जिज्ञासा र जवाफ भदौ २०७६

त्रुटि हुन गएछ

कक्षा–६ को अंग्रेजी पुस्तकको युनिट–२ को Exercise-8 (A) मा ‘Match description with the pictures' लेखी एकातिर Description र अर्कोतिर चित्र राखेर जोडा मिलाउन दिइएको छ । तर चित्र र त्यसको Description विद्यार्थीले जोडा मिलाउनै नपर्ने गरी पहिले नै उही लहरमा सीधा–सीधा मिलाएर राखिएको छ । अभ्यास सामग्रीलाई यसरी प्रस्तुत गर्नु सही हो ? Exercise-8 कै (D) मा People wearing बाट शुरू हुने वाक्यहरूमध्ये एउटामा कजयचतक लेखिएको छ । त्यहाँ कजष्चतक हुनुपर्ने होइन र ?

नवीनकुमार शाही, सरस्वती मावि चौकुने, घाटगाउँ, सुर्खेत

तपाईंले औंल्याएको अभ्यासमा पाठ्यपुस्तकको लेआउट गर्दा चित्र र  Description को संयोजन एकै लहरमा पर्न गएको रहेछ । यसले विद्यार्थीको सिकाइमा असर नपार्ने भए पनि अभ्यासका दृष्टिले चित्र र  Description को भग्नक्रमिक संयोजन मिलाएर दिनु सही होइन । यो त्रुटि भएकाले यसलाई आगामी संस्करणमा सच्याइनेछ । हाललाई उक्त अभ्यासको Description वा चित्रको क्रमलाई तलमाथि पारेर अभ्यास गराइदिनुहुन समस्त शिक्षकहरूमा अनुरोध छ ।

गणेश भट्टराई, सूचना अधिकारी, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुर

आयोगको नियम स्पष्ट भएन

शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को नियम २२ (क) मा ‘खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा शिक्षकको पदपूर्ति गर्दा अनुभव बापत सोही तहको अस्थायी वा राहत अनुदान कोटा अन्तर्गतको शिक्षकको रूपमा काम गरे बापत प्रत्येक वर्षको १ अंकका दरले बढीमा १२ अंक ‘दिइने’ उल्लेख छ । तर सोही नियमावलीको नियम–३८ को उपनियम–२ मा ‘शिक्षकलाई आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवा गर्दा लिइने लिखित परीक्षा र अन्तर्वार्ताको अंक विभाजन तथा अन्य व्यवस्था खुल्ला प्रतियोगितात्मक परीक्षा सरह हुनेछ । त्यसरी अन्तर्वार्ताको अंक विभाजन गर्दा शिक्षकलाई अनुभव बापत प्रत्येक वर्षको एक अंकका दरले बढीमा १० अंक दिइनेछ’ भनिएको छ । एउटै नियमावलीका यी दुई व्यवस्था आपसमा बाझ्एिकाले अस्पष्ट देखियो । यसबारे स्पष्ट पारिदिनु भए आभारी हुनेथिएँ ।

युवराज सुवेदी, जनज्योति मावि, सुनिल स्मृति गापा–६, रोल्पा

शिक्षक सेवा आयोग नियमावली २०५७ का उपर्युक्त प्रावधानहरूमध्ये शिक्षक नियुक्ति र सिफारिश सम्बन्धी व्यवस्था परिच्छेद–३ र बढुवा सम्बन्धी व्यवस्था परिच्छेद–४ सँग सम्बन्धित अलग–अलग विषय हुन् । नियमावलीको आशय बमोजिम नै फरक प्रयोजनका लागि बनेका यी दुई नियमलाई सोही अनुसार बुझनुभएमा अस्पष्टता रहँदैन ।

दामोदर आचार्य, सूचना अधिकारी, शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुर

फेरि पोशाक भत्ताकै कुरा

आर्थिक वर्ष २०७४/७५ मा स्थायी, अस्थायी र राहत दरबन्दीका सबै शिक्षकले पोशाक भत्ता पाए । तर साविक स्रोत व्यक्तिका सट्टा शिक्षक तथा कार्यालय सहयोगीले पोशाक भत्ता पाएनन् । यस आर्थिक वर्ष २०७५÷७६ मा उनीहरूले पोशाक भत्ता पाउँछन् कि पाउँदैनन् ?  

वीरेन्द्र कर्ण, दुलालेश्वर मावि, दोलालघाट, काभ्रे

चालू शैक्षिक सत्रमा पढाउने स्थायी, अस्थायी तथा राहत शिक्षक, बालविकासका सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीले यस वर्षका लागि पोशाक भत्ता पाइसकेका छन् । विगतमा स्रोत व्यक्तिको सट्टामा पढाउँदै आएका शिक्षकले अवकाश पाइसकेको र उनीहरूले चालू शैक्षिक सत्रमा विद्यालय गएर नपढाउने भएकाले त्यस्ता पूर्व शिक्षकलाई पोशाक भत्ता दिइँदैन ।

दीपक शर्मा, प्रवक्ता, शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविकको शिक्षा विभाग)

दुई किताबमा एउटै चित्र

कक्षा–५ को नेपाली विषयको किताबको अगाडि कभर पेजमा राखिएको चित्र कक्षा–३ मा पढाइ हुने नेपाली विषयकै पुस्तकको पाठ–२ (ढुंगाको खिचडी) अन्तर्गत पृष्ठ–५ मा पनि छ । ती दुईमध्ये कक्षा–५ को किताबमा राखिनु सन्दर्भ अनुसार नसुहाएको हो कि जस्तो लाग्यो । यसबारे पाठ्यक्रम विकास केन्द्रको भनाइ के छ ?

जगदीश बिसुन्खे, सम आभूवि, रामेछाप नपा–८, डुम्रिखर्क, रामेछाप

जगदीशजी, पुस्तकको आवरण पृष्ठमा राखिएको चित्रका विषयमा तपाईंबाट प्राप्त पृष्ठपोषणलाई हामी हार्दिकतापूर्वक स्वीकार गर्छौं । नेपाली विषयको पुस्तकमा कक्षा–३ को पाठ र कक्षा–५ को आवरणमा एउटै चित्र परेकामा क्षमाप्रार्थी छौं । आगामी छपाइमा कक्षा–५ को पुस्तकको आवरण पृष्ठ परिवर्तन गर्ने छौं ।

गणेश भट्टराई, निर्देशक (सूचना अधिकारी), पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुर

बिरामी शिक्षकले अस्थायी सेवा अवधि जोड्न पाउने कि नपाउने ?

म २०६३/१०/०१ मा स्थायी नियुक्ति पाएको शिक्षक हुँ । त्यसअघि मैले २०५३/०१/०४ मा नियुक्ति लिई १० वर्ष ९ महीना जति अस्थायी सेवा गरेको थिएँ । हाल म मुटुरोगबाट पीडित छु । २०७६/१०/०१ मा मेरो स्थायी सेवा अवधि १३ वर्ष पूरा हुन्छ । शिक्षा ऐन २०२८ को दफा ११ च को घ (७) मा ‘अस्थायीबाट स्थायी हुने शिक्षकको निवृत्तिभरणका लागि सात वर्षसम्म अस्थायी सेवा अवधि जोड्न सकिनेछ’ भनी उल्लेख भएको हुँदा मैले बिरामी भएको कारण १३ वर्ष स्थायी सेवा अवधि पुगेपछि बाँकी रहने सात वर्षको समय अस्थायी सेवाबाट जोडेर अवकाश लिन पाउँछु कि पाउँदिन ?

यामबहादुर घिमिरे, पृथ्वी मावि, मुनपा–३, गुल्मी

शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा ११ च को उपदफा घ (७) मा संवत् २०५२ साल र तत्पश्चात् भएका विज्ञापनबाट स्थायी नियुक्ति पाएका शिक्षकले अवकाश हुँदा निवृत्तिभरण पाउने अवस्था नभएमा सो प्रयोजनका लागि निजको सात वर्षसम्मको अस्थायी सेवा अवधि जोड्न सकिने उल्लेख छ । यसैगरी शिक्षा मन्त्रालयको च. नं. १९३, मिति २०७३/०८/१४ को पत्रबाट उमेरको कारणले हुने अनिवार्य अवकाशको अवस्थामा मात्र अस्थायी सेवा अवधि जोड्ने भनी निर्देशन भई आएकाले तपाईंलाई बिरामी भएको कारण नै पहिलेको अस्थायी सेवा जोड्न नसकिने व्यहोरा अनुरोध छ ।

रवीन्द्र बुढाप्रिथी, निर्देशक (सूचना अधिकारी), विद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौं

सिसाकलमले चित्र बनाउन मात्र पाइन्छ

शिक्षक सेवा आयोगले लिने परीक्षामा प्रश्नको प्रकृति अनुसार जवाफ लेख्दा सिसाकलमले चित्र वा कुनै आकृति बनाएमा कापी रद्द हुन्छ भन्ने सुनिन्छ । के यो सत्य हो ?

दीपक खड्का, शान्ति आभूवि, मोरङ

आयोगको परीक्षामा सिसाकलमले वस्तुगत प्रश्नको उत्तरमा रेजा चिह्न लगाउन र विषयगत प्रश्नको उत्तर लेख्न पाइँदैन । कसैले त्यसो गरेमा त्यस्तो उत्तरपुस्तिका रद्द हुन्छ । तर विषयगत प्रश्नको उत्तर लेख्दा चित्र पनि बनाउनुपर्ने भएमा चाहिं सिसाकलमले बनाउन पाइन्छ । त्यसरी सिसाकलमले चित्र बनाएकै कारण कापी रद्द हुँदैन ।

दामोदर आचार्य, उपसचिव (सूचना अधिकारी), शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुर

बाबुआमाको क्रिया गर्ने महिला शिक्षकले कति दिन विदा पाउँछन् ?

शिक्षा नियमावली २०५९ को नियम १०६, उपनियम (७) अनुसार शिक्षकले आफैं क्रिया बस्नु परेमा क्रिया विदा पाउने र महिला शिक्षकको पतिले क्रिया बस्नु परेमा त्यस्तो महिला शिक्षकले पनि क्रिया विदा पाउने उल्लेख छ । तर महिला शिक्षकको हकमा निजको आफ्नै बाबुआमाको मृत्यु हुँदा हाम्रो धर्म संस्कार अनुसार छोरीले तीन या पाँच दिन क्रिया बस्ने प्रचलन छ । यस्तो अवस्थामा महिला शिक्षकले नियमानुसार कति दिन क्रिया विदा पाउँछन् ?

भीष्मा पाण्डे, सरस्वती आभूवि, छत्रदेव–६, अर्घाखाँची

शिक्षा नियमावलीको व्यवस्था अनुसार शिक्षक आफैंले क्रिया बस्नु परेमा बढीमा १५ दिन क्रिया विदा पाउने व्यवस्था छ । यसको आशय महिला या पुरुष जो भए पनि आफ्नो धर्मसंस्कार र परम्परा अनुसार बाबुआमाको क्रिया बस्ने शिक्षकले समान रूपमा विदा पाउँछन् ।

दीपक शर्मा, प्रवक्ता, शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविकको शिक्षा विभाग)

४ जीपीए भनेको कति प्रतिशत हो ?

एसईई परीक्षामा कुनै विद्यार्थीले ४ जीपीए प्राप्त गरेको सुनियो । त्यस्ता परीक्षार्थीले कुल कति प्रतिशत अंक प्राप्त गरेका हुन् ? के उनीहरूले सम्पूर्ण विषयमा १०० प्रतिशत अंक प्राप्त गरेका हुन् ?

केशवसिंह तिंकरी, धारीपाटा मावि, धारी, दार्चुला

परीक्षामा सोधिएका प्रश्नको उत्तर दिंदा कुल पूर्णाङ्कको ९० देखि १०० प्रतिशतसम्म अङ्क ल्याउने विद्यार्थीले ब्ं ग्रेड पाउँछ र सबै विषयमा ब्ं ग्रेड प्राप्त गर्ने परीक्षार्थीलाई जीपीए ४ दिइन्छ । तसर्थ जीपीए ४ भनेको सम्पूर्ण विषयमा १०० प्रतिशत अंक होइन । जीपीएको अवधारणा फरक भएकाले यसलाई प्रतिशतसँग तुलना गर्न मिल्दैन ।  

भवराज कोइराला, निमित्त नियन्त्रक, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुर

मेरो बढुवा के हुन्छ ?

म २०४० सालमा प्रावि तहमा स्थायी नियुक्ति पाई सोही वर्ष आफूलाई पायक पर्ने विद्यालयमा सरुवा भएँ । २०४३ सालमा कार्यरत विद्यालयमा आफ्नो पद लियनमा राखी निमावि तहको अस्थायी शिक्षक पदमा सरुवा भएर फेरि अर्को विद्यालयमा गएँ । २०४५ सालमा सोही विद्यालयको निमावि तृतीय श्रेणीमा स्थायी बढुवा नियुक्ति लिएँ । तर उक्त सरुवा एवं बढुवाको आधिकारिक जानकारी तत्कालीन जिल्ला शिक्षा कार्यालयमा गराइएन । तत्कालीन विद्यालय सञ्चालक समितिको सहमतिले मात्र मेरो सरुवा तथा स्थायी बढुवा भएको थियो । अब मेरो त्यसबेलाको बढुवाले मान्यता पाउँछ कि पाउँदैन ? पाउँछ भने मैले के कस्तो प्रक्रिया पूरा गर्नुपर्छ ?

दुष्यन्त सिलवाल, श्रीराम मावि, काभ्रे

अस्थायी शिक्षकको सरुवा हुने व्यवस्था शिक्षा ऐन वा नियमावलीमा छैन । तर तपाईंको विषयमा विस्तृत जानकारी विना यसै हुन्छ भन्न सकिंदैन । त्यसकारण आफ्नो शुरू नियुक्तिदेखिका सम्पूर्ण कागजातहरू लिएर सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा गई अभिलेख हेरेर यसबारे छिनोफानो गर्नुहोला । त्यहाँ कुनै द्विविधा भएमा इकाइले हामीलाई सोध्छ र पूरै कागजात हेरेर हामी उचित सल्लाह दिनेछौं ।  

दीपक शर्मा, प्रवक्ता, शिक्षा तथा मानव स्रोत विकास केन्द्र  (साविकको शिक्षा विभाग)

शिक्षक मासिक, २०७६ भदौ अंकमा प्रकाशित ।

commercial commercial commercial commercial