालय, हिलेः सामाजिक दूरी कायम गरी विद्यार्थीको छुट्टाछुट्टै समूह निर्माण गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्दै पठनपाठन गर्ने ।

समाजकल्याण आधारभूत विद्यालय, बसपार्कः भौतिक दूरी कायम राखी स्वास्थ्य सुरक्षाका उपायहरू अपनाउँदै आलोपालो प्राणालीबाट सिकाइ सहजीकरण प्रकिया अघि बढाउने ।

युवावर्ष जनता रविचित्र, माविः मास्क र पोसाक लगाएर आएका विद्यार्थीलाई छुट्टाछुट्टै समूहमा शिक्षण गर्ने । माथिल्लो भवनमा बस्ने सुरक्षाकर्मीलाई तल्लो भवनमा सर्न आग्रह गर्ने । प्रत्येक दिन विद्यार्थी बस्ने बेन्चलाई सेनीटाइज्ड गर्ने तथा शिक्षण गर्दा एकअर्को विद्यार्थीको दूरी कायम राख्ने ।

बाल आधारभूत विद्यालय, तुम्कोटः विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी सानो–सानो समूहलाई विद्यालयमै शिक्षण गर्ने ।

आदर्श मावि, खाँचीकोटः विद्यार्थीहरूलाई छुट्टाछुट्टै विद्यालय, चौर, चौपारी र प्रतीक्षालयमा स्वास्थ्य सतर्कता अपनाई छुट्टाछुट्टै समय र दिनमा शिक्षण गर्ने ।

नगरपालिकाका ८ वटा वडाहरूले भने वडाभित्रका विद्यालयहरू सहजीकरण योजना वडागत रूपमा तयार गरेका छन् । वडा ११ का सबै विद्यालयमा र टोलमा सिकाइ केन्द्रको रूपमा प्रयोग गरी सिकाइका लागि योजना बनाइएको छ । विद्यालयद्बारा विद्युतीय संचार माध्यमबाट प्रसारण हुने सामग्रीहरू ग्रहण गर्न विद्यार्थीलाई शिक्षकले परामर्श दिनेछन् । वडा ४ र ५ का विद्यालयहरूमा सम्बन्धित टोलकै विद्यार्थीले पढ्ने हुनाले रोग संक्रमणको भय कम भएको अवस्था हुनाले धेरै विद्यार्थी हुने विद्यालयले आलोपालो प्रणालीबाट र थोरै विद्यार्थी हुने विद्यालयले नियमित रूपले शिक्षण गर्ने ।

वडा ७ का विद्यालयः आधारभूत विद्यालयहरूले विद्यार्थीबीचको दूरी कायम राखी विद्यालयमै पढाउने । चन्द्रप्रभा माविले भने ६ देखि माथिका कक्षाका विद्यार्थीहरूलाई टोल–टोलमा पुगेर सहजीकरण गर्ने ।

वडा ८ का विद्यालयः विद्यार्थीहरूलाई आवश्यक संख्याको समूहमा विभाजन गरी सामाजिक दूरी कायम राख्दै र स्वास्थ्य सतर्कता अपनाउँदै सिकाइ प्रक्रिया अगाडि बढाउने ।

वडा २ का  र १० का विद्यालयः जनज्योति माविबाट क्वारेन्टिन हटाई डिस्इन्फेक्टेन्ट छर्कने । थोरै विद्यार्थी हुने विद्यालयले विद्यालय वा अन्यत्रका सिकाइ केन्द्रमा पठनपाठन गर्ने र धेरै विद्यार्थी हुने विद्यालयले अनलाइन वा अन्य वैकल्पिक विधिबाट अध्यापन गर्ने ।

वडा ६ का विद्यालयः विद्यालयमा विद्यार्थी बोलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी विद्यालयमै पठनपाठन गर्ने ।

वडा १२ का विद्यालयः विद्यालयमा विद्यार्थीहरूको समूह विभाजन गरी सिकाइ प्रक्रिया अगाडि बढाउने ।

माडी गाउँपालिका, रोल्पा

रोल्पाको माडी गाउँपालिकाले पनि पठनपाठन शुरू गरेको तीन हप्ता पुग्न थालेकोछ । विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाले अवस्था अनुसार विद्यालयमै पनि पठनपाठन गर्न सकिने व्यवस्था गरेपछि विद्यालय खोलिएको गाउँपालिकाका शिक्षा प्रमुख परशुराम ढकालले जानकारी दिए । उनले विद्यालय अनुसार फरक–फरक तरिकाले पठनपाठन भइरहेको बताए । उनका अनुसार कुनै विद्यालयले हप्ता दिनसम्म नियमित पठनपाठन गरी विद्यार्थीलाई हप्ता दिनपछि गृहकार्य सकेर बोलाउने गरेका छन् भने कतिपयले हप्ताको दुई दिन विद्यार्थीलाई विद्यालय बोलाउने गरेका छन् । थोरै विद्यार्थी हुने विद्यालयले भने नियमित रूपमा पठनपाठन गरिरहेको ढकालले बताए ।

सियारी गाउँपालिका, रूपन्देही

रूपन्देहीको सियारी गाउँपालिकाले विद्यार्थीका लागि अभ्यास तथा परियोजना कार्यको सामग्री तयार गरी पठनपाठनलाई अगाडि बढाएको छ ।

गाउँपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि लक्षित गरी सामग्री तयार गरेको गाउँपालिकाका शिक्षा प्रमुख सुधिर पौडेलले जानकारी दिए । विद्यालयका विषयगत शिक्षकहरूबाट ती सामग्री तयार गरिएको हो । पौडेलका अनुसार दुई हप्ताको एक चक्र मानी सामग्री तयार गरिएको छ । उक्त परियोजना कार्यका लागि दुई हप्तामा दुई दिन पालो गरी विद्यार्थीलाई विद्यालयमा बोलाइने गरिएको छ ।

रूपन्देहीको सियारी गाउँपालिकाले तयार गरेको अभ्यास एवं परियोजना कार्य ।

पालिकामा रहेको पब्लिक माध्यमिक विद्यालयका प्रधानाध्यापक डिलाराम खनालले परियोजना कार्यपछि विद्यार्थीमा पठनपाठन गर्ने बानीको विकास भएको बताए । परियोजना कार्यमा अभिभावकको भूमिका पनि राखिएको हुँदा प्रभावकारी भएको उनको दावी छ । प्रत्येक परियोजना कार्यमा अभिभावकको सहभागितालाई ३० अंकभारमध्ये ५ अंकभार दिइएको उनको भनाइ छ ।

सुनवल नगरपालिका, नवलपरासी

नवलपरासीको सुनवल नगरपालिकाले पनि विद्यार्थीका लागि स्वःअध्ययन सामग्री तयार गरी पठनपाठन शुरू गरेको छ । बालविकास केन्द्रदेखि कक्षा १० सम्म विद्यार्थी स्वःअध्ययन सामग्री बनाइएको नगरपालिकाका शिक्षा प्रमुख विष्णु गोतामेले बताए । गोतामेका अनुसार विषयगत शिक्षकको समूह बनाई कक्षागत रूपमा सामग्री तयार गरिएको हो । सामग्रीमा ५० प्रतिशत अंक आन्तरिक मूल्यांकन गरी दिने व्यवस्था राखिएको छ ।

सो नगरपालिकाले महीना दिनका लागि अभ्यास पुग्ने गरी सामग्री बनाएको छ । १ भदौदेखि शुरू भएको स्वःअध्ययन सामग्रीमार्फतको सहजीकरणको चक्र पूरा भएपछि दोस्रो चरणको प्रक्रिया शुरू भएको र पहिलो चरणको परीक्षा लिन विद्यालयले तयारी गरेको पनि गोतामेले बताए । सामग्रीमा कक्षाकोठामा शिक्षकले बोल्ने कुरा राखिएको छ । त्यस आधारमा विद्यार्थीले पढ्ने, अभ्यास गर्ने र दोहोर्‍याउने गरेका छन् । पहिलो चरणको सामग्री वितरण अभिभावकमार्फत गरिएको भएता पनि दोस्रो चरणको स्वःअध्ययन सामग्री विद्यार्थीलाई समूहगत रूपमा बोलाई निर्देशन दिइएको उनले बताए ।

नवलपरासीको सुनवल नगरपालिकाले तयार गरेको विद्यार्थी स्वःअध्ययन सामग्री निर्देशिका ।

महाकवि देवकोटा मावि, सुनवलका प्रधानाध्यापक खेमलाल शर्माका अनुसार स्वःअध्ययन सामग्रीले पठनपाठनमा सहयोग गरेपछि अभिभावक उत्साहित छन् । उनी भन्छन्, “हामी दुई पटकसम्म अभिभावकसँग बस्यौं र उनीहरूबाट स्वःअध्ययन कार्यक्रमलाई निरन्तरता दिने सुझाव आएको छ । अभिभावकले समुदायसम्म टोल सिकाइ केन्द्र स्थापना गर्नका लागि समेत सुझाव दिएका छन् ।”

कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि भने समुदाय र विद्यालयमा सिकाइ केन्द्र स्थापना गरिने सो नगरपालिकाले जनाएको छ । अनलाइन कक्षामा पहुँच नभएको र विद्यालयमा नियमित कक्षा संचालन गर्न सक्ने अवस्था नभएका कारण विद्यालयका साथै समुदायको चौपारी, पौवा, प्रतिक्षालय, सार्वजनिक भवनका साथै व्यक्तिको घरको बरण्डालाई सिकाइ केन्द्रको रूपमा प्रयोग गरिएको शिक्षा प्रमुख गोतामेले बताए । सियारी गाउँपालिकामा २५ वटा सामुदायिक, ३ वटा मदरसा र १५ वटा संस्थागत विद्यालय छन् ।

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाले समुदायमा रहेका वा रहने सिकाइ केन्द्र वा विद्यालयमा एकआपसमा भौतिक दूरी कायम गरी बसाइ व्यवस्था मिलाई पाठ्यपुस्तक, स्वःअध्ययन सामग्री वा छपाइका सामग्रीहरू प्रयोग गरी शिक्षक वा स्वयंसेवकमार्फत सिक्ने–सिकाउने व्यवस्था गर्न सकिने व्यवस्था छ ।

त्यसैगरी निर्देशिकामा भौतिक पूर्वाधार र विद्यार्थी संख्याका आधारमा भौतिक दूरी कायम राखी कार्यक्रम संचालनमा सहजीकरण गर्ने व्यवस्था गर्ने भनी स्थानीय तहको भूमिकामा उल्लेख छ ।

commercial commercial commercial commercial