शिक्षकको जागिर केही जानकारी

शिक्षकहरूले विद्यालय शिक्षक किताबखानाको कार्य क्षेत्रसँग सम्बन्धित विषयमा अनेक जिज्ञासा राख्ने गरेका छन् । त्यसमध्ये सबै शिक्षकले बुझनुपर्ने कुरा र प्रायः उठिरहने जिज्ञासा सम्बोधन गर्ने गरी यो लेख तयार पारिएको छ ।

सबैभन्दा पहिले सामुदायिक विद्यालय र कार्यरत शिक्षक नियुक्तिका बारेमा सामान्य जानकारी लिऊँ ।

नेपाल सरकारबाट नियमित रूपमा अनुदान पाउने गरी अनुमति प्राप्त विद्यालयलाई शिक्षा ऐन, २०२८ (संशोधन सहित) ले सामुदायिक विद्यालयको रूपमा परिभाषित गरेको छ । त्यस्ता विद्यालयमा स्वीकृत दरबन्दी अनुसारका पदमा शिक्षक तथा कर्मचारी नियुक्त गरिन्छन् । उनीहरूको नियुक्ति तथा बढुुवाको सिफारिश शिक्षक सेवा आयोगले गर्छ । पूर्ति गरिनुपर्ने शिक्षकहरूको रिक्त पद संख्याको विवरण आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविकको शिक्षा विभाग) बाट लिन्छ ।

शिक्षक पदका निम्ति तोकिएको योग्यता भएका उम्मेदवारहरूबाट दरखास्त लिएर नियमानुसार लिखित, मौखिक तथा आवश्यकतानुसार प्रयोगात्मक परीक्षा समेत लिई नतिजा प्रकाशन गर्ने र योग्यताक्रम अनुसार स्थायी नियुक्तिको लागि सम्बन्धित जिल्लामा सिफारिश गर्ने काम पनि आयोगले नै गर्छ । त्यसरी सिफारिश भई आएका उम्मेदवारलाई जिल्ला शिक्षा अधिकारी (हालको शिक्षा इकाइ प्रमुख) ले सिफारिश प्राप्त भएको मितिले ३० दिनभित्र नियुक्ति दिनुपर्छ । शिक्षकले नियुक्तिपत्र बुझेको १५ दिनभित्र सम्बन्धित विद्यालयमा हाजिर हुनुपर्छ । नियुक्तिपत्र लिएको मितिले ३० दिनभित्र पदस्थापना गरिएको विद्यालयमा सम्बन्धित शिक्षक हाजिर नभएमा इकाइ प्रमुखले निजको ठाउँमा वैकल्पिक सूचीमा रहेका उम्मेदवारलाई योग्यता क्रमानुसार नियुक्ति गर्न सक्ने व्यवस्था छ ।

जागिरको आधिकारिक प्रमाण सिटरोल
सामुदायिक विद्यालयका शिक्षकले स्थायी नियुक्ति पाएको तीन महीनाभित्र शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को अनुसूची १६ बमोजिमको ढाँचामा वैयक्तिक तथा नोकरी विवरण फारम (सिटरोल) तीन प्रति भरेर आफ्नो विद्यालयका प्रधानाध्यापक तथा सम्बन्धित इकाइ प्रमुखबाट प्रमाणित गराई विद्यालय शिक्षक किताबखानामा बुझाउनुपर्छ । किताबखानाले तीनवटै प्रति प्रमाणित गरी संकेत नम्बर राखेर एक प्रति कार्यालयमा अभिलेखका लागि राख्छ बाँकी दुई प्रति सम्बन्धित शिक्षकलाई फिर्ता दिन्छ । शिक्षकले सिटरोलको एक प्रति आफ्नो विद्यालयमा राखी अर्को प्रति सम्बन्धित जिल्ला शिक्षा इकाइमा बुझाउनुपर्छ । सम्बन्धित शिक्षकको सरुवा, बढुवा वा सजाय हुँदा सिटरोलमा उल्लिखित संकेत नम्बरको आधारमा निजको अभिलेख व्यवस्थापन गरिन्छ ।

यो फारम (सिटरोल) नेपाली कागजबाट बनेको हुनुपर्ने र सम्बन्धित शिक्षक आफैंले कालो मसीले भर्नुपर्ने हुन्छ । विवाहित व्यक्तिले यो विवरण भर्दा इच्छाएको व्यक्तिको महलमा आफ्नो पति वा पत्नीको नाम उल्लेख गर्दा राम्रो हुन्छ । सिटरोलको साथमा शिक्षकले आफ्नो नियुक्ति पत्रको अलावा विद्यालयमा हाजिर भएको पत्र, नागरिकताका प्रमाणित प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्रका प्रमाणित प्रतिलिपि, अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपि, निरोगिकताको प्रमाणपत्र, शपथ ग्रहणको प्रमाण आदि संलग्न गर्नुपर्दछ । अविवाहित शिक्षकले इच्छाइएको व्यक्तिको महल खाली छोड्न सक्छन् । त्यस्ता शिक्षकले पछि विवाह गरेमा विवाह दर्ताको प्रमाण पत्र र पति वा पत्नीको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि राखेर निवेदन दिएमा सिटरोलमा इच्छाएको व्यक्तिको नाम कायम हुनसक्छ ।

प्राथमिक तहमा नियुक्त भएर सिटरोल भरी नम्बर कायम भइसकेका शिक्षक नै पछि निम्नमाध्यमिक वा माध्यमिक तहमा नियुक्त भएमा निजले पुनः सिटरोल भर्नु पर्दैन, भर्नु हुँदैन । एक पटक नम्बर कायम भएपछि जुनसुकै तहमा नियुक्त भए पनि सोही नम्बरबाट नै पछिसम्म आफ्नो अभिलेख कायम गर्नुपर्दछ ।

सम्पत्ति विवरण बुझाउन अनिवार्य
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३० बमोजिम स्थायी, अस्थायी, राहत, ईसीडी लगायत सबै प्रकारका शिक्षकले सम्पत्ति विवरण बुझउनुपर्छ । स्थायी शिक्षकले नियुक्ति पाएको ६० दिनभित्र पहिलो पटक सम्पत्ति विवरण बुझाउनुपर्छ । त्यसपछि आर्थिक वर्ष सकिएको ६० दिनभित्र अर्थात् हरेक वर्षको भदौ मसान्तसम्ममा संकेत नम्बर स्पष्टसँग उल्लेख गरी ४x९ आकारको खाममा बन्द गरेर विद्यालय शिक्षक किताबखानामा सम्पत्ति विवरण बुझाउनु स्थायी शिक्षकको नियमित दायित्व हुन्छ । अस्थायी, राहत, ईसीडी लगायतका पदमा कार्यरत शिक्षकले पनि हरेक आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्बन्धित शिक्षा इकाई वा पालिका कार्यालयमा आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्छ ।   

एक दिनको तलब बराबर एक ग्रेड
शिक्षकले पदमा बहाल भएको मितिदेखि तलब र भत्ता पाउँछ भने निलम्बन भएकोमा बाहेक स्थायी शिक्षकले एक शैक्षिक सत्र पूरा गरेपछि नेपाल सरकारले तोके बमोजिमको एक दिन बराबरको तलब वृद्धि (ग्रेड) पाउने व्यवस्था छ । उदाहरणको लागि; २०७१ सालमा नियुक्त शिक्षकलाई २०७३ को वैशाखदेखि ग्रेड प्राप्त हुन्छ ।

माथिल्लो तलबमानको कुनै श्रेणीमा बढुवा पाउने शिक्षकले सो तलबमानको शुरू स्केल पाउँछ । तर, निजले तत्काल पाइरहेको तलब माथिल्लो श्रेणीको तलबमानको न्यूनतम तलब बराबर वा सोभन्दा बढी भएमा माथिल्लो तलबमानमा निजको तलब तोक्दा निजले पाइरहेको पछिल्लो तलब माथिल्लो तलबमानको शुरू तलब बराबर भएमा सो तलबमा एक ग्रेड थप गरिन्छ ।

साबिक श्रेणीमा पाइरहेको तलब बढुवा भएको श्रेणीको शुरू तलबभन्दा बढी भएको अवस्थामा माथिल्लो श्रेणीको तलब तोक्दा हाल पाइरहेको तलबमा नपुगसम्मको तलब वृद्धि गरी माथिल्लो श्रेणीको समेत एक ग्रेड थपेर दिइने कानूनी व्यवस्था छ । तर नयाँ नियुक्ति हुने शिक्षकको हकमा यो व्यवस्था लागू हुँदैन । उदाहरणार्थ, कुनै निम्नमाध्यमिक तहको द्वितीय श्रेणीमा कार्यरत शिक्षक माध्यमिक तहको तृतीय श्रेणीमा खुला परीक्षा दिएर उत्तीर्ण भएमा निजले माध्यमिक तहको शुरू स्केलको दरले तलब खान पाउँछ; निम्नमाध्यमिक तहको द्वितीय श्रेणीमा कार्यरत रहँदा पाइरहेको ग्रेड दाबी गर्न पाइँदैन । (ग्रेड सम्बन्धमा धेरै प्रकारका प्रश्न आउने गरेकोले त्यसबारे पछि छुट्टै व्याख्या गरिनेछ –लेखक)

शिक्षकको नियुक्ति र अवकाश
शिक्षकहरूले आफ्नो सेवासुविधा लिन आउँदा किताबखानामा पेश गरेका फाइलहरू अध्ययन गर्दा दुई प्रकारका शिक्षक–नियुक्ति पत्र पाइएका छन् । तत्कालीन शिक्षा कार्यालयले सोझै व्यक्तिलाई सम्बोधन गरेर दिएको एकथरी नियुक्तिपत्र छ भने अर्को, शिक्षा कार्यालयले सम्बन्धित विद्यालयको सञ्चालक/व्यवस्थापन समितिलाई शिक्षक नियुक्ति गर्न सिफारिश गरेको र विद्यालयको सञ्चालक/व्यवस्थापन समितिले बैठक बसेर निर्णय गराई विद्यालयको लेटरप्याडमा दिइएको नियुक्ति पत्र ।

शिक्षकहरूले दुई किसिमबाट अवकाश पाउँछन्, एउटा स्वेच्छिक र अर्को अनिवार्य । आफ्नो परिस्थिति बमोजिम राजीनामा दिएर स्वीकृत गराई लिने अवकाश स्वेच्छिक हो । यस्ता शिक्षकको स्थायी सेवा अवधि ५ वर्ष वा सोभन्दा बढी भएमा उपदान सहित र ५ वर्षभन्दा कम समय सेवा गरेको भएमा उनीहरूले उपदान बाहेक नियमानुसारको औषधि उपचार र सञ्चित बिरामी विदाको रकम पाउँछन् । २० वर्ष वा सोभन्दा बढी सेवा गरेका शिक्षकले यी सुविधावापतको रकमसँगै निवृत्तिभरण पाउँछन् । अन्तिम तलबको आधा रकम बराबर हुने यस्तो निवृत्तिभरण शिक्षक स्वयंको जीवनभर पूरै र निजको निधनपछि निजले इच्छाएको पति वा पत्नीलाई आजीवन आधा रकम दिइन्छ ।


सेवा निवृत्ता शिक्षकको उमेर ७५ वर्ष पूरा भएमा निजले पाइरहेको निवृृत्तिाभरण रकममा १० प्रतिशत र ८५ वर्ष पूरा भएमा अर्को १० प्रतिशत रकम थपिने व्यवस्था छ।

शिक्षकको उमेर ६० वर्ष पूरा भएपछि निजलाई विद्यालयको सेवाबाट अनिवार्य अवकाश दिइन्छ । कुनै पनि शिक्षकको उमेर ६० वर्ष पुगेको प्रमाण यी तीन प्रकारका कागजपत्रको आधारमा पुष्टि गरिन्छ:

१. निजले सेवा प्रवेश गर्दा पेश गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा लेखिएको जन्म दिन (खासगरी एसएलसी परीक्षा दिएपछि परीक्षा नियन्त्रण कार्यालयले दिएको जन्म मिति खुलेको प्रमाणपत्र)

२. नागरिकताको प्रमाणपत्रमा किटिएको जन्म दिन वा वर्षबाट हुन आएको उमेर (जस्तै, कसैको मिति २०४१/३/२१ मा जारी भएको नागरिकताको प्रमाणपत्रमा उमेर १७ वर्ष लेखिएको छ भने उसको जन्ममिति २०२४/३/२१ मानिन्छ ।
३. निजले सेवा प्रवेश गर्दा भरेको वैयक्तिक नोकरी विवरण (सिटरोल) मा लेखिएको जन्म मिति ।

यी तीनवटा कागजपत्रमा उल्लेख भएका जन्ममितिमध्ये जुनबाट गणना गर्दा सबभन्दा पहिले ६० वर्ष पूरा हुन्छ त्यही मितिलाई अनिवार्य अवकाशको उमेर मानिन्छ । तर यसमा नागरिकताको प्रमाणपत्रको हकमा प्रतिलिपि लिई जन्ममिति फरक परेको भए अघिल्लो नागरिकतामा उल्लिखित जन्ममितिलाई नै आधार मानिन्छ । तीनमध्ये कुनै एक प्रमाणपत्रमा उमेर वर्ष वा जन्म साल वा जारी मिति मात्र उल्लेख भएको र अरू कुनै प्रमाणपत्र (खासगरी परीक्षा नियन्त्रण कार्यालयबाट जारी) मा पूरा जन्ममिति खुलेको रहेछ भने त्यस्तो प्रमाणपत्रमा लेखिएको जन्ममितिको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा प्रष्ट खुलेको प्रमाणपत्रको जन्ममितिलाई नै आधार मानिन्छ । प्रमाणपत्रहरूमा उमेरको अन्तर एक वर्ष भन्दा बढी भएमा भने अघिल्लो जन्ममितिलाई नै आधार मानेर उमेरको गणना गरी अनिवार्य अवकाश दिने व्यवस्था छ । कुनै प्रमाणपत्रमा जन्ममिति नखुली साल मात्र उल्लेख भएको भए सोही सालको पहिलो दिन वैशाख १ गते जन्मिएको मानेर उमेरको गणना गर्ने गरिन्छ ।

सेवा अवधिको गणना
शिक्षकहरूको सेवा अवधि गणना गर्दा स्वेच्छिक अवकाश लिनेको हकमा राजीनामा स्वीकृत भएको मितिबाट नियुक्ति पाएको मिति घटाई कुल सेवा गरेको वर्ष, महीना र दिन निर्धारण गरिन्छ । अनिवार्य अवकाश पाउनेको सम्बन्धमा अवकाशको उमेर पूरा भएको मितिबाट स्थायी नियुक्ति पत्रमा लेखिएको मिति घटाएर सेवा अवधि निकालिन्छ । नियुक्ति पत्रमा पनि दुईथरी मिति लेखिएको हुनसक्छ । पत्रको पेटबोलीमा जुनसुकै मितिबाट लागू हुने गरी नियुक्ति दिइएको भनिए तापनि नियुक्ति पत्रको सिरानमा भएको वा नियुक्तिपत्रमा दस्तखत गर्ने प्रधानाध्यापक वा जिल्ला शिक्षा अधिकारीले दस्तखत मुनि लेखेको मितिमध्ये जुन पछिल्लो छ त्यसैलाई आधिकारिक मानिन्छ । यदि कुनै शिक्षकले असाधारण, बेतलवी वा निजीस्तरबाट अध्ययन विदा लिएको छ भने सो अवधि घटाई बाँकी अवधि गरेको सेवाको मात्र सुविधा रकम दिइन्छ । उमेर हदको कारणले अनिवार्य अवकाश पाएका तर २० वर्ष सेवा अवधि नपुगेका शिक्षकलाई सात वर्षसम्मको अस्थायी सेवा अवधि थप गरी निवृत्तिभरण दिने व्यवस्था छ ।

विद्यालयको कामको सिलासिलामा कुनै शिक्षकको मृत्यु भएमा निजको पति वा पत्नीलाई त्यस्तो शिक्षकले अवकाशपछि पाउनसक्ने न्यूनतम निवृत्तिभरणको आधा रकम आजीवन पारिवारिक वृत्ति स्वरुप दिने र दुई जनासम्म सन्तानलाई १८ वर्ष नपुगुञ्जेलसम्म अध्ययनका लागि वार्षिक शैक्षिक भत्ताका साथै शिक्षकको श्रेणी हेरी तलबको ८ देखि १२ प्रतिशतसम्म मासिक सन्ततिवृत्ति दिने व्यवस्था शिक्षा नियमावलीको नियम ११६ र १२४ मा गरिएको छ ।

सेवा निवृत्त शिक्षकको उमेर ७५ वर्ष पूरा भएमा निजले पाइरहेको निवृृत्तभरण रकममा १० प्रतिशत र ८५ वर्ष पूरा भएमा अर्को १० प्रतिशत रकम थपिने व्यवस्था छ । यसको लागि स्वयं शिक्षक किताबखानामा आउन असमर्थ भएमा सम्बन्धित पालिका वा इकाइको सिफारिश आउनुपर्ने हुन्छ ।

अस्थायी शिक्षकको विदा तथा सुविधा
२०६७ माघ ९ गते भएको शिक्षा नियमावली, २०५९ को छैटौं संशोधन भन्दा अगाडि जिल्ला शिक्षा कार्यालयको स्वीकृत दरबन्दीभित्र रहेको र नेपाल सरकारको अनुदानबाट तलब भत्ता खाने गरी नियुक्ति पाएका शिक्षकलाई निजको सञ्चित रहेको बिरामी विदाको भुक्तानी विद्यालय शिक्षक किताबखानाबाट दिइन्छ । यदि विद्यालयले दिएको नियुक्ति रहेछ भने सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट त्यस्तो नियुक्तिको समर्थन, अभिलेखीकरण वा प्रमाणीकरण गरेको पत्र आवश्यक पर्छ । त्यस्ता शिक्षकले पछि स्थायी नियुक्ति लिएका रहेछन् भने तत्कालीन समयको तलब स्केल अनुसार सञ्चित विदाको रकम पाउँछन् ।

यसै सम्बन्धमा शिक्षा ऐन, २०२८ मा भएको पछिल्लो (नवौं) संशोधनमा २०७३ असार १५ गतेसम्म अविच्छिन्न रूपमा कार्यरत रहेका अस्थायी शिक्षकले स्थायी पदको लागि भएको विज्ञापनमा दरखास्त नदिएमा वा दरखास्त दिए पनि स्थायी पदमा आयोगबाट नियुक्तिको लागि सिफारिश हुन नसकेमा त्यस्ता शिक्षकलाई शिक्षक सेवा आयोगबाट भएको विज्ञापनमा उम्मेदवार हुन दरखास्त दिने अन्तिम मितिसम्मको अवधिलाई गणना गरी अधिकतम सेवा अवधि २० वर्ष मानी (स्थायी शिक्षकले उपदान पाए सरह) को सुविधा दिने व्यवस्था छ ।

निर्देशक, विद्यालय शिक्षक किताबखाना


 

commercial commercial commercial commercial