शताब्दी पुरुष सत्यमोहन जोशी एक चिनारी

बालबालिकाका निम्ति विशेष

विक्रम संवत् २०७६ वैशाख ३० गते सय वर्ष उमेर टेकेका एक जना मानिसबारे केही दिनदेखि धेरै कुरा सुन्न र पढ्न पाएका छौं । ती मानिसको नाम हो— सत्यमोहन जोशी । ललितपुरको कृष्णमन्दिरबाट दुई/चार मिनेट हिंडेर पूर्वतिरको गल्ली छिरेपछि सत्यमोहनजीको घर पुगिन्छ । उहाँको टोललाई ‘बखुँवहाल’ भनिन्छ । नेपाल भाषामा ‘बखुँ’ को अर्थ परेवा हुन्छ र सानो खालको बौद्ध विहारलाई ‘वहा’ भनिन्छ । वहालाई नेपालीमा वहाल लेख्ने चलन छ । आजभन्दा सय वर्ष पहिले, १९७७ साल वैशाख ३० गते त्यही ‘वहा’ को एउटा घरमा सत्यमोहन जोशी जन्मिनुभएको थियो ।

त्यसबेला अस्पतालको चलनै नभएकोले आमा नुगल देवीले छोरा सत्यमोहनलाई घरैमा जन्माउनुभयो । बुवा शंखरराजले उहाँलाई त्यहीं हुर्काउनुभयो । सत्यमोहनजी आजसम्म पनि त्यही घरमा बस्नुहुन्छ, जहाँ उहाँ जन्मिनु र हुर्किनुभएको थियो । त्यो घरले ठूला–ठूला तीन वटा भूकम्पहरू बेहोरिसकेको छ । १९९० सालको महाभूकम्पले त्यसका तीनमध्ये माथिका दुई तला भत्काइदियो; पूरै क्षति भने गर्न सकेन । त्यसपछि २०४५ सालको भूकम्पलाई यो घरले यत्तिकै खेपिदियो र २०७२ सालमा मंगलबजारका कैयौं मन्दिरहरू भत्कँदा पनि सत्यमोहन जोशीको घर जस्ताको तस्तै रह्यो । घर मात्रै होइन, जोशीजी पनि तीन वटा भूकम्पपछि समेत जस्ताको तस्तै हुनुहुन्छ । उहाँकी जीवनसँगिनी राधादेवी पनि ९७ वर्ष पुगिसक्नुभएको छ ।

सय वर्ष पुगेका वा नाघेका अरू पनि मानिस नेपालमा हुनुहुन्छ । तर, सत्यमोहन जोशीजी अलिक फरक हुनुहुन्छ । उहाँले देश र समाजको भलो हुने धेरै उत्तम काम गर्नुभएको छ । उहाँले नेपालबारे धेरै अध्ययन गर्नुभएको छ । उहाँलाई धेरै पुराना कुराहरू थाहा छन् । प्राचीन समयमा नेपालीले बनाएका मठ, मन्दिर, कुवा, पाटी एवं विभिन्न सिक्का, रुपैयाँ, पैसा, दामबारे उहाँले प्रशस्त अध्ययन–अनुसन्धान गर्नुभएको छ । उहाँले आफूले खोजेका र बुझेका कुराहरू समेटेर नेपाल र नेपाली भाषामा थुप्रै पुस्तक लेख्नुभएको छ । जोशीजीले नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्‍याएको योगदान तथा उहाँको शिष्ट र शालीन बोली–व्यवहारबाट समाजलाई पुगेको फाइदाको समेत कदर गरेर उहाँलाई सय वर्षयताको उत्तम मान्छे भनेर ‘शताब्दी पुरुष’ को उपाधि दिइएको हो । त्यसलाई अझ् राम्रो पार्दै नेपाल सरकारले उहाँलाई ‘वाङ्मय शताब्दी पुरुष’ भनेर सम्मान गर्‍यो । कथा, कविता, निबन्ध, नाटक आदि विभिन्न प्रकारका साहित्यलाई वाङ्मय भन्ने चलन छ । जोशीजीको गृहनगर ललितपुर महानगरपालिकाले २०७६ सालको पूरै वर्ष विभिन्न कार्यक्रमहरू गरेर उहाँको १००औं जन्मोत्सव मनाउने निधो गरेको छ ।

संस्कृतिको अध्ययन
सत्यमोहन जोशीजीलाई खास गरेर संस्कृतिविद् भनेर चिनिन्छ । हाम्रा पुर्खा बाबुबाजेले परापूर्वकालदेखि बनाएर, जोगाएर राखिदिएका मठ, मन्दिर, पाटी, पौवा, धारा, कुवा, घर, आँगन वा गाउँ–शहरका बारेमा धेरै कुरा जान्ने मान्छेलाई संस्कृतिविद् भनिन्छ । संस्कृतिविद्ले हाम्रो धर्म, कर्म, चित्रकला, गीत, संगीत, नाटकबारे पनि ज्ञान राख्दछन् । त्यस्तै, हाम्रा चाडपर्व र रीतिरिवाजबारे तिनलाई अरूभन्दा बढी थाहा हुन्छ । हाम्रा पुर्खाले छोडिगएका र हामीले सन्ततिलाई बुझाउनुपर्ने यिनै वस्तुलाई हामी हाम्रो सांस्कृतिक सम्पदा भन्दछौं ।

अब, जोशीजी कसरी संस्कृतिविद् बन्नुभयो भन्ने कुरातिर लागौं । सत्यमोहन जोशीजीले विक्रम संवत् १९९७ मा दरबार हाईस्कूलबाट एसएलसी परीक्षा पास गर्नुभयो । त्यसपछि उहाँले त्रिचन्द्र कलेजमा चार वर्ष पढ्नुभयो । २००१ सालमा उहाँले सरकारी जागिर पाउनुभयो । जागिरमा उहाँको मुख्य काम थियो— नेपालका विभिन्न जिल्लामा जाने र त्यहाँका मानिससँग कुराकानी, सोधपुछ गरेर त्यस ठाउँमा के कस्ता उद्योगधन्दा छन्; त्यहाँ के कस्ता वस्तु पाइन्छन्, के कुराको उत्पादन हुन्छ, त्यहाँका मानिस कस्ता छन्, ठाउँ कस्तो छ आदि कुराको विवरण लिएर आउने । त्यतिबेला उहाँको पदलाई ‘इन्डस्ट्रियल सर्भे अफिसर’ अर्थात् औद्योगिक सर्वेक्षण अधिकारी भनिन्थ्यो । औद्योगिक सर्वेक्षणका निम्ति गाउँघरमा घुम्दा त्यहाँ गाइने स्थानीय गीतहरू पनि जोशीजीलाई राम्रा लागेछन् । मेला–पर्वमा खेताला, गोठाला र तन्नेरीहरूले गाउने त्यस्ता गीतलाई त्यतिबेला झयाउरे गीत भनिन्थ्यो । ती रमाइला गीत कसले लेखेका हुन्, कसले लय बाँधेका हुन् भन्ने जानकारी कसैलाई हुँदैन तर सबैले गाउँछन् । रमाउँछन् र नाच्छन् पनि । त्यसबेला कुनै गाउँमा पुग्दा सत्यमोहन जोशीजीले सुनेका र टिपेका गीत यस्ता थिए—

‘चरी बस्यो पीपलको पातैमा, छैन रुमाल के दिने हातैमा’
जोशीजीले यस्ता थुप्रै गीत जम्मा पार्नुभयो र तिनलाई लोकगीत भन्न थाल्नुभयो । तिनको भण्डारलाई लोक संस्कृतिको नाम दिनुभो, मान दिनुभो । यस्तै लोकगीतको सँगालोलाई हाम्रो लोक संस्कृति  भन्ने नाम राखेर उहाँले पुस्तक नै निकालिदिनुभो । त्यहीबेला नेपाली भाषा साहित्यको निम्ति जनरल मदनशमशेरका नाममा ‘मदन पुरस्कार’ दिने चलन शुरू भएको थियो । त्यस समयको सबभन्दा ठूलो पुरस्कार त्यही थियो । अहिले पनि ‘मदन पुरस्कार’ त्यस्तै ठूलो छ । सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति  नामको पुस्तकले २०१३ सालको मदन पुरस्कार भेट्टायो । त्यहाँदेखि सत्यमोहन जोशीजीको नाममा संस्कृतिविद् जोडिन पुग्यो ।

२०१५ सालमा नेपाल सरकारले पुरातत्व र संस्कृति विभाग खोल्ने निधो गर्‍यो । त्यसको डाइरेक्टर अर्थात् निर्देशक कसलाई बनाउने भन्ने कुरा उठ्न थाल्यो । त्यसबेला ‘आफ्नो मान्छे’ भन्दा ‘जान्ने मान्छे’ खोज्ने चलन थियो । संस्कृति जान्ने मान्छे भनेर सत्यमोहन जोशीजीलाई त्यस विभागको डाइरेक्टर पदको जिम्मेवारी दिइयो । अब उहाँको जिम्मामा संस्कृति मात्र हैन पुरातत्व पनि पर्न गयो । पुरातत्व भन्नाले परापूर्वकालमा बनेको वा उपयोगमा आएको महत्वपूर्ण वस्तुको जानकारी पाउने विद्या हो । पुरातत्वको समेत डाइरेक्टर भएपछि जोशीजीले काठमाडौं, घन्टाघरको तल्लो कोठामा रहेको वीर पुस्तकालयमा संग्रहित पुराना ग्रन्थहरूको अध्ययन गर्न थाल्नुभयो । त्यही क्रममा त्यहाँ एउटा गाग्रीमा थन्क्याएर राखिएका पुराना मुद्रा (रुपैयाँ, मोहर, आना, पैसा, दाम आदि सिक्का) मा जोशीजीको ध्यान गयो । तिनको लगत बनाएर अझै गहन अध्ययन गर्नुभयो । त्यसको फलस्वरुप अर्को एउटा ग्रन्थ (किताब) तयार भयोः नेपाली राष्ट्रिय मुद्रा । त्यो पुस्तक पनि निकै राम्रो ठहरियो र त्यसलाई पनि २०१७ सालमा मदन पुरस्कार दिने काम भयो ।

लोकगीतको खोजतलासमा होस् अथवा मुद्राको अध्ययनमा सत्यमोहनजीलाई सिकाउने गुरु कोही पनि थिएनन् । उहाँले आफैंले शोध–खोज र अध्ययन गरेर उच्चस्तरका ती ग्रन्थ तयार गर्नुभएको थियो । तिनको अलावा सत्यमोहनजी कविता, कथा, नाटक आदि साहित्यिक क्षेत्रमा पनि कलम चलाउँदै हुनुहुन्थ्यो । तर २०१७ सालमा प्रजातन्त्र मासेर निर्दलीय पंचायती राज चलाउने बेलामा उहाँलाई सरकारी जागिरबाट निकालियो । उहाँ ढाक्रे बन्न पुग्नुभयो ।


सत्यमोहनजी अत्यन्त सरल जीवन र उच्च विचारको मान्छे हुनुहुन्छ। तडकभडक तथा बडप्पन वा घमण्ड लेस मात्र पनि पाइँदैन उहाँमा। बोलाएको ठाउँमा आफैं हिंडेर पुग्नुहुन्छ। उहाँका आँखा तेजिला, कान तिखा र सम्झना शक्ति अझ ताजा छ।

केही समयपछि जोशीजीलाई एउटा नयाँ काम मिल्यो— चीनमा गएर चिनियाँहरूलाई नेपाली भाषा सिकाउने । त्यो काम रेडियो पेचिङसँग गर्नुपर्ने थियो । त्यस कामको निम्ति उहाँ चीनमा चार वर्ष बस्नुभयो । त्यहाँ उहाँले नेपालकी राजकुमारी भृकुटीको बारेमा धेरै शोध–खोज गर्नुभयो । विशेष गरेर चीनमा भृकुटी मार्फत प्रचार–प्रसार भएको बौद्ध धर्मका बारेमा धेरै नयाँ कुरा पत्ता लगाउनुभयो । भृकुटीको समय भनेको आजभन्दा १४०० वर्ष पहिलेको हो ।

नेपालबाट चीन गएका अर्का महत्वपूर्ण व्यक्ति अरनिको हुन् । उनले नेपाली शैलीको बौद्धविहार, चैत्य आदि निर्माण गरी चीनमा ठूलो नाम कमाएका थिए । उनले निर्माण गरेको श्वेत चैत्य चीन–नेपाल मैत्री सम्बन्धको चिनो हो । त्यो कुरा पनि आजभन्दा ८०० वर्ष पहिले, १३औं शताब्दीको थियो । यसरी चीनमा फैलिएको नेपाली कला र संस्कृतिको अध्ययन गरी सत्यमोहन जोशीजीले त्यसबारेमा नेपाली जनतालाई थुप्रै जानकारी दिनुभयो । राष्ट्रिय विभूति अरनिकोलाई नेपाली समाजमा चिनाउने सबैभन्दा ठूलो श्रेय उहाँलाई नै जान्छ ।

तीन पटक मदन पुरस्कार
चीनबाट नेपाल फर्केपछि २०२६ सालमा सत्यमोहनजीलाई नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा अर्को नयाँ काम मिल्यो । प्रतिष्ठानको सह–सदस्यका रूपमा उहाँले नेपाली संस्कृतिकै सेवा गर्ने योजना बनाउनुभयो । त्यो योजना थियो— कर्णाली लोक संस्कृतिको अध्ययन गर्ने । त्यसबेला कर्णाली अञ्चल सबैभन्दा दुर्गम थियो । हवाई मैदान थिएन । सडक हुने कुरै आएन । नेपालगञ्जबाट हिंडेर १५/१६ दिनपछि मात्र जुम्ला पुगिने बेला थियो । सत्यमोहन जोशीजीले अरू चार जना जाँगरिला युवालाई पनि आफ्नो साथमा लैजानुभयो— कोही भाषाविद्, कोही समाजशास्त्री, कोही भूगोलविद् त कोही संस्कृतिविद् । जोशीजीको त्यो टोलीले कर्णालीको सिंजा खोला वरपरका बासिन्दा, तिनका भेषभूषा, भाषा, कला, संस्कार, संस्कृति आदि विषयमा ५० दिनसम्म अध्ययन गर्‍यो । त्यसबाट कर्णालीको लोक संस्कृतिका पाँच ठेली पुस्तक तयार भए । तिनलाई प्रज्ञा–प्रतिष्ठानले प्रकाशित गर्‍यो । ती पाँचवटै पुस्तकले २०२८ सालमा फेरि मदन पुरस्कार पाए । सत्यमोहन जोशीजीको त्यो तेस्रो मदन पुरस्कार थियो । तीनपल्ट मदन पुरस्कारबाट सम्मानित हुने उहाँ एक्लो व्यक्ति हुनुहुन्छ । उहाँको त्यो ४८ वर्ष पहिलेको रेकर्ड आजसम्म पनि तोडिएको छैन ।

मदन पुरस्कार बाहेक अरू अनगिन्ती पुरस्कार पाइसक्नुभएका सत्यमोहन जोशीजीले नेपाली एवं नेपाल भाषामा १०० भन्दा बढी पुस्तक–पुस्तिका र लेख रचनाहरू प्रकाशित गरिसक्नुभएको छ । यसरी आफ्नो अथक् खोज र लेखन मार्फत उहाँले नेपाल र नेपाली समाजलाई धेरै गुन लगाउनुभएको छ । त्यही गुनका कारण उहाँलाई विभिन्न संघसंस्था, विद्यालय, महाविद्यालय आदिबाट विशेष सम्मान मिल्ने गरेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले उहाँलाई आजीवन प्राज्ञ सदस्यको उपाधि दिएको छ । उहाँले वि.सं. २०२६ देखि २०३६ सम्म १० वर्ष त्यहाँ बसेर थुप्रै काम गर्नुभएको थियो । पाँच वर्ष त सदस्यसचिवको पदमा पनि हुनुहुन्थ्यो । नेपाल भाषा एकेडेमीको उहाँ चान्सलर (कुलपति) नै हुनुभएको थियो । यस्तै, काठमाडौं विश्वविद्यालयले उहाँलाई २०६८ सालमा मानार्थ महाविद्यावारिधि (डाक्टर अफ लिटरेचर) को उपाधि प्रदान गरेर सम्मान दियो । यस्ता मानसम्मान, तक्मा, पदक, पुरस्कार, उपहार उहाँका घरभरि छरपस्ट छन् । शायद त्यसको हिसाब राखिएको छैन ।

त्यो पीपलको बोट
हालै, २०७५ साल फागुन ११ गते सत्यमोहन जोशीको घरप्राङ्गणमा केशरबहादुर आचार्य का सम्झ्नाहरू नामक पुस्तक विमोचन हुने कार्यक्रम थियो । केशरबहादुर उहाँसँगै पढेका, सँगै जागिर खाएका दौंतरी थिए । त्यो कार्यक्रममा म पनि सरिक थिएँ । उहाँको घरछेउमा पीपलको बोट छ । मैले २०५८ सालमा उहाँलाई उपहार दिएको पीपलको सानो बेर्ना अहिले निकै ठूलो भएछ । (हे. तस्वीर) निकै राम्रो स्याहारसुसार पाएछ । त्यो पीपल लुम्बिनीको मायादेवी मन्दिरमा उम्रेको ठूलो पीपल बोटको अवशेष हो । मायादेवीको पुरानो मन्दिर खनेर त्यसभित्र के–के पुरातात्वक सामग्री छ भनेर खोज्ने क्रममा पीपलको त्यो बोट काटियो । काठपात लुछाचुँडी भए । रूख मासियो । एक जना स्थानीय सविर खाँ नामका बगैंचेले केही हाँगा बचाएर जमीनमा रोपेका रहेछन् । त्यहीमध्ये एक टुक्रा काठमाडौंमा ल्याएर तन्तु प्रविधि (Tissue Culture) बाट हजारौं बिरुवा उत्पादन गर्ने काम भयो । वि.सं. २०५८ को वैशाख पूर्णिमाका दिन (२४ गते) लुम्बिनीका सबै मन्दिर, गुम्बा, चैत्य तथा होटलहरूमा हामीले त्यो पीपलका सयौं बिरुवा वितरण गर्‍यौं । लुम्बिनी विकास कोषका तत्कालीन अध्यक्ष ओमकारप्रसाद गौचनको हातमा १०० वटा बेर्ना उपहार चढायौं । काठमाडौंमा पनि धेरैले आफ्नो बारीमा रोप्न लगे । तीमध्येको एउटा बोट सत्यमोहन जोशीजीको प्राङ्गणमा देख्दा ज्यादै खुशी लाग्यो । त्यही प्राङ्गणमा मायादेवीको लुम्बिनी प्रतिमूर्ति पनि देख्दा झ्नै प्रसन्न भएँ । आजभन्दा १८ वर्ष पहिले मैले प्रदान गरेको पीपलबोटका चिल्ला पालुवाहरू सत्यमोहन जोशीजीको चिरायुमा चम्कँदो छ ।

बौद्ध संस्कृतिका विद्वानको घरमा गौतम बुद्धकी माता मायादेवी तथा मायादेवी मन्दिरको मौलिक पीपलको बोट निश्चय नै महत्वपूर्ण हुन्छ । यही २०७६ वैशाख २५ गते बिहान ८ बजे सत्यमोहन दाइसँग फोनमा कुरा भयो । उहाँ प्रत्येक बिहानी मायादेवीको मूर्ति र मायादेवी पीपलबोटलाई पूजा गर्नुहुँदोरहेछ । यस्तै अर्को पीपलबोट र मायादेवीको मूर्ति कीर्तिपुरस्थित नेपाल भाषा एकेडेमी परिसरमा पनि रहेको जानकारी पाइयो । त्यस एकेडेमीलाई कीर्तिपुरमा प्रतिस्थापन गर्ने श्रेय पनि सत्यमोहनजीलाई नै जान्छ ।

एउटा सरल मान्छे
मान्छेको रूपमा सत्यमोहनजी कस्तो मान्छे भन्ने विचार गरौं । उहाँ अत्यन्त सरल जीवन र उच्च विचारको मान्छे हुनुहुन्छ । तडकभडक तथा बडप्पन वा घमण्ड लेस मात्र पनि पाइँदैन उहाँमा । बोलाएको ठाउँमा सजिलै जानुहुन्छ । कसैले ल्याउनु–पुर्‍याउनु पर्दैन । आफैं हिंडेर पुग्नुहुन्छ । १०० वर्ष पुग्दा पनि उहाँले लठ्ठी टेक्नु परेको छैन । ठम्ठम् हिंड्न सक्नुहुन्छ । ‘जब पुग्यो ६० हातमा लाठी’ भन्ने पुरानो उखान उहाँको जीवनमा मेल खाएन । उहाँ चश्मा पनि लगाउनुहुन्न । उहाँका आँखा तेजिला, कान तिखा र सम्झ्ना शक्ति अझ् ताजा छ । १०० वर्षका पुराना सम्झ्नाहरू आजका कुरासँग सजिलै जोड्नुहुन्छ । अनि भोलिका दिनमा के गर्नुपर्छ भन्ने सुझव दिनुहुन्छ । बोल्दा स्वर स्पष्ट छ । कतै लर्खराउँदैन । गाला पुुष्टै छन् । दाँतका लहर खोलेरै हाँस्नुहुन्छ । शिरमा सधैं टोपी लगाएरै हिंड्नुहुन्छ । दौरा, सुरुवाल र कोटको पहिरनमा बाहिर निस्कनुहुन्छ । त्यसभन्दा ठूलो कुरा उहाँको जाँगर हो । हत्तपत्त थाक्ने हैन । १०० वर्षको उमेरमा यस्तो ज्यान धेरैले पाउँदैनन् । हामी भाग्यमानी छौं । यस्तो सज्जन, गुणी र उत्तम मान्छे हामीले पाएका छौं ।

 यही २०७६ वैशाख ३० गतेबाट सत्यमोहनजीको जन्म शताब्दी वर्ष शुरू भएको छ । यस अवसरमा, हामी सबै मिलेर उहाँको सुस्वास्थ्य र चिरायुको कामना गरौं । वाङ्मय शताब्दी पुरुष प्राज्ञ डा. सत्यमोहन जोशीज्यूलाई सुस्वास्थ्य र सुखी जीवनको मंगलमय कामना !

तस्वीरः  मीनरत्न बज्राचार्य

शिक्षक  मासिक, २०७६ जेठ अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial