सामान्य ज्ञानमा असामान्य गल्ती

विद्यार्थीलाई आफ्नै परिवेश तथा छरछिमेकीका बारेमा सही जानकारी दिनुपर्छ, जसबाट उनीहरूको ज्ञानको परिधि फराकिलो हुन्छ । तर पाठ्यपुस्तकमा नै भए/नभएको जानकारी राखेर भ्रम पैदा गराउने कार्य चाहिं आपत्तिजनक ठहर्छ ।

पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित कक्षा–३ को मेरो सामाजिक अध्ययन तथा सिर्जनात्मक कला पुस्तकको पाठ ३ मा ‘मेरो गाउँघरमा मनाइने चाडपर्व’ शीर्षकको पाठ्यवस्तु छ । त्यस अन्तर्गत आआफ्नो गाउँघरमा मनाइने चाडपर्वको बारेमा जानेको कुरा लेख्ने प्रसङ्गमा नेपाली संस्कृति सम्बन्धी स्थानीय जानकारी दिने प्रयास गरिएको पाइन्छ । पाठमा जानकी चौधरी नामकी एक विद्यार्थी ‘होली’ का सम्बन्धमा यसरी लेख्छिन्— “मेरो गाउँमा ‘होली’ धूमधाममसँग मनाइन्छ । फागु पूर्णिमाको भोलिपल्ट टोलभरिका मानिस जम्मा भएर विभिन्न रङहरू दलेर होली खेल्छन् । नाचगान गर्दै मीठो खाएर यो पर्व मनाइन्छ ।”

काठमाडौं उपत्यकामा फागु पूर्णिमाका दिन भव्य रूपमा रङ खेली सोही बेलुका विधिवत् होली पर्व विसर्जन गरिन्छ । तराईमा भने यो पर्व भोलिपल्ट मात्रै मनाइन्छ । तराईमा भोलिपल्ट पनि ठाउँ र समाज हेरी विविध तरिकाले होली मनाउने प्रचलन छ । पुस्तकको यो पाठले कहाँ कसरी होली पर्व मनाइन्छ भन्ने स्पष्ट जानकारी दिन सक्दैन । उल्लिखित विद्यार्थीको लेखनले पूरै तराईमा त्यसरी नै होली मनाइन्छ भन्ने देखाउँछ जसले भ्रम सिर्जना गर्छ । ‘मेरो गाउँमा’ भनेपछि फेरि ‘टोलभरिका मानिस’ किन भन्नु पर्‍यो ? यहाँ ‘टोल’ शब्दले स्थानीयताको स्वादलाई बिगारेको त छँदैछ, यसका लेखक काठमाडौंको परिवेशबाट प्रभावित हुन् भनेर पनि जनाउँछ ।

सोही पाठमा छेवाङ लामाको नाममा लेखिएको बुद्धजयन्ती सम्बन्धी लेखोटमा पनि गल्ती छ । यसमा लेखिएको छ— “मेरो टोलमा वैशाख पूर्णिमाको दिन बुद्ध जयन्ती पर्व मनाइन्छ । यो पर्व बुद्धको प्रार्थना गरेर धूमधामसँग मनाइन्छ ।” यसमा पनि यी विद्यार्थी कहाँ बस्छन् र कुन जातीय समुदायका हुन् भन्ने खुल्दैन । सामान्यतया नामसँगै आएको थरमा ध्यान दिने हो भने विद्यार्थीको परिवेश नेपालको उत्तरी क्षेत्रको हिमाली समाज भन्ने बुझिन्छ । तर तामाङ, शेर्पा लगायतका कैयौं जातीय समुदायमा ‘लामा’ थर प्रयुक्त छ ।

इ.पू. ५६३ को वैशाख पूर्णिमाका दिन गौतम बुद्धको जन्म लुम्बिनीमा भएको थियो । बुद्धत्व प्राप्ति (३५ वर्षको उमेरमा) र महापरिनिर्वाण (८० वर्षको उमेरमा) पनि सोही वैशाख पूर्णिमाका दिन भएकाले यसलाई ‘त्रिसंयोग दिवस’ पनि भनिन्छ । यही भएर संसारभरका बौद्धहरू यस पूर्णिमालाई बडो महत्व दिन्छन् । वैशाख पूर्णिमाको एक दिन ‘बुद्धजयन्ती’ मनाउने चलन नेपालमा भित्रिएको १०० वर्ष पनि भएको छैन । श्रीलङ्कामा प्रचलित यो परम्परा भारत हुँदै नेपालमा भित्रिएको हो । थाइल्यान्डमा जेठ पूर्णिमाका दिन भव्य उत्सव मनाइन्छ । वैशाख पूर्णिमाका दिन शुरू गरेर एक महीनापछि त्यसैलाई भव्यता दिएको भन्ने बुझ्न्छि । यसबाट बुझ्न्छि, वैशाख पूर्णिमालाई महत्व दिएर संसारभरका बौद्धहरूले उत्सव मनाउने भए पनि त्यसमा निकै विविधता पाइन्छ ।

अब प्रश्न उठ्छ, पाठ्यक्रममा उल्लिखित ‘बुद्धजयन्ती’ के हो त ? वैशाख पूर्णिमाको एक दिन बुद्धजयन्ती मनाउने चलन काठमाडौं उपत्यकाको बौद्ध समाजको प्रभाव हो । पछि राज्यले पनि यसैलाई संस्थागत गरी यस दिन सार्वजनिक विदा दिने गरेको छ । बुद्धजयन्ती बनाउने चलन परम्परा वा संस्कृतिको रूपमा विकास भइसकेको पाइँदैन । हिमाली क्षेत्रको सामाजिक तथा सांस्कृतिक जीवनमा वैशाख पूर्णिमाकै दिन नभएर यसैको सन्दर्भमा केही दिनपछि ‘सागा दावा’ नामको पर्व मनाइन्छ । १५ दिनसम्म मनाइने यो पर्वले हिमाली क्षेत्रमा निकै महत्व राख्दछ । बौद्ध समाज तथा प्रत्येक गुम्बामा वैशाख पूर्णिमासँगै अन्य पूर्णिमाहरूमा पनि विशेष पूजा गर्ने चलन छ । तसर्थ छेवाङ लामा विद्यार्थीको नाममा रहेको लेखोटमा बुद्धजयन्ती नभएर ‘सागा दावा’ पर्वको बारेमा उल्लेख भएको भए यथार्थ र सान्दर्भिक हुन्थ्यो ।

अर्को पाठ–४ मा ‘सामाजिक नियमको पालना’ शीर्षक छ । कक्षा–३ मा पढ्ने मुगु जिल्लाकी डोल्मा जाडोको छुट्टीमा बुबासँग काठमाडौं घुम्न आउने प्रसङ्ग यसमा छ । काठमाडौं चिनाउन मिल्ने यो पाठ्यांशमा हेलचेक्र्याइँ वा उदासीनताका कारण सही जानकारी दिन लेखक चुकेको पाइन्छ । एक दिन उनीहरू काठमाडौंको स्वयम्भू जान्छन् । लेखिए अनुसार स्वयम्भूमा दर्शन गर्नेहरूको लाइन थियो । डोल्मा र उनका बुबा पनि लाइनमा बसे । दुई घण्टापछि उनीहरूको पालो आयो । तर यो विवरण गलत छ । किनभने लाइनमा बसेर दर्शन गर्नुपर्ने अवस्था वा व्यवस्था स्वयम्भूमा कहिल्यै पनि छैन । लेखक आफैं स्वयम्भू नपुगी कतिसम्म कल्पनामा उडेका छन् भन्ने कुरा यस पंक्तिबाट अझ् छर्लङ्ग हुन्छ– स्वयम्भू दर्शन गर्न लाइनमा बसेका बेलामा डोल्माले भित्तामा एउटा सूचना देखिन् । त्यसमा लेखिएको थियो, ‘लाइनमा बसौं र स्वयम्भूको दर्शन गरौं ।’

यस्ता पाठहरूको सावधानीपूर्वक पुनरावलोकन र संशोधन गर्न पाठ्यक्रम विकास केन्द्रले ढिला नगरोस् ।

शिक्षक मासिक, २०७६ असोज अंकमा प्रकाशित ।

commercial commercial commercial commercial