क्रियापद मै अन्योल

सबै क्रियापद का धातु हुन्छन् र ती धातुहरू प्रत्यय सँग मिलेर शब्द बन्छन् । सबैले बुझेकाे सत्य यही हो । मैले यही सत्य लाई आधार बनाएर कतिपय गुरुहरूसँग ‘छ’ को धातु के हो र त्यो कुन प्रत्यय सँग मिलेर ‘छ’ बनेको हो, भन्ने प्रश्न बोकेर पुगें । तर उहाँहरू बाट संस्कृत को ‘अस्’ धातु बाट नेपाली मा ‘छ’ बनेको हो भन्ने अधूरो जवाफ बाहेक थप केही पाउन सकिनँ । सँगसँगै अर्को अनुत्तरित प्रश्नले पनि मलाई सताइरहेको थियो— ‘बाबा लाई चिठी पठा । आमा लाई नसता ।’ जस्ता वाक्य मा प्रयुक्त क्रियापदहरू पठा, (न)सता कसरी बनेका हुन् ? अर्थात् पठाउ(नु), सताउ(नु) मा कुन प्रत्यय जोडिएर इनको निष्पाद हुन्छ ? ‘पढ्’ मा ‘आ’ प्रत्यय जोडेर ‘पठा’ बनाउनका लागि हामी सँग ‘पठ्’ धातु छैन । वास्तव मा ‘पढ्’ मा ‘आ’ प्रत्यय जोडिएर पढा बनेको पनि होइन । जवाफ खोज्ने क्रम मा मैले नेपाली भाषा मा लेखिएका अधिकांश व्याकरण का पुस्तकहरू पल्टाएर भ्याएँ, नेपाली भाषा का गुरुहरू का ढोका ढक्ढक्याएँ तर यी र एस्तै मेरा अनेकौं प्रश्नहरू ले कहिल्यै सटीक र वैज्ञानिक जवाफ पाएनन् ।

अनि मलाई लागिरह्यो— ‘नेपाली भाषा मा भाषा को जरो रूपी क्रियापद मै अन्योल विद्यमान छ । व्याकरण का अनेक पुस्तकहरू बनेका छन् तर क्रियापदहरू आफैंमा व्यवस्थित हुँदाहुँदै पनि आवश्यक अध्ययन को कमी ले अव्यवस्थित जस्ता देखिएका छन् । क्रियापद का मामिला मा हाम्रा नेपाली व्याकरण का पुस्तकहरू आधा गाग्री जस्तै बनेर छचल्किंदै र पोखिंदै भएका छन् । कोही संस्कृत व्याकरण को बैसाखी टेकेर नेपाली व्याकरण बनाउन चाहन्छन् र कोही हिन्दी वा अंग्रेजी व्याकरण को देखासिकी मा नेपाली व्याकरण तयार पार्न चाहन्छन् ।’

नेपाली क्रियापद लाई विज्ञान सम्मत सूत्रहरू दिएर व्यवस्थित गर्ने हो भने एसले नेपाली लाई मात्र नभएर नेपाली सिक्न चाहनेहरू लाई समेत ठूलो सहयोग हुने थियो कि भन्ने लागेर मैले एता तर्फ हात हालें । एउटा सुनिश्चित बाटो फेला पार्न कै लागि मैले जीवन का महत्वपूर्ण एघार वर्ष भन्दा धेरै अवधि क्रियापद को खोजबीन मै खर्चिएँ । क्रियापद सँग सम्बन्धित कुराहरू भनेका धातु र प्रत्यय हुन् ।

जब अध्ययन गर्दै गएँ, नौला नौला कुराहरू सामुन्ने आउन थाले । अचम्म लाग्यो र खुशी पनि लाग्यो । सबै मिलेरै बसेका रहेछन् । सबै नियमित । मलाई त हामी भन्दा पनि शब्दहरू बलिया लाग्न थाले । शब्द जसरी पनि आफ्नो स्वाभाविक रूप मा प्रकट हुन चाहँदा रहेछन् । हामीले केही समय अँठ्याउँदैमा वा खुट्टा बंग्याउँदैमा तेही अंठ्ठिएको स्वरुप मा वा तेही खुट्टा बाङ्गिएको अवस्था मा सधैं भरि टिकी रहन्छन् भन्ने रहेनछ । आज दीर्घ लाई ह्रस्व वा ह्रस्व लाई दीर्घ पार्दै मा शब्दहरू ह्रस्वै वा दीर्घै बसिराख्न मान्दा रहेनछन् । अथवा भनौं लामो समय सम्म हामीले अँठ्याउन वा बङ्ग्याउन सक्दा रहेनछौं ।

मलाई कहाँ सम्म लाग्न थाल्यो भने अक्षर को बनोट को सम्बन्ध कतिपय शब्द बन्ने बेला सम्म पनि कायम रहँदो रहेछ । मलाई चुच्चो मा भएको च को चुच्चा ले कोप्ला जस्तो लाग्यो र बोधो मा भएको ब आफ्नै गोलाई ले बोधिए जस्तो लाग्यो । घरि आधा अक्षरहरू पल्लो अक्षर का बुई चढे जस्तो देख्थें र घरि अर्काको खुट्टो समातेर अडिए जस्तो देख्थें । स्वरहरू कपडा जस्ता लाग्थे र व्यञ्जनहरू शरीर जस्ता । कुनै व्यञ्जन ले स्वररुपी उकार का जुत्ता लगाएका र कुनैले स्वर रुपी इकार का टोपी लगाएका हुन् कि झैं लाग्थ्यो ।

मूल धातु गर् बाट गराउ, गराइ र गरि गरी थप तीनवटा व्युत्पन्न धातु बन्दा रहेछन् । यी धातुहरू आ–आफ्नै तरीकाले झण्डै ४५० वटा प्रत्यय सँग मिलेर अनेक शब्द बनाउँदा रहेछन् । एउटै ‘गर्’ का झण्डै तीन शय भन्दा बढी रूपहरू बन्न सक्दा रहेछन् । नेपाली भाषा मा मूल र व्युत्पन्न गरेर पन्ध्र हजार भन्दा बढी धातु रहेको हिसाब निस्क्यो । प्रत्यय जोडिएर कुनै धातु बाट तीन शय भन्दा धेरै पनि र कुनै बाट पचास भन्दा थोरै पनि गरी कुल पच्चीस लाख शब्द को व्युत्पादन हुँदो रहेछ । यो रहस्य बुझना साथ भाषा र वर्णविन्यास को अधिकांश भाग धातु र प्रत्यय को यथोचित व्यवस्था र तिनको यथार्थ मिलन प्रक्रिया मै टिकेको छ भन्ने कुरा बुझन मलाई कठिन भएन ।

अध्येता लोकमणि पौडेलको पुस्तक क्रियापद (२०७६) बाट उद्धृत । पुस्तकमा प्रयुक्त हिज्जे तथा विभक्ति लेखनशैलीलाई यहाँ पनि जस्ताको तस्तै राखिएको छ । – सम्पादक

commercial commercial commercial commercial