निजी स्कूलका शिक्षक, बिचरा !

जति टीठलाग्दा भए पनि निजी स्कूलप्रति अभिभावकको आकर्षणमा कमी छैन। सामुदायिक स्कूलमा आफ्ना छोराछोरी पठाउन सामान्यतः कसैले चाहँदैन। सरकारी स्कूलप्रति आम अभिभावकको विश्वास गुमिसकेको छ।

राम्रो शिक्षक को हो भन्ने प्रश्नको उत्तर दिनुपर्दा हामी प्रायः आफ्नो कुनै शिक्षक (व्यक्ति) विशेषको उदाहरण दिने गर्छौं । उसका व्यक्तिगत गुणहरूको सराहना गर्छौं; उसलाई एउटा ‘रोलमोडेल’ का रूपमा हेर्छौं, जसले हामीलाई पढाउँछ, असल सल्लाह दिन्छ र हाम्रो व्यक्तित्व निर्माण गर्छ । जसले हाम्रो बौद्धिक र चारित्रिक विकासमा भूमिका खेलेको हुन्छ । नीतिगत अभिलेखहरूमा पनि राम्रो शिक्षकको भूमिका यस्तै खालको स्वीकारिएको पाइन्छ । यस्तो पेशाकर्मी, जो स्वयं सोच्छ– विचार गर्छ अनि आफ्ना विद्यार्थीहरूमा सोच्ने– विचार गर्ने क्षमता जगाउँछ । तर, यसका विपरीत, विद्यालय व्यवस्थापन— निजी होस् वा सरकारी— भने त्यसलाई राम्रो शिक्षक मान्छ, जसले उपलब्ध संसाधन र दबाव अन्तर्गत रहेर विद्यार्थीलाई बढी अंक दिलाउन सकोस्, जसले व्यवस्थापनको सोच अनुरूप स्कूलको व्यवस्था कायम राख्न सहयोग पुर्‍याओस् ।

कुनै शिक्षकसँग कुरा गर्नुभयो भने तपाईंले उसको स्मृतिका पोकामा यस्ता अनगिन्ती सम्झना पाउनुहुनेछ, जसमा अनेकौं विद्यार्थीका नाम र तीसँग जोडिएका किस्सासँगै अनगिन्ती प्रयोग र अनुभव, सिक्ने र जान्ने तरीका हुनेछन् । तपाईंले के पनि थाहा पाउनुहुनेछ भने, ती कुनै सिद्धान्तका उपज नभएर शिक्षणका क्रममा उत्पन्न सूझबूझ् रहेछन् । यस्ता उपलब्धि शिक्षक र विद्यार्थीका साझा सम्पत्ति हुन्छन् । तर, उनीहरूको दुनियाँबाट बाहिर निस्केर सरकारी वा निजी संस्थाहरूका ‘अध्ययन प्रतिवेदन’ हेर्नुभयो भने शिक्षकको उदासीनता, उपेक्षा र उत्तरदायित्वहीनता जस्ता पक्षकै चर्चा पाउनुहुनेछ । तिनलाई उनीहरूको व्यक्तिगत ‘गुण’ बताएर कुराको बिट मारिएको हुन्छ; हाम्रो शैक्षिक–संस्थागत संस्कृतिले उनीहरूको सक्रियता र उत्साहको पोषण नगरेको अनि शिक्षणलाई सृजनात्मकता रहित यान्त्रिक ‘रुटिन प्र्याक्टिस’ का रूपमा हेरेको कुराको चर्चै गरिएको हुँदैन ।

यस पृष्ठभूमिमा, यस लेखमा निजी विद्यालयमा कार्यरत शिक्षकहरूको कार्यसंस्कृति र अनुभवको आलोकमा शिक्षण–कर्मको यथार्थको एउटा बेग्लै पाटो उजागर गर्ने प्रयास गरिएको छ । महाराष्ट्र (भारत) को वर्धा जिल्लाका विभिन्न निजी स्कूलका शिक्षकहरूसँग गरिएको अनौपचारिक भेटघाट र कुराकानी यसको आधार हो । कुनै दबाव वा उद्दीपन (प्रोभोकेशन) विना, सहज–स्वाभाविक रूपमा उनीहरूले आफ्नो मनको बह पोखेका थिए । यी शिक्षक त्यो ठूलो शिक्षक–समूहका प्रतिनिधि हुन्, जो निजी क्षेत्रको श्रम बजारमा तलब–भत्ताको चुनौती र व्यक्तिगत जीवनमा आफ्नो पहिचानको द्वन्द्वमा चाकाचुली खेलिरहेको छ ।

निजी स्कूलको व्यापार
निजी विद्यालयहरूको उपस्थिति र स्वीकार्यता आजको समयको सत्य हो । महानगरदेखि सामान्य गाउँसम्म सर्वत्र यस्ता स्कूल खुलेका छन् । तिनको स्तरमा आकाश–पातालको अन्तर छ । एकातिर महानगरमा भव्य भवनहरू र पाँच तारे होटलका जस्ता सुविधायुक्त अति महँगा स्कूल भेटिन्छन् भने अर्कातिर गाउँबस्तीमा सामान्य संसाधन पनि नभएका थोरै शुल्क लाग्ने स्कूल पनि पाइन्छन् । जति टीठलाग्दा भए पनि निजी स्कूलप्रति अभिभावकको आकर्षणमा भने कमी छैन । सामुदायिक स्कूलमा आफ्ना छोराछोरी पठाउन सामान्यतः कसैले चाहँदैन । विद्यालय स्तरको निःशुल्क तथा अनिवार्य शिक्षा हरेक केटाकेटीको अधिकार हो भन्न सरकार र नेताहरूले कहिल्यै कन्जूसी गर्दैनन् तर सरकारी स्कूलप्रति आम अभिभावकको विश्वास गुमिसकेको छ । आफूले गाँस काटेरै भए पनि छोराछोरीलाई ऊ निजी स्कूलमै पढाउन चाहन्छ, किनभने तिनलाई रोजगारको बजारमा बिक्न सक्ने सफल आर्थिक प्राणी बनाउन सक्ने सूत्र त्यहीं छ भन्ने उसलाई लाग्छ । आम अभिभावकको त्यो आशा कायम राख्न, बजारको सिद्धान्त अनुरूप, निजी स्कूलहरूले राम्रो कसरत गरेका हुन्छन् । यस क्रममा यी स्कूलहरू शिक्षा दिने भन्दा पनि पूँजी निर्माण गर्ने र नाफा कमाउने व्यापारिक संस्थानमा परिणत हुन पुगेका छन् । तिनले नाफा कमाएकोमा अभिभावकको कुनै आपत्ति पनि देखिंदैन, किनभने लगानीको उचित प्रतिफल दिलाउने ग्यारेन्टी तिनले दिइरहेकै हुन्छन् ।

तात्पर्य के भने, यी स्कूलले तपाईंका छोराछोरीलाई त्यस्तो केही सिकाउँछन् जसका कारण तिनले आफ्ना समवयीहरूलाई उछिन्नेछन् भन्ने लाग्छ भने तपाईं महँगो शुल्क तिर्न हच्किनुहुन्न । समस्या चाहिं के छ भने, सबैले उत्तिकै महँगो शुल्क तिर्न सक्तैनन् । त्यसैले निजी स्कूलबाट उत्पन्न हुने लाभका अवसर समान छैनन् । यो असमानताले धनी र प्रभावशालीहरूलाई आफ्ना केटाकेटीको स्कूल अरूको भन्दा विशिष्ट छ भन्ने उच्चताबोधयुक्त सन्तुष्टि दिलाउँछ । यो मनोविज्ञानको उपयोग गर्दै निजी स्कूलहरू घोडचढी, पौडी र विदेशको शैक्षिक भ्रमण जस्ता ‘प्रोडक्ट’ का साथ आफ्नो ‘ब्रान्डिङ’ गर्छन्, जसले तिनका ग्राहक (अभिभावक) लाई उच्चता एवं अभिजनत्वको बोध गराइरहोस् । कम शुल्कका निजी स्कूलहरू पनि कम्प्युटर र निःशुल्क कोचिङ जस्ता ‘प्रोडक्ट’ मार्फत त्यही पथमा घिस्रिने प्रयास गरिरहेका हुन्छन् । निजीकरणका समर्थकहरू यो ‘व्यवस्था’ ले ‘चुनावको विकल्प’ उपलब्ध गराउने तर्क दिएर थाक्दैनन् तर के भन्दैनन् भने, यसमा हरेक विकल्पको श्रेणी (तह) र मूल्य छ, जो सीमित पैसावालहरूको पक्षमा हुन्छ ।

निजीकरणको पक्षमा जपिने अर्को जार्गन ‘प्रतियोगिता’ हो, जसले शिक्षाका सामाजिक–सांस्कृतिक सरोकारहरूलाई पृष्ठभूमिमा धकेल्छ, सिकाइ र बोधलाई छायामा पार्छ अनि शिक्षालाई केवल पाठ्यपुस्तकीय ज्ञान तथा दक्षतामा सीमित पार्छ । कारण ? यसबाटै विद्यार्थीले राम्रो अंक पाउन सक्छन् र प्रतिष्ठित शैक्षिक संस्थाहरूमा प्रवेश–परीक्षा उत्तीर्ण गर्ने विद्यार्थी–प्रतिशत उच्च हुन सक्छ । शिक्षाको व्यापारका लागि यो मुख्य आधार नै हो । त्यसैले समग्र व्यवस्था यसकै वरिपरि घुमिरहेको हुन्छ ।

निजी स्कूलमा हरेक शिक्षक र कर्मचारीले संस्थाको लाभका निम्ति आफ्नो भूमिका सिद्ध गर्नुपर्छ । स्कूल व्यवस्थापनले उनीहरूलाई तिनको कमजोरीसँग निरन्तर परिचित गराइरहन्छ, जसको उद्देश्य तिनीहरू आफूलाई अरूभन्दा उपयोगी, विशिष्ट र वाञ्छनीय देखाउन निरन्तर शिर झ्ुकाएर काममा घोटिइरहुन् भन्ने हो । व्यवस्थापनले उनीहरूबीच प्रतिस्पर्धाको यस्तो वातावरण निर्माण गर्छ, जसमा हरेक व्यक्तिले अधिकतम काम गर्छ, व्यवस्थापनलाई प्रसन्न पारेर अर्कालाई उछिन्न खोज्छ; आपसमा एकजूट भएर कुनै साझ स्वार्थको लागि आवाज उठाउनेतिर कहिल्यै लाग्दैन ।

निजी स्कूलको श्रम बजार
निजी स्कूलको दुनियाँमा शिक्षकको नियुक्ति र सेवा–शर्त ‘स्वतन्त्र श्रम बजार’ का मान्यता अनुरूप हुने गर्छन् । त्यसमा यदाकदा राज्यले निगरानीको प्रयास त गर्छ तर त्यो त्यति प्रभावकारी हुँदैन । अहिलेको श्रम बजारमा शिक्षकको अवस्था कति कमजोर छ भन्ने कुरा एउटी महिला शिक्षकको उदाहरणबाट अनुमान लगाउन सकिन्छ । यी शिक्षकले विगत वर्षमा जागीर खान तीनवटा बेग्लाबेग्लै निजी स्कूल चहार्नुपर्‍यो । उनले मासिक पाँच हजार रुपैयाँको तलबमा जागीर खान थालेकी थिइन् । अहिले उनको तलब १० हजार रुपैयाँ छ । यति कम तलब सरकारी पियनको पनि छैन । त्यसमाथि, यिनको जिल्लाका कुनै पनि निजी स्कूलले वर्षमा १२ महीनाको तलब दिंदैनन् । गर्मीको छुट्टी दुई महीनाको हुन्छ र त्यसवेला तलब पाइँदैन । साथै, स्कूल संचालकले अझै कम तलबमा काम गर्ने शिक्षक पाए भने भइरहेको जागीर गुम्ने डर जहिले पनि रहिरहन्छ । कम तलबमा शिक्षक राख्न निजी स्कूलहरू शिक्षकको योग्यतासँग पनि सम्झैता गर्छन् । लगभग हरेक निजी स्कूलमा यस्ता शिक्षक अवश्य भेटिन्छन्, जोसँग न्यूनतम योग्यता नै हुँदैन, शिक्षण (लाइसेन्स) परीक्षा पास गर्नु त परै जाओस् । यी स्कूलमा महिला शिक्षकको संख्या बढी हुन्छ । भन्नका लागि केटाकेटी महिलासँग बढी रमाउँछन् किनभने महिलाले उनीहरूलाई बढी माया गर्छन् भनिन्छ, तर सत्य बेग्लै छ । महिला भएकाले उनीहरूमा विरोध गर्ने प्रवृत्ति र सेवा–सुविधाबारे मोलमोलाई गर्ने शक्ति कम हुन्छ । त्यसैले उनीहरू कम तलबमा बढी काम गर्न तयार हुन्छन् । स्कूललाई के चाहियो ?

के पनि देखिएको छ भने, निजी स्कूलहरूले विषयका आधारमा शिक्षकहरूको वर्गीकरण गरेका हुन्छन् । तिनका लागि गणित, विज्ञान र अंग्रेजी पढाउने शिक्षक उपल्लो दर्जाका हुन्छन् र उनीहरूलाई अरूभन्दा बढी तलब दिइन्छ । हिन्दी, मराठी, सामाजिक अध्ययन जस्ता विषयका शिक्षकले अपेक्षाकृत कम तलबमा काम गर्नुपर्छ । एउटा स्कूलले स्थानीय कोचिङ सेन्टरको प्रशिक्षकलाई किन नियमित तलब दिंदोरहेछ भने त्यो शिक्षकको नाम बेचेर स्कूलले बच्चा भर्ना गर्ने रहेछ । आंशिक नियुक्ति अर्को तरीका हो, जसका माध्यमबाट शिक्षकको शोषण गरिन्छ । खेल, नृत्य, कला जस्ता विषयमा निश्चित घण्टी तोकेर शिक्षक बोलाइन्छ र त्यही घण्टीको मात्र पारिश्रमिक दिइन्छ । सबै शिक्षकले एउटा समान कुरो बताए— आफूले कति तलब पाउँछु भन्ने कुरा बाहिरको कुनै पनि व्यक्तिलाई र आफ्नै स्कूलका अन्य शिक्षकलाई पनि नभन्न स्कूलहरूले कडा चेतावनी दिएका हुन्छन् ।

प्रश्न उठ्छः यस्तो हुँदाहुँदै पनि निजी स्कूलले शिक्षक कसरी पाउँछन् ? शिक्षकहरू किन त्यहाँ जागीर खान्छन् ? जवाफ सरल छः सरकारी स्कूलमा जागीर पाउन सजिलो छैन । अरू जागीर पनि सजिलै पाइँदैन । अनि के गर्ने त ?

अनुदार कार्यसंस्कृति
स्कूलको लक्ष्य र कार्य प्रणालीलाई परिभाषित गर्न लोकतन्त्र, नागरिक अधिकार, स्वतन्त्रता, समानता जस्ता शब्दको खूब प्रयोग हुन्छ । तर निजी स्कूलका शिक्षकहरूको अनुभवमा ती शब्द हात्तीका देखाउने दाँत मात्र हुन् । चपाउने दाँत चाहिं स्कूल व्यवस्थापन हो, जसका आदेश–निर्देश टाउको झ्ुकाएर पालन गर्नुपर्छ । शिक्षाको लक्ष्य, त्यसको प्रक्रिया, माध्यम र शिक्षाशास्त्रका सरोकारबारे व्यवस्थापकलाई सबै थाहा हुनुपर्छ भन्ने छैन । प्रायः धनाढ्य व्यक्तिले स्कूल चलाएका हुन्छन् र आफ्नो कुनै नातेदारलाई व्यवस्थापकको पद दिएका हुन्छन् । उसको व्यक्तिगत सोचको प्रभाव पूरै स्कूलमा पर्छ । उसले स्कूल सञ्चालन गर्न कुनै ‘अनुभवी’ शिक्षकलाई कुशल प्रशासक मानेर प्रिन्सिपल बनाइदिन्छ । प्रिन्सिपलले व्यवस्थापकको सोच अनुसार र उसको निगरानीमा रहेर स्कूल चलाउँछ । व्यवस्थापकको मनसाय बुझेर शिक्षकको जिम्मेदारी तय गर्छ, ‘आचारसंहिता’ निर्माण गर्छ र त्यसलाई कडाइका साथ पालन गराउँछ ।

निजी स्कूलमा शिक्षकलाई केही कुरा पनि सोधिंदैन, बरु बताइन्छ— उसले के गर्नुपर्ने हो र कसरी गर्नुपर्ने हो । उहाहरणका लागि, एक शिक्षकले बताए, उनको स्कूलमा नयाँ सत्र शुरू हुन लाग्दा हरेक वर्ष महानगरको कुनै प्रतिष्ठित निजी स्कूलका शिक्षकहरूलाई बोलाएर उत्कृष्ट अभ्यास (बेस्ट प्र्याक्टिस) का नाममा उनीहरूकहाँ गराइने गतिविधि यो स्कूलमा गराउन तयार पारिन्छ । उनीहरू ‘पूर्ण तयारी’ का साथ आएका हुन्छन् र यहाँका शिक्षकहरूलाई के–के गर्ने, कहिले गर्ने, कसरी गर्ने भन्ने पूरै खाका दिएर फर्कन्छन् । शिक्षकले विना कुनै प्रश्न त्यो सत्रभरि यान्त्रिक तवरमा त्यसैमा घोटिनुपर्छ । आफ्नो सृजनात्मकता, प्रयोग वा तरीकाबारे सोच्न पनि पाइँदैन । यसरी ‘अर्काको नकल किन गर्नु ? आफ्ना विद्यार्थीलाई त हामी त्योभन्दा राम्ररी सिकाउन सक्छौं नि !’ ती शिक्षकको भनाइ थियो । तर त्यो सुन्ने कसले ? एक शिक्षकले अनुभव सुनाइन्— स्कूलको वार्षिकोत्सवमा उनी लगायतका शिक्षकहरूलाई अतिथिका सामु स्वागतगान गाउने जिम्मा दिइयो । उनीहरूले जिम्मेवारी स्वीकार गरे । तर पछि (कार्यक्रम शुरू हुन लाग्दा) के भनियो भने, अतिथिहरू मञ्चमा आउनुभन्दा अघिदेखि त्यहाँबाट नफर्केसम्म उनीहरू तोकिएको ठाउँमा उभिइरहनुपर्छ । यस्तै, अर्की शिक्षकले आफ्नो पीडा सुनाइन्— ‘कक्षा चलिरहेको वेला व्यवस्थापक अचानक कक्षामा प्रवेश गर्छन् र विद्यार्थीका सामु कसरी पढाउने भनेर उनलाई सिकाउन थाल्छन् । ‘यस्तो भएपछि केटाकेटीले हामीलाई के ठान्लान् ? हाम्रो कुरा कसरी मान्लान् ?’ उनको चिन्ता थियो ।

विभिन्न निजी स्कूलका शिक्षकहरूले आफ्नो संस्थाको कार्यसंस्कृतिका बारेमा दिएको जानकारीले निजी विद्यालयहरूमा स्वायत्ततारहित, कठोर निगरानी र नियन्त्रणपूर्ण व्यवस्थाकै चित्र उपस्थित गर्छ । एक शिक्षकले बताएः उनले स्कूलमा पस्नासाथ मोबाइल फोन बन्द गर्नुपर्छ । स्कूल छुट्टी भएपछि मात्र फोन खोल्न पाइन्छ । एक महिला शिक्षकका अनुसारः उनको स्कूलमा कुनै पनि शिक्षकले कुर्सीमा बसेर पढाउन पाउँदैन । हरेक कक्षामा सीसीटीभी लगाइएको छ, त्यसैले टिफिनको वेला बाहेक दिनभरि टुसुक्क बस्न पनि पाइँदैन । सबैजसोले भनेः स्कूल छुट्टी भएपछि पनि उनीहरूले स्कूलको काम गरिरहनुपर्छ । घर फर्कंदा प्रायः होमवर्कको मोटो मुठो बोक्नुपर्छ, स्कूलमा त होमवर्क जाँच्न भ्याए पो ! एक महिला शिक्षकले भनिन्, उनको स्कूलमा कक्षा शिक्षिकाको फोन नम्बर सबै अभिभावकलाई दिइएको हुन्छ । बेलुका घरमा हरेक दिन औसत पाँच जनाको फोन आउँछ । एक्कादुक्काले मात्र साँच्चै जरूरी चिन्ताले फोन गर्छन्, अरूले थाङ्ने गनगन सुनाइरहेका हुन्छन् । कहिलेकाहीं त बिहान पनि फोन बजिरहेको हुन्छ । यस्तो लाग्छ, मानौं चौबीसै घण्टा स्कूलको ड्यूटीमा छु ।


शिक्षकले के गर्ने, कसरी गर्ने आदि निर्णय व्यवस्थापन वा अरू कसैले गर्नुको अर्थ शिक्षकको अवमूल्यन गर्नु हो। ऊ संस्थाको आर्थिक आर्जनको उपकरण वा ‘उत्पादक श्रमिक’ होइन, अपितु ज्ञानको संवाहक हो, जो आफ्ना विद्यार्थी र स्वयं आफ्नो सर्र्वाङ्गीण विकासका लागि सचेत रहन्छ।

अधिकतर निजी स्कूलले कन्सल्टेन्सी फर्म झैं ग्राहकलाई सल्लाह, मार्गदर्शनको ‘प्रोडक्ट’ सञ्चालन गर्ने गर्छन्, जसको सम्पूर्ण दबाव शिक्षकहरूमा पर्छ । परिणामस्वरुप शिक्षकहरू ‘शिक्षक’भन्दा ‘कस्टमर केयर अफिसर’ बनाइएका हुन्छन्, जसलाई प्रभावकारी सम्प्रेषणको तरीका थाहा छ, विषयको ज्ञान छ, तिनीहरू सूचनाप्रविधिको प्रयोग गर्छन्, के–के गर्ने भनेर दिइएको निर्देशन राम्ररी पालन गर्छन् । तिनले कक्षा–समय बाहेक के–के गर्ने भनेर पूरै ढाँचा खडा गरिएको हुन्छ, जस्तै— लंच ड्यूटी, आफ्टर स्कूल ड्यूटी, डेटा कीपिङ, नोटबुक चेकिङ आदि । तर, कक्षामा पढाउन गर्नुपर्ने तयारीका लागि चाहिं उनीहरूलाई न समय दिइएको हुन्छ, न संसाधन । न सीप विकासका लागि तालीम दिइन्छ, न त त्यस्तो तालीममा कतै पठाइन्छ । आफ्नो विषयसँग सम्बन्धित पुस्तक उनीहरूले आफैं किनेर पढ्नुपर्छ, स्कूलको लाइब्रेरीमा त केटाकेटीका पत्रिका, चित्रकथा र किताब मात्र मगाइन्छ । यस स्थितिमा शिक्षकहरू क्रोध, भ्रम र अविश्वासको मानसिकतामा बाँचिरहेका हुन्छन् । शिक्षकका विचार र अनुभवलाई जहाँ उपेक्षा गरिन्छ, त्यहाँ एक प्रकारको रिक्तता र असन्तुष्टि पैदा हुनु स्वाभाविकै हो ।

कति व्यावसायिक ?
शिक्षाविद् प्राध्यापक डेभिड कारले पेशागत शिक्षकका विशेषतालाई पाँच बुँदामा समेटेका छन्ः १. उसले ‘जनता’ लाई सेवा दिन्छ, २. ऊसँग व्यवस्थित सैद्धान्तिक ज्ञान र अभ्यासजन्य अनुभव हुन्छ, ३. उसको कार्य–अभ्यासको विशिष्ट नैतिक आचारसंहिता हुन्छ, ४. नियुक्ति, सेवा–शर्त र अनुशासनका लागि नियम र संगठन हुन्छ, ५. उसलाई वैयक्तिक स्वतन्त्रताका साथै निर्णय गर्ने र त्यसलाई कार्यान्वयन गर्ने अधिकार हुन्छ । यसो विचार गरिहेर्नोस् त, हाम्रा निजी स्कूलका शिक्षकहरूमा यी विशेषता विद्यमान होलान् कि नहोलान् ? स्पष्ट छ, यी विशेषताको सट्टा उनीहरू प्रतिस्पर्धा र आज्ञापालनको घनचक्करमा अलमलिएका हुन्छन्, व्यवस्थापनको नजरमा आफूलाई बढी उपयोगी साबित गर्ने प्रमाण जुटाउन व्यस्त हुन्छन् । विडम्बना के भने, यो नवउदारवादी व्यवस्थामा सबैभन्दा बढी अविश्वास पनि उनीहरूमाथि नै गरिन्छ । जबकि उनीहरूले ‘उच्च दक्षता, न्यून लागत र शून्य मेन्टिनेन्स’ को शर्त पूरा गरिरहेका हुन्छन् । उनीहरूसँग व्यवस्थापनको राजनीतिक, सामाजिक र आर्थिक एजेन्डाप्रति सहमत हुने अपेक्षा गरिन्छ । यस व्यवस्थामा राम्रो शिक्षक त्यसलाई मानिन्छ, जो उपलब्ध गराइएका साधन–सुविधा अन्तर्गत, सबै प्रकारका दबावका बीच विद्यार्थीको ‘उपलब्धि’ का लागि समर्पित हुन्छ । जसले मेशीन जसरी काम त गर्छ, तर विचारवान मानिस जसरी कुनै प्रश्न गर्दैन । जसले स्कूलको विस्तार र आर्थिक लाभमा बफादारीका साथ योगदान पुर्‍याउँछ ।

तर, शिक्षण–कार्य कम्पनीका ग्राहकलाई सन्तुष्ट पार्ने व्यवसाय जस्तो होइन । शिक्षक कुनै सेल्सम्यान होइन, जो व्यवस्थापनले दिएको ‘टार्गेट’ पूरा गर्न बाध्य होस् । यो यस्तो प्रक्रिया हो, जहाँ जीवन्त चेतनाहरू संवाद गर्छन् । जहाँ पाठ्यपुस्तकका पानामा लेखिएका कुरा मात्र पढाइँदैन, तिनको सन्दर्भ, समाज, इतिहास, समस्या र छलफलको सम्मिश्रणद्वारा विषयप्रतिको बोध सृजना गरिन्छ । पहिचान र व्यक्तित्व निर्माण गरिन्छ । शिक्षण स्वयंमा जीवन्त व्यवस्था हो, जसमा शिक्षकले आफूप्रति विश्वास चाहन्छ । आफ्नो सोचाइ र योजनालाई कार्यरूप दिने सुविधा र सहयोग चाहन्छ । सम्मानजनक जीविका चाहन्छ । शिक्षण यान्त्रिक कार्य होइन । यसमा भावनात्मक सहभागिता हुन्छ । शिक्षक–विद्यार्थी, शिक्षक–शिक्षक र शिक्षक–विद्यालयका बीच सौहार्दपूर्ण सकारात्मक सम्बन्ध आवश्यक हुन्छ, जसले स्कूलमा स्वस्थ वातावरण निर्माण गर्छ । शिक्षकहरूले एकअर्कासँग मिलेर सिक्ने–सिकाउने संस्कृतिको निर्माण गर्छन् । एकअर्कालाई अभिप्रेरित गर्छन् । अनुशासन र व्यावसायिकताका नाममा उनीहरूबीचको पारस्परिक सम्बन्धलाई जति उपेक्षा गरिन्छ, कार्यसंस्कृति उति खोक्रो बन्दै जान्छ ।

शिक्षकले के गर्ने, कसरी गर्ने, कहिले गर्ने आदि निर्णय व्यवस्थापन वा अरू कसैले गर्नुको अर्थ शिक्षकको ज्ञान, सृजनात्मकता, सोच्ने विचार गर्ने शक्ति र क्षमताको अवमूल्यन र उपेक्षा गर्नु हो । ऊ संस्थाको आर्थिक आर्जनको उपकरण वा ‘उत्पादक श्रमिक’ होइन, अपितु ज्ञानको संवाहक हो, जो आफ्ना विद्यार्थी र स्वयं आफ्नो सर्र्वाङ्गीण विकासका लागि सचेत रहन्छ । यी कुरा निजी स्कूलको व्यवस्थापनले बुझनु आवश्यक छ, किनभने यसले अन्ततः उसकै स्कूललाई राम्रो बनाउने हो । तर, नाफाको दौडमा होमिएको नवउदारवादी व्यवस्थामा उसले यतातिर ध्यान दिन जरूरी ठान्दैन । फलतः शिक्षा, शिक्षण र शिक्षकको यन्त्रीकरण झन् झन् प्रबल हुँदै जान्छ । चिन्ताको विषय यही हो ।

मिश्र वर्धा (भारत) स्थित महात्मा गान्धी अन्तर्राष्ट्रिय हिन्दी विश्वविद्यालयमा शिक्षाका सहायक प्राध्यापक हुन् ।
साभारः शिक्षा विमर्श, जुलाई–अगस्त २०१८

भाषान्तर/सम्पादनः शरच्चन्द्र वस्ती

commercial commercial commercial commercial