दिव्यज्ञान !

गाउँमा एक जना बूढो मान्छे थियो । उसको बोली–व्यवहार यति छुच्चो हुन्थ्यो कि, मानिसहरू सकेसम्म टाढै बस्न खोज्थे । ऊ जहिले पनि रिसाइरहेको भेटिन्थ्यो । उसको मुखबाट गाली र गुनासो बाहेक राम्रा कुरा कहिल्यै निस्कँदैनथे । दश ठाउँ टालेका लुगामा मैलो कट्कटिएको हुन्थ्यो । जिंग्रिङ्ग परेको कपाल, कालोमोसो पोते जस्तो अनुहार ! देख्दै थाहा हुन्थ्यो— उसले धेरै वर्षदेखि नुहाएको छैन ।

कतिपयले त्यो बूढालाई अघोरीको संज्ञा पनि दिएका थिए । तर, अधिकांश गाउँले उसलाई धर्तीकै अभागी मान्छे ठान्थे, उसको दुर्भाग्य आफूमा नसरोस् भनी बाटो काटेर हिंड्थे ।

तर, एक दिन अचम्म भयो । गाउँमा हल्ला फैलियो— “रिसाहा बूढो खुशी भयो, सबैसँग नरम र शिष्ट भाषामा बोल्न र व्यवहार गर्न थाल्यो । उसको अनुहार पनि सफा, ताजा र दयालाग्दो भएको छ ... !”

थुप्रै गाउँले बूढाको वरिपरि झुम्मिए । उसमा एकाएक आएको परिवर्तन बारे प्रश्न गरे— “होइन, तिमी एकाएक कसरी यस्तो भयौ ?”

बूढाले शान्त भावमा जवाफ फर्कायो— “त्यस्तो विशेष केही भएको छैन । खासमा, गएको ५० वर्षदेखि म सुख र शान्तिको खोजीमा भौंतारिइरहेको थिएँ । तर, मेरा ती सबै प्रयास व्यर्थ भए, केही हात लागेन । अस्तिबाट त म ८० वर्षको पनि लागें । त्यसै भएर, मैले ‘सुख र शान्ति’ खोज्ने प्रयास छोडिदिएँ । अब ती विना नै बाँच्ने र जीवनको आनन्द लिने निर्णय गरेको छु । त्यो निर्णयसँगै म सबै खालका चिन्ता र बोझबाट पनि मुक्त भएको छु । म अहिले आफूलाई हलुका र सुखी अनुभव गरिरहेको छु । खुशी त देखिरहनुभएकै छ !”

commercial commercial commercial commercial