तीन कसीः सत्य, असलपन, उपयोगिता

तीन कसीः सत्य, असलपन, उपयोगिता
यूनानी दार्शनिक सुकरातलाई भेट्न एक दिन उनका पूर्व परिचित एक व्यक्ति आए । ती व्यक्ति सुकरातलाई उनका एक मित्रका बारेमा केही सुनाउन चाहन्थे । तर ती व्यक्तिलाई बीचमै रोकेर सुकरातले भने, “एकछिन पख्नोस् है; मेरो मित्रका बारेमा तपाईंले भन्ने कुरा कस्ता हुन् ? पहिला म त्यसको परख गर्छु ।”
आगन्तुक केही अल्मलिए ।

सुकरातले आफूलाई स्पष्ट पार्दै भने, “तपाईं मेरो मित्रको बारेमा के कस्तो कुरा भन्न खोज्दै हुनुहुन्छ भन्ने विषयलाई म पहिला तीन वटा कसी (मापदण्ड) मा राखेर जाँच्छु । त्यसबाट उचित देखिएमा मित्रका कुरा सुनौंला । त; मेरो पहिलो कसी हो सत्य । के तपाईं मेरा मित्रका बारेमा शतप्रतिशत सत्य कुरा बताउँछु भन्नेमा ढुक्क हुनुहुन्छ ?”

“त्यो त थाहा छैन, मैले सुने अनुसार... !”
सुकरातः “ठीक छ । तपाईंले सुनेको कुरा सत्य हो भन्ने पक्का रहेनछ । अब, दोस्रो कसी हो– असलपन । के तपाईंले मेरो मित्रका बारेमा सुनाउने कुरामा कुनै असल या राम्रो पक्ष छ ?”

आगन्तुकः “त्यस्तो राम्रो केही छैन । ऊ त ... ।”

सुकरातः “ल यो पनि ठीकै छ । हामीसँग अझै एउटा मापदण्ड बाँकी नै छ: उपयोगिता । तपाईं जुन कुरा बताउन खोज्दै हुनुहुन्छ, के त्यो मेरोनिम्ति कुनै पनि किसिमले उपयोगी छ ?”

आगन्तुकः “त्यस्तो पनि केही छैन ... ।”

सुकरातः “मित्र; हाम्रो कुरा यहीं रोकौं । तपाईं मलाई जुन कुरा बताउनेवाला हुनुहुन्छ, त्यो न सत्यमा आधारित छ, न त्यसमा राम्रो, असल पक्ष नै केही छ; न त मलाई काम लाग्ने कुनै ज्ञान वा जानकारी । त्यस्तो कुरा सुन्न, थाहा पाउनमा म आफ्नो मूल्यवान समय किन नष्ट गरुँ ?”

commercial commercial commercial commercial