फरक विद्यालय फरक अभ्यास

पूर्वाधार राम्रो, विद्यार्थी संख्या धेरै, पढाइ र नतिजा पनि राम्रो भएमा विद्यालय राम्रो भन्ने विश्वास अभिभावकलाई लाग्छ। त्यस्ता विद्यालयमा विद्यार्थी भर्नाका समय भीड लाग्छ। यस्ता विद्यालय अवलोकनका लागि विद्यालय सुधार गर्न चाहने शिक्षाकर्मीको लाइन लाग्छ। ती विद्यालयको चर्चा समुदायमा मात्र होइन जिल्ला, प्रदेश हुँदै राष्ट्रभरि चुलिन्छ। संचारमाध्यममा तिनै विद्यालयले स्थान पाउँछन्। स्थानीय समुदाय, स्थानीय सरकारदेखि केन्द्रतहका सरकारी निकाय समेत सहयोग गर्न तम्तयार हुन्छन् ।

त्यस्ता ‘राम्रा’ विद्यालयमा अध्ययन गर्ने बालबालिका, तिनका अभिभावक, विद्यालय व्यवस्थापन समिति मात्र होइन, शिक्षक कर्मचारीले पनि परिचय दिंदा गर्विलो गरी ‘म फलानो विद्यालयको’ भन्न रुचाउँछन्। यो स्वाभाविक पनि हो। राम्रो गर्नुको जस गर्नेले पाउनुपर्छ। तर समुदायमा त्यस्ता विद्यालय पनि छन्, जसले ‘राम्रा’ भनेर पहिचान बनाइसकेका छैनन्, तर विद्यार्थीलाई केन्द्रविन्दुमा राखेर केही न केही राम्रा प्रयास वा नौलो अभ्यास गरिरहेका छन्। कतै शिक्षक आफैंले त कतै विद्यालय प्रशासनले यस्ता काम गरिरहेका छन्। प्रस्तुत छ, विभिन्न जिल्लाका चर्चामा नआएका त्यस्ता विद्यालयमा पुग्दा देखेका अभ्यासहरू यो पटकको स्कूल–डायरीमा।


१. सिकाइमा मोबाइलको प्रयोग

शारदा माध्यमिक विद्यालय, बडैयाताल, बर्दिया

रङरोगन गरेर आकर्षक देखिएको विद्यालयको भित्तामा लेखिएको छ,

नानीबाबु रमाई–रमाई स्कूलमा आऊ,
पढी–सिकी सधैंभरि खुशीले रमाऊ ।

कक्षाकोठा हेर्ने क्रममा यहाँको बालविकास केन्द्रले मलाई तान्यो ।

शारदा माध्यमिक विद्यालय, बडैयाताल, बर्दियामा मोबाइलबाट भिडियो हेर्दै बालबालिका ।

कक्षामा शिक्षक थिए, बालबालिकाहरू पनि । उनीहरू भित्तातिर हेरिरहेका थिए । बालबालिकाका पछाडितिर शिक्षक पनि चूपचाप देखेपछि मेरो मन झनै उत्सुक भयो । सुटुक्क कक्षामा छिरें र बसें । बालबालिकाहरू झयालमा अँड्याएर राखेको मोबाइलमा भिडियो हेरिरहेका छन् । आवाजका लागि सानो साउण्ड बक्स पनि जोडिएको रहेछ । शिक्षक शुकराज चौधरीले रङ र जनावरका बारेमा जानकारी दिन मोबाइलबाट भिडियो देखाएका रहेछन् ।  
मैले सोधें– किन मोबाइलबाट देखाउनुभएको नि ?

शिक्षक चौधरीः कक्षा कोठामा टीभी छैन, भनेको भन्दा देखाउँदा बुझछन् त्यसैले ।
भिडियोहरू कसरी जुटाउनुहुन्छ त ? फेरि सोधें ।

शिक्षकः इन्टरनेट भएको ठाउँमा रहँदा त्यहींबाट र कहिलेकाहीं डाटाबाट डाउनलोड गर्छु अनि देखाउँछु । उनले थपे– बालबालिकालाई मन पर्ने केही भिडियो जम्मा पारेको छु । बालबालिकाहरू भिडियो हेर्दा रमाइलो मान्छन् र सिक्छन् पनि । भिडियो देखाएपछि सोध्छु– उत्तर दिन तँछाडमछाड गर्छन् ।

कतिपय सामुदायिक बालविकास कक्षामा खाली लेखाउने र घोकाउने काम गरेर केटाकेटीलाई दिक्क पारेको देखिन्छ । तर शिक्षक शुकराज चौधरीले गरिरहेको यो प्रयासमा भने केटाकेटी रमाएका देखिन्थे । अंग्रेजी र नेपाली माध्यममा पठनपाठन भइरहेको यो विद्यालयका शिक्षक, अभिभावक विद्यालय सुधारका लागि लागिपरेका पनि भेटिए । तर विद्यालयमा अंग्रेजी माध्यमको एउटा र नेपाली माध्यमको अर्को पोशाक लगाएका बालबालिकाहरू देखिनु चाहिं खट्किने कुरा थियो । यो सुधार नगरी नहुने पक्ष थियो । विद्यालयका प्रधानाध्यापक दीनबन्धु यादव सरले अभिभावकले अंग्रेजी चाहेकाले बोर्डिङ स्कूलसँग प्रतिस्पर्धा गर्न त्यसो गरिएको तर्क गरे । तर कारण जे भए पनि विद्यालयमा पोशाकको विभेद हटाउनु नै राम्रो हुने सल्लाह दिंदै म अर्को विद्यालयतिर लागें ।


२. हरित विद्यालयदेखि ‘होमवर्क लगबुक’सम्म

लक्ष्मी माध्यमिक विद्यालय, बुटवल–४, रूपन्देही

बुटवल उपमहानगरपालिका–४ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा पुग्दा, विद्यालय राम्रो बनाउनका लागि शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति र समुदाय लागिपरेको भेटियो । यो विद्यालयले शुरू गरेका केही अभ्यास त यति नौला थिए; ‘साह्रै राम्रो’ भनिएका विद्यालयमा समेत त्यस्तो अभ्यास पाइएको थिएन । हेरौं; लक्ष्मी माविका केही अभ्यास:

शिक्षकका लागि होमवर्क लगबुक
प्रायः विद्यालयमा विद्यार्थीले शिक्षकबाट सजाय पाउने एउटा मुख्य कारण हो— गृहकार्य नगर्नु । कतिपय विद्यालयमा यति धेरै गृहकार्य दिइन्छ कि घरमा पनि केटाकेटी तनावमा हुन्छन् । सबै गृहकार्य गर्न भ्याउँदैनन् । सक्दैनन् । उनीहरूले किन गृहकार्य गरेनन् ? यसबारेमा कारण खोतल्ने गरेको पाइँदैन । केही समय अघिसम्म लक्ष्मी माविमा पनि यस्तै थियो । गृहकार्यको भारका कारण विद्यार्थीले सबै विषयको गृहकार्य गर्न नसकेपछि शिक्षकबाट सजाय समेत पाउँथे । कहिल्यै कुनै पनि विषयको गृहकार्य नहुँदा अभिभावक गुनासो लिएर विद्यालय पुग्थे । यो समस्याको समाधान के निकाल्न सकिन्छ त भनेर गरिएको छलफलपछि शिक्षकका लागि गृहकार्य लगबुक लागू भयो विद्यालयमा । यसबाट गृहकार्य दिने अभ्यासको नौलो थालनी भएको छ । हरेक कक्षाकोठामा गृहकार्य लगबुक राखिएको छ । लगबुकमा घण्टी, विषय, शिक्षकको नाम, पठनपाठन भएको पाठ र दिइएको गृहकार्य लेखी हरेक शिक्षकले हस्ताक्षर गर्ने गर्छन् । आफूले गृहकार्य दिनुअघि शिक्षकले अरूले दिएको गृहकार्यको मात्रा र बोझ् आकलन गर्न पाउँछन् । यो लगबुक प्रधानाध्यापकले पनि हेर्ने गर्छन् । अगाडिका घण्टीका शिक्षकहरूको विषय मात्रै गृहकार्यमा नपरोस् भनेर शिक्षक तथा प्रअबीच छलफल पनि हुने गरेको छ ।

लक्ष्मी माध्यमिक विद्यालय, बुटवलको होमवर्क लगबुक ।

हरित वातावरण
यो विद्यालयको हराभरा वातावरण देख्दा आँखा मात्र होइन मन नै रमाउँछ । यस्तो परिवेश स्वास्थ्यका हिसाबले पनि उत्तम मानिन्छ । विद्यालय परिवारले नै यस्तो हरित विद्यालय बनाएका हुन् । यहाँ विद्यार्थी, शिक्षक, विव्यसका सदस्यले लगाएका बिरुवाहरू हलक्क बढेका छन् । तिनै बिरुवाका कारण विद्यालयको वातावरण शीतल र मनोरम बनेको छ । नेपाल सरकारले ‘हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका–२०७५’ ल्याउनुअघि नै यो विद्यालय हराभरा भइसकेको थियो ।

बालविकासमा खाजा व्यवस्थापन
बालविकास केन्द्रका बालबालिकाका लागि विद्यालयले खाजाको व्यवस्था पनि गरेको छ । बारपिच्छे फरक–फरक खाजा विद्यालयको चमेना गृहमा बनाइन्छ । यसबाट विद्यार्थीले स्वस्थ खाजा खान पाएका छन् । साथै खाजा कार्यक्रमबाट बालबालिकाको नियमिततामा पनि सहयोग पुगेको छ । सरकारले खाजाका निम्ति प्रति बालबालिका रु.२० अनुदान दिने गरेको छ ।

बालबालिकाको बसाइ व्यवस्थापन
कक्षाकोठामा बालबालिकाको बसाइ व्यवस्थापन लक्ष्मी माविको अर्को सुधार गर्न खोजिएको पक्ष देखियो । बालविकास केन्द्रमा कार्पेट, कुसन र स–साना टेबलको व्यवस्था गरिएको छ । अन्य कक्षामा भइरहेका बेन्च डेस्कलाई समूह कार्य गर्न मिल्ने गरी राखिएको छ । अलि सिकाइ स्तर कमजोर भएका विद्यार्थीलाई साथीबाट पनि सहयोग पुगोस् भनेर जान्ने विद्यार्थीसँग राखिएको छ । बालबालिका र शिक्षकबीचको दूरी टाढा नहोस् भनेर फर्निचर तथा डेस्क बेन्च मिलाएर राखिएको छ ।

विद्यालयको आफ्नै लघु सभाहल
विद्यालयको आफ्नै सभाहल छ । विद्यार्थीकेन्द्रित अतिरिक्त क्रियाकलाप, सहक्रियाकलाप र विद्यालयको सानोतिनो कार्यक्रम सभाहलमै गर्न सक्ने व्यवस्था छ । घाम, पानी परेको अवस्थामा पनि त्यस्ता कार्यक्रम गर्नका लागि रोकावट हुने अवस्था छैन । विद्यालय विदाको दिनमा उक्त हल भाडामा दिई विद्यालयले अतिरिक्त आम्दानी गर्ने गरेको छ ।


३. पढ्ने बानी

नरैनापुर आधारभूत विद्यालय, बुटवल–१६, रूपन्देही

बुटवल उपमहानगरपालिकाको नरैनापुर आधारभूत विद्यालय । कक्षाकोठाका कुनामा किताब राख्ने र्‍याक अर्थात् बुक कर्नर छन् । र्‍याकमा बाल पुस्तकहरू । ती पुस्तक विद्यालयका बालबालिकाका लागि शिक्षक नआउँदा साथी बन्ने गरेका छन् । उनीहरू पुस्तक पढ्छन्, पुस्तकसँग रमाउँछन् अनि सिक्छन् पनि ।
कक्षा–३ का विद्यार्थी प्रशान्त गिरीले खाली कक्षा भएको बेला बुक कर्नरको पुस्तक पढ्ने गर्दा रै’छन् । मलाई मन पर्ने किताब पनि छ, बुक कर्नरको पुस्तक देखाउँदै उनले भने, चित्र हेर्न, कथा कविता पढ्न मजा लाग्छ । अर्की विद्यार्थी दीपिका नेपालीले पनि आफूलाई राम्रो लागेको भन्दै ‘राम्री बनेकी साथी’ पुस्तक छानेर देखाइन् ।

नरैनापुर आधारभूत विद्यालय, रूपन्देहीमा बुक कर्नरसँगै बालबालिका र शिक्षक ।

विद्यार्थी मात्र होइन, शिक्षक सरिता थारूले पनि कक्षाकोठामै रंगीचंगी पुस्तक देख्दा आफूलाई नि रमाइलो लागेको बताइन् । बालबालिकाको पठन सीपको विकास गर्ने उद्देश्यले बुक कर्नरका लागि सरकारले ‘पर चाइल्ड फण्ड’ (पीसीएफ) का आधारमा अनुदान दिने गरेको छ ।


कुर्सी विनाको कुर्सी दौड

बीपी मेमोरियल मावि, बैजनाथ, बाँके

बिहानको समयमा चलिरहेको विद्यालयको गेट नपुग्दै पूर्वीतर्फको बगैंचामा रंगीविरंगी पोशाकमा बालबालिका देखिए । विद्यालयको भवनतिर नगई, पिटी खेलिरहेका जस्ता देखिने ती बालबालिका भएतिर लागें ।

त्यहाँ पुगेपछि थाहा भयो बालबालिका खेल खेलिरहेका छन् । एक जना शिक्षक र थुप्रै साना–साना बालबालिकाको क्रियाकलापले मलाई तान्यो । केही समय बगैंचाको छहारीमा बसेर उनीहरूको खेल हेरिरहें । खेलको नियम बताउँदै गोलो घेराभित्र रहेर शिक्षकले खेल खेलाइरहेकी थिइन् । बालबालिका खुशी हँुदै खेल खेलिरहेका थिए ।

बीपी मेमोरियल माध्यमिक विद्यालय, वैजनाथ, बनियाँभार, बाँकेमा कुर्सी दौड खेल्दै बालबालिका ।

कुन खेल होला ? र कसरी खेलिन्छ त ? भन्ने जिज्ञासा लाग्यो । खेल रोकिएको मौका छोपेर खेल खेलाइरहेकी शिक्षकसँगको कुराकानीबाट थाहा भयो, यो खेल त कुर्सी दौड पो रहेछ । कक्षा–३ का बालबालिका रहेछन् । ‘म्याडम कुर्सी त छैनन् त ?’ मैले सोधें । उनले हाँस्दै जवाफ दिइन्, ‘यति धेरै कुर्सी छैनन्, त्यसैले कुर्सी विना नै खेलाइरहेकी छु ।’ कुर्सी केलाई मान्ने त ? अर्को जिज्ञासामा उनको अर्को उत्तर आयो बालबालिकाकै चप्पल–जुत्तालाई कुर्सी मानेका छौं । खेलका लागि एक विद्यार्थीले बजाइरहेको स्टीलको प्लेट र चम्चा पनि उनले जोहो गरेकी रहिछन् ।

खेल मार्फत शारीरिक तन्दुरुस्ती र समय व्यवस्थापन, नियम पालना गर्न सिकाउन सकिन्छ र यसका लागि महँगा सामग्री चाहिंदैन भन्ने ती शिक्षकले दिएको सन्देश प्रशंसनीय थियो ।

सबै तस्वीरः कृष्ण मल्ल

शिक्षक  मासिक, २०७६ साउन अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial