देवी मावि, बिर्तामोडः यसरी कमाउँदैछ हजारौंको हाईहाई !

यो विद्यालय अंग्रेजी माध्यममा कक्षा चलाएर लोकप्रिय भएको होइन। मूलतः नेपाली माध्यमबाटै पठनपाठन संचालन गर्दै आएको यस विद्यालयमा अंग्रेजी माध्यमको अभ्यास बल्ल शुरू गरिएको छ।

झापाको बिर्तामोड नगरपालिका–५ मा अवस्थित देवी मावि त्यस्तो सामुदायिक विद्यालय हो, जहाँ एक किलोमिटर वरपरका सात वटा निजी स्कूलहरूमा भन्दा बढी विद्यार्थी तानिएका छन् । यहाँ भर्ना हुन आउने विद्यार्थीको चाप थेगिनसक्नु छ ।

कक्षा–१२ सम्म पढाइ हुने यस विद्यालयमा गत शैक्षिक सत्रमा ४१०० जना विद्यार्थी थिए । यस वर्ष जेठ महीनाको मध्यसम्ममा ४००० विद्यार्थी भर्ना भइसकेका थिए । भर्नाका लागि थप विद्यार्थी आउने क्रम जारी थियो । कक्षा–११/१२ मा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकाय चलिरहेको यस विद्यालयमा दुवै कक्षामा गरी व्यवस्थापन संकायका १२ र विज्ञानका १० सेक्सन छन् । कम विद्यार्थी भएका शिक्षा र मानविकी संकायमा पनि क्रमशः ७ र ५ सेक्सन चलिरहेका छन् । चालु शैक्षिक सत्रमा कक्षा–११ र १२ मा २२०० र बाल कक्षादेखि १० सम्म १८०० विद्यार्थी भर्ना भएको देखिन्छ ।

यो समाचार संकलनका लागि कुराकानी भइरहँदा पनि ठाउँठाउँका अभिभावकहरू आफ्ना छोराछोरी भर्ना गरिदिन यस विद्यालयकी प्रधानाध्यापक अम्बिका श्रेष्ठसँग आग्रह गर्न तारन्तार आइरहेका थिए । आफ्नो संरक्षणमा रहेका आमाबाबुविहीन दुई बालबालिका भर्ना गरिदिने अनुरोध लिएर बिर्तामोड वडा–१ बाट आएकी तुलसा मैनाली तीमध्येकी एक सौभाग्यशाली अभिभावक थिइन्, जसले प्रअ श्रेष्ठबाट सकारात्मक प्रतिक्रिया पाइन् । आफ्नो नेतृत्वमा चलिरहेको सामुदायिक विद्यालय त्यसरी आकर्षणको केन्द्र बनेको देख्दा प्रअ श्रेष्ठ पनि निकै सन्तुष्ट देखिन्छिन् ।

अहिले यस विद्यालयका ५० वटा कोठामा दैनिक कक्षा संचालन हुन्छन् । कक्षा–११ र १२ बिहानमा र त्यसमुनिका सबै कक्षाहरू दिउँसोमा संचालन हुने गरी दुई सत्रमा व्यवस्थित गर्दा पनि विद्यार्थीको बढ्दो चाप थेग्न गाह्रो भएपछि विद्यालयले नयाँ भवन निर्माण गरिरहेको छ । यति धेरै विद्यार्थी र अभिभावकले देवी मावि नै किन रोज्छन् त ? प्रअ श्रेष्ठ भन्छिन्, “व्यवसाय, जागिर तथा विभिन्न प्रयोजनले डेरामा बस्नेहरूका लागि यो विद्यालय पायक पर्छ । मध्य शहरको विद्यालयमा छोराछोरी पढाउन पाउँदा निम्न आय र मध्यम वर्गका दुवैथरी अभिभावकलाई सजिलो हुन्छ । राम्रो पठनपाठनका कारण उहाँहरूलाई सन्तुष्ट पार्न सकेकै कारण हामीले सबैतिरबाट विश्वास जितेका हौं ।” राष्ट्रिय सार्वजनिक विदाका दिन र काबु बाहिरको असामान्य परिस्थिति आउँदा बाहेकका अन्य कुनै पनि निहुँमा सितिमिति बन्द नहुने यस विद्यालयको वातावरण पनि शान्त र हरियालीयुक्त छ ।

देवी माविको विज्ञान प्रयोगशाला ।

हरेक वर्षको नयाँ शैक्षिक सत्र शुरू हुनुभन्दा एक महीना अघिदेखि नै अन्यत्रबाट देवी माविमा स्थानान्तरण हुन चाहने विद्यार्थी र तिनका अभिभावकले चासो राख्न थाल्छन् । वैशाख महीनामा चल्ने भर्ना अभियानका बेला ओइरिएर आउने विद्यार्थीसँगै सम्बन्धित अभिभावकलाई समेत प्रतिबद्धता पत्रमा हस्ताक्षर गराइन्छ । यो एक प्रकारको शपथ नै हो । “बालबालिकालाई नियमित विद्यालय पठाउने, अभिभावक भेला तथा विद्यालयले बोलाएको समयमा अनिवार्य उपस्थित हुने, विद्यालयले तोकेभन्दा फरक ढाँचाको कपाल र पोशाकमा विद्यार्थी नपठाउने, अनुशासन कायम गर्ने जस्ता विषयमा अभिभावक र विद्यार्थीलाई प्रतिबद्धता गराएका हुन्छौं”, प्रअ श्रेष्ठले भनिन् । उनले बताए अनुसार यी प्रतिबद्धता पालना नभएको पाइएमा अभिभावकलाई तत्काल फोन गरेर सम्झाउने गरिएको छ । अभिभावकहरू विद्यालय आएका बेला विद्यार्थीलाई पनि सँगै राखेर अन्तरक्रिया र शैक्षिक सूचना आदानप्रदान गरी कुनै कमजोरी देखिए तुरून्तै सच्याउने गरिएको छ ।

नमूना नेतृत्व र सामूहिक जिम्मेवारी
जिम्मेवारी बाँडफाँड र कार्य विभाजनको समन्वयले पनि विद्यालयको प्रशासनिक कामलाई व्यवस्थित बनाएको छ । शैक्षिक गतिविधि प्रअको नेतृत्वमा छ । स्रोत जुटाउने र पूर्वाधार बनाउने काममा व्यवस्थापन समिति सक्रिय छ । समितिले बनाएका योजनाहरू कार्यान्वयनमा शिक्षक–अभिभावक संघले सघाउँछ । यसरी कार्यविभाजन गर्दा बोझ् कसैलाई नभएको र सबैको सहभागिता पनि प्रभावकारी भएको शिक्षक अभिभावक संघका अध्यक्ष गणेश तामाङको अनुभव छ । विद्यार्थीको सिकाइ र अनुशासनलाई सुदृढ बनाउन शिक्षकहरू निष्फिक्री लागिपरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानुराम प्रसाई भन्छन्, “गुणस्तर सुधारका लागि के गर्नुपर्छ त्यसमा प्रअ र शिक्षकहरू नै विज्ञ भएकाले हामीले केही सिकाउनै पर्दैन । पूर्वाधार के कस्तो चाहिन्छ त्यसको व्यवस्थापनमा खट्नु हाम्रो काम भएकाले उहाँहरूले त्यतातिरको तनाव लिनै पर्दैन ।”

अभिभावकलाई विद्यालयसँग प्रत्यक्ष जोड्न असोज र पुस महीनामा बृहत् अभिभावक भेला हुन्छ । कक्षागत अभिभावक भेला भने हरेक महीनाजसो हुने गरेका छन् । आफ्ना बालबालिकाको शैक्षिक अवस्थाबारे नियमित जानकारी पाउँदा उनीहरूमा पनि अभिभावकीय जिम्मेवारी बढेको पाइएको छ । यहाँका शिक्षकहरूलाई विभिन्न १७ विभाग र समिति बनाएर विषयगत जिम्मेवारी दिइएको छ । “प्रअ एक्लैले विद्यालय सुधार गर्न सक्दैन, विश्वासपूर्वक जिम्मेवारी दिइयो भने सबैको अपनत्व पनि बढ्छ” प्रअ श्रेष्ठले भनिन्, “विद्यालय आफ्नै हो भन्ने भावना सबैमा महसूस गराउन सकियो भने प्रअलाई समन्वय र नियमन गर्न पनि सजिलो हुँदोरहेछ ।”

विद्यार्थीमा समेत नेतृत्व क्षमताको विकास गर्न हरेक कक्षा र सदन (हाउस) मा उनीहरू बीचबाट नेता (मोनिटर) छानेर जिम्मेवारी दिई कार्यशैलीको नियमित अनुगमन गर्ने गरिएको छ । प्रत्येक कक्षाकोठामा हाजिरी गर्ने काम पनि मोनिटरले नै गर्छन् ।

फरक बनाउने शैक्षिक अभ्यास
पढाइको गुणस्तरका कारण विद्यार्थीको बढ्दो आकर्षणलाई टिकाइराख्न विद्यालयले केही अभ्यासहरू गर्दै आएको छ । शैक्षिक गुणस्तर कायम राख्न विद्यालयले नियमित र आवधिक परीक्षाको व्यवस्था गरेको छ जसअनुसार प्रत्येक महीना परीक्षा लिइन्छ । यस्तै, त्रैमासिक परीक्षाको लब्धाङ्कपत्र अभिभावकलाई विद्यालयमा बोलाएर दिइन्छ । नआउने अभिभावकलाई फोन गरेर जानकारी गराइन्छ । अघिल्लो वर्ष विद्यार्थीले ८ वटा परीक्षा दिएका थिए । तर परीक्षाको चाप बढी भएकाले यस वर्ष त्रैमासिक परीक्षाको महीनामा मासिक परीक्षा थप नगर्ने गरी ६ वटा परीक्षा लिने विद्यालयको योजना छ । पाठ्यक्रम अनुसारका शैक्षिक सामग्रीको प्रयोगलाई अनिवार्य बनाउन प्रत्येक कक्षाकोठामा राखिएका दराज आवश्यक शैक्षिक सामग्रीले भरिभराउ देखिन्छन् । सरसफाइका लागि प्रत्येक कोठामा ‘डष्टबिन’ राखिएको छ । विद्यार्थीमा फोहोर जथाभावी नफ्याँक्ने व्यवहारले बानीको रूप लिइसकेकाले सरसफाइका लागि टाउको दुखाइरहनुपर्ने समस्या छैन ।
यहाँका सबै शिक्षकलाई विभागीय समितिको जिम्मेवारी दिइएका कारण उनीहरू १०–४ बजेसम्मको शिक्षणमा मात्र सीमित छैनन् । तोकिएको जिम्मेवारी पूरा गर्न कहिले बिहान ९ बजे नै आउने र कहिले साँझ् ६ बजेसम्म बसेर काम गर्ने गरेको शिक्षक भुपेश मर्डी बताउँछन् । मिहिनेत अनुसारको प्रतिफल समेत पाएकाले थप समय काम गर्नुपर्दा पनि कुनै बोझ् महसूस नभएको उनको अनुभव छ ।


“गुणस्तर सुधारका लागि प्रअ र शिक्षकहरू नै विज्ञ भएकाले हामीले केही सिकाउनै पर्दैन। पूर्वाधार व्यवस्थापनमा खट्नु हाम्रो काम भएकाले उहाँहरूले त्यतातिरको तनाव लिनै पर्दैन।” - ज्ञानुराम प्रसाईं , विव्यस अध्यक्ष

विद्यार्थीलाई प्रयोगात्मक ज्ञान सिकाउन ३५ वटा कम्प्युटर सहितको कक्षा छ । विज्ञान विषयमा लागि बायोलोजी, केमेष्ट्री तथा फिजिक्सका अलग अलग प्रयोगशाला छन् । पुस्तकालयमा कक्षा–११ र १२ का सबै विद्यार्थीलाई अध्ययन गर्न पुग्ने संख्यामा सम्पूर्ण विषयका पुस्तकहरू उपलब्ध छन् । यो विद्यालय अंग्रेजी माध्यमबाट कक्षा चलाएर लोकप्रिय भएको होइन । अहिलेसम्म नेपाली माध्यमबाटै पठनपाठन संचालन गर्दै आएको यस विद्यालयमा अंग्रेजी माध्यमको अभ्यास चाहिं भर्खरै शुरू गरिएको छ । बालकक्षादेखि कक्षा–२ सम्म र कक्षा–९ र १० मा नेपाली र अंग्रेजी दुवै माध्यमबाट पढाइ हुन्छ । अरू कक्षा नेपाली माध्यममै चलेका छन् ।
यस विद्यालयको शैक्षिक नतिजा पहिले अङ्कभार अनुसार मूल्याङ्कन हुँदा विज्ञान संकायका ८० प्रतिशत भन्दा बढी र अन्य संकायका करीब ७० प्रतिशत विद्यार्थीले कक्षा–११ र १२ को परीक्षा राम्रो अङ्कका साथ उत्तीर्ण गर्दथे । ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक हुन थालेपछि उत्तीर्ण–अनुत्तीर्णको भेद बाँकी नरहे पनि विद्यार्थीहरूको नतिजामा उत्कृष्टता कायम रहेको प्रअ श्रेष्ठले बताइन् । गुणस्तर कायम गराउनकै लागि कक्षा–१ र ६ मा भने विशेष परीक्षा लिने प्रचलन छ । शुरूआती कक्षामा जग राम्रो बनाउन र कक्षा–६ मा स्तर कायम राख्न नियमित परीक्षाका अतिरिक्त विशेष परीक्षा लिने गरिएको हो । यहाँ विद्यार्थीको स्तर अनुसार विषयगत शिक्षकहरूबाट गुणस्तर सुधारको योजना माग गर्ने, कार्यान्वयन गर्न लगाउने र प्रअबाट अनुगमन गर्ने प्रणाली बसालिएको छ ।

विद्यार्थीका नजरमा निजी भन्दा प्रिय
प्रज्ज्वल संग्रौला देवी माविका कक्षा–१० का छात्र हुन् । विद्यालयका क्याप्टेन समेत रहेका उनी कक्षा–६ सम्म बोर्डिङ स्कूल पढेर यहाँ आएका थिए । उनले निजी स्कूल र देवी माविमा पढ्दाको फरक सुनाउँदै भने, “बोर्डिङमा टिचरहरूले जो जान्ने छ उसलाई मात्र बढी ध्यान दिंदा नजान्ने झ्न् नजान्ने र जान्ने झ्न् जान्ने हुन्थे । तर यहाँका टीचरहरूले नजान्नेलाई बढी समय दिएर पनि जान्ने बनाउनुहुन्छ ।” सदन विभाजन, क्याप्टेन चयन, रेडक्रस तथा स्काउटका गतिविधि, भित्तेपत्रिका प्रकाशन जस्ता कार्यमा सहभागी भएर यस विद्यालयमा नेतृत्व विकासको अवसर पनि पाएको उनले सुनाए ।

यहाँ कक्षामा शैक्षिक सामग्रीको प्रयोगलाई अनिवार्य गरिएको छ। प्रत्येक कक्षाकोठामा राखिएका दराज शैक्षिक सामग्रीले भरिभराउ देखिन्छन्। विद्यार्थीमा फोहोर जथाभावी नफ्याँक्ने व्यवहारले बानीको रुप लिइसकेकाले सरसफाइका लागि टाउको दुखाइरहनुपर्ने समस्या छैन।

कक्षा–८ सम्म बोर्डिङ स्कूल पढेकी इलाम गोदककी आयुसा मगर पनि झपा आएपछि देवी माविमै भर्ना भइन् । बोर्डिङ पढ्दा किताबमा बढी केन्द्रित हुनु परेकोमा यहाँ अरू क्रियाकलापमा पनि सहभागी हुन पाएको उनको अनुभव छ । यस्तै, कक्षा–८ सम्म बोर्डिङ नै पढेर यहाँ भर्ना भएकी नेहा सुन्दास पनि यस विद्यालयमा आएपछि पहिले भन्दा ज्यादा खुशी छिन् । शिक्षकहरूको प्रोत्साहनका कारण हरेकजसो अतिरिक्त क्रियाकलापमा उनी नाच्न अग्रसर हुन्छिन् । पढाएको विषय नजान्दा पनि नपिट्ने, गाली नगर्ने बरू सजिलो तरिकाले बुझएर सिकाउने यहाँका शिक्षकहरूको शैलीले उनलाई विद्यालय आउन रमाइलो लाग्ने भएको छ । देवी माविका धेरै विद्यार्थी उनी जस्तै बोर्डिङ स्कूल छाडेर आउनेहरू छन् ।

यहाँ कक्षा–९ तथा ११ मा भर्ना हुन महँगा बोर्डिङ स्कूल छोडेर पनि विद्यार्थी आउने गरेका छन् । यिनै दुई वटा कक्षामा भर्ना हुन विद्यालयको क्षमता भन्दा तीन गुणासम्मले आवेदन दिने गरेका छन्, जसमध्ये एकतिहाइले मात्र पढ्ने अवसर पाउँछन् । विव्यस अध्यक्ष ज्ञानुराम प्रसाईका अनुसार रोजगारी, सरकारी सेवामा आरक्षण, उच्च अध्ययनको अवसर लगायतका सुविधामा सामुदायिक विद्यालयबाट उत्तीर्णले प्राथमिकता पाउने भएकाले पनि धेरै अभिभावकले सामुदायिकमध्येको उत्कृष्ट यस विद्यालयमा छोराछोरी ल्याउने गरेका हुन् । छनोटको प्रतिस्पर्धामा निजी विद्यालयबाट आएका विद्यार्थीको कारण दुर्गम क्षेत्र र सामुदायिक विद्यालयका विद्यार्थीलाई भर्नाको अवसरबाट वञ्चित हुन नपरोस् भनी उनीहरूका लागि ग्रेस मार्कको समेत व्यवस्था गरेर अवसर दिने गरिएको अध्यक्ष प्रसाईले बताए ।

निजी स्रोतमा १०४ शिक्षक
चार हजार भन्दा बढी विद्यार्थी संख्या भएर पनि त्यसको अनुपातमा सरकारले पर्याप्त शिक्षक दरबन्दी नदिनु देवी माविको सबैभन्दा ठूलो चुनौती भएको विद्यालय प्रशासनको भनाइ छ । यहाँ कक्षा–११ र १२ का २२०० विद्यार्थीको लागि सरकारले दुई जना शिक्षकको पारिश्रमिकलाई मात्र अनुदान दिएको छ । यसैगरी मावि तहमा दुई स्थायी र तीन राहत, निमाविमा तीन अस्थायी र ६ राहत तथा प्राविमा २६ स्थायी र २ राहत गरी सरकारले खटाएका शिक्षक ४२ जना छन् । यो जनशक्ति विद्यालयको आवश्यकताको एक चौथाइ मात्र हो ।

कक्षा–११ र १२ का लागि मात्र ८५ जना शिक्षक र ४ कर्मचारी विद्यालयले निजी स्रोतमा नियुक्त गरेको छ । कक्षा–१० सम्मका लागि पनि सात शिक्षक र आठ कर्मचारी निजी स्रोतबाट राखिएका छन् । विद्यालयको आम्दानीको दिगो स्रोत नभएका कारण निजी स्रोतबाट यति धेरै जनशक्ति परिचालन गर्ने काम निकै चुनौतीपूर्ण भएको  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रसाई बताउँछन् । तर १५ वटा पसल कवलको भाडा, वडा, नगरपालिका तथा अन्य निकायबाट प्राप्त सहयोग र कक्षा ११–१२ को ट्यूसन शुल्क बापत संकलित रकमबाट जनशक्ति व्यवस्थापन गरिएको उनले बताए ।


जसले चुनौतीलाई साथी बनाइन् ।

२०५३ सालदेखि शिक्षण शुरू गरेकी प्रअ अम्बिका श्रेष्ठ २०७२ सालमा देवी माविको सहायक प्रअ बनिन् । त्यसपछि करीब एक वर्ष निमित्त प्रअ भएपछि उनले प्रअको जिम्मेवारी पाइन् । तर सबैको विश्वास जित्न सजिलो थिएन किनभने त्यसबेला कतिपयले महिला प्रअ भनेर उनीप्रति नाक खुम्च्याएका थिए । उनी प्रअ बनेताका बिहानी सत्रको अन्त्य र दिवा सत्रको आरम्भ हुने समयमा विद्यालय परिसरमा ३००० भन्दा बढी विद्यार्थीको चाप हुन्थ्यो । त्यही भीडभाडमा कैयौं पटक छुरा हानाहान हुँदा प्रहरी समेत बोलाउनु परेको थियो । त्यो समस्यालाई समाधान गर्ने प्रयत्न स्वरुप उनले विद्यार्थीलाई सुरक्षित बनाउने योजना अघि सारिन् । त्यसका लागि विद्यालयमा १६ वटा सीसी क्यामरा जडान भयो । त्यसपछि विद्यार्थीबीच परस्पर झैझगडा हुने क्रम रोकियो ।

पहिले नै विद्यार्थी संख्या प्रशस्त भएकाले विद्यालयमा भीडभाड बढाउन समस्या थिएन । तर गुणस्तर सुधार र पूर्वाधार निर्माण अर्को चुनौती थियो । त्यसका लागि श्रेष्ठले पाँचवर्षे योजना बनाइन् । भवन निर्माण, मैदान व्यवस्थापन, मञ्च निर्माण र बगैंचा विकास उनका योजनामा परे । पाँच वर्षमा सक्ने भनिएका ती सबै योजना उनले करीब तीन वर्षमा नै पूरा गरिन् । त्यसबेला कतिपय विद्यालयहरू सरकारको नमूना विद्यालयको रूपमा सूचीकरण हुँदा जमीन कम भएकाले यो विद्यालय त्यसमा परेन । “त्यसपछि हामी आफ्नै कामले नमूना बन्ने गरी अघि बढ्यौं र सबैको सहभागितामा प्रगति पनि गर्दै गयौं”, प्रअ श्रेष्ठले भनिन् ।

विद्यालय व्यवस्थापन कौशलकै कारण गत वैशाखमा अष्टे«लिया सरकारबाट प्राप्त १२ दिने अवलोकन भ्रमणको अवसर पाउनेमा प्रअ श्रेष्ठ पनि परिन् । अष्ट्रेलियाका विद्यालयको अवस्था, पढाउने शैली लगायतका विषयमा अध्ययन गर्ने अवसर पाएपछि अझ् ऊर्जा बढेको उनको अनुभव छ । “पूर्वाधारको अभाव बाहेक व्यवस्थापन क्षमतामा हामी पनि अष्ट्रेलियाका विद्यालय भन्दा कम रहेनछौं, सहभागितामूलक सिकाइ पद्धति बसाल्नमा चाहिं हामीले गर्न बाँकी अझ्ै धेरै काम रहेछ”, उनले आफ्नो ताजा अनुभव सुनाइन् ।

आर्थिक पारदर्शिता नै आफ्नो आत्मविश्वासको आधार भएको प्रअ श्रेष्ठ बताउँछिन् । “आर्थिक क्रियाकलापमा पारदर्शी भएपछि कसैले कुनै पनि प्रकारको आशंका जन्माउँदैनन्, शंका नभएपछि कसैसँग मनमुटाव पनि हुँदैन । सबैले विश्वास र सहयोग मात्र गर्छन्”, उनले थपिन् । आर्थिक लेनदेनसँग जोडिएको खरीद प्रक्रियामा उनी प्रत्यक्ष सहभागी हुन्नन् । विद्यालयमा छुट्टै खरीद समिति छ । निर्माण सामग्रीदेखि विद्यालयलाई चाहिने जुनसुकै सामान पनि सोही समितिले खरीद गर्छ । हरेक आर्थिक गतिविधिको दैनिक नियमन र मूल्याङ्कन हुन्छ । दैनिक आयव्ययको हरहिसाब उसै दिन चुस्त बनाएर राखिन्छ । बक्यौता तथा फरफारक हुन नसकेको खर्च बढ्न नदिन नियमानुसारको वार्षिक लेखा परीक्षण बाहेक नियमित रूपमा आन्तरिक लेखा परीक्षण पनि गराइन्छ । विद्यालय प्रशासनका यस्ता यावत् क्रियाकलापमा उत्तिकै सक्रिय श्रेष्ठ हरेक दिनको औपचारिक जिम्मेवारी भने पहिलो घण्टीमै सबै कक्षा अनुगमनबाट शुरू गर्छिन् ।

शिक्षक मासिक, २०७६ असार अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial