चुरे क्षेत्रका विद्यालय पानी विनाका नानी !

इलामको चुलाचुली–५ बुकुवास्थित भानु माविका शिक्षक रामनाथ आचार्य स्वास्थ्य विषय पढाउँछन् । उनले विद्यार्थीलाई भन्ने गरेका छन्, “एउटा मानिस स्वस्थ हुन हरेक दिन कम्तीमा ४ देखि ६ लिटरसम्म पानी पिउनुपर्छ ।” तर, यो ज्ञान अनुसारको व्यवहार गर्न न उनका लागि सजिलो छ, न उनका विद्यार्थीका लागि । सोही विद्यालयमा पढाउन दैनिक ३० किलोमिटरभन्दा टाढा, मोरङको इटहराबाट पुग्ने शिक्षक मोहन अधिकारी मोटरसाइकलको डिकीमा पानीका बोतल बोक्न कहिल्यै बिर्सिंदैनन् ।

पानीको अभाव यस विद्यालयमा मात्रै होइन, चुरे क्षेत्रमा पर्ने सबैजसो स्कूलमा छ । गाउँका दुवैतर्फका खोला छेउछाउ केही कुवा छन् । गाउँमा कतै कतै सार्वजनिक ट्युवेल पनि गाडिएका छन् । शिक्षकहरूलाई पिसाबसम्म आए त विद्यालयमै शौचालय छ, तर दिसा आयो भने गाउँलेकै शौचालयमा पुग्नुपर्छ । शिक्षक शिवकुमार कार्की भन्छन्, “गाउँमा पनि उही समस्या हो, कसैका शौचालयमा पानी हुँदैन । लाजै पचाएर दुःख गरेर बोकेको पानी माग्नुपर्छ । कहिलेकाहीं त गाली पनि खानुपर्छ ।” त्यसैले शिक्षक आचार्य दिसा गर्नकै लागि आधा घण्टा धाएर कैयौं पटक घरै गएका छन् ।

योभन्दा कम समस्या छैन, चुलाचुली–५ को बाँझेगाउँ माविमा पनि । २०३६ सालमा स्थापना भएको यस विद्यालयको सबैभन्दा नजिकको पानीको स्रोत नै दुई किलोमिटर दक्षिणमा रहेको देवीधारा कुवा हो । सबै गाउँलेको पानीको स्रोत पनि यही कुवा हो । तर त्यसमा पनि पर्याप्त पानी हुँदैन । प्रधानाध्यापक गणेशकुमार अधिकारी भन्छन्, “विद्यार्थीले पिउने पानी त घरैबाट लिएर आउँछन् । तर शौचालयका लागि छरछिमेकीको शरण पर्नु बाहेक विकल्प छैन ।” रतुवा र मावा खोलाको बीचमा रहेको यो विद्यालयमा १९३ विद्यार्थी छन् । विद्यालयसम्म पानी ल्याउनका लागि अनेक प्रयास गरे पनि सफल नभएको अधिकारीले बताए ।

अघिल्लो वर्षसम्म यस्तै समस्या थियो– चुलाचुली-४, आइतबारेको बालज्योति माविमा । २०४८ सालमा स्थापना भएको यस विद्यालयमा झण्डै ९ किलोमिटर माथि चुलीमा रहेको मुहानबाट पानी ल्याइएको थियो, तर त्यो सुक्न थालेपछि पानी नै खान नपाइने अवस्था आयो । विद्यालयका प्रधानाध्यापक उपेन्द्र बुढाथोकीले भने, “तर यसै वर्ष मात्र वडा कार्यालय मार्फत प्राप्त बजेटले ९० फुट पाइप गाडेर भूमिगत पानी तानिएको छ । यो उपाय पनि सुक्खा मौसममा कत्तिको भर पर्दो हुन्छ, हेर्न बाँकी नै छ ।”

तराईमा पनि उस्तै
चुरे क्षेत्रमा मात्र होइन, तराईको उत्तरी भेगमा पनि पानीको उस्तै समस्या छ । झपाको शिवसताक्षी नगरपालिका–११ स्थित मैनाचुली प्राथमिक विद्यालयमा पनि पानीको समस्या छ । १८ वर्षदेखि प्रधानाध्यापक रहेका रामप्रसाद मण्डल भन्छन्, “यहाँ चुरेको फेदमा रहेको मुहानबाट खानेपानी ल्याइएको थियो । तर भूक्षयका कारण मुहान पुरिन थालेपछि धमिलो पानी आउन थाल्यो र लाइन काटिदियौं । अहिले हामी एउटा थोत्रे ट्युवेलको भरमा छौं ।” केही दक्षिणका भागमा १८/२० फुट पाइप गाड्दा नै पानी आउँछ । तर यो विद्यालयमा भने ४० फुट पाइप गाड्नु परेको छ । त्यही पनि चैत लागेपछि सुकेर हैरान पार्छ ।

भानु मावि, चुलाचुलीका विद्यार्थी पानीको बोतलसँगै ।

दमक–३ मा चुरे क्षेत्र नजिकै २०२७ सालमा स्थापित चुलाचुली आधारभूत विद्यालयको इनार केही वर्षअघि सुक्यो । विद्यालय नजिकै रहेको अर्को इनार पनि सुक्यो । अनि ट्युवेल गाडियो, र पनि राम्रो पानी आएन । प्रधानाध्यापक विष्णु गुरागाईंका अनुसार २४० जना विद्यार्थी रहेको यस विद्यालयमा यसै वर्ष दातृसंस्थाले खानेपानी ट्यांकी र धारो बनाइदिएपछि भने पानीको समस्या टरेको छ ।

छात्रालाई बढी समस्या
महीनावारी भएका बेला अलि बढी शौचालय प्रयोग गर्नुपर्ने भएकाले छात्राहरू थप समस्यामा पर्छन् । कहिलेकाहीं त पढाइ छोडेर टाढाको घर जानु बाहेक उनीहरूसँग विकल्प हुँदैन । शिक्षक विमला भण्डारीले भनिन्, “पिरियडको बेला हामी त घरैबाट पुग्दो पानी बोकेर आउँछौं, जसोतसो टार्छौं, विचरा नानीहरूको त बिजोगै हुन्छ ।” बढी समस्या भएमा आफूहरू पनि विदा बस्नु वा छुट्टी लिएर घर जानुको विकल्प नहुने अर्की शिक्षक धनमाया गड्तौलाले बताइन् । उनले भनिन्, “एक त यस्तो बेला प्रशस्त पानी पिउनु जरूरी हुन्छ र सरसफाइका लागि पनि पानी चाहिन्छ, तर पनि न विद्यालयमा छ न त उस्तै समस्या भोगिरहेको छरछिमेकीका घरमा हुन्छ । कम्ता बिजोग हुँदैन नि !”

प्राथमिकतामा नपरेको पानी
पानीको समस्या खेपिरहेका विद्यालयमध्ये केहीमा शुरूदेखि नै अभाव थियो । केही विद्यालय नजिकै रहेका मुहानहरू पछि सुके । दमक–३ का पूर्व जनप्रतिनिधि नैनसिंह भण्डारी भन्छन्, “यो स्कूल (चुलाचुली आधारभूत विद्यालय) नजिकै २०३८ सालमा इनार खनियो । तर बस्ती बाक्लिंदै गएपछि त्यो इनार सुक्यो पछि भत्काइयो । त्यसपछि २०४८ सालमा ट्युवेल गाडियो, अलि पछि त्यो पनि सुक्न थाल्यो । यो समस्या स्कूलको मात्रै होइन, गाउँभरिकै हो ।” विद्यालय चलाउन पानी पनि चाहिन्छ भन्ने योजना विनै विद्यालय खोल्दा समस्या भएको उनको भनाइ छ ।

दमक–३ का वडाध्यक्ष नवीन बराल दमकको उत्तरी क्षेत्र चुरे नजिकैका बस्तीमा कति ठाउँमा ट्युवेल गाड्दा समेत पानी आउन छोडेको बताउँछन् । पहिले पहिलेका धेरै इनार सुकेका र कतिपय बस्ती विकास हुने क्रममा भत्काइएकाले पनि समस्या बढेको उनको भनाइ छ । उनले भने, “पहिले स्कूल खोल्न पाउनु नै ठूलो कुरा हुन्थ्यो, पानीको आवश्यकतालाई ध्यान नदिंदा कुनै स्रोत नै नभएको ठाउँमा स्कूल खोलिएछ, पछि त्यसैले पानीको अभाव भोग्नु पर्‍यो ।” इलामको तत्कालीन चुलाचुली गाविसका अध्यक्ष ओमनारायण खनाल हाल समस्या बढी खेपिरहेका विद्यालय आसपासमा भएका मुहान सुकेका भन्दा पनि शुरूआत देखिकै बढी समस्या रहेको बताउँछन् । उनले भने, “जुन बेलामा विद्यालय खोलिए त्यसबेला बाटो वा पानी खोज्ने अवस्थै भएन, जहाँ खाँचो पर्छ त्यहीं स्कूल खोलियो, तर पछि जसरी प्राथमिकताका साथ पानीको व्यवस्था गरिनुपथ्र्यो त्यो नभएको चाहिं हो ।”


पानी नहुँदा पठनपाठनमा धेरै समस्या पर्छ। पढाइ भइरहेको बेला विद्यार्थीले सर, तिर्खा लाग्यो भन्थे, नजाऊ भन्नु भएन। उसले कुन घरमा पुग्दा पानी पिउन पाउँछ र कतिखेर फर्किन्छ कुनै टुङ्गो हुँदैन। तर अब हामीकहाँ यो समस्या हटेको छ। - विष्णु गुरागाईं, प्रअ, चुलाचुली आभूवि

बाँझेगाउँ माविका प्रअ अधिकारी अहिलेको ठाउँमा विद्यालय नभए यहाँका विद्यार्थी खोला तरेर झपा वा मोरङका विद्यालय धाउनुपर्ने अवस्था आउने बताउँछन् । नजिकमा अरू विद्यालय नभएका कारण पानीको स्रोत भएको ठाउँ खोज्दा विद्यालय नै स्थापना हुन नसक्ने अवस्था भएपछि पानी भन्दा विद्यालयलाई महŒव दिइएका कारण सुक्खा ठाउँमा विद्यालय स्थापना गरिएको हुनसक्ने उनको भनाइ छ । उनले भने, “हुन त देवीधारा कुवा पनि छ, शायद त्यस बेलामा त्यो पर्याप्त थियो होला, तर अहिले त्यो कुवा पनि सुक्दै गयो, जनघनत्व बढेकाले पनि समस्या चर्किएको हो ।” चुलाचुलीको भानु माविका प्रअ रघुनाथ मिश्रलाई लाग्छ, “विद्यालय चाहिएका बेला गाउँको बीच पारेर वा खाली ठाउँ भेटेर विद्यालय खोलिएको कुरा बुझन सकिन्छ । पछि विभिन्न समस्या देखिंदै जाँदा क्रमिक रूपमा समाधान गरिएको भए पानीको यस्तो चर्को अभाव हुने थिएन ।”

शिवसताक्षी नगरपालिकाको वडा–११ स्थित मैनाचुली आधारभूत विद्यालयमा ल्याएको पानीको स्रोत पनि पछिल्ला वर्षहरूमा धमिलिएको छ । पिउनयोग्य पानी आउँदैन । चुलाचुली–५, बुकुवा गाउँमा रहेको भानु मावि नजिकै भने कुनै स्रोत नै थिएन । तीन किलोमिटर टाढाको मुहानबाट पाइप मार्फत पानी ल्याइए पनि त्यो समेत सुक्यो । त्यसपछि विद्यार्थी र शिक्षक निरन्तर पानीको अभाव भोगिरहेका छन् ।

पानी नहुँदाको पीर
चुलाचुलीस्थित भानु माविमा नातिनी पविनालाई शिशु कक्षामा पुर्‍याउन आएकी स्थानीय ठगीमाया विकले नानीसँगै पानी लिएर आइन् । उनले भनिन्, “पढ्ने बेलाका भुरा स्कूल नपठाएर भएन, पठाउँदा पनि पानीसँगै पठाउनुपर्छ । के गर्नु स्कूलमा छैन !” बिजुली समेत नपुगेको यस गाउँमा उनीहरू जस्तै ४० परिवार मिलेर एउटा ट्युवेल गाडेका छन् । त्यही ट्युवेलबाट सबै घरले पानी बाँडेर चलाउँछन् । विद्यालयको एउटा कोठा समेत पानी भण्डारकै लागि छुट्याइएको छ । यस कोठामा गाग्री, बोतल लगायतमा दिनभरिका लागि पानीको जोहो गर्ने गरेको विद्यालयका सहयोगी गंगा खनालले बताए । गाउँमा समेत करीब ४० घरले ८० फुट गहिरो पाइप गाडेर बनाइएको ट्युवेलको पानी उपयोग गर्ने गरेको उनले बताए । जहाँसुकै ट्युवेल गाड्दा समेत पानी आउँदैन, अलिकति गाडेपछि चट्टान आउँछ । पाइप नै गाडिंदैन ।

चुलाचुलीकै बालज्योति माविमा पनि अवस्था यस्तै थियो । विद्यार्थीले घरैबाट पानी लिएर आउँथे, नल्याउनेहरू विदा मागेर पानी खान जान्थे । विद्यालय हाता भित्रै केही महीना अघि वोरिङ गाडेपछि मात्र यो समस्या सुल्झ्एिको हो । स्थानीय देवराज लिम्बू ४० परिवारले एउटा इनारको पानी उपयोग गर्नुपर्ने बाध्यता रहेको सुनाउँछन् । धेरै परिवारले एउटै स्रोतको पानी उपयोग गर्दा मानिसलाई नै अपुग हुन्छ, पशु र खेतबारीका लागि झनै कठिन छ । मानिसले नुहाएको, लुगा धोएको पानी पनि जम्मा गर्ने र पशुलाई खुवाउन मिल्ने पशुलाई दिने र नमिल्ने करेसाबारीमा हाल्ने गरेको उनी बताउँछन् ।

पानीको समस्याकै कारणले पनि विद्यालयमा विद्यार्थी संख्या न्यून रहेको बाँझेगाउँ माविका प्रअ अधिकारीले बताए । “पानीसम्म पिउन नपाउने विद्यालयको समस्या देखी धन्न पो अभिभावकहरूले साथ दिइरहेका छन्” उनले भने, “कति त झपाको दमकका स्कूलमा पनि गएर पढ्ने गरेका छन्, कतिले बोर्डिङ पठाएका छन् । यहाँ आउने भनेकै अरू उपाय नभएका विपन्न परिवारका सन्तान त हुन् ।” यस्तै शिवसताक्षी–११ मैनाचरी आधारभूत विद्यालयले सुक्खायाममा सहयोगी राखेर पानी भण्डारण गर्ने र विद्यार्थीलाई दिने गरेको छ । प्रधानाध्यापक रामप्रसाद मण्डलले भने, “चैत शुरू भइसक्यो अब ट्युवेलको भर हुँदैन । पानी सुकेको सुक्यै गर्छ, साना नानीहरूले त पानी निकाल्नै सक्दैनन् ।”

पठनपाठनमा प्रभाव
पानी अभावको समस्या विद्यार्थीको पठन–पाठनमा पनि प्रत्यक्ष पर्ने गरेको छ । “गर्मी समयमा दिनभरि खलखली पसिनाले शरीर भिज्दा समेत घाँटीसम्म भिजाउन नपाउने विद्यार्थीले कसरी पढाएको कुरा बुझन सक्छ र ?” चुलाचुलीस्थित भानु माविका प्रधानाध्यापक रघुनाथ मिश्रले प्रश्न गरे । वातावरण पनि उस्तै रुखो छ । विद्यालय परिसरमा कुनै हरियाली छैन । विद्यालय पुस्तक पढ्ने मात्र होइन जीवनशैली समेत सिक्ने ठाउँ हो । तर पानीको अभावमा कक्षाकोठा तथा शौचालयको समयमा सरसफाइ समेत गर्न नपाउने बाध्यता प्रअ मिश्र सुनाउँछन् ।

अधिकांश विपन्न समुदायका विद्यार्थी पढ्ने यस विद्यालयमा गत पुस दोस्रो सातादेखि खाजा खुवाउन थालिएको छ । तर पानी अभावकै कारण खाजा समेत सुक्खा मात्रै खुवाउनुपर्ने बाध्यता रहेको छ ।

चुलाचुली, गैरीगाउँको पधेंरो ।

दमकस्थित चुलाचुली आधारभूत विद्यालयका प्रधानाध्यापक गुरागाईं पनि गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय जीवनशैली आवश्यक हुने बताउँछन् । गुणस्तरीय जीवनशैलीका लागि प्रशस्त पानी आवश्यक हुने उनको ठम्याइ छ । उनले भने, “पानी नहुँदा पठनपाठनमा धेरै समस्या पर्छ नि । पढाइ भइरहेको बेला विद्यार्थीले सर, तिर्खा लाग्यो भन्थे, नजाऊ भन्नु भएन । भोक भन्दा पनि तिर्खा ठूलो हो, जा भन्नै पर्‍यो । उसले कुन घरमा पुग्दा पानी पिउन पाउँछ र कतिखेर फर्किन्छ कुनै टुङ्गो हुँदैन । तर अब हामीकहाँ यो समस्या हटेको छ ।”

समस्या विद्यार्थीका घरमा पनि छ । उसले कहिले नुहाउन, कहिले लुगा धुन पाउँछ कुनै ठेगान हुँदैन । “प्यासले घाँटी र आन्द्रा सुकेको विद्यार्थी कक्षाकोठामा कस्तो मानसिकतामा पढिरहेको हुन्छ” बालज्योति माविका प्रधानाध्यापक बुढाथोकीले भने, “पानी पिउन नपाउँदा हामी शिक्षक र विद्यार्थी नै शारीरिक र मानसिक दबाबमा हुन्छौं, अनि यसको प्रभाव त पठनपाठनमा पनि परिहाल्छ नि !”

उपायको खोजी
पानीको चर्को समस्या रहेको इलामको चुलाचुली गाउँपालिकाले पनि आगामी आर्थिक वर्षभित्रमा कुनै विद्यालय पनि पानीको अभावमा नरहने गरी कार्ययोजना बनाएको दाबी गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राई सबै गाउँवासीलाई स्वच्छ पानी सहज रूपमा पुर्‍याउने दायित्व आफ्नो भएको र पहिलो प्राथमिकता विद्यालयलाई दिएको बताउँछन् । सोही अनुसार बालज्योति माविको समस्या समाधान गरिएको र अब बाँकीमा पनि सोही प्रविधि अपनाउने उनको भनाइ छ । चुलाचुलीको भौगोलिक अवस्थाले पनि पानी वितरणको समस्या परेको उनको कथन छ ।

इलामको चुरे क्षेत्रसँग जोडिएको झापाको दमक–३ का वडाध्यक्ष बराल पानीको बढी समस्या रहेको विद्यालयमा दातृ संस्थाको समन्वयमा ट्यांकी र धारा बनाइएको भन्दै अब पानीको गुणस्तर कायम गराउन आवश्यक सहयोग गर्ने बताउँछन् ।

शिक्षक  मासिक, २०७६ वैशाख अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial