पढ्दा हुने त्रुटि कति गल्ती कति अग्रगति ?

पढ्नु भनेको के हो ?

प्रचलित मान्यताका अनुसार पढ्नु भनेको एउटा सरल र सुस्पष्ट प्रक्रिया हो, जसमा अक्षर, शब्द र वर्णविन्यासको, अनि भाषाका ठूला एकाइहरूको केही विस्तृत एवं क्रमबद्ध ज्ञान र पहिचान समावेश हुन्छ । पढ्न सिकाउनका लागि विभिन्न पद्धति प्रयोग गरिन्छन् । वर्णमाला वा ध्वनिमा आधारित पद्धतिमा अक्षरहरूको पहिचानलाई मुख्य कुरा मानिन्छ । शब्दकेन्द्रित पद्धतिमा शब्दको पहिचानमा ध्यान केन्द्रित गरिन्छ । यस अनुसार, कुनै पनि शब्दलाई बारम्बार हेरेर अर्थ बुझेपछि त्यसको प्रयोग जुनसुकै सन्दर्भमा भए पनि त्यसको पहिचान गर्न सकिन्छ ।

पढ्नु बारेको बुझाइलाई विभिन्न विद्वानले विभिन्न प्रकारले परिभाषित गरेका छन् । स्पाशेका अनुसार, पढ्नु भनेको शब्दका शृंखलाहरूको पहिचान गर्नु हो । लिपिनकट–वालकट भन्छन्, अक्षर–शब्दहरूको पहिचान गर्ने प्रक्रिया अपनाएर केटाकेटीले शुरूदेखि नै शब्दलाई त्यसैगरी हेर्न सिक्छन्, जसरी कुनै कुशल पाठकले शब्दलाई सबै अक्षरहरूका साथ सम्पूर्ण रूपमा पढ्छ ।


पढ्ने क्रममा पाठकले गर्ने त्रुटिहरू न संयोगवश हुन्छन्, न त भद्रगोल पाराका नै। ती पाठकको भाषा र व्यक्तिगत अनुभवद्वारा प्राप्त संकेतमा आधारित हुन्छन्। पढ्नु भनेको अक्षर र शब्दमा सीमित कुरा होइन, अर्थग्रहणको बृहत् प्रक्रिया हो, जसमा अनुमान लगाएर अर्थसम्म पुग्नु पनि पर्छ ।

पढ्नुलाई परम्परागत रूपमा सरलरेखीय एकल कौशल मान्ने गरिएको छ । यसको आधार त्यो सोच हो, जस अनुसार ज्ञान कहीं बाहिरै हुन्छ जसलाई हासिल गर्नुपर्छ । पढाइका सन्दर्भमा, लिखित सामग्रीको समस्त अर्थ पाठ्यमा निहित हुन्छ अर्थात् लेखकले आफ्ना विचारलाई पाठ्यमा राखिदिएको हुन्छ र पाठकको काम त्यो अर्थको उद्घाटन वा पहिचान गर्नु हो । अर्को शब्दमा भन्दा, पढ्नु सरलरेखीय (लिनियर) प्रक्रिया हो, पाठकले लेखिएका (इनकोडिङ गरिएका) शब्दहरूलाई हिज्जेको पहिचानसाथ सही उच्चारण (डिकोडिङ) गर्छ र त्यसको सहायताले अर्थबोध गर्छ । पढ्ने प्रक्रियामा शब्दको हिज्जे बुझनु र सही उच्चारण गर्न सक्नु ज्यादै आवश्यक छ र यसका लागि पाठकलाई सर्वप्रथम अक्षर र शब्दहरूको पहिचान गर्न र तिनको उच्चारण गर्न आउनुपर्छ । शब्दहरूका अर्थले उपवाक्य र वाक्यका अर्थ बन्छन् र वाक्यहरूका अर्थ जोडेर पूरै संवाद वा संकथनको अर्थ बोध हुन्छ ।

तर, वास्तविक अर्थमा ‘पढ्नु’ यतिमा सीमित छैन । त्यस्ता पाठकका निम्ति, जसले पढ्न केही हदसम्म निपुणता प्राप्त गरिसकेका हुन्छन्, अक्षर, शब्द आदिको पहिचान त पढ्ने प्रक्रियाको ज्यादै नै सानो अंश मात्र हो । पढ्ने प्रक्रियामा पाठकसामु रहेको सामग्री र उसका विचारहरूबीच निरन्तर अन्तरक्रिया चलिरहेको हुन्छ । यो एउटा चयनात्मक प्रक्रिया हो, जसमा पाठक कुनै लिखित सामग्री पढ्दा लगातार अनुमान लगाउँदै अघि बढ्छ र त्यस अनुरूप आफ्ना अपेक्षाहरूका आधारमा उक्त सामग्रीबाट निकै कम भाषिक संकेत चयन गर्छ । पढ्ने प्रक्रियामा जति जति जानकारीको सीमा विस्तृत हुँदै जान्छ, पाठकले पाठ्यसामग्रीका बारेमा कैयौं त्यस्ता अस्थायी निर्णय लिंदै जान्छ, जसलाई उसले प्रमाणित गर्छ, नकार्छ अथवा बदलिरहन्छ । अर्थात् पढाइको समग्र प्रक्रियाका क्रममा पाठक अगाडि आउने शब्द र वाक्यहरूको अनुमान लगाउँदै अघि बढ्छ, जो कहिले सही साबित हुन्छ त कहिले गलत पनि । यस क्रममा ऊ आफ्नो अल्पकालिक र दीर्घकालिक स्मृतिको भण्डारलाई निरन्तर खोतलिरहेको हुन्छ ।

उदाहरणका लागि, चौथो कक्षाको विद्यार्थी असीमलाई एउटा कथाको यो अंश पढ्न दिइयो, जसलाई उसले त्यसअघि कहिल्यै पढेको थिएनः

छिटो जाऊ, यो सामान छिटोभन्दा छिटो पु र्‍याउनुपर्छ तिमीले ।’ ... उसका कानमा त्यो नौलो मानिसका शब्द गुन्जिरहेका थिए र ऊ छिटोछिटो पाइला चाल्दै चाँडै गइरहेको थियो । उत्तेजनाले उसका हातखुट्टा थरथर कामिरहेका थिए । ... को होला त्यो नौलो मानिस ?

असीमलाई यो कथा–अंश एकपल्ट मनमनै पढ्न र अर्कोपल्ट बोलेर पढ्न भनियो । उसले यसलाई यसरी पढेर सुनायो—

‘छिटो जाऊ, यो सामान छिटो पु र्‍याउनुपर्छ तिमीले ।’ उसको दिमागमा त्यो नौलो मानिसका कुरा गुन्जिरहेका थिए र ऊ छिटोछिटो दौडँदै गइरहेको थियो । उत्तेजनाले उसका हातखुट्टा कामिरहेका थिए । को होला त्यो मानिस ?

स्पष्टै छ, हामी यसलाई पढ्ने क्रममा भएको गल्तीका रूपमा हेर्छौं । शिक्षकहरूलाई लाग्छ, असीमलाई कि त पाठमा लेखिएका कतिपय शब्दबारे थाहा छैन, अथवा ऊ पढ्दा लापरवाही गरिरहेको छ । जस्तै, उसले दोस्रो वाक्यमा ‘नौलो मानिस’ लाई त ठीकसँग पढ्यो तर अन्तिम वाक्यमा आएको ‘नौलो मानिस’ को ठाउँमा ‘मानिस’ मात्र पढ्यो । परन्तु यो लापरवाही नभएर केटाकेटीले उपयोग गरेको अपसंकेत वा मिसक्यू (miscue) हो, जो पढ्ने प्रक्रियाको अभिन्न अंग हो । यस्ता अपसंकेतले बताउँछन्— ‘केटाकेटीले पढ्दा केही शब्दहरूको अनुमान लगाइरहेको छ, अर्थात् ऊ त्यो लिखित सामग्रीको अर्थ बुझदै अगाडि के हुन्छ भन्ने अनुमान गर्दैछ ।’

हामी आफैं पनि यसै गर्छौं । कुनै समाचार पढौं वा लेख, आफ्नो पढ्ने प्रक्रियामा ध्यान दियौं भने थाहा पाउँछौं— हामी पनि यसैगरी अगाडि आउने शब्दहरूको अनुमान लगाउँदै र अर्थ निर्माण गर्दै अघि बढ्छौं । अनुमान लगाउने यस प्रक्रियामा त्यस भाषाको वाक्य संरचनाको ज्ञानले हामीलाई सहयोग गर्छ, जसका कारण कति पटक त गलत लेखिएका शब्दलाई पनि सही पढिरहेका हुन्छौं । अर्थ निर्माणमा हाम्रो अनुमानका कारण कुनै व्यवधान आयो भने त्यो शब्द वा वाक्य दोहोर्‍याएर पढ्छौं र आफ्नो अनुमानलाई ठीक गर्छौं; अथवा अगाडि आउने शब्दसंकेतका आधारमा अनुमानलाई प्रमाणित गर्ने प्रयास गर्छौं ।

माथि दिइएको उदाहरणलाई ध्यान दिएर हेर्ने हो भने केटाकेटीले पढ्ने क्रममा अपसंकेतको उपयोग कसरी गर्छन् भन्ने बुझन सकिन्छ । असीमले पहिलोपल्ट ‘नौलो मानिस’ नै पढ्यो, दोस्रोपल्ट त्यसको ठाउँमा ‘मानिस’ मात्र पढ्नुको कारण हो— उसले यो शब्दको पहिल्यै अनुमान लगायो, अथवा लिखित शब्दको रूप–आकारको सट्टा अर्थमा ध्यान केन्द्रित गर्‍यो, किन भने ‘मानिस’ मात्र पढ्दा अर्थनिर्माणमा कुनै किसिमको व्यवधान आइरहेको थिएन । यसैगरी, पहिलो वाक्यमा ‘छिटो भन्दा छिटो पुर्‍याउनुपर्छ’ लाई ‘छिटो पुर्‍याउनुपर्छ’, दोस्रो वाक्यमा ‘छिटछिटो पाइला चाल्दै चाँडै गइरहेको’ लाई ‘छिटछिटो दौडँदै गइरहेको’, दोस्रो वाक्यकै ‘उसका कानमा’ लाई ‘उसको दिमागमा’, ‘शब्द’ लाई ‘कुरा’ र तेस्रो वाक्यमा ‘हातखुट्टा थरथर कामिरहेका थिए’ लाई ‘हातखुट्टा कामिरहेका थिए’ पढ्नुको कारण पनि यस्तै हो । यसो गर्दा अर्थमा व्यवधान आएको थिएन, त्यसैले यी अंशलाई दोहोर्‍याएर पढ्ने र सुधार गर्ने आवश्यकता उसलाई महसूस भएन ।


केटाकेटीलाई पढ्ने प्रक्रियामा प्रवीण बनाउने हो भने उनीहरूलाई कुनै सामग्री अक्षरशः पढ्न दबाव नदिएर अपसंकेतद्वारा र अनुमान लगाउँदै पढ्ने अवसर दिनुपर्छ। साथै, त्यस विषय विशेषका बारेमा उनीहरूको शब्दभण्डार र जानकारीलाई कुराकानीको माध्यमबाट समृद्घ बनाउनुपर्छ।

यसको निष्कर्ष के हो भने, केटाकेटीले पढ्ने क्रममा विभिन्न शब्दलाई अपसंकेत (miscue) का रूपमा प्रयोग गर्छन् र विना अवरोध अर्थ निर्माण गर्दै अघि बढ्छन् । तिनले जे पढिरहेका हुन्छन्, त्यसको अर्थनिर्माणमा ती अपसंकेतहरूले कुनै बाधा पारेका हुँदैनन्, बरू सहयोग नै पुर्‍याउँछन् । एक–एक अक्षर र हिज्जेमा ध्यान दिएर, लिखित शब्दहरूलाई ठीकसँग पहिचान गरेर पढ्न बारम्बार जोड दिइए पनि उनीहरूको पढ्ने प्रक्रियामा उल्लेखनीय सुधार हुँदैन । हामीले अचाक्ली नै दबाव दियौं भने चाहिं बच्चाको ध्यान ग्राफिक संकेतहरूमा मात्र केन्द्रित हुन जाने र अर्थनिर्माण प्रक्रिया बाधित हुने सम्भावना प्रबल हुन्छ । अर्थात्, बच्चाले शब्द त ठीकसँग पढ्नेछ तर पढिएको सामग्रीको अर्थ राम्ररी निकाल्न (र त्यसबाट आनन्दित हुन) सक्नेछैन । (त्यसैगरी, जसरी टाइपिस्ट वा प्रुफरीडरहरूले हिज्जे र शब्दमा त राम्रैसँग ध्यान दिन्छन्, त्यहाँ कुनै त्रुटि रहन दिंदैनन् तर त्यस सामग्रीको अर्थ र आशयमा तिनको दिमाग प्रवेश गर्दैन ।)

आउनोस्, अब एउटा यस्तो उदाहरण हेरौं, जहाँ केटाकेटीले अपरिचित शब्द भएको सामग्री पढ्छ । यस क्रममा प्रयोग गरिएका अपसंकेतहरूमा उसले आफ्नो पठन–रणनीति र योग्यताको स्पष्ट तस्वीर प्रस्तुत गर्छ । असीमकै उमेरको एउटा अर्को बच्चालाई पढ्न दिइएको सामग्री होः

मनुष्य र समाज परस्परमा जोडिएका हुन्छन् । मनुष्य समाजको अभिन्न अंग हो र यस समाजमा कार्य–व्यवहार गर्न उसले समाजसँग सामञ्जस्य निर्माण गर्दै हिंड्नुपर्छ ।

यस पाठ्यांशलाई उसले यसरी पढ्योः
मनुष्य र समाज परस्परमा जोडिएका छन् । मनुष्य समाजको अनभिज्ञ अंग हो र समाजमा कार्य–व्यापार गर्न उसले समाजसँग सामाजिक निर्माण गर्दै हिंड्नुपर्छ ।

उसले ‘अभिन्न’ शब्द यसअघि पढेको थिएन । त्यसैले उसले ध्वनि–अक्षर संयोजनका आधारमा यसलाई ‘अनभिज्ञ’ पढ्यो । यसैगरी ‘सामञ्जस्य’ लाई ‘सामाजिक’ पढ्यो किन भने प्रसंग समाजकै थियो । ‘यस समाजमा’ लाई ‘समाजमा’ पढ्नुको कारण पनि यस्तै थियो । उसले ‘जोडिएका हुन्छन्’ लाई ‘जोडिएका छन्’ र ‘कार्य–व्यवहार’ लाई ‘कार्य–व्यापार’ पढ्यो ।

थप ध्यान दिनुपर्ने कुरा के हो भने, ‘सामञ्जस्य’ को ठाउँमा ‘सामाजिक’ पढ्दा अर्थबोधमा व्यवधान आएपछि ऊ रोकियो र त्यो वाक्यंश दोहो¥याएर पढी अर्थबोध गर्ने प्रयास गर्‍यो । यसो विचार गरिहेर्नोस् त, पढ्नु भनेको अर्थग्रहण गर्नु हो भने यी केटाकेटीले वास्तवमा पढ्ने प्रक्रियाकै अनुसरण गरेका होइनन् ?

‘मिसक्यू एनालिसिस’ (अपसंकेत/त्रुटिहरूको विश्लेषण) को अवधारणा भाषा–पठन र संस्कृतिका वरिष्ठ अमेरिकी प्रोफेसर केनेथ गुडम्यानले अघि सारेका हुन् । उनको भनाइ के छ भने, ‘पढ्ने क्रममा पाठकले गर्ने त्रुटिहरू न संयोगवश हुन्छन्, न त भद्रगोल पाराका नै । बरु ती पाठकको भाषा र व्यक्तिगत अनुभवहरूद्वारा प्राप्त संकेतमा आधारित हुन्छन् ।’ यस क्रममा पाठकले अनुमान लगाउन त्यसवेला मात्र सम्भव छ, जब ऊ पढेका शब्द र वाक्यको अर्थ पनि बुझदै गइरहेको हुन्छ र अब के हुन्छ वा आउँछ भन्ने कुराको खाका पनि आफ्नो दिमागमा बनाउँदै अघि बढिरहेको हुन्छ ।

पढाएका पाठको अर्थ बुझन चाहिं भनिंदै गरेको कुराबारे पूर्वज्ञान पनि हुनु आवश्यक छ । जस्तै, नदी वा समुद्र नजीकै बस्ने केटाकेटीका लागि ज्वार, भाटा, नाउ, माझी, जाल जस्ता शब्द सामान्य हुन्छन्, तिनको अवधारणा उनीहरूका दिमागमा एकदमै स्पष्ट हुन्छ । यस अवस्थामा, यस प्रकारको कुनै पनि सामग्री पढ्दा उनीहरूको पूर्वज्ञान सक्रिय हुन पुग्छ र उनीहरू अगाडि आउने शब्द वा कुराको अनुमान सजीलैसँग गर्न सक्छन् । यसका विपरीत, मरुभूमिमा बस्ने केटाकेटीका लागि— जो नदी वा समुद्र किनारको दुनियाँसँग पूर्णतः अनभिज्ञ छन्, त्यही सामग्री पढ्दा अनुमान लगाउन सम्भव हुँदैन । वयस्कहरूलाई पनि कैयौं पटक यस्तै हुन्छ, जब हामी कुनै समाचार राम्ररी पूरै त पढिसक्छौं (जस्तै सिरियाको घटना, ग्रीसको उथलपुथल वा भेनेजुएलाको आन्दोलन), तर त्यसको सन्दर्भ थाहा नभएकाले (त्यस सम्बन्धी पूर्वज्ञान नभएकाले) कुरा राम्ररी बुझदैनौं, न त कुनै किसिमको अनुमान नै लगाउन सक्छौं । त्यसैले, केटाकेटीलाई पढ्ने प्रक्रियामा प्रवीण बनाउने हो भने उनीहरूलाई कुनै सामग्री अक्षरशः पढ्न दबाव नदिएर अपसंकेतद्वारा र अनुमान लगाउँदै पढ्ने अवसर दिनुपर्छ । साथै, त्यस विषय विशेषका बारेमा उनीहरूको शब्दभण्डार र जानकारीलाई कुराकानीको माध्यमबाट समृद्ध बनाउनुपर्छ, जसले गर्दा पढ्ने प्रक्रिया साँच्चै रमाइलो बन्न पुगोस् ।

शिक्षकले के गर्ने ?

  • सर्वप्रथम त, शिक्षकले के बुझनुपर्छ भने, पढ्नु भनेको अक्षर र शब्दहरूलाई चिन्नुमा सीमित कुरा होइन, अर्थ ग्रहणको बृहत् प्रक्रिया हो, जसमा अनुमान लगाएर अर्थसम्म पुग्नु पनि पर्छ ।
  • केटाकेटीलाई शुरूदेखि नै यस्तो अवसर उपलब्ध गराउनुपर्छ, जहाँ तिनले अनुमान लगाएर पढ्न सकुन् । यसका लागि उनीहरूलाई पढ्न दिइने सामग्री अर्थपूर्ण होस्, त्यसको भाषा सुगठित होस् र उनीहरूको सन्दर्भसँग जोडिएको होस् भन्ने ख्याल राख्नुपर्छ ।
  • अनुमान लगाएर पढ्न त्यस विषयबारे पूर्वज्ञान हुनु जरूरी छ भने शिक्षकलाई राम्ररी थाहा हुुनुपर्छ र यस्तो ज्ञान समृद्ध गर्न केटाकेटीलाई कक्षामा कुरा गर्ने अवसर उपलब्ध गराउनुपर्छ । साथै, उनीहरूलाई मनपर्ने, सरल पुस्तकहरू पढ्न दिनुपर्छ ।
  • हुन सक्छ, केटाकेटीले प्रयोग गर्ने सबै अपसंकेत (मिसक्यू) वास्तवमा अपसंकेत नभएर पढ्ने क्रममा आइपरेका कुनै समस्याका संकेत होउन् । त्यसैले शिक्षकले, केटाकेटीले प्रयोग गरेका अपसंकेतलाई अत्यन्त संवेदनशीलताका साथ विश्लेषण गर्नुपर्छ र ती वास्तवमा पढ्ने प्रक्रियामा अघि बढेका संकेत हुन् कि कुनै समस्याका द्योतक हुन् भन्ने बुझनुपर्छ । पूर्वज्ञानको कमी, ध्वनि, अक्षर र शब्दका बीचको सम्बन्धको बुझइमा कमी, वाक्यसंरचनाको बुझइमा कमी आदि कारणले यस्तो समस्या आएको हुन सक्छ, जसको निराकरणका लागि शिक्षकले सहजीकरण गर्नुपर्छ । ७
दुई दशकदेखि बालबालिकाको अध्यापनमा संलग्न लेखक अजीम प्रेमजी फाउन्डेसन, भोपाल (भारत) मा कार्यरत छिन् ।

साभारः पाठशाला, फेब्रुअरी २०१९

भाषान्तर/सम्पादनः शरच्चन्द्र वस्ती

तस्वीरः खड्गबहादुर मगर ‘अनिल’

commercial commercial commercial commercial