के यस दुनियाँमा मच्छरको कुनै भूमिका छ ?

मच्छरले मान्छेलाई हाराबारा खेलाउन थालेको आजदेखि होइन। मान्छेको ‘दुश्मन नं. १’ यो जीवलाई मच्छर–पुस्तक द मस्क्विटो  का लेखक तिमोथी वाइनगार्डले त ‘विश्व संहारक’ (डिस्ट्रोयर अफ वल्र्डस्) कै संज्ञा दिएका छन्। नदिउन् पनि किन ? संसारमा आजसम्म जन्मेका मानिसमध्ये आधालाई त यसैले सिध्याएको छ। आज पनि यसका कारण वर्षेनि १० लाख मानिसको ज्यान गइरहेको छ।

भारतका चार हजार शहरमा गरिएको स्वच्छता सर्वेक्षण–२०१७ मा इन्दौर पहिलो नम्बरमा थियो । सामूहिक प्रयासहरूबाट उत्कृष्ट नतीजा पाउन सकिन्छ भन्ने कुराको यो गतिलो उदाहरण थियो । तथ्याङ्कलाई साक्षी राख्तै रिपोर्ट आयो— यस वर्ष पनि इन्दौरमा अरू शहरको अनुपातमा कम मानिस बिरामी भए । तर फेरि, अचानक, पूरै शहरलाई अज्ञात रोगले समात्यो । कसैले त्यसलाई ‘चिकनगुनिया’ (Chikungunya) हो भने त कसैले ‘डेंगी’ वा ‘डेंगू’ (Dengue) । कैयौं डाक्टर सहित इन्दौरका लगभग दुई लाख बासिन्दा यसको प्रकोपमा परे ।

सबैलाई थाहै छ, चिकनगुनिया होस् वा डेंगी, भाइरसबाट हुने रोग हुन्, जुन ऐडिस (Aedes) प्रजातिका मच्छरले टोकेपछि लाग्छ । यो यस्तो मच्छर हो, जो सफा पानीमा उत्पन्न हुन्छ र जसले दिउसो टोक्छ । त्यसैले, सफा पानी पनि कतै जम्न नदिनु र हात–खुट्टा ढाक्ने कपडा लगाउनु यसबाट बच्ने सहज उपाय हो । (डेंगी र चिकनगुनिया दुवै रोग एउटै प्रजातिका मच्छरबाट लाग्ने भए पनि दुवैका भाइरस, लक्षण, दुखाइ र समयावधि भने फरक छन् ।) बुझन नसकिएको कुरो एउटै हो— सरसफाइमा एक–नम्बरको शहरमा पनि डेंगी/चिकनगुनिया अचानक यति धेरै किन फैलियो ?

ठूलो जनसंख्या रोगको चपेटामा परेपछि यसको भयावहताले धेरैलाई चिन्तित बनायो । घर–घरमा यसका पीडित छन्ः कसैले आठ–दश दिन पीडा सहेको छ त कसैले दुई महीनापछि पनि पूरै राहत पाएको छैन । सबैजना जोर्नीको असहनीय दुखाइले थलिएका छन् । हुँदा हुँदा शहरका कतिपय नामी डाक्टर पनि थलिएपछि यसप्रतिको भय थप गाढा भयो । यसै मेसोमा शहरको सुपरिचित स्वयंसेवी संस्था सेवा–सुरभिले यसबारे छलफल गर्न एउटा कार्यक्रम आयोजना गर्‍यो, जसमा शहरका प्रतिष्ठित डाक्टर, वैद्य, प्राकृतिक चिकित्सक, होमियोप्याथ, योगाचार्य, जनप्रतिनिधि, इंजिनीयर, नगर निगम तथा स्वास्थ्य सेवाका अधिकारी लगायतलाई आआफ्नो विचार व्यक्त गर्न बोलाइएको थियो ।

कार्यक्रममा, पर्यावरणविद्को हैसियतमा म पनि आमान्त्रित थिएँ । सबैले मच्छरको सामना कसरी गर्ने भन्नेबारे आआफ्ना विधि, उपाय र प्रयासको चर्चा गरे । यसै क्रममा एउटा रोचक प्रश्न पनि उठ्यो— मच्छर यति खतरनाक हुन्छ भने यसलाई दुनियाँबाट सधैंका लागि समाप्त नै किन नपार्ने ? यसैबीच, एक जना कसैले नाना पाटेकरको, मान्छे र मच्छर बीचको सम्बन्ध दर्शाउने प्रसिद्ध फिल्मी डाइलग ‘साला एक मच्छड आदमी को हिजडा बना देता है’ पनि जोड्न भ्याइहाल्यो । यो सब चलिरहँदा एउटा प्रश्नले मेरो दिमाग रन्थन्याउन थाल्यो— प्रकृतिले मच्छर जस्तो हानिकारक जीव बनाएकै किन होला ? रोग फैलाउनु र मान्छे सोत्तर पार्नु बाहेक पनि यसको कुनै भूमिका छ ?

मलाई लाग्यो, यस विषयमा केही लेख–पढ गर्नु उचित हुन्छ । नतीजा तपाईंका सामु छ ।

भोजन–श्रृंखलाको कडी
मनुष्यको दुश्मन नं. १ मच्छर ‘भोजन गर र भोजन बन’ नामक प्राकृतिक भोजन–श्रृंखला र भोजन–जालको एउटा कडी वा हिस्सा हो । यो माछा, कछुवा जस्ता जलीय जीव र ड्रागनफ्लाई (पानी छेपुवा, बुइँचा, झयाली) तथा चमेराहरूको भोजन हो । उत्तरी अमेरिकामा पाइने ‘गेम्बुसिया’ प्रजातिको माछा ‘मस्क्विटोफिश’ ले त एकै दिनमा मच्छरका सयौं लार्भा चट पारिदिन्छ । त्यसैले, मच्छरबाट छुटकारा पाउन, खास गरी अक्वारियम, पोखरी र कृत्रिम झर्नाहरुमा ‘गेम्बुसिया’ प्रजातिका ‘मस्क्विटोफिश’ राख्ने चलन छ । मच्छर खालखालका कीटभक्षी पक्षीहरूको (जस्तै बार्बलर र अबाबिलका प्रजाति) पनि प्रिय भोजन हो । हाम्रो घरमा बस्ने माउसुलो (भित्ती) र माकुराले पनि मच्छरलाई स्वाद मानेर खान्छन् । (कुरा बुझिहाल्नुभाे होला, सरसफाइका नाममा बिहानै–बेलुकै माकुराका जाला हटाउनु अघि एकछिन गम खानुहोला !) स्पष्ट छ, मच्छर भएनन् भने भोजन–श्रृंखलाका यी शिकारीहरूले खाना पाउँदैनन् र तिनको जीवनचक्र दुष्प्रभावित हुन्छ । के थाहा, कतिको अस्तित्व नै खतरामा परोस् !

परागसेचनमा मच्छरको महत्व
यो फुच्चे शत्रु–कीट कैयौं खाद्यवस्तु र जङ्गली फूलहरूको परागणमा पनि सक्रिय रहन्छ । परागण नभए ती कसरी फल्ने–फुल्ने ? फूलको दुनियाँमा सुन्दरतम मध्ये पर्ने आर्किडका कतिपय प्रजाति आफ्नो परागणका लागि मच्छरमै निर्भर हुन्छन् । मच्छरले गाजर, जीरा र धनियाँका बिरुवामा पनि परागसेचन गर्ने गरेको पाइएको छ । मच्छर नभए यिनको परागण नै हुँदैन चाहिं भन्न नसकिएला, किनभने अरू प्रकारले पनि यिनको परागण हुनसक्छ ।

रोगजनक जीवका वाहन
मच्छरका लगभग ३५०० प्रजातिमध्ये करीब १०० प्रजातिले मात्र हाम्रो रगत चुस्छन् । रगत चुस्ने मच्छरहरूबारे हामीलाई थाहै छ— पोथी मच्छरले मात्र टोक्छ । पोथी मच्छरले आफ्नो सिन्के सूँड रगत चुस्न हाम्रो छालामा घुसाउँदा त्यहाँ अलिकति र्‍याल छोड्छ । त्यस र्‍यालमा रहेको प्रोटिन मानिसका लागि एलर्जिक हुन्छ । त्यसैले मच्छरले टोकेको ठाउँमा पोल्छ र रातो भएर सुन्निन्छ । त्यही र्‍याल सँगसँगै रोगजनक सूक्ष्मजीव पनि हाम्रो शरीरमा प्रवेश गर्छन् । यी सूक्ष्मजीवको एउटा विशेषता के छ भने, यिनको जीवनचक्र मच्छरको मात्र वा मानिसको मात्र शरीरमा पूरा हुन सक्तैन । जीवनचक्र पूरा हुन मच्छर र मानिस दुवैको आवश्यकता हुन्छ । मच्छरले हामीलाई टोकेर यी परजीवीहरूको यो आवश्यकता पूर्ति गर्छ ।

रगत किन खानु नि ?
मच्छरले तातो रगत हुने जीवहरू (स्तनधारी र पक्षी) लाई मात्रै टोक्छन् । हामी यिनैमध्ये पर्छौं । तर मच्छरले सधैंभरि रगत चुस्तैनन् । तिनको खास भोजन त रूख–बिरुवाका पात, फल र फूलको रस नै हो । जब पोथी मच्छरलाई फुल पार्नुपर्ने हुन्छ, त्यसवेला मात्र उसले हामीलाई टोक्ने हो । हाम्रो रगतमा पाइने प्रोटिन र लौह तत्वको उपयोग उसले आफ्ना फुलहरूको विकासका निम्ति गर्छ । अर्थात् तातो रगत खानु पोथी मच्छरको प्राकृतिक विवशता हो । यस्ता पोथीहरू, हाम्रो रगत चुसेपछि प्याट्ट हिर्काएर मारिनबाट बचे भने, करीब तीन हप्ता जीवित रहन्छन् र त्यस अवधिमा पाँच पटक गरी लगभग १०० वटा फुल पार्छन् ।

तपाईंले यो पनि सुन्नुभएको होला, मच्छरले केही व्यक्तिलाई बढी टोक्छन् । यस्ता मानिसको छालाले ल्याक्टिक अम्ल जस्ता रसायन निर्माण गर्छ, जो मच्छरलाई विशेष मन पर्छ । डेंगीका मच्छर त रक्त समूहका आधारमा पनि आफ्नो शिकार छान्ने गर्छन् । ‘ए’ र ‘बी’ रक्त समूहका मानिसको सट्टा यिनले ‘ओ’ रक्त समूहका मानिसलाई बढी टोक्छन् । यिनले आफ्नो शिकार उसको पसीनामा विद्यमान कतिपय विशेष रसायन तथा कार्बन डाइअक्साइडका आधारमा खोज्छन् । सास फेर्दा फ्याँकिने कार्बन डाइअक्साइड जहाँ बढी हुन्छ, त्यहाँ मच्छरले टोक्ने सम्भावना बढी हुन्छ । कुनै व्यक्ति मलेरिया परजीवीबाट संक्रमित छ भने मच्छर उसप्रति बढी आकर्षिक हुन्छन् ।

अनि, के गर्नु त मच्छरलाई ?
कतिलाई लाग्छ, यी रोगका घर, मानव जातिका दुश्मनलाई दुनियाँबाटै विदा दिनुपर्छ । मच्छरको संख्या नियन्त्रित गर्न, मच्छर निमिट्यान्न पार्न हामीले अनेक कोशिश गरेका पनि हौं, तर आजसम्म मच्छरको एउटा पनि प्रजाति समाप्त पार्न सफल भएका छैनौं । डीडीटीद्वारा मच्छर मार्ने घनघोर विश्वव्यापी अभियानको कथा त हामीलाई थाहै छ । त्यसको परिणाम के भयो भने, मच्छरले डीडीटी नै पचाइदिए र यस क्रममा हामीले पानी, माटो र कतिपय पक्षीहरूलाई नोक्सान पु¥यायौं । मच्छर सिध्याउन कीटनाशकहरू बाहेक अरू पनि थुप्रै उपाय हामीले अपनायौं । मच्छरहरूका बीच त्यस्ता मच्छर–मच्छर्नीहरू घुसाइदियौं, जोसँग सम्भोग गरेपछि जन्मिने सन्तान नपुंसक र बाँझ हुन्छन् । यसले मच्छरको संख्या तीव्र गतिमा घट्दै जाला भन्ने हाम्रो आस थियो । अलि अलि त घट्यो, तर यो उपायले मच्छरका ‘अवांछित’ प्रजातिलाई पूरै समाप्त गर्न सकिएला भन्ने आस अब कसैमा बाँकी छैन ।


बच्ने कसरी ?

मच्छरबाट बच्ने सबैभन्दा राम्रो तरीका हो, तिनलाई आफूसम्म आइपुग्न नदिनु अथवा टाढा भगाउनु । झूलले यो काम बडो राम्ररी गर्छ । रेपेलेन्ट पदार्थ, जस्तै क्वाइल र लिक्विडले पनि यो काम गर्छन् । राम्ररी हावा चलेको ठाउँमा बस्नुभएको छ अथवा बिजुली–पंखा चलाउनुभएको छ भने पनि मच्छरले टोक्ने सम्भावना कम हुन्छ । मच्छरलाई भगाउन कतिपय वनस्पति पनि उपयोगी हुन्छन्, जस्तै तुलसी, पुदीना, लसुन, केटनिप र एक प्रकारको गुलदाउदी ।

लसुन पिसेर पानीमा घोली स्प्रे गर्दा मच्छर भाग्छ । कपूरको तेलले स्प्रे गर्दा पनि हुन्छ । तुलसी, पुदीना र केटमिन्ट एउटै कुलका वनस्पति हुन् । तिनको पातमा रहने वाष्पशील तेलको गन्ध हामीलाई मन पर्छ, मच्छरलाई पटक्कै मन पर्दैन । त्यसैले, मच्छर भगाउन र मच्छरबाट लाग्ने रोगबाट बच्न यिनका बिरुवा घर वरिपरि बगैंचा र करेसाबारीमा र घरभित्र गमलामा पनि लगाउन सकिन्छ । यसो गर्दा मच्छरबाट छुटकारा सित्तैंमा, अनि स्वाद, सुगन्ध र हरियाली फोसामा !


हालै जीएम (genetically modified) मच्छरको विकास गरिएको छ, जसले मलेरियाका परजीवीलाई अवरोध गर्छ । ती जीएम मच्छरहरूलाई जङ्गलमा फैलन दिने हो भने मलेरिया वाहक मच्छरै सकिन्छन्, तिनलाई मार्न कसरतै गर्नुपर्ने छैन । तर यस्तो काम मलेरिया मात्र होइन, डेंगी, चिकनगुनिया, एलो फीवर, पाइलेरिया र जापानी इन्सेफलाईटिसका वाहक मच्छरका लागि पनि अलग अलग रूपमा गर्नुपर्नेछ ।

त्यसो भए, दुनियाँबाट मच्छर समाप्त पार्न असम्भव हो त ? यो प्रश्नको यकिन जवाफ त कसैलाई थाहा छैन । तर योसँगै जोडिएको अर्को प्रश्न छ— मच्छरलाई पूरै समाप्त पार्नु नैतिक दृष्टिले सही होला त ? कुनै पनि प्रजातिलाई विलुप्त नै पार्नु ठीक हो कि होइन ? तर, बिफरका भाइरस समाप्त पारेर हामीले विजयोत्सव मनाएकै हौं । अनि, वर्षेनि दश लाख मानिसको ज्यान लिने र त्योभन्दा कैयौं गुणा बढी, खासगरी गरीबगुरुबालाई रोगी र दुर्बल बनाउने परजीवीको आश्रयदाता र वाहन मच्छरलाई समाप्त पार्ने प्रयास गर्दा चाहिं पहाडै पल्टिने हो र ?

कतिपय वैज्ञानिकहरू भन्छन्— यसमा कुनै आपत्ति छैन । यसो गर्ने उपाय र बाटाहरू चाहिं हामीले अवश्य खोज्नुपर्छ । दुनियाँबाट मच्छर निमिट्यान्न भए भने हाम्रो स्वास्थ्य निकै ‘स्वस्थ’ हुनेछ, मानिसहरू— खास गरी असंख्य केटाकेटी र बूढाबूढीको ज्यान बच्नेछ, अनि मच्छरले फैलाउने रोगहरूमाथि हुने खर्च बच्नेछ । तर केही चाहिं भन्छन्— पृथ्वीबाट कुनै पनि प्रजाति विलुप्त पार्नुहुँदैन । यसो गर्नु नैतिक दृष्टिले त गलत हुँदै हो, यसका अन्य कारण पनि छन् । कतिपय मच्छर–प्रजातिलाई हामीले खत्तम पारिदियौं भने पनि तिनको स्थान कस्ता कीटले लिने हुन्, हामीलाई थाहा छैन । साथै, यसो गरेर हामीले प्रकृतिको भोजन–श्रृंखला खलबल्याइदिनेछौं, जसका केकस्ता परिणाम हुन सक्छन् भन्नेबारे हामीलाई अत्तोपत्तो छैन । जुन बोटबिरुवामा मच्छरले परागसेचन गर्छन्, तिनमा के असर पर्ला, त्यो पनि थाहा छैन । मच्छर समाप्त पार्ने हो भने सम्भव छ, अन्य कीटहरूले प्रकृतिमा मच्छरको भूमिका ग्रहण गर्लान् अथवा तिनको स्थान लेलान् । तर ती कीट मच्छर जत्तिकै अथवा यसभन्दा बढी खतरनाक हुने सम्भावना पनि उत्तिकै छ । मच्छर सिध्याउने घनचक्करमा हामीले अरू केही प्राणी र रूखबिरुवालाई नोक्सान पार्ने सम्भावना त छँदैछ । यस्तो अभियानका प्रत्यक्ष–अप्रत्यक्ष परिणाम के हुन सक्छन् भन्ने हामीलाई थाहा नभएकाले मच्छर समाप्त पार्ने कुरा गम्भीर विषय बन्न पुग्छ ।

मच्चियो मच्चियो–थच्चियो भने झैं यो तमाम माथापच्ची पछि मलाई त लाग्छ— अहिलेलाई मच्छरहरूलाई नियन्त्रित गरेर उनीहरूसँगै बाँच्ने तरीकामै ध्यान दिनु ठीक हो । यसमा तपाईंको विचार के छ होला ?

वनस्पतिशास्त्रका प्राध्यापक पंवार लोक भाषामा विज्ञान लेखनमा रुचि राख्छन् । जीवहरूका क्रियाकलापबारे उनका तीन पुस्तक प्रकाशित छन् ।

साभारः स्रोत पत्रिका, फेब्रुअरी २०१८

भाषान्तर/सम्पादनः शरच्चन्द्र वस्ती

शिक्षक  मासिक, २०७६ असोज अंकमा प्रकाशित ।

commercial commercial commercial commercial