अभिभावक थरी थरीका !

‘कोही पनि व्यक्ति प्रतिभाविहीन हुँदैनन् । हरेक व्यक्ति प्रतिभाशाली हुन्छ । कक्षाकोठा हरेक खाले प्रतिभाले भरिपूर्ण विद्यार्थीले युक्त हुन्छ । प्रतिभाकै जगमा व्यक्तिको व्यक्तित्व विकसित हुन्छ । शिक्षकले तिनीहरूको प्रतिभालाई चिन्नु, उजागर गर्नु र विकसित गर्नुपर्छ ।’ शिक्षक तालिमहरूमा पढाइने आधारभूत मन्त्र हो, यो ।

तर हरेक बच्चा परिवारको सदस्य हुन्छ । परिवार समाजको सदस्य हुन्छ । हरेक परिवारको आ–आफ्नै सामाजिक, आर्थिक, भौगोलिक विशेषता हुन्छ । हरेक बच्चाको प्रतिभा प्रस्फुटन र व्यक्तित्व विकासको प्रमुख जिम्मेवार अभिभावक हुन्छन् । त्यसैले परिवार पहिलो पाठशाला भनिएको हो । परिवारमा अभिभावकले जे गर्छन्, आफ्ना बच्चालाई जे सिकाउँछन् त्यसले स्कूल जीवनमा अमिट प्रभाव परिरहन्छ भन्ने कुरा तालिमहरूमा सिकाइँदैनन् ।

अमेरिकी लेखिका फ्लोरेन्स लिटेररले पर्सनालिटी प्लसः हाउ टु अन्डरस्ट्याण्ड अदर्स बाइ अन्डरस्ट्याण्डिङ सेल्फ (सन् २००७) किताबमा संसारभरका मानिसहरूको व्यक्तित्व चार किसिमका हुने उल्लेख गरेकी छन् । जसमा; एक, लोकप्रिय । बोलक्कड, धेरै कुराहरूको जानकारी राख्ने, रसिक स्वभावका । दुई, उदास । थोरै बोल्ने, धेरै सोच्ने, निराशा व्यक्त गर्ने । तीन, शक्तिशाली । शक्ति, पद, प्रतिष्ठा, सम्मानका लागि मरिहत्ते गर्ने । चार, मूढी । अन्तरमुखी, आफूभन्दा अरूमा ध्यान दिने, बेलाबखत परिस्थिति नमिल्दो व्यवहार, नकारात्मक मनोवृत्ति भएका ।

हरेक अभिभावक यी चारमध्ये कुनै न कुनै समूहमा पर्छन् । जसले उनीहरूका बच्चाको समग्र व्यक्तित्व विकासमा सकारात्मक नकारात्मक दुवैखाले प्रभाव पर्छन् । जसबाट स्कूलको समग्र शैक्षिक तथ्याङ्कमा प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ ।

सचेत अभिभावक
लगनशील विद्यार्थी, समर्पित शिक्षक र सचेत अभिभावक भए मात्रै शिक्षण सिकाइ प्रक्रिया फलदायी बन्छ । मूल कुरो, सचेत अभिभावकले आफ्ना छोराछोरीलाई असल शिक्षा दिनु भनेको उज्ज्वल भविष्यको लागि सुरक्षित लगानीको रूपमा बुझेका हुन्छन् । आफ्ना बच्चालाई पूरा समय दिन्छन् । आफू आधा पेट खाएर भए पनि बच्चाका लागि भरपूर लगानी गर्छन् । बच्चाको सरसफाइमा ध्यान दिन्छन् । बच्चालाई आवश्यक सामग्री बेलैमा जोहो गरिदिन्छन् । बच्चालाई नियमित स्कूल पठाउँछन्, काबु बाहिरको परिस्थितिको कारण बच्चाको एकदिन स्कूल छुटेमा ठूलो पछुतो मान्छन् । गृहकार्य गर्ने समय मिलाइदिन्छन् । आफूले नजाने पनि बच्चाले के कति पढ्यो, लेख्यो, जान्यो चासोपूर्वक सोधीखोजी गर्छन् । स्कूलले बोलाएको बेलामा मात्रै हैन अरू बेला पनि बेलाबखत स्कूल पुग्छन्, प्रअ तथा शिक्षकसँग छलफल गर्छन् । अरू नै बेला पनि शिक्षकसँग भेट हुँदा आफ्ना छोराछोरीको प्रगति, बानीव्यहोरा र अन्य क्रियाकलापको बारेमा कुरा गर्छन् । मुख्य रूपमा बच्चाको खाने, पढ्ने, खेल्ने, काम गर्ने समय व्यवस्थित गरिदिन्छन् । यस्ता अभिभावकका छोराछारीको शैक्षिक नतिजा राम्रो हुन्छ । हरेक कक्षाका उत्कृष्ट विद्यार्थीका अभिभावक यस्तै हुन्छन् ।

गुमनाम अभिभावक
सरकारी स्कूलका अधिकांश अभिभावक स्कूल पुग्दैनन् । स्वेच्छाले त परकै कुरा पत्र काटेर बोलाएको बेला पनि स्कूलमा पाइला टेक्दैनन् । अनौपचारिक भेटहरूमा पनि आफ्ना छोराछारीको बारेमा कुरा गर्दैनन् । शिक्षकले कुरा गर्दा पनि खासै चासो दिंदैनन् । कतिले यति चाहिं भन्छन्, ‘भनेकै टेर्दैन ।’ कतिपय ‘स्कूल टाढा छ आइरहन सकिंदैन, काम गरी खाने मान्छे फुर्सद हुँदै हुँदैन’ भनेर स्कूलप्रति वितृष्णा जस्तो दुःखेसो पोख्छन् । कामविशेषले स्कूल आसपासै दिन बिताए पनि स्कूलतिर चियाउँदैनन् पनि । यस्तालाई आफ्ना बच्चा पास भए पनि, कक्षा दोहो¥याउने (फेल भन्ने शब्द शब्दकोशबाटै हटाउने सरकारी नियम जो छ) भए पनि खासै मतलब गर्दैनन् । यस्ता अभिभावकका बच्चाहरू प्रायः मैलो, आवश्यक सामग्री नभएका, स्कूल आउने क्रममा अनियमित, कक्षा प्रस्तुति कमजोर, गृहकार्य नगर्ने, परीक्षामा औपचारिकता मात्रै पूरा गर्ने खालका हुन्छन् । कक्षा दोहोर्‍याउने, पढाइ पूरा नगरी स्कूल छोड्ने, कुलतमा फँस्ने र बालविवाह गर्ने अधिकांशका अभिभावक यस्तै खालका हुन्छन् । यस्ता अभिभावकलाई शिक्षाको महत्व, अभिभावक शिक्षा जस्ता कुराले छुँदैन ।


स्कूले विद्यार्थी वर्ष दिनको ८ हजार ७६० घण्टामा १,३२० घण्टा स्कूलमा र बाँकी ७ हजार ३८० घण्टा स्कूल बाहिर रहन्छ। अर्थात्, १५ प्रतिशत समय स्कूलमा र ८५ प्रतिशत स्कूल बाहिर बिताउँछ। यसकारण विद्यार्थीमा बढी प्रभाव अभिभावककै पर्छ।

गुरु अभिभावक
धेरै शिक्षक अभिभावक पनि हुन् । उनीहरूका छोराछोरी पनि कुनै न कुनै स्कूलमा पढिरहेका हुन्छन् । आफू सरकारी स्कूलमा जागिर गर्ने र छोराछोरीलाई निजी स्कूलमा पढाउने शिक्षकको संख्या बढ्दो भए पनि आफूले पढाउने भन्दा माथिल्लो तहको सरकारी स्कूलमा छोराछोरी पढाउने शिक्षक पनि थुप्रै छन् । यसर्थ एक स्कूलको शिक्षक अर्को स्कूलको लागि अभिभावक बन्नु स्वाभाविक हो । यस्ता अभिभावकले शिक्षा नीति, नियम, विधि, प्रवृत्तिको बारेमा पनि तिनले सामान्य अभिभावकले भन्दा बढी जानकारी राख्नु स्वाभाविक मात्रै हैन अनिवार्य पनि हो । देशदेशावरका शिक्षा, घटना, परिघटनाहरूको बारेमा थोरबहुत जानकारी राखेका हुन्छन् । यस्ता थुप्रै शिक्षक अभिभावकको रूपमा अर्को स्कूलमा प्रस्तुत हुँदा धर्मगुरू शैलीमा यो भएन, त्यो भएन, यसो गर्नुपथ्र्यो, उसो गरेको भए राम्रो हुन्थ्यो भनेर समस्या, गुनासो र सुझवको बिस्कुन फिंजाउँछन् । उनीहरूले चलाएका स्कूल र उनीहरूले पढाएका विद्यार्थीको अवस्था आसपासमा सर्वत्र अवगत हुँदाहुँदै पनि आफूलाई नूनपानीले चोख्याएर शुद्ध अब्बल सावित गर्न खोज्छन्, कुरा र तर्कमा । आफूले जागिर गर्ने स्कूलमा आफूले जसरी दिन कटाउँछन् त्यो कुरा आफ्ना छोराछोरी पढ्ने स्कूलमा नहोस् भन्ने आग्रह यिनीहरूको हुन्छ । एक स्कूलको शिक्षक अर्को स्कूलको व्यवस्थापन समितिमा रहेर फूर्तिफार्ती गर्ने चलन चाहिं ऐनले बन्देज लगाएपछि हटेको छ । यस्ता अभिभावकका कुराले अन्जान व्यक्तिलाई त मक्खै पार्छ । तर अन्जान भन्ने कोही हुँदैनन्, गाउँघरमा ।

कोक्ल्याँटा अभिभावक
एक विद्यार्थीको बारेमा कक्षामा मात्रै हैन स्कूल आउदा–जाँदा बाटोमा समेत साथीलाई सताउने गरेको गुनासो खूब आउँथ्यो । धेरै पटक गुनासो दोहोरिएपछि अभिभावक बोलाइयो । अभिभावक टोल समाजमा राम्रै प्रभाव भएका व्यक्ति । स्कूल आए । बच्चाको बारेमा कुराकानी गर्दा बम्किए, “मेरो छोरा तपाईहरूलाई बोझ् भएछ, लान्छु अब अन्तै ।” प्रमाणपत्रै लिएर गए । छोरो केही दिन स्कूल आएन । फेरि आयो । केही दिनपछि स्कूलै छोड्यो ।

केही अभिभावकहरू पसाङ्गिएको काठ जस्ता हुन्छन् । सग्लो काठ जे बनाउन पनि काम लाग्छ । काँचोकाँचोमै चर्को घामले भेटेको काठ बाङ्गिएको हुन्छ । जसलाई जे गरे पनि अरू काठसँग मिलाएर आकार निकाल्न सकिंदैन । दाउरा बनाएर जलाउन पनि माया लाग्छ, त्यत्रो महँगो र नयाँ भनेर । जसलाई कोक्ल्याँटो भनिन्छ, चलनचल्तीको गाउँले भाषामा ।

एउटै अभिभावक कुनै बेला स्कूलमा अनुशासन भएन, केटाकेटी चरनका भेडाबाख्रा जस्ता छाडा भए, मास्टरलाई मतलब छैन भन्छन् । अर्को बेला भन्छन्, मसिना बच्चालाई पानी खान पनि नदिने ? समस्या मात्रै देखाउने । समाधानको उपाय नदिने । स्कूल कहिल्यै नआउने, आफ्ना बच्चाको पढाइ र व्यवहारप्रति चासो नराख्ने तर अन्तिम परीक्षाको नतिजा आएपछि शिक्षकसँग कर्कस गुनासो गर्ने अभिभावक यसैभित्र पर्छन् । आक्कलझुक्कलमा एक पटक स्कूल आइपुग्ने अनि केही वर्षलाई पुग्ने गरी ‘विचार’ व्यक्त गरेर हराउने । कोही भने लक्षित छात्रवृत्ति थाप्ने दिन मात्रै टुप्लुक्क स्कूल आइपुग्छन्, अलिबेर पछि स्कूल आसपासको पसल–बाटातिर भेट्दा शिक्षकलाई थर्काउँछन्— ‘जाबो एक बोतल बियर आउने जति पनि पैसा नदिने, दिनभरिको हाम्रो निमेक मार्ने ?’ कतिपय भने, बरू देश–विदेश, राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयका गफ दिन्छन् । तर आफ्ना बच्चाहरूको शैक्षिक भविष्यप्रति चिन्ता गर्दैनन् ।

उपसंहार
दिनरात गरी चौबिस घण्टामध्ये ६ घण्टा मात्रै विद्यार्थी स्कूलमा रहन्छ । वर्षको ३६५ दिनमध्ये शनिबार, चाडपर्व, दिवस, बर्खे–हिउँदे विदा कटाएर २२० दिन स्कूल खुल्ने सरकारी नियम छ । स्कूले विद्यार्थी वर्ष दिनको ८ हजार ७६० घण्टामा १ हजार ३२० घण्टा स्कूलमा र बाँकी ७ हजार ३८० घण्टा स्कूल बाहिर रहन्छ । अर्थात् बच्चाले १५ प्रतिशत समय स्कूलमा र ८५ प्रतिशत स्कूल बाहिर बिताउँछ । स्कूल बाहिर भन्नाले अभिभावककै साथमा रहने हो । स्कूलमा पनि एउटा शिक्षकसँगको समय ४५ मिनेट मात्रै हो । खास–खास शिक्षकको प्रभाव अलि बढी, केही शिक्षकको नकारात्मक र औसत शिक्षकको प्रभाव विद्यार्थीमा खासै पर्दैन । यसकारण विद्यार्थीमा बढी प्रभाव अभिभावककै पर्छ ।

तर अभिभावकका बारेमा कुनै तालिममा बताइँदैन । यस्तो बताइन्छ कि मानौं शिक्षक भनेको जादुवाल हो, जसले फुमन्तर गरेर लट्ठीलाई सर्पमा बदले जसरी विद्यार्थीलाई राज्यले चाहे जस्तो आकारमा बदलिदिन सक्छ । कामचोर, लाचार, बेताल शिक्षकको कुरै छाडौं, असल शिक्षकले पनि अभिभावकको सहयोग विना विद्यार्थीलाई असल बनाउन सक्तैन । भइरहेको त्यही हो । सरकारी स्कूलका शिक्षकले थोकमा गाली खाइरहनुपर्ने एउटा कारण त्यही हो । 

सिद्धेश्वर मावि, दावाँ, भोजपुर

commercial commercial commercial commercial