हाम्रो शिक्षा को सफल, को असफल ?

गुणस्तरीय स्कूल–शिक्षाको कुरा गर्दा त्यसको गुणस्तरीयता मापन गर्ने मानक एसएलसी (एसईई) परीक्षाको नतिजा बन्ने गरेको छ । प्रायः त्यसैलाई नै आधार मानेर ‘नेपालको सामुदायिक शिक्षाको गुणस्तर खस्क्यो’ भन्ने गरिन्छ । साथै, ‘यसका मुख्य दोषी शिक्षक हुन्, शिक्षकले राजनीति गरे, पढाएनन्’ भन्ने निष्कर्ष पनि निकालिन्छ । निजी स्कूलले आर्थिक शोषण गरेरै भए पनि गुणस्तरीय शिक्षा दिएको दाबी गरिंदैछ ।

यस सन्दर्भमा ७ वर्ष निजी र २१ वर्ष सामुदायिक शिक्षालयमा पढाउँदाको भोगाइका आधारमा बनेका मेरा व्यक्तिगत दृष्टिकोण यहाँ प्रस्तुत गरेको छु ।
विभिन्न व्यक्ति, समुदाय र राष्ट्रका आ–आफ्नै जीवन दर्शन, मूल्यमान्यता हुन्छन् । जीवनको उद्देश्य पहिल्याउन र सरलतापूर्वक लक्ष्यमा पुग्न सहयोगी हुने साधनका रूपमा शिक्षाको दर्शन र सिद्धान्त चयन गरिन्छ ।

पश्चिमाहरूको संगठन युनेस्कोद्वारा एक्काइसौं शताब्दीका लागि भनेर तयार पारिएको शिक्षाका चार स्तम्भहरूले— ‘केही जान्नका लागि सिकाइ, केही गर्नका लागि सिकाइ, स्व–अस्तित्व बोधका लागि सिकाइ र सहज रूपमा सँगै बस्नका लागि सिकाइ’ भनेका छन् । यी स्तम्भले सबैलाई एउटै कोठामा खाँदेर पढाएर प्रतिस्पर्धा गराउने (वन फिट्स अल) भन्ने म्याकालेको शिक्षाभन्दा सहकार्यको पूर्वीय मान्यतालाई पछ्याउन खोजेको पाइन्छ ।

पूर्वीय आध्यात्मिक दर्शनमा आधारित नेपाली समाजको शिक्षा अन्तरमुखी विकास केन्द्रित थियो । ऋण गरेर घिउ खाँदा चौरासी जुनीको चक्रमा परिन्छ । सबै ऋणबाट ऊ ऋणी भएर मात्र सच्चिदानन्द प्राप्त हुन्छ र मुक्ति मिल्दछ भन्ने शिक्षा वर्णाश्रम व्यवस्था मार्फत दिइन्थ्यो ।

‘ठूलो वर्णमाला’ पुस्तकबाट अक्षर, अङ्क एवं दैनिक जीवनमा चाहिने सामान्य सीपहरू आफ्नै परिवार र समुदायका जान्नेले नजान्नेलाई सिकाउने दायित्व हुन्थ्यो । ७ वर्ष पुगेपछि कठोर ब्रतका बन्धनमा बस्न स्वीकार्नेहरू ‘अहं ब्रह्मास्मि’ ‘म स्वयं पूर्ण हुँ’ भन्ने सत्यको साक्षात्कार गर्न गुरुकुलमा पसी सेवा र साधनामा तल्लीन रहन्थे । ब्रह्म साक्षात्कार गर्ने सिद्धहरू कतै एकान्त गुफामा ‘तत् त्वम् असी’ ‘त्यो तँ नै होस्’ भन्दै समाधिस्थ हुन्थे । सिद्ध नहुनेहरू ‘ब्रह्म सत्यं जगत्मिथ्या, एकोहं बहुस्याम’ अर्थात् ब्रह्म सत्य हो, जगत मिथ्या हो तापनि नाशवान संसार वृक्षबाट नै अविनाशी बीउको नवीकरण र वृद्धि सम्भव भएकाले संसार सृष्टिको आवश्यकता परेको बुझेर गृहस्थमा प्रवेश गर्थे । ब्रह्मचर्य आश्रममा स्वाभाविक रुचि अनुसार पाएको ज्ञानलाई गृहस्थाश्रममा व्यवहारका कसीमा खारेर आफ्नो वर्णको पहिचान स्थापित गर्दथे ।


नेपालमै कुटो–कोदालो गरेर वा खाडी गएर पनि वृद्घ बाबुआमा, परिवार र समाजको सेवामा तल्लीन श्रवणकुमारहरूलाई सफल मान्ने कि आमाबाबु चाँडो मरे पुख्र्यौली सम्पत्तिा विदेशै लैजान पाउँथें भनेर पर्खिनेहरूलाई ? ‘इ’ ग्रेड ल्याएर बाउको पिटाइ सहनेवाला अथवा ‘ए+’ ल्याएर बाउलाई नै पिट्न तम्सिनेहरूबीच कसलाई सफल भन्ने ?

नेपालमा आधुनिक भनिने शिक्षा सर्वप्रथम आफ्ना सन्तानलाई अंग्रेजी सिकाउने रहर गरेर जङ्गबहादुरले ल्याए । शक्तिशाली शासकले आफ्ना सन्तानमा लागू गरेको पद्धति पक्कै राम्रो होला भन्ने ठानेर अमेरिकी विद्वान वुड्सको नेतृत्वमा वि.सं. २०१० मा बनेको पहिलो राष्ट्रिय शिक्षा आयोगले हाम्रो जीवन दर्शन, संस्कार, संस्कृति र पहिचान बोकेको सनातन शिक्षालाई पूरै विस्थापित गरी ‘रोजी रोटीलाई जीवनको लक्ष्य’ ठानिने म्याकालियन शिक्षा शुरू गरायो । राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ ले पनि राज्यको पूरा शक्ति र लगानी खर्चेर त्यसैलाई प्रवद्र्धन गर्न खोज्यो । तर समाजले त्यसलाई सजिलै पचाएन । पेट पाल्न सिकाउने गरी ल्याइएको त्यो व्यावसायिक शिक्षा पनि पञ्चायती निरङ्कुुशताको विरोेधको भेलसँगै बगेर लापत्ता भयो ।

२०४७ मा गठन भएको राष्ट्रिय शिक्षा आयोगले सामाजिक मूल्यमान्यता नभत्काई आधुनिकता ल्याउने गरी शिक्षाका राष्ट्रिय उद्देश्यहरू निर्धारण गर्‍यो । व्यक्तिमा अन्तरनिहित व्यक्तित्वलाई प्रस्फुटित गराउने सार्वभौम मानवीय, सामाजिक एवं राष्ट्रिय मूल्यमान्यतालाई संवद्र्धन गर्ने, आफ्नो पहिचान कायम राखी आधुनिकीकरण गर्ने, मानव संसाधनको विकास, प्राकृतिक एवं राष्ट्रिय सम्पदाको संरक्षण र सदुपयोग, पिछडिएकालाई राष्ट्रिय मूलधारमा समाहित गराउने जस्ता उद्देश्यहरू राखियो । तर तिनको कार्यान्वयनको वातावरण, शिक्षण विधि र मूल्याङ्कन विधि यथावत् राख्दा ‘काम्लोमा मुछेको सातु’ झैं त्यो पनि अनुपयोगी सिद्ध भयो । २०४६ पछिको सामुदायिक शिक्षाले न त पुरानो सनातन आदर्शलाई जोगाउन सक्यो न रोजीरोटीकै सुनिश्चितता प्रदान गर्न सक्यो । बरू पूरै पुस्तालाई अपाङ्ग बनायो । अहिले २०२८ को महेन्द्रीय ‘व्यावसायिक शिक्षा’ नै गणतन्त्र नेपालको नारा बनेको छ ।

भौतिक सम्पत्ति नै सर्वस्व ठान्ने सम्पन्नहरूले आफ्नै लगानीमा आफ्ना सन्तान पढाउन चाहे । सरकारले स्वीकृति दियो । प्रकृतिको अधिकतम दोहन, कमजोरको शोषण र आफ्नो मात्र पोषणको लक्ष्य बोकेको बेलायती शैलीको शिक्षा नै उनीहरूले रोजे । त्यसका लागि चाहिने विज्ञान र प्रविधि अंग्रेजीमा पाइने हुनाले अंग्रेजी माध्यम अपनाए । अंग्रेजी, गणित, विज्ञानमा अतिरिक्त अभ्यास गराए । तर विडम्बना, सरकारले नै सञ्चालन गरेको एसएलसी परीक्षामा पनि शिक्षाका राष्ट्रिय उद्देश्यहरूलाई एकातिर पन्छाएर यिनै विषयहरूमा प्राप्त अङ्कका आधारमा विशिष्टता निर्धारण गरियो । सबैले उनैलाई उत्कृष्ट मान्न थाले । गिटी कुट्ने, भारी बोक्ने मजदूरले पनि यसैमा आफ्ना सन्तानको भविष्य देख्न थाले । उनीहरूको दाँजोमा गर्न नसके पनि अंग्रेजी सिकेमा उनैका भरिया भएर अलि धेरै ज्याला पाउला भन्ने सोचे । प्रवचनमा संस्कृतको महिमा गाउनेहरूदेखि ‘मातृभाषामा शिक्षा’ भन्ने नारा बेचेर पेट पाल्नेहरूले पनि आफ्ना सन्तानलाई अंग्रेजी नै पढाउन चाहे ।

यो शिक्षामा असफल हुनेहरू प्रायः दुर्व्यसनी भए । केही अपवाद बाहेक धेरै सफल हुनेहरू डाक्टर, इन्जिनियर, पाइलट बन्न रुचाए । विकसित देशमा जान पाए, त्यतै बिहे गरे, त्यहींका भए र त्यतै हराए । श्रीमती सुत्केरी हुँदा आमाबाबु सम्झ्एि र ‘सस्ता सुसारे’ का रूपमा तिनलाई घुम्न बोलाए । त्यस्तो स्वर्गीय सुखमा पनि रमाउन नसक्ने बूढाबूढीलाई मूर्ख ठानेर नेपालकै वृद्धाश्रममा थन्क्याएर अनुत्पादक पैतृक सम्पत्ति उतै लगेर लाभदायी व्यापारमा लगाउने अर्थशास्त्र सिके ।
सामुदायिक शिक्षाको मापन पद्धतिका कारण असफल बनाइएका, स्वाभिमान जोगाउन प्रतिवाद गर्दा रेस्टिकेट भएका र मागेर खान लजाएर खाडी मुलुक गएकाहरू आफू पालिएका छन्, परिवार राम्ररी पालेका छन् र रेमिटेन्स पठाएर देशकै अर्थतन्त्र टिकाएका छन् । उनीहरू जस्तै प्रतिकूल परिस्थितिमा पनि सामञ्जस्य कायम गरेर बाँच्न सक्ने भए, परिवार, समाज र राष्ट्रप्रतिको दायित्व नबिर्सने भएका छन् । जबकि हाम्रो राष्ट्रिय मूल्याङ्कनमा उनीहरू असफल घोषित गरिएका छन् ।

सामुदायिक विद्यालयका ‘सफल’ हरू आज शिक्षित बेरोजगारको नाममा, ‘कि काम दे, कि दाम दे’ भन्ने नारा लेख्न जान्ने भएका छन् । तिनले राहत कोषको रकमले मोटरसाइकल किनेर पेट्रोलको भाउ घटाउन विरोध र्‍याली निकाल्न सिकेका छन् । सफल भएर पनि त्यसो गर्न नसक्नेहरू असफलहरूकै पछि लागेर खाडी पसेका छन् । पढेर पनि खाडी जानु परेकोमा सफलहरूले दुःखेसो गर्छन्, तर असफलहरू खाडीको भिसा लागेकोमा खुशी हुन्छन् । वर्तमान शिक्षाका सफल र असफलहरूका बीच देखिने भिन्नता यिनै त हुन् ।

निजी र सामुदायिक विद्यालयका सफल र असफलहरूमा देखिने यस्ता व्यावहारिक भिन्नताहरूलाई केलाइसकेपछि प्रश्न उब्जिन्छः गुणस्तर केलाई मान्ने ? र मापन कसरी गर्ने ? नेपालमै कुटो–कोदालो गरेर वा खाडी गएर पनि आफ्ना वृद्ध बाबुआमा, परिवार र समाजको सेवामा तल्लीन श्रवणकुमारहरूलाई सफल मान्ने कि आमाबाबु चाँडो मरे पुख्र्यौली सम्पत्ति उतै लैजान पाउँथें भनेर पर्खिनेहरूलाई ? ‘इ’ ग्रेड ल्याएर बाउको पिटाइ सहनेवालालाई र ‘ए+’ ल्याएर बाउलाई नै पिट्न तम्सिनेवालाहरूबीच तुलना गरेर कसलाई सफल भन्ने ? अङ्कले तुलना गरिएका सफल र असफलको चर्चामा भाग लिंदै गर्दा यिनै प्रश्नहरूले अल्मल्याएर आफू अल्झ्एिको पाउँछु ।  

असान्दर्भिक अङ्कहरूमा तौलेर गरिने हाम्रो शैक्षिक मूल्याङ्कन पद्धतिकै पुनः मूल्याङ्कन आवश्यक छ कि ? शिक्षालयमा सिकाइने कोरा ज्ञान, सीप अभिवृत्तिका गफलाई वास्तविक जीवनका यथार्थतासँग जोड्नुपर्छ कि ? विगतलाई वर्तमानसँग जोडेर पुस्ता दरपुस्ताले सँगालेको संस्कार र अनुभवबाट नयाँ पुस्ताले लाभ लिन सक्छ कि ? परम्परालाई जरैबाट उखेलेर विकसित गरिएको ऐंजेरूले पछिको पुस्ताका बारेमा नसोचे पनि आफ्नै जीवनका वास्तविक आवश्यकता, चाहनासँग समेत तालमेल मिलाउन सकेन कि ? पहिला आफैंभित्र सुनिश्चित नभइकन काल्पनिक अङ्कमा काइते मूल्याङ्कन गरेर हामी बुद्धिजीवीले समाजलाई नै भ्रमित बनायौं कि ? बुद्धिजीवी नेतृत्ववर्गबाट समाजले सही मार्गदर्शनको अपेक्षा गर्दछ त्यसो गर्न नसके पनि शब्दजालले दिग्भ्रमित पार्न छाडे कल्याण हुन्छ कि ? एकपटक सोचौं ।

निवृत्त शिक्षक, स्याङ्जा

commercial commercial commercial commercial