स्कूलमा मानवीय मूल्यको सिकाइ

सूचनाप्रविधिको बढ्दो विकाससँगै शहरी क्षेत्रमा आजभोलि एकै परिवारका सदस्यबीच एकापसमा कुराकानी कम हुन थालेको छ । एउटै कोठामा आमाबाबु, छोराछोरी भए पनि कोही फेसबूक, कोही यूट्यूब अनि कोही गेममा व्यस्त रहन्छन् । संयुक्त परिवारबाट एकल परिवार बन्दै गइरहेको अहिलेको अवस्थामा हजुरबुवा वा हजुरआमासँग पनि भेटघाट र कुराकानी कम हुँदै गएको छ । यस्तो अवस्थाले परिवारबीच सामीप्यता घट्दै सम्बन्ध फिका हुन थालेको त हैन ? बेलाबेला, यस्ता प्रश्न हामी गर्न थालिसकेका छौं । बिरामी हुँदा समेत एक गिलास तातोपानी दिन झर्को मान्ने तर मोबाइलमै मस्त रहने छोराछोरीको गुनासो कतिपय आमाबुबाले गर्ने गरेको सुनिन्छ । ठूलालाई आदर, एकअर्काबीच मायाप्रेमको सम्बन्ध अनि सुख–दुःखका साथ देखे मात्र बालबालिकाले घरबाट यस्ता मानवीय मूल्य सिक्ने अवसर पाउँछन् ।

यस्तो अवसर नगुमाउन् भनेर सेन्ट जेभियर्स स्कूल, जावलाखेल, ललितपुरकी शिक्षक अलीना मुखिया सुनुवारले कक्षा–८ का विद्यार्थीहरूलाई पेशा विषय अन्तर्गत एक परियोजना कार्य दिइन् । उनीहरूले आफ्ना आमाबुबा वा हजुरबुवा हजुरआमासँग समय बिताउने र कुरा गरेर जानकारी तयार पार्नुपर्ने थियो । आफ्ना आमाबुबा वा हजुरबुबा हजुरआमाले प्रयोग गर्ने औषधीय गुण भएको वनस्पतिका बारेमा विद्यार्थीले कक्षामा प्रस्तुति गर्नुपर्ने थियो । यस्ता वनस्पतिका बारेमा खोज मात्र भन्दा उनीहरूले नेटबाटै खोजेर ल्याउने हुँदा उनले त्यस्तो परियोजना कार्य तयार गर्न लगाएकी थिइन् ।


स्कूल शिक्षाको क्रममा मानवीय मूल्य जोड्नुको सबभन्दा महत्तवपूर्ण उद्देश्य हो– विद्यार्थीले प्रश्न गर्न सिकून्। तिनले हरेक कुरामा किन र कसरी भन्ने प्रश्न गर्न सकून् र असल र खराबमा मात्र होइन, राम्रा कुरा मध्येमा कुन धेरै राम्रो भन्ने छुट्याउन सकून्।

कसैले मेथीको बारेमा भने । एक विद्यार्थीले काठमाडौं बाहिर बस्ने आफ्नो बाजेलाई सोधे र सजिवन अर्थात् मोरिङ्गाका बारेमा थाहा पाए । बाजेले खुशी भएर नातिलाई सजिवन र यसको बिरुवा नै पठाइदिए । अर्का एक विद्यार्थीले जमराको बारेमा सुनाए । उनकी आमा क्यान्सरको बिरामी हुन् । उनी जमराको रस प्रयोग गर्दिरहिछन् र यसबाट उनको स्वास्थ्यमा फाइदा भइरहेको रहेछ । ती विद्यार्थीले पहिलोपटक साथीहरू र शिक्षकमाझ आफ्नी आमा क्यान्सरको बिरामी भएको बताएका रहेछन् । शिक्षक अलीना र सबै विद्यार्थी सँगै मिलेर उनकी आमाको स्वास्थ्य लाभको कामना गरे । ऊ साह्रै खुशी भयो, शिक्षक अलीनाले भनिन् र उनले ती विद्यार्थीसँग उनको आमाको स्वास्थ्यका बारेमा कक्षा बाहिर लगेर छुट्टै कुरा गरिन् । कक्षा शिक्षकलाई पनि जानकारी गराइन् । उनी भन्छिन्, “आमा बिरामी भएका कारण ती विद्यार्थीको पढाइ–लेखाइ वा अरू व्यवहारमा पनि असर पर्न सक्छ । हामीले उसलाई विशेष फोकस गर्नुपर्छ ।” यसरी आमाबुबा अनि बाजेबज्यैसँग समय बिताई सम्बन्ध मजबूत बनाउन दिइएको कार्यले शिक्षक विद्यार्थीको सम्बन्ध पनि गाढा बनायो ।

हरेक विषयमा छ मानवीय मूल्य
शिक्षक सुनुवार माध्यमिक तहमा फिजिक्स पढाउँछिन् । उनी सिनियर स्कूल को–अर्डिनेटर हुन् । उनी भन्छिन्, “हरेक विषयमा मानवीय मूल्य पढाउन सिकाउन सकिन्छ ।” यसका लागि उनी आफ्नो विषय पढाउँदा पढाउँदै बीचमा कतै सन्दर्भ मिलाएर कहिले कथा सुनाउँछिन् त कहिले विचारोत्तेजक प्रश्न छोडिदिन्छन् अनि कहिले छलफल गराउँछिन् । एक दिन कक्षा–९ मा मेजरमेन्ट अर्थात् नाप पढाउँदै गर्दा उनले तलको कथा सुनाइन्:

‘एक जना राजा थिए । आफ्नो सेवकसँग अत्यन्तै खुशी भएर उनले तिनलाई ‘तिमी जति हिंड्न दौडन सक्छौ त्यो सबै जमीन तिम्रो हुनेछ’ भने । साथै त्यहाँबाट फर्केर आफूकहाँ आउनुपर्ने शर्त पनि राखे । जति हिंड्यो सबै जमीन आफ्नो हुने भएपछि ती सेवकमा लोभलालच जाग्यो । ऊ दौडेको दौड्यै गर्न थाल्यो । तर फर्केर आउँदा बाटोमा उसको मृत्यु भयो । आखिर मान्छेलाई मृत्युपछि कति जमीन चाहिंदो रहेछ त ? ६x३ फीट ?’

कथापछि उनले विद्यार्थीसामु उनीहरू आफैंले विश्लेषण गरून् भनी प्रश्न छोडिन् । उनको मुख्य उद्देश्य चाहिं व्यर्थको लोभलालच फलदायी हुँदैन भन्ने मूल्य सिकाउने हो ।

नाफा नोक्सानको अभ्यासको उदाहरण दिंदै गणितमा पनि मानवीय मूल्य सिकाउन सकिने शिक्षक मुखिया बताउँछिन् । साधारणतया नाफा नोक्सान सिकाउँदा किताबमा भएका प्रश्न हल गर्न सिकाइन्छ । यति नाफा भयो वा नोक्सान भयो भनेर उत्तर निकाल्ने गरिन्छ । यसरी हिसाब सिकाउँदा सिकाउँदै विद्यार्थीसँग छलफल पनि गर्न सकिन्छ । बिक्री मूल्य अति धेरै राखेर व्यापारीले नाफा गरिरहेका होलान् । तर उपभोक्ता मर्कामा, ठगीमा परिरहेका छन् कि ? अन्याय भएको छ भने त्यसमाथि बोल्न सकून् भनेर यसरी प्रश्न उब्जाइदिएपछि उनीहरूलाई सोच्न बाध्य बनाउन सकिने उनको भनाइ छ ।

मानवीय मूल्यको महत्व
स्कूल शिक्षाको क्रममा यसरी विभिन्न विषयमा मानवीय मूल्य जोड्नुको सबभन्दा ठूलो र महत्वपूर्ण उद्देश्य हो विद्यार्थीहरूले प्रश्न गर्न सिकून् । उनीहरू हरेक कुरामा किन र कसरी भन्ने प्रश्न गर्न सकून् र असल र खराबमा मात्र होइन, राम्रा कुरामा पनि कुन धेरै राम्रो भन्ने छुट्याउन सकून् । कतै अमानवीय काम भयो भने वा उनीहरू अन्यायमा परे भने निडर भएर बोल्न सकून् र आफ्ना लागि के सही हो भनेर निर्णय लिन सकून् भन्ने उद्देश्यले कक्षा १ देखि नै विभिन्न विषयमा मानवीय मूल्य जोडिएको शिक्षक अलीना मुखिया सुनुवार बताउँछिन् ।

शिक्षा शास्त्रको भाषामा यसलाई एकीकृत शिक्षण पद्धति (Integrated Pedagogy Paradiagm) भनिन्छ । यसका लागि शिक्षकहरू पाठयोजना तयार गर्छन् । एक शैक्षिक सत्रमा तयार गरिएको पाठयोजना अर्को शैक्षिक सत्रमा प्रयोग हुँदैन । नयाँ नै तयार गरिन्छ । विद्यालयमा पढाइ हुने विभिन्न विषयसँग जोडेर मात्र होइन आपत्विपत्का बेला पनि विद्यार्थीलाई मानवीय मूल्य सिकाउने गरिन्छ । जिन्दगीलाई सार्थक र सफल बनाउन मानवीय गुण धेरै आवश्यक भएको शिक्षक सुनुवारको विश्वास छ । उनी भन्छिन्, “मानवीय मूल्य विनाको शिक्षाले विद्यार्थी शिक्षित त बन्लान् तर माया–प्रेम, दया–करुणा, इमानदारी जस्ता गुण उनमा छन् कि छैनन् ? अन्यायमा बोल्न सक्छन् कि सक्दैनन् ? गलतलाई गलत भन्न सक्छन् कि सक्दैनन् ? कठिन परिस्थितिमा आफूलाई सम्हाल्न सक्छन् कि सक्दैनन् ? दुःखमा अरूलाई सहयोग गर्न तयार हुन्छन् कि हुँदैनन् ? यो असाध्यै महत्वपूर्ण हो ।”

आफूले आज पढाएको विद्यार्थी २० वर्षपछि भेट्दा ऊ असल व्यक्ति भएको होस् । समाजका लागि केही गरेको होस् । उसको जीवन खुशी होस् र उसको परिवार भएको रहेछ भने आफ्ना केटाकेटीलाई पनि राम्रो संस्कार सिकाएको होस् । उनको पहिलो चहाना यस्तो छ । उनी अगाडि भन्छिन्, “हो मैले पढाएको विषयमा विशेषज्ञता हासिल गरेको होस् वा वैज्ञानिक भएको होस् यो अर्को पाटो हो । विषयगत दक्षता वा पढाइ वा सफलता एउटा पक्ष हो तर ऊ कस्तो व्यक्ति बन्यो त्यो सबभन्दा महत्वपूर्ण पाटो हो ।”

उनका अनुसार सेन्ट जेभियर्सका विद्यार्थीहरू उच्च शिक्षाको पढाइ सकेपछि आफ्ना शिक्षकहरूलाई भेट्न आइरहेका हुन्छन् । उनीहरू विभिन्न पेशामा भए पनि समय निकालेर मानवीय हितका लागि केही न केही गरिरहेका हुन्छन् । कोही गरीब केटाकेटीका शिक्षाका लागि, कोही स्वास्थ्यका लागि त कोही विपन्नलाई रोजगारी दिने काम गरिरहेका हुन्छन् । “मूल्यमान्यता सिकाएर केही त परिवर्तन ल्याएछौं जस्तो लाग्छ”, गर्व र हर्ष भरिएको स्वरमा उनी सुनाउँछिन् ।

मूल्याङ्कन
धेरैजसो विद्यालयका प्रायः शिक्षक अनि अभिभावकलाई सबभन्दा बढी चासो विद्यार्थीको विषयगत पढाइ र त्यसमा ल्याउने ग्रेडसँग हुन्छ । यसैमा हामी मक्ख पर्छौं । उत्कृष्ट ग्रेड ल्याएपछि उसको बानी व्यवहार, आचरण जस्तोसुकै होस् हामीलाई खासै वास्ता नहुन पनि सक्छ । वा विस्तारै सुधार भइहाल्छ भन्ने हुन्छ । कक्षा–१ देखि नै रिपोर्ट कार्डमा यिनै कुरालाई मात्र प्राथमिकता दिइन्छ । राम्रो ग्रेड ल्याउनेको मात्र सबैका अगाडि वाह्वाही गरिन्छ । पढाइ–लेखाइमा ठीकै तर मानवीय मूल्यमा राम्रा विद्यार्थीलाई हामीले सबैका अगाडि प्रशंसा गरेको वा स्याबासी दिएको प्रायः देख्न पाइँदैन ।

कक्षा–१० का एक विद्यार्थी पढाइमा ठीकै थिए । तर अनाथ केटाकेटीदेखि वृद्धाश्रममा गएर सहयोग गर्नु पर्‍यो वा कसैलाई केही सहयोग गर्नु पर्‍यो भने सबभन्दा अघि सर्थे । मरिहत्ते गर्थे । ती विद्यार्थीकोे गुणको कदर गर्दै उनलाई पुरस्कार दिइयो । विद्यालयले उनलाई यसरी सबका अघिल्तिर सम्मान गर्छ भनेर उनले कल्पना नै गरेका थिएनन् । उक्त प्रसंग सम्झ्ँदै शिक्षक मुखिया भन्छिन्, “यो अवार्ड पाएर उनी यति खुशी भए कि म भन्नै सक्दिनँ । यो सम्मानलाई उनले आफ्नो पहिचानका रूपमा लिए । चार/पाँच दिन त हामीले उनकै बारेमा कुरा गरिरह्यौं ।” यसो भनिरहँदा आफ्नो हातमा उम्रिएका काँडा देखाउँदै मुखियाले विश्वासका साथ भनिन्, “उनी अवश्य पनि एक असल व्यक्ति बन्नेछन् ।”

शिक्षक  मासिक, २०७६ जेठ अंकमा प्रकाशित ।

commercial commercial commercial commercial