स्थानीय पाठ्यक्रममा प्रकृति बोध

अग्लो ठाउँबाट होचो ठाउँमा बग्नु पानीको प्रकृति हो भने चिसो ठाउँबाट न्यानो ठाउँमा बहनु हावाको प्रकृति हो। हावाले बादल–पानी लगायत विभिन्न पदार्थलाई उडाएर यत्रतत्र पारिदिन्छ। हुरी, बतास, हुण्डरी आदि सबै हावाको खेलमा आधारित हुन्छ।

म र मेरो परिवेश— गुणस्तरीय शिक्षाको एउटा महत्वपूर्ण विषय मात्र नभई अभिन्न अङ्ग पनि हो । ‘म को हुँ र मेरो परिवेश कस्तो छ’ भन्ने कुराको यथार्थ विद्यार्थीले बुझनुपर्छ । एउटा कागको बचेराले बुझेको हुन्छ— उसको गुँड अग्लो हाँगामा सुरक्षित छ, हावा–बतास पनि खप्न सक्छ । अनि जीवन धान्न उसले रन–वन चहार्नुपर्छ । एउटा कोइलीले बुझेको हुन्छ— त्यो गुँड कागको हो, आफ्नो हैन । ऊ जन्मेको त त्यहीं थियो, तर जीवनयापनको लागि उसले अर्कै व्यवस्था गर्नु छ । रन–वन चहार्दै टाढा–टाढाको देश पनि पुग्नुपर्छ । काग कागै हो । कोइली कोइली नै हुन् । विद्यार्थी भाइबहिनीमा पनि— म को हुँ ? कसको सन्तान हुँ ? मेरा बान्धव बाबु र आमा को हुन् ? कहाँ छन् ? भन्ने चेतको स्पष्ट विकास हुनै पर्छ । एउटा विद्यार्थीले यो पनि भुल्नुहुँदैन— यो संसारमा ऊ पनि एउटा प्राणी हो । एउटा मानिस हो । उसको एउटा ज्यान छ । मात्र एउटा ज्यान अर्थात् एउटा जीवन । उसले बाँच्ने संसार पनि एउटै छ । एउटै पृथ्वी । अर्को पृथ्वी छैन ।

‘म र मेरो परिवेश’ को कुरा एउटा विन्दुबाट, कुनै स्थान विशेषबाट प्रारम्भ हुन्छ । त्यहाँबाट यो पृथ्वीको भूमण्डल, जलमण्डल, वायुमण्डल हुँदै ब्रह्माण्डसम्म व्यापक हुँदै जान्छ । यसरी विन्दुबाट ब्रह्माण्डसम्मको ज्ञान र चेतनाको विकासमा विद्यालय शिक्षाले योगदान पुर्‍याउन सक्यो भने गुणस्तरीय शिक्षाको यात्राले सही मार्ग लिएको अनुभूत गर्न सकिन्छ । घरको आँगनमा बसेर आकाशको तारा नियाल्दै ‘टुइन्कल ... टुइन्कल लिटिल स्टार...’ भन्ने विन्दुदेखि ब्रह्माण्डसम्मको सम्बन्धलाई जोड्ने ज्ञान र चेतनाको विकास नै गुणस्तरीय शिक्षाको ‘गुण’ मानिनुपर्छ ।

स्थानीय पाठ्यक्रम
नेपालको वर्तमान शिक्षा प्रणालीमा विद्यालय शिक्षाभित्र स्थानीय परिवेशका पाठ्यविषय र पाठ्यसामग्री स्थानीयस्तरबाटै निर्माण गर्ने प्रावधान हुँदाहुँदै पनि त्यसको उचित कार्यान्वयन हुन सकिरहेको छैन । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रमले आधारभूत तहका विभिन्न कक्षामा १०० पूर्णाङ्कको स्थानीय विषय वा मातृभाषाको प्रावधानका साथै सामाजिक अध्ययन, शारीरिक शिक्षा र सृजनात्मक कलाको विषय सन्दर्भमा २० प्रतिशत पाठ्यभारको लागि स्थानीय तहबाटै पाठ्यक्रम एवं पाठ्यसामग्री निर्माण गर्ने अधिकार स्थानीय सरकार, विद्यालय अथवा समुदायलाई दिएको छ । तर, यो विषयमा नगण्य विद्यालयले मात्र चिन्ता र चासो राखेको पाइन्छ । यो एउटा महत्वपूर्ण शैक्षिक दायित्व र अवसरप्रति देशका सबै विद्यालयको चासो जागोस् भनेर शिक्षक  मासिकले २०७४ वैशाखबाट स्थानीय पाठ्यक्रमको औचित्य, आवश्यकता र महत्वबारे आम चर्चा र बहसको कार्यक्रम थालनी गरेको थियो । स्थानीय पाठ्यक्रमको खाँचो र महत्वबारे लगभग दुई वर्षसम्म संवाद–छलफल चलाएपछि स्थानीय तहमा एउटा नयाँ जाँगर देखिन थालेको छ । उक्त अवधिमा शिक्षक  मासिकमा प्रकाशित लेख–रचना तथा एफएम रेडियोबाट प्रसारित शिक्षा–संवाद  कार्यक्रमबाट देशभरिका विद्यालयमा नयाँ चेतना उजागर हुन थालेको छ । यसबाट भएको प्रत्यक्ष प्रभावको उदाहरण भक्तपुर नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम— ख्वपको पहिचान–२०७५ लाई लिन सकिन्छ । यसैगरी अरू स्थानीय निकायहरू जस्तैः रूपन्देहीको देवदह नगरपालिकाले थालेको बौद्ध  शिक्षा  र देवदह परिचय  एवं गोकर्णेश्वर नगरपालिकाले तयार पारेको स्थानीय विषयको पाठ्यक्रम र पाठ्यसामग्री यहाँ उल्लेख गर्न सकिन्छ । तर यस क्रममा अग्रगामी भूमिका खेल्ने रसुवा जिल्लाको कोमिन श्यामोवाङफेल मावि, स्याफ्रु स्रोतकेन्द्र तथा रसुवा मावि स्रोतकेन्द्रको विशेष प्रशंसा गर्नुपर्छ ।

वर्तमान नेपालको संघीय स्वरुपमा स्थानीय सरकारहरूलाई एउटा नयाँ अवसर पनि मिलेको छ । आज गुणस्तरीय शिक्षाको बारेमा चर्चा गरिरहँदा प्रकृति, संस्कृति र वातावरणको बदलिंदो अवस्था, बढ्दो प्रदूषण, प्राकृतिक स्रोतको अत्यधिक दोहन एवं विश्व जलवायु परिवर्तनको प्रभावहरूबारे बालबालिकालाई सचेत गराउनु पनि आवश्यक छ । यस कार्यको प्रारम्भ आफ्नै परिवेशका प्रकृति अध्ययनबाट हुनु वाञ्छनीय हुन्छ ।

प्रकृति र विविधता
नेपालको प्राकृतिक विविधता ज्यादै फराकिलो छ । पारिस्थितिक प्रणालीको विविधताको आधारमा प्रा. डोब्रेमेजले (Dobremez) नेपालको नक्शालाई १८९ इकाइमा बाँडेका थिए । वन र वनस्पतिको आधारमा छुट्ट्याइएका ती इकाइ (Ecological Unit) लाई सन् १९८९ मा नेपालको वन गुरुयोजना बनाउँदा ११८ इकाइमा सीमित गरिएको थियो । समथर तराईदेखि सगरमाथासम्म उठेको यो देशमा ५००० मिटरभन्दा उच्च हिमाच्छदित क्षेत्र लगायत लेकाली (४०००–५००० मिटर), उपलेकाली (३०००–४००० मिटर), समशीतोष्ण (२०००–३००० मिटर), उपउष्ण (१०००–२००० मिटर) र उष्ण (१००० मिटर भन्दा तल पर्ने भूभाग) क्षेत्र गरेर ६ वटा जलवायु (Climatic Zone) छन् । भूगोलको दृष्टिले पनि नेपाललाई भोट, हिमाल, पहाड, मधेश, चुरे र तराई गरेर ६ भागमा छुट्ट्याउन सकिन्छ । यसरी ६ वटा भौगोलिक क्षेत्र र ६ वटा जलवायु भित्रका ११८ वटा पारिस्थितिक (Ecological) विविधतामध्ये आफूकहाँ परियो भनेर आफ्नो प्राकृतिक परिवेश पहिचान गर्न हाम्रा ६ वटा ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिब्रो, छाला र विशेष चेतना) ले प्रकृतिका ६ वटा तत्व (जल, स्थल, वायु, आकाश, तेज तथा जीवमण्डल) लाई स्पर्श र अनुभव गर्न सक्नुपर्छ । तब मात्र हामीलाई स्थानीय परिवेश र त्यसको यथार्थ र प्रकृति बोध हुन आउँछ । ऋतु चक्रका ६ वटा कालखण्ड (वसन्त, ग्रीष्म, वर्षा, शरद, हेमन्त तथा शिशिर) लाई आत्मसात् गर्न सक्यौं भने स्थानीय परिवेश अझ प्रष्ट खुल्न आउँछ । स्थानीय पाठ्यक्रमले विद्यार्थीलाई आफ्नो क्षेत्रको वन–जङ्गल, चरन, नदी–नाला, ताल र जलाशयहरू, कृषि क्षेत्र, बगैंचा आदिमा केही समय शान्तसँग बिताउने र प्रकृति अवलोकन गर्ने व्यवस्था मिलाउनु उचित हुन्छ ।

नेपालका प्रायः सबै जिल्लामा राष्ट्रिय वा अन्तर्राष्ट्रिय महत्वका प्राकृतिक क्षेत्रहरू पाइन्छन् । त्यस्ता क्षेत्रहरू— कहीं राष्ट्रिय निकुञ्ज, कहीं संरक्षण क्षेत्र, कहीं रामसारको क्षेत्र (सिमसारहरू), कहीं धार्मिक वा सामुदायिक वन आदि विभिन्न नामले परिचित छन् । यी सबै प्रकृति अध्ययनका लागि उपयुुक्त खुला पाठशाला हुन् । तिनका अतिरिक्त खेत, बारी, माछापोखरी, चरिचरनहरू पनि प्रकृति अध्ययनका लागि उपयोगी हुन्छन् ।

प्रकृतिलाई बुझ्ने र बुझाउने काइदा
जे वस्तु मान्छेले बनाएको हैन र मान्छेको ‘कृति’ भन्दा पहिलेदेखि नै अस्तित्वमा रहिआएको थियो, त्यही नै प्रकृति हो । जल (पानी), स्थल (भूमि), वायु, आकाश र प्रकाश (घाम) लाई हामी प्रकृतिका पाँच तत्व भनेर मान्दछौं । त्यस्तै वृक्ष, वन, वनस्पति, वन्यजन्तु, पशुपक्षी, कीराफट्याङ्ग्रा, सर्प, भ्यागुता, च्याउ, लेउ, झयाउ आदि सजीव वस्तु पनि प्राकृतिक हुन् । प्राण नभएका प्राकृतिक तत्व र प्राण भएका प्राकृतिक तत्व हाम्रा वरिपरि छन् । त्यही परिवेशमा हामी बाँचेका छौं । आफ्नो परिवेशको प्रकृतिलाई आफ्नै आँखाले हेरेर, कानले सुनेर, नाकले सुँघेर, त्वचाले स्पर्श गरेर अनि जिब्रोले स्वाद लिएर अनुभव गर्ने अवसर हामीले बालबालिकालाई जुटाइदिनुपर्छ । आफैैंले आफ्नै अङ्गले अनुभव गरेपछि मात्र तिनले प्रकृतिलाई सही ढङ्गबाट बुझन/बुझाउन सक्छन् । यस्तो सिकाइबाट विद्यार्थीले जीवनपर्यन्त प्रकृतिबाट सिक्ने प्रेरणा पाइरहन्छन् ।

१. रूख–वनस्पतिको प्रकृति
रूखलाई हामी प्रकृति मान्छौं । तर त्यतिले मात्र पुग्दैन । हामीले बुझनु र बुझउनुपर्ने कुरा— रूखको प्रकृति हो । हामीलाई रूखले छहारी दिन्छ । त्यो रूखको प्रकृति हो । रूखका हरिया पातले हामीलाई सास फेर्न अक्सिजन वायु प्रदान गर्छन् । हामीले सास फेर्दा छोडेको कार्बन डाइअक्साइड वायु सोसेर लिन्छन् । वातावरणलाई स्वच्छ राख्नु रूखको प्रकृति हो । वनजङ्गल भएको ठाउँमा राम्रो पानी पर्छ । त्यसैले बादललाई पानी पार्न सहायता गर्नु पनि रूखको प्रकृति हो । रूखको जराले जमीनको माटोलाई समाएर राखेको हुन्छ । भूक्षय वा पहिरोलाई रोक्नु पनि रूखको प्रकृति हो । रूखले चराचुरुङ्गी, कीराफट्याङ्ग्रा, पुतली, बारुला लगायत बाँदर र विभिन्न पशुपन्छीलाई बासस्थान दिन्छ । त्यो पनि रूखको अर्को प्रकृति हो । रूखले फल, फूल दिन्छ । खाद्य पदार्थ दिन्छ, त्यो पनि रूखको प्रकृति नै हो । रूखले हाम्रा आँखालाई शीतलता दिन्छ । रूखले शान्त र शीतल वातावरण दिन्छ । त्यसैले त रूखको छहारीमा नै सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरे ।

आजभोलि हामी दिगो विकास (Sustainable Development) का कुरा गर्छौं । प्राकृतिक सम्पदाको दिगो उपयोग र उपभोगका कुरा गर्छौं । दिगोपन बुझन, बुझाउन र परिभाषित गर्न त्यति सजिलो हुँदैन । तर एउटा वृक्षले हरदम त्यसको व्याख्या गरिरहेको हुन्छ । हाम्रै लोकगीतले पनि त्यसलाई यसरी गाइरहेको हुन्छ—
चैत जाँदो वैशाख लाग्दो
सुन हजुर, सालको पात पलायो ।

२. पानीको प्रकृति
पानी विना हामी बाँच्न सक्तैनौं । हामीलाई पानीको महत्व थाहा छ, तर पानीको प्रकृति बुझन भने त्यति सजिलो छैन । त्यसैले सिक्ने–सिकाउने क्रममा बालबालिकालाई पानीसँग प्रत्यक्ष गराउनु एकदमै जरूरी हुन्छ । सबैभन्दा पहिले उनीहरूले आफ्नो पिउनेपानीको स्रोत के हो र कहाँ छ भन्ने अनुभव गर्न सक्नुपर्छ । तिनले पानीका विभिन्न स्रोतमै पुगेर पानीको तरल स्वरुप र बग्ने स्वभाव अथवा प्रकृतिसँग परिचित हुन सक्नुपर्छ । ताल–तलाउमा जमेको पानी, नदीनालामा बगेको पानी, झरना–छहारीबाट झरेको पानी हेर्न–देख्न सकिन्छ । आवाज सुन्न सकिन्छ । शुद्ध छ भने पिउन पनि सकिन्छ, तर होश पुर्‍याउनुपर्छ । पानीमा खेल्न सकिन्छ । पानी अग्लो ठाउँबाट होचो ठाउँमा बग्दै जाने स्वभावको हुन्छ । बग्ने पानीमा बल हुन्छ, शक्ति हुन्छ । त्यसैले हाम्रो पर्वतीय पानीको स्रोतलाई जलशक्ति भनिन्छ । बाढी र पहिरोले पानीको शक्ति कति छ भन्ने बुझाउँछ । पानीको शक्तिले घट्ट चल्छ, विद्युत् गृहहरूमा विद्युत् उत्पादन हुन्छ । त्यस्ता ठाउँमा गएर पनि पानीको स्वभाव र शक्ति हेर्न–बुझन सकिन्छ ।

अति जाडो ठाउँमा पानी जमेर हिउँ वा बरफमा परिवर्तन हुन्छ । पानी हिउँ बनेर जम्ने प्रकृतिका कारण हाम्रो देशका अग्ला पहाडहरू सेताम्य छन् । हिमालहरू बनेका छन् । घरको रेफ्रिजेरेटरमा पानी जमाउन सकिन्छ । हामी बरफ त्यसैगरी बनाउँछौं । न्यानोले बरफ पग्लिन्छ । चिसोले बफर जम्छ । जाडो महीनामा पानी जमेर बरफ बन्छ । तुषारोले छाना र चउरहरू सेताम्य हुन्छन् । यी सबै कुरा हामीले अनुभव गर्न सक्नुपर्छ ।


स्थानीय पाठ्यसामग्रीले आफ्नो ठाउँको पहिचान बारेमा थुप्रै जानकारी प्रस्तुत गरेका हुन्छन्। सबै ठाउँमा सगरमाथा वा लुम्बिनी नभए तापनि हरेक जिल्ला वा प्रान्तका लागि आत्मगौरव गर्ने प्राकृतिक एवं सांस्कृतिक निधि हामीलाई प्राप्त छन्।

पानी तातो भयो भने बाफ बन्छ । पानी उमाल्दा हामी त्यो कुरा सहजै देख्छौं । खेत, बारी, पोखरीमा घाम र हावाले पानीलाई बाफमा बदलिदिने गर्छन् । यस्तै बाफ बादल बनेर आकाशमा उड्दै हाम्रोमा आएर पानी वर्षाउन थाल्छ ।

यसरी पानीको बहुरूपी प्रकृति बुझन र अनुभव गर्ने अवसर विभिन्न मौसममा, विभिन्न स्थानमा हामीलाई प्राप्त छ । हामीले आफ्ना सबै इन्द्रियलाई चनाखो राख्न सक्यौं भने पानीको प्रकृति बुझन गाह्रो हुँदैन । अनि हामी गाउन थाल्छौं—
साउने खोला उर्लेर आउँदा
माछा मार्नु दुवाली थापेर...

३. हावाको प्रकृति
सबै प्राणीलाई सास फेर्न हावा चाहिन्छ । हावामा धेरै प्रकारका वायु हुन्छन् । सास फेर्नलाई आवश्यक पर्ने वायुलाई अक्सिजन या प्राणवायु भनिन्छ । हावाको २१ प्रतिशत अंश अक्सिजनले ओगटेको हुन्छ । हावाको अधिकांश भाग अर्थात् ७८ प्रतिशत नाइट्रोजन वायुले ओगटेको हुन्छ । बाँकी १ प्रतिशतभित्र कार्बन डाइअक्साइड लगायत अन्य वायु पर्न आउँछन् । हावाको प्रकृतिमा फेरबदल भइरहन्छ । त्यसमा अक्सिजन र कार्बन डाइअक्साइडको मात्रा घटबढ हुने क्रम प्राकृतिक प्रक्रिया हो । मानिस लगायत सबै प्राणीले हावाबाट अक्सिजन लिइरहन्छन् र कार्बन डाइअक्साइड छोडिरहन्छन् । हरिया रूख वनस्पतिले कार्बन डाइअक्साइड लिइरहन्छन् र बदलामा तिनले अक्सिजन छोडिरहन्छन् । हावा—सन्तुलनको यो प्रकृतिलाई मानिसले बिथोल्दैछ । हामीले बाल्ने सबै खालको आगो र हामीले चलाउने विभिन्न औद्योगिक कलकारखाना लगायत मोटर, कार, बस, हवाईजहाज आदिका मेशिनले खपत गर्ने इन्धन (डिजल, पेट्रोल, मट्टीतेल) मा पनि अक्सिजन खर्च हुन्छ र कार्बन डाइअक्साइड बाहिरिन्छ । हावामा कार्बन डाइअक्साइड तथा अरू हानिकारक वायु थपिंदै अहिले हावाको प्रकृति बदलिन थालेको छ । फलस्वरुप जलवायु परिवर्तनले हामीलाई चिन्तित बनाउन थालेको छ । हामीले सास फेर्ने हावामा धुवाँ, धूलो र अरू प्रदूषण मिलेर हाम्रो स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दै छन् ।

अग्लो ठाउँबाट होचो ठाउँमा बग्नु पानीको प्रकृति हो भने चिसो ठाउँबाट न्यानो ठाउँमा बहनु हावाको प्रकृति हो । हावाको वेग पनि अति बलियो हुन्छ । हावाले बादल–पानी लगायत विभिन्न पदार्थलाई उडाएर यत्रतत्र पारिदिन्छ । हुरी, बतास, हुण्डरी आदि सबै हावाको खेलमा आधारित हुन्छ । हावा र पानीको आपसी मेल र त्यसको खेलले गर्दा हाम्रो हावापानीमा फेरबदल भइरहन्छ । त्यसलाई जीव, प्राणी र वनस्पतिले पनि बुझेका हुन्छन् । हावाको प्रकृति तोप चराले पनि बुझेकाे हुन्छ । अनि तोप चराको प्रकृति चाहिं कविवर माधव घिमिरेले बुझेका हुन्छन् । र, यो कविता बन्छ—
तोप चराको गुँडै राम्रो पूर्वतिर दैलो
भाइको भने घरै छैन कहाँ खेल्नु भैलो ।

४. घाम/परकाशको प्रकृति
घामले हामीलाई ज्योति, प्रकाश दिन्छ र न्यानो पनि दिन्छ । हरियो बिरुवाले घाम पाएपछि त्यसले खाद्य पदार्थ निर्माण गर्छ । घाम, पानी र हरियाली मिलेर बिरुवामा खाद्य पदार्थ बन्ने हो । पृथ्वीका सबै प्राणीको आहारा बिरुवाले नै निर्माण गर्छ । हामीले खाने भात, दाल, तरकारी मात्र हैन औषधि र कन्दमूल पनि घामकै तापबाट निर्माण हुन्छ । घाँस, पात र वनस्पति खाएर बाँचेका प्राणीको मासु खाएर बाघ, सिंह जस्ता मांसाहारीहरू जीवनयापन गर्दछन् । तिनको आहारा जस्तै हरिण, खरायो, बाँदर वा बँदेलको आहारा घाँसपात, वनस्पति फलफूल तथा कन्दमूल हुन् । तसर्थ, पृथ्वीका सबै प्राणीको लागि शक्तिको स्रोत घाम नै हो ।

हाम्रो भूभागलाई तातो–चिसो बनाउने काम घामले गर्छ । तसर्थ घाम, हावा र पानी मिलेर हाम्रो वरपरको वातावरण बन्दछ । प्रकाशले हाम्रो आँखालाई ज्योति दिन्छ र हामी संसार देख्दछौं । संसारका विभिन्न रङहरू घामकै प्रकृति हुन् । घामको प्रकाशले गर्दा नै रङहरू हेर्न र देख्न सम्भव भएको हुन्छ । घामले हाम्रो स्वास्थ्यलाई पनि राम्रो गर्छ । छालालाई गोरो, गहुँगोरो वा सेतो, कुहिरो बनाउने काममा घामको भूमिका ठूलो हुन्छ । घाम विना पनि जीवन सम्भव हुँदैन ।

५. स्थलको प्रकृति
हाम्रो पैतालाको संसार नै स्थल भाग हो । जमीन हो । पृथ्वीको सम्पूर्ण सतहको २९ प्रतिशत भाग जमीनले ढाकेको छ र ७१ प्रतिशत समुद्री पानीले छोपेको छ । सामान्यतया जमीनको प्रकृति पानी जस्तो बग्ने, हावा जस्तो बहने वा घाम वा प्रकाश जस्तो तेजिलो गतिमा चल्ने हुँदैन । यो स्थिर प्रकृतिको हुन्छ, तर पनि घाम, पानी, हावा तथा अरू कारणले यसको स्थिर स्वभावमा बारम्बार फेरबदल भइरहन्छ ।

पृथ्वीको भूभागमा कहीं गर्मी, कहीं जाडो हुन्छ । कहीं सुक्खा हुन्छ । कहीं ज्यादै भिजेको ओसिलो हुन्छ । कहीं समथर हुन्छ । कहीं उठेको हुन्छ । कहीं गहिरो उपत्यका बनेको हुन्छ । भू–स्वरुपको यस्तै विविधता अनुसार स्थलको प्रकृति पनि फरक–फरक हुन्छ । मानिस, पशुपन्छी र अरू प्राणीलाई बास दिने जमीन प्रकृतिका अन्य तत्व जस्तै महत्वपूर्ण हुन्छ । हामी स्थानीय शिक्षाका कुरा गर्दैछौं । स्थानीयको परिभाषाभित्र स्थान र स्थलको बारेमा ज्ञान प्राप्तिको विषय उठाउँछौं ।

६. आकाशको प्रकृति
पृथ्वी लगायत सबै ग्रह, तारा, सूर्य र चन्द्र पनि अटाएको स्थानलाई हामी आकाश भन्छौं । हाम्रो पृथ्वीको आकाशमा वायुमण्डलको बाक्लो तह छ । यो तह लगभग १६०० किलोमिटर माथिको आकाशसम्म फैलिएको हुन्छ । पृथ्वीको सतहभन्दा ८० किलोमिटर माथिको तहमा ५५ प्रतिशत वायु मौजूद हुन्छ । त्यही वायुमण्डलका कारण हाम्रो आकाशमा बादल र चराचुरुङ्गी मात्रै होइन हवाईजहाज पनि उड्न सक्छन् । त्यही वायुमण्डलले गर्दा सूर्यको प्रकाश पृथ्वीमा आइपुग्दासम्म त्यसमा हुने विभिन्न हानिकारक किरणहरू (Ultraviolet rays) आकाशमा नै विलय हुन्छन् । त्यो वायुमण्डललाई सिरक जस्तै ओढेर बसेको हुनाले हाम्रो पृथ्वी न्यानो हुन्छ । अरू ग्रह जस्तो चिसो हुँदैन ।

सबैभन्दा पहिले आफ्नै परिवेश बुझौं
गुणस्तरीय शिक्षाका लागि स्थानीय पाठ्यक्रमको महत्वबारे चर्चा उठाउँदा स्थानीय प्रकृति र स्थानीय संस्कृति स्वभावतः टड्कारो हुन आउँछ । तर सबै संस्कृतिको जननी पनि प्रकृति नै हो । त्यसैले संस्कृति भन्दा पहिला प्रकृतिलाई सम्झनु–बुझनुपर्छ । प्रकृति र संस्कृति दुवै हाम्रो आफ्नै वरिपरि आफ्नै परिवेशमा खुला पुस्तकको रूपमा मौजुद हुने गर्दछ । तसर्थ, शिक्षक–विद्यार्थीले किताबी ज्ञानसँगै प्रत्यक्ष अनुभव र अनुभूतिबाट प्राप्त हुने चेतनालाई महत्व दिनु श्रेयस्कर हुन्छ । विद्यार्थीले प्रकृति र संस्कृतिलाई आफ्नै ज्ञानेन्द्रियले देखेर, भोगेर स्वस्फूर्त कौतूहल र जिज्ञासाहरू मनोरञ्जनात्मक वातावरणमा शान्त गर्न–गराउन सक्ने अवस्था सिर्जना गरिनु उत्तम कार्य हुन्छ ।

स्थानीय पाठ्यक्रम निर्माण निर्देशिका, २०६० मा पनि स्पष्ट गरिएको छ— स्थानीय परिवेश र महत्वका विषयहरूमध्ये धेरैजसो अवलोकन, निरीक्षण र भ्रमण गरी सिक्नु–सिकाउनुपर्छ भनेर । स्थानीय पाठ्यक्रममा आधारित लाङटाङको सेरोफेरो  नामक पाठ्यपुस्तक कक्षा–१ देखि ५ (२०६९) निर्माणमा नेपाल प्रकृति पाठशाला, वन्यजन्तु संरक्षण संघले पनि अवलोकन भ्रमणलाई विशेष महत्व दिएको छ । भक्तपुर नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम ख्वपको पहिचान कक्षा–१ र कक्षा–५ (२०७५) ले सांस्कृतिक सम्पदास्थलमा भ्रमण गर्न विशेष जोड दिएको छ । यसैगरी रूपन्देहीको देवदह नगरपालिकाले कक्षा–६ देखि ८ सम्म बौद्ध शिक्षा र देवदह परिचय पाठ्यपुस्तक पढाउन थालेको छ । स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकको लहर चल्न थालेको यो अवस्थामा स्थानीय प्रकृति बोध र प्रकृति चेतको आयामलाई अझ् स्पष्ट पार्नुपर्छ । यस सन्दर्भमा प्रसिद्ध लेखक राशेल कार्सन (Rachel Carson) को विचार उद्धृत गर्नु वेश होला— ‘अनुभूति गर्नुको तुलनामा थाहा पाउनुले आधा पनि महत्व राख्दैन ।’

अन्त्यमा
गुणस्तरीय शिक्षाले आफ्नो पैतालाको संसार बुझेकाे र अनुभव गरेको विद्यार्थी उत्पादन गर्न सक्नुपर्छ । त्यसका लागि स्थानीय पाठ्यक्रमको प्रावधानलाई सदुपयोग गर्न सकिन्छ । स्थानीय परिवेश र प्रकृति तथा स्थानीय समाज र संस्कृति तिनका मूल स्तम्भ हुन् । परिवेश र प्रकृतिको पाठ्यभारमा प्रकृति बोधका लागि स्थलगत अवलोकनले ५० प्रतिशत भाग ओगट्न सक्नु राम्रो अभ्यास हुन्छ ।

आफ्नो परिवेशको प्रकृति बोध प्रक्रियामा विद्यार्थीलाई शिक्षकले सिकाउनु भन्दा उनीहरूसँग मिलेर अवलोकन गर्ने वातावरण सिर्जना गर्नु श्रेयस्कर हुन्छ । बालबालिकाका जिज्ञासा तत्काल शान्त गर्ने र तिनमा कौतूहल थप्ने प्रयास हुनु अति जरूरी हुन्छ । प्राकृतिक वस्तुका आकृतिलाई आँखाले हेर्ने र देख्ने तथा त्यस वस्तुको अन्य प्रकृति (जीवनचरिया) लाई विभिन्न इन्द्रियले अनुभूत गर्ने÷गराउने प्रयास र अभ्यास हुनु वाञ्छनीय हुन्छ । त्यस कार्यमा न्यूनतम प्रविधि जस्तै फोटो खिच्ने, दूरबीन (वाइनो कुलर) ले  टाढाको वस्तु हेर्ने र आइग्लास (लेन्स) ले सानो वस्तुलाई ठूलो देख्ने उपकरण पनि उपयोगी हुन सक्छन् । हेरेको, देखेको र भोगेको कुरा अरूलाई व्यक्त गर्ने क्षमता पनि विकास गरिदिनु शिक्षक वर्गको कर्तव्य बन्न पुग्छ ।

स्थानीय पाठ्यसामग्रीले आफ्नो ठाउँको पहिचान बारेमा थुप्रै जानकारीहरू प्रस्तुत गरेका हुन्छन् । तर त्यस ठाउँको वा त्यस क्षेत्रको अविस्मरणीय प्राकृतिक अनुभूतिको छाप स्मृतिपटलमा स्थापित गराउने काममा स्थलगत अध्ययनको भूमिका रहन्छ । सबै ठाउँमा सगरमाथा वा लुम्बिनी नभए तापनि हरेक जिल्ला वा प्रान्तका लागि आत्मगौरव गर्ने प्राकृतिक एवं सांस्कृतिक निधि हामीलाई प्राप्त छ ।


८ भदौ २०७६ मा रातो बङ्गला फाउण्डेसनद्वारा आयोजित गुणस्तरीय शिक्षा सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा दिइएको ‘सिकाइ र प्रकृति’ विषयक प्रवचनको मूल पाठ ।

शिक्षक मासिक, २०७६ असोज अंकमा प्रकाशित ।

commercial commercial commercial commercial