हिमालयको उद्विकास तथ्य र कारण

नेपालमा हिमालय क्षेत्र भएपछि त्यसको उद्विकासबारे आम विद्यार्थीलाई जानकारी गराउन सक्नुपर्छ। यसका निम्ति ‘कन्टिनेन्टल ड्रिफ्ट थ्योरी’ विद्यालय तहकै पाठ्यक्रममा समावेश हुनुपर्छ। वनस्पति तथा जीव संकायको उच्च तहमा त यसको बृहत् रूपमा अध्यापन हुनु जरूरी छ ।

केवल मादेन लन्डनको केन्टस्थित द नोर्टन न्याच्बुल (The Norton Knatchbull School) नामक एक ग्रामर स्कूलमा ग्रेड ९ मा अध्ययन गर्छन् । बिदा मनाउन २०७६ साउनमा काठमाडौं आइपुगेका थिए । मैले त्यहाँको पाठ्यक्रम र पढाइबारे केही सोधनी गरें । आश्चर्य लाग्यो, उनलाई भूगर्वशास्त्रको निकै जानकारी रहेछ । ‘कन्टिनेन्टल ड्रिफ्ट थ्योरी’ पढेको कुरा बताए । उक्त थ्योरीले महादेश, महासागर र हिमालय तथा पहाडी शृंखलाको उद्विकासबारे जानकारी गराउँछ । यता हाम्रो विद्यालय पाठ्यक्रममा यसबारे जानकारी नै छैन । वनस्पति तथा जन्तु विज्ञान संकायतर्फ स्नातकोत्तर तहसम्मै यसबारे पढाइँदैन ।

हामीकहाँ दक्षिण अमेरिका, दक्षिण अफ्रिका आदिमा उद्विकास भएका वनस्पति तथा जन्तु पाइन्छन् । तर, हाम्रो पाठ्यक्रममा ‘कन्टिनेन्टल ड्रिफ्ट थ्योरी’ नभएका कारण उल्लिखित महादेशमा उद्विकास भएका जीवहरू कसरी यहाँसम्म आइपुगे भन्ने पत्तो पाइन्न । यसको मुख्य कारण वनस्पति संकायको पाठ्यक्रम तयार गर्ने विज्ञमा नै ‘कन्टिनेन्टल ड्रिफ्ट थ्योरी’ बारे ज्ञान छैन भन्ने बुझिन्छ । जबकि डेढ, दुई दशक अघिसम्म जीव संकायको स्नातकोत्तर तहको पाठ्यक्रममा सो विषय समावेश थियो । हिजोआजको पाठ्यक्रमबाट हटाइएको छ ।

एकै प्रजातिका वनस्पति वा जन्तु एउटै महादेशमा उस्तै भौगोलिक बनावटका भएका फरक–फरक देशमा पाउनु सामान्य हो । जस्तो बर्मा वा दक्षिण पूर्व चीनमा पाइने वनस्पति नेपालमा पाइन्छन् । तर दक्षिण अमेरिका यहाँबाट धेरै टाढा र थुप्रै वटा समुुद्र पर छ । त्यहाँ करोडौं वर्ष पहिले उद्विकास भएका जन्तु वा वनस्पति जमीनकै दूरी तय गरेर यहाँसम्म आइपुग्न सक्दैनन् । तिनीहरू यहाँ पाइनुको वैज्ञानिक कारण नदिई उता उद्विकास भएको हो मात्र भनेर पढाउनु अपुरो हुन्छ । विज्ञान विषय त तथ्य तथा कारण सहित अध्ययन हुन्छ । तथ्य र कारण नखुलाई पढाइने पाठ्यक्रम शिक्षक तथा विद्यार्थी दुवैका लागि निन्दनीय हो । यसबाट पाठ्यक्रम फितलो छ भन्ने प्रष्ट बुझिन्छ ।

कन्टिनेन्टल ड्रिफ्ट थ्योरी
जर्मन वैज्ञानिक अल्फ्रेड वेगेनर (सन् १८८०–१९३०) ले महादेश र महासागरको उद्विकास (Origin) बारे सर्वप्रथम सन् १९१२ मा लेक्चर दिएका थिए । उनले त्यस विषयमा सन् १९१५ मा ‘द ओरिजिन अफ कन्टिनेन्ट एण्ड ओसन्स्’ शीर्षक पुस्तक लेखे । त्यसमा वेगेनरले महादेश छुट्टिएको प्रमाण त दिएका थिए तर छुट्टिएर जानुको सही कारण दिन नसकेकाले उनको मान्यता करीब साढे तीन दशकसम्म ओझेलमै रह्यो । धेरैले यसलाई वकवास भनेर निन्दा पनि गरे ।

तर वेगेनरको मान्यता सही मान्ने समूहले त्यसलाई पुष्टि गर्न निरन्तर गहन अध्ययन–अनुसन्धान गरे । उनीहरूले अन्ततः पृथ्वीभित्रको तापको कारण यसको माथिल्लो भाग (Lithosphere) ठूला सात सहित स–साना थुप्रै वटा खण्ड (प्लेट) का रूपमा टुक्रिएको छ भन्ने अवधारणा ल्याए । तिनीहरू अत्यधिक तापका कारण चलायमान छन् भनी प्लेट्स टेक्टोनिक्स (Plates of Tectonics) को मान्यता पनि अघि सारे । प्लेट्स टेक्टोनिक्स बाट महादेश तथा स–साना टापु सरेको पुष्टि हुन्छ । यसपछि मात्र अल्फ्रेड वेगेनरको सिद्धान्त विश्वभर स्वीकारियो । हिजोआज यसलाई महाद्वीपीय घस्राइ या विस्थापनको सिद्धान्त (कन्टिनेन्टल ड्रिफ्ट थ्योरी) को रूपमा जानिन्छ ।

वेगेनरले महादेश र महासागर उद्विकासको कुरा २० देखि २५ करोड वर्षअघिबाट शुरू गरेका छन् । त्यसवेला पृथ्वीको भू–सतह एकापसमा जोडिएको र वरिपरि समुद्रले घेरिएको अवस्थामा थियो । त्यो महाभूखण्डलाई पेन्जिया ९एबलनबभब यच एबलनभब० र पेन्जिया वरिपरिको एउटै महासागरलाई प्यान्थालासा (Pangaea or Pangea) नाम दिइएको छ (हे. चित्र–१)

करीब १५ करोड वर्षअघि पेन्जिया उत्तरी र दक्षिणी गरी दुई खेमामा बाँडिन शुरू भयो । त्यसवेलाको उत्तरी र दक्षिणी खण्डलाई क्रमशः लाउरासिया (Laurasia) र गोन्डावाना (Gondwana) नाम दिइएको छ । उत्तरी खण्डमा अहिलेको उत्तर अमेरिका, ग्रीनल्याण्ड, युरोप र एशिया एकापसमा जोडिएका अवस्थामा थिए । दक्षिणी खण्डमा दक्षिण अमेरिका, अफ्रिका, इन्डिया, अष्ट्रेलिया र अन्टार्टिका थिए ।

करीब ५–६ करोड वर्ष पहिले लाउरासिया  गोन्डवाना पनि छुट्टिन थाले । छुट्टिएको भागमा टेथिस महासागर (Tethys Ocean) उद्विकास भयो । टेथिस महासागर अस्तित्वमा रहँदा अहिले भारत अथवा दक्षिण एशिया भनिने भू–खण्ड दक्षिण अफ्रिकाको पूर्वपट्टि थियो । त्यो भू–खण्ड करीब चार करोड वर्षअघि विस्तारै उत्तरतर्फ घस्रने क्रम शुरू भयो । घस्रिने दर प्रतिवर्ष १६ सेन्टिमिटरदेखि २६ सेन्टिमिटर भएको अनुमान गरिन्छ ।

भारतीय भू–खण्ड करीब अढाइ करोड वर्षअघि उत्तरी गोलाद्र्धमा रहेको तिब्बतीय भू–खण्ड नजिक आइपुग्यो । त्यसपछि भारतीय प्लेट र तिब्बती प्लेटबीच टकराव उत्पन्न भयो । भारतीय प्लेट उत्तर जान चाहने तर तिब्बती प्लेट स्थिर भएकाले भारतीय प्लेट अघि बढ्न नसक्ने अवस्थामा पुग्यो । जसका कारण तिनीहरू एकापसमा घँचेडाघँचेड गर्न थाले । त्यो क्रम अझै जारी छ ।

त्यही घँचेडाघँचेडकै कारण भारतीय प्लेट पृथ्वीको गर्भतिर धसिन थाल्यो । प्लेटको माथिल्लो सतह आकाशतिर उँचो हुन शुरू भयो । यसबाट करीब दुईदेखि अढाइ करोड वर्षअघि हिमालय तथा पहाडका शृंखला पैदा हुन थाले । यही क्रममा सबैभन्दा पछि दक्षिणतर्फ चुरेपर्वत शृंखला उदय भएको मानिन्छ । उक्त शृंखला १ करोड ६० लाखदेखि ५५ लाख वर्ष पहिले उद्विकास भएको बताइन्छ । यसरी अफ्रिका नजिक रहेको भूभाग उत्तरी गोलाद्र्धमा आइपुगी टेथिस महासागर भएको भू–भाग उँचो भयो । लाखौं, करोडौं वर्षको अन्तरालमा दक्षिण अमेरिका वा दक्षिण अफ्रिकामा पाइने वनस्पति तथा जन्तुमा हिमालय क्षेत्रमा रहन सक्ने अनुकूलता विकास भयो ।

महादेशको बनावट र जीवाश्म
दक्षिण अमेरिका र अफ्रिकाको भौगोलिक संरचना हेर्दा कुनै वेला ती दुई महादेश पनि जोडिएका थिए भन्ने अनुमान गर्न सक्छौं (हे. चित्र–२) । दक्षिण अमेरिकाको मध्यपूर्वको भाग र अफ्रिकाको मध्यपश्चिमको भूभाग नजिक रहँदा तिनीहरू एकापसमा जोडिएको अवस्थामा थिए भन्ने अनुमान सहजै गर्न सकिन्छ ।

ग्लोसोप्टेरिस (Glossopteris) भनिने उन्यूको लोप भएको जाति हो (हे.चित्र–३) । जीवाश्म (Fossils) अध्ययन–अनुसन्धान कर्ताले यसैबाट फूल फुल्ने केही वनस्पति उद्विकास भएको मान्यता राख्छन् । यो उन्यू जातिको जीवाश्म ब्राजिल, अफ्रिका, अष्ट्रेलिया र भारतमा पाइएको छ । भारतको महाराष्ट्रस्थित नागपुर जिल्लामा यसका २१ प्रजातिका जीवाश्म पाइएका छन् । यसको एक प्रजाति ग्लोसोप्टेरिस इन्डिका (Glossopteris indica) नामकरण भएको छ । यसले कुनै वेला भारतीय उपमहाद्वीप, अष्ट्रेलिया, दक्षिण अफ्रिका, दक्षिण अमेरिका एकापसमा नजिक थिए भन्ने प्रष्ट्याउँछ ।

मेसोसौरस Mesosaurus) ६ करोड वर्षअघि लोप भएको सरीसृपको एक समुदाय हो (हे. चित्र–४) । यसलाई गोहीको पूर्वज मानिन्छ । यसको जीवाश्म अर्जेन्टिना, दक्षिण अफ्रिका, नामिबियामा पाइएको छ । यदि दक्षिण अमेरिका र दक्षिण अफ्रिका कुनै कालखण्डमा नजोडिएका हुँदा हुन् त मेसोसौरसको जीवाश्म कि त दक्षिण अमेरिकामा मात्र वा अफ्रिकामा मात्रै पाइन्थ्यो होला । यसैगरी साइनोग्नाथस् (Cynognathus crateronotus) लोप भएको हिजोआजको ब्वाँसोको पूर्वज मानिन्छ । यसको जीवाश्म पनि अर्जेन्टिना, अन्टार्टिका, दक्षिण अफ्रिका र नामिबियामा पाइएका छन् ।

वनस्पति
दक्षिण अमेरिकामा उद्विकास भएका ताप्रे जातका झारहरू Cassia tora, C. occidentalis, C. sophera), जलेबी (Pithecelobum dulce), कुरिलो (Asparagus species), अभिजालो (Drymaria cordata), मरीच परिवारको पेपेरोमिया पेलुसिडा Peperomia pelucida) लगायत सयौं प्रजाति भारतीय उप–महाद्वीपमा पाइन्छन् । तिनीहरू दक्षिण अफ्रिकामा पनि पाइन्छन् । ती वनस्पति ‘कन्टिनेन्टल ड्रिफ्ट थ्योरी’ अनुसार भारतीय उपमहाद्वीप दक्षिण अफ्रिका नजिकबाट उत्तरतिर सर्दै यहाँसम्म आइपुग्दा उपमहाद्वीपसँगै यहाँ आइपुगेका हुन् ।

सिउँडी भनिने वनस्पति दक्षिण अमेरिकामा उद्विकास भएको मानिन्छ । क्याक्टस समूहमा पर्ने यो वनस्पतिको वैज्ञानिक नाम ओपन्सा मोनोकान्था (Opuntia monacantha) हो । समुद्री सतहबाट १८०० मिटर भू–उँचाइसम्म पाइने यो वनस्पति दक्षिण अमेरिकाबाट दक्षिण अफ्रिका हुँदै भारतीय उप–महाद्वीपमा उत्तरी गोलाद्र्धमा घस्रने क्रममा यहाँसम्म आइपुगेको हो । हाम्रो विश्वविद्यालयको वनस्पति संकायको पाठ्यक्रम पढेकाले सिउँडी दक्षिण अमेरिकाको वनस्पति हो भनेर त थाहा पाउँछन्; तर, त्यो कसरी हाम्रा हिमालयको फेदसम्म आइपुग्यो भन्ने सही कारण बताउन चाहिं सक्दैनन् ।

अहिलेको सहारा मरुभूमि लगायतको क्षेत्र पहिले समुद्र थियो । त्यो मरुभूमि टेथिस महासागर विलय भएपछि बनेको हो । इजिप्टको पिरामिड भएको क्षेत्रमा सबैभन्दा बढी समुद्री जीवका जीवाश्म पाइन्छन् । त्यहाँ सार्क माछाका पूर्वजका जीवाश्म समेत पाइएका छन् । हाम्रा हिमालयमा पनि समुद्री जीवका जीवाश्म भेटिन्छन् । यसबाट उल्लिखित क्षेत्रमा उहिले टेथिस महासागर थियो भन्ने पुष्टि हुन्छ ।

नेपालमा हिमालय क्षेत्र भएपछि हिमालय क्षेत्रको उद्विकासबारे आम विद्यार्थी भाइबहिनीलाई जानकारी गराउन सक्नुपर्छ । यसका निम्ति ‘कन्टिनेन्टल ड्रिफ्ट थ्योरी’ विद्यालय तहकै पाठ्यक्रममा समावेश हुनुपर्छ । वनस्पति तथा जीव संकायको उच्च तहमा त यसको बृहत् रूपमा अध्यापन हुनु जरूरी छ । यो सिद्धान्त थाहा नपाई जीव तथा वनस्पति उद्विकास तथा फैलावट अध्यापन गराउने शिक्षकले अधुरो ज्ञान मात्र दिइरहेको हुन्छ ।

शिक्षक मासिक, २०७६ भदौ अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial