जब शिक्षक–तयारी नै कमजोर हुन्छ. . . !

सँगैको लेखाइ, त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायतर्फ स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीको हो । जबकि, आधारभूत तह (कक्षा ६–८) को अंग्रेजी पाठ्यक्रममै ‘विद्यार्थीले व्याकरण मिलाएर वाक्य संरचना गर्न सक्ने सीप हासिल गरेको हुनुपर्ने’ उल्लेख छ । हाम्रो आशय शिक्षाशास्त्र संकायमा सबै विद्यार्थीको अंग्रेजी लेखाइको स्तर नमूनामा देखाइए जस्तै छ भन्ने होइन । तर पनि, हामीले भेट्टाएको यो कापीले एउटा प्रश्न उब्जाएको छ— यो स्तरका विद्यार्थी कसरी स्नातकोत्तर तहसम्म पुगे होलान् ?

त्रिवि शिक्षाशास्त्र संकायले शैक्षिक गुणस्तर र गुणस्तरीय उत्पादनमा जोड दिंदै स्नातकोत्तर तहमा भर्नाका लागि प्रवेश परीक्षा लिने गरेको छ । यस्तै, सेमेस्टर प्रणाली पनि शुरू गरेको छ । यो प्रणालीमा विद्यार्थीको ८० प्रतिशत हाजिरी चाहिन्छ । उनीहरूको मूल्याङ्कन ४० प्रतिशत आन्तरिक र ६० प्रतिशत अन्तिम परीक्षाबाट गरिन्छ ।

तर, प्रणालीगत हिसाबले सबै राम्रो देखिए पनि व्यवहार भने निराशाजनक पाइन्छ । शिक्षा संकायले भर्नाका लागि प्रवेश परीक्षा त लिन्छ, तर वस्तुगत प्रश्न मात्र सोधिने यस्तो परीक्षामा ५ नम्बर भन्दा कम ल्याउनेलाई पनि भर्ना लिने गरेको बताइन्छ । सो संकायका डीन प्रा.डा. कृष्णप्रसाद गौतम पनि आफ्नो भर्ना प्रक्रियाको प्रतिरक्षा त गर्छन्, तर विवशता सहित । उनी भन्छन्, “प्रवेश परीक्षामा न्यूनतम ३५ अंक ल्याउनेले मात्र भर्ना पाउँछन् । प्रवेश परीक्षाको नतिजा हामी मेरिट लिस्टमा निकाल्छौं ।” तर शिक्षाशास्त्र संकायकै वेबसाइटमा राखिएको सूचीमा विद्यार्थीको नाम मात्र हुन्छ नि ? भन्दा उनको जवाफ थियो, “कोटाभन्दा कम विद्यार्थी स्ांख्या भएका क्याम्पसमा त्यस्तो भएको होला ।”

काठमाडौं विश्वविद्यालयमा भने शिक्षाशास्त्रतर्फ स्नातकोत्तर तहमा भर्ना हुन स्नातक तहमा न्यूनतम दोस्रो श्रेणी ल्याएको हुनुपर्छ । यहाँ अत्यन्तै कमजोर स्तरका विद्यार्थीलाई भर्ना लिइँदैन । प्रवेश परीक्षामा नाम निकाल्न नसक्ने विद्यार्थीलाई भर्ना नगरौं भनेर शिक्षाशास्त्र संकायका केही उपप्राध्यापक, सहप्राध्यापकले डीन प्रा.डा. गौतमसँग कुरा राख्दा यो विषयलाई गम्भीरतापूर्वक नलिइएको बताउँछन् । तर डीन गौतम भन्छन्, “मकहाँ आएर कसैले पनि प्रवेश परीक्षामा नाम निकाल्न नसक्नेलाई भर्ना नगरौं भनेको छैन ।”

यस्तै, आन्तरिक मूल्याङ्कनमा कतिले विद्यार्थीलाई उपहारस्वरुप अंक प्रदान गर्ने गरेको एक उपप्राध्यापक बताउँछन् । ती उपप्राध्यापक भन्छन्, “जति पाउनुपर्ने हो त्यति अंक दिंदा, ‘फलानो सरले त यति दिनुभएको छ’ भन्दै विद्यार्थी कराउन आउँछन् । विद्यार्थीका संघ–संगठन पनि दबाब दिन्छन् । ८० प्रतिशत हाजिरी नपुग्ने विद्यार्थीका लागि हाजिरी मिलाइदिन पनि यस्तै खाले दबाब आउँछ । यस्तोमा सेमेस्टर प्रणालीको नाटक किन गर्नु परेको हो ?”

कक्षा ७ को उत्तरपुस्तिका, वि.सं. २०७४ ।

शिक्षाशास्त्र त्रिविको सबभन्दा ठूलो संकाय हो । यसअन्तर्गत २६ आंगिक र ५९० सम्बन्धन प्राप्त क्याम्पस छन् । यो संकायको मुख्य उद्देश्य राम्रा शिक्षक उत्पादन गर्ने हो । तर एमएड तहका विद्यार्थीमा देखिने कमजोर शैक्षिक अवस्था थालनी यसको मुहान अर्थात् तल्लो तहदेखि नै जोडिन्छ । कक्षा–११ र १२ मा ‘डी प्लस’ ल्याएका विद्यार्थी समेत यो संकायको स्नातक तहमा भर्ना हुन पाउँछन् । यसैगरी, कक्षा–१० को परीक्षा (एसईई) मा कमजोर ग्रेड आएका विद्यार्थी शिक्षातर्फ भर्ना गरिन्छन् । शिक्षाशास्त्र डीन गौतम शिक्षा मन्त्रालयप्रति गुनासो गर्दै भन्छन्, “कक्षा–११ मा नै कमजोरलाई भर्ना गरेपछि उच्च तहमा राम्रा कसरी आउँछन् ?” तल्लो तहदेखि नै सिकाइ स्तर बढाउन कसैले पनि कुनै प्रयास गरेको भने पाइँदैन ।

कमजोर सिकाइ स्तर भएका विद्यार्थीलाई सुधारात्मक शिक्षणको व्यवस्था गर्दै उसको स्तर उकास्न सहयोग गर्न आधारभूत तहदेखि नै ‘क्यास’ अर्थात् निरन्तर विद्यार्थी मूल्याङ्कनको पद्धति पनि अपनाइएको छ । ‘क्यास’ को मुख्य उद्देश्य कमजोरी सहित माथिल्लो कक्षामा विद्यार्थी नजाउन् भन्ने हो । तर यो पद्धतिलाई पनि विद्यार्थी फेल नगराउने नीतिका रूपमा व्याख्या गरेर असफल जस्तै तुल्याइएको छ ।

क्यासको अभ्यास र अवस्था बुझन हामीले केही वर्षअघि काठमाडौं, ललितपुर र रसुवाका पाँचवटा सामुदायिक विद्यालयका कक्षा–४, ५, ६ र ७ का विद्यार्थीको वार्षिक परीक्षाको उत्तरपुस्तिका हेरेका थियौं । २०७३ चैतमा सम्पन्न वार्षिक परीक्षाका उत्तरपुस्तिका हेर्दा कमजोर सिकाइ स्तर भएका विद्यार्थीको स्तर चिन्ताजनक पाइएको थियो । नेपाली र अंग्रेजीमा आफ्नो नाम समेत लेख्न नसक्ने विद्यार्थी पनि कक्षा–७ थिए ।

त्यस्तै, उत्तरपुस्तिका जँचाइमा पनि साह्रै लापरवाही भेटिएको थियो । कतै गल्ती उत्तरमा अंक दिइएको थियो । कतै फरक–फरक लेखाइ स्तर भएका विद्यार्थीलाई समान अंक दिइएको थियो । यस्ता केही उत्तरपुस्तिका हेर्दा शिक्षकको क्षमतामाथि प्रश्न गर्न सकिने ठाउँ थियो । (हे. शिक्षक, भदौ २०७४) धनुषाका केही विद्यालयका विद्यार्थीको सिकाइ स्तर हेर्दा पनि यस्तै अवस्था पाइएको थियो ।

विद्यालय तहको कमजोर सिकाइ स्तरको दोष खाली बालबालिका र तिनका अभिभावकलाई दिने गरिन्छ । तर बालबालिकाको सिकाइ क्षमता र विद्यालयमा नियमित उपस्थिति, तिनका अभिभावकको सामाजिक–आर्थिक अवस्था, योग्य शिक्षक, विषयगत शिक्षकको उपलब्धता, सिकाइको माध्यम भाषा, कक्षाकोठा र विद्यालयको वातावरण जस्ता पक्षहरूले विद्यार्थीको सिकाइ स्तरमा प्रभाव पारिरहेको हुन्छ । तर, जब शिक्षक नै कमजोर हुन्छन्, त्यतिबेला सबै पक्ष र प्रयत्नहरू असफल हुन पुग्छन् ।

शिक्षक  मासिक, २०७६ असार अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial