विश्व शिक्षक दिवस कहाँ कसरी मनाइन्छ ?

‘युनेस्को’ को घोषणा अनुसार हरेक वर्ष अक्टोबर ५ तारिखका दिन विश्व शिक्षक दिवस पर्छ । यस वर्ष यो दिवस दशैंको फूलपातीको दिन (१८ असोज २०७६) मा परेको छ ।

अक्टोबर ५ लाई नै विश्व शिक्षक दिवस  तोकिनुको पछाडि एउटा कारण छ । सन् १९६६ मा फ्रान्सको राजधानी पेरिसमा आयोजित शिक्षकहरूको स्थिति सम्बन्धी विशेष अन्तरसरकारी सम्मेलन अक्टोबर ५ मा समापन भएको थियो । सम्मेलनमा उठेका शिक्षकका पेशागत समस्या समाधानका लागि राष्ट्रहरूलाई गरिएको साझा सिफारिश पत्रमा युनेस्को र अन्तर्राष्ट्रिय श्रम सङ्गठनका सदस्य राष्ट्रका प्रतिनिधिहरूले त्यसै दिन हस्ताक्षर गरेका थिए । त्यही दिनको स्मरणमा युनेस्कोको आह्वानमा सन् १९९४ देखि अक्टोबर ५ तारिखलाई विश्व शिक्षक दिवस  का रूपमा मनाउन थालिएको हो । त्यसपछि बिस्तारै विश्वव्यापी बन्दै गएको यो दिवस यस वर्ष २७औं संस्करणमा आइपुगेको छ ।

अहिले संसारका १०० भन्दा बढी देशले विश्व शिक्षक दिवस  मनाउँछन् । अन्य देशहरूले पनि आ–आफ्नै ऐतिहासिक परिवेश अनुसार राष्ट्रिय शिक्षक दिवस  मनाएर त्यस मार्फत उनीहरूले विश्व शिक्षक दिवसको अभिप्रायलाई पूरा गरिरहेका छन् । यस वर्षको विश्व शिक्षक दिवस ‘युवा शिक्षकः शिक्षण पेशाको भविष्य’ भन्ने नाराका साथ मनाइँदैछ । नेपालमा हालसम्म विश्व शिक्षक दिवस मनाइएको छैन । गुरु–शिक्षक प्रति सम्मान प्रकट गर्ने गुरुपूर्णिमाको परम्परा पनि क्रमशः धमिलो हुँदै गएको छ ।

शिक्षण पेशाको मर्यादा र शिक्षकको सम्मान गर्ने प्रयोजनले विशेष दिनका रूपमा संसारभरि शिक्षक दिवस मनाउने चलन चलेको हो । विभिन्न देशले आ–आफ्नै ऐतिहासिक सन्दर्भ अनुसार शिक्षक दिवस मनाउँदै आएका छन् । कुन देशले किन र कसरी शिक्षक दिवस मनाउँछन् त ? हेरौं केही देशको अभ्यास र मान्यता:

भियतनाम: नोभेम्बर २० भियतनामको राष्ट्रिय शिक्षक दिवस हो । यस दिन त्यहाँका विद्यार्थीले आफ्ना शिक्षकलाई घरघरमै गएर भेट्छन् र फूलका गुच्छा तथा उपहार दिएर सम्मान दर्शाउँछन् । शिक्षकलाई नयाँ ठाउँ घुमाउन लैजाने र विद्यालयमा आफ्नै हातले मीठा–मीठा परिकारहरू बनाएर भोज खुवाउने चलन पनि छ । आफूलाई पहिले पढाएका शिक्षकहरूप्रति आदरभाव दर्शाउन पूर्व विद्यार्थीहरू समेत विद्यालयमा जम्मा हुन्छन् । शिक्षक दिवसले त्यहाँ गुरु रिझाउने विशेष पर्वकै झ्ल्को दिन्छ ।

भारत: प्राचीन सभ्यतादेखि शिक्षकप्रति अनुगृहित हुनु र गुरुदक्षिणा चढाउनु भारतीय परम्परा हो । त्यहाँ आधुनिक भारतका द्वितीय राष्ट्रपति सर्वपल्ली राधाकृष्णनको सम्मानमा सन् १९६२ देखि सेप्टेम्बर ५ तारिखका दिन शिक्षक दिवस मनाउने गरिएको छ । यस दिन विद्यार्थीले आफ्ना शिक्षकहरूलाई हातैले बनाएका शुभकामना कार्ड, फूल र विभिन्न घरेलु मिष्ठान्न परिकारहरू उपहार दिन्छन् । त्यस अवसरमा शिक्षक र विद्यार्थीका संयुक्त खेलकुद तथा मनोरञ्जनात्मक क्रियाकलापहरू पनि गरिन्छन् । साथै नाटक तथा सांस्कृतिक नृत्यहरू प्रस्तुत गर्ने, गीत गाउने र शिक्षक–विद्यार्थी बीचका सम्बन्धबारे संस्मरणहरू आदानप्रदान गर्ने परम्परा छ । पं. राधाकृष्णन् राष्ट्रपति हुनु भन्दाअघि अक्सफोर्ड लगायतका विश्वविद्यालयहरूमा प्राध्यापन गरेका पूर्वीय दर्शनका नामी विद्वान हुन् ।

इन्डोनेशिया: इन्डोनेशियाली शिक्षक सङ्गठन स्थापना भएको दिन पारेर त्यहाँ नोभेम्बर २५ का दिन राष्ट्रिय शिक्षक दिवस मनाइन्छ । यस दिन विदा दिइँदैन । शिक्षक तथा विद्यालय कर्मचारीहरूको सम्मान समारोहहरूको आयोजना गरिन्छ । अभिभावकहरूले पनि बालबालिकाको भविष्य निर्माणमा समर्पित शिक्षकहरूप्रति आभार प्रकट गर्ने र उनीहरूलाई आफ्नो पेशाप्रति अझ् बढी उत्प्रेरित गर्ने दिनका रूपमा यसलाई मनाउँछन् ।

थाइल्याण्ड: वर्षभरका कार्य दिनहरूमा यदाकदा मात्र फुर्सद पाउने थाई शिक्षकहरू जनवरी १६ तारिखको व्यग्र प्रतीक्षामा हुन्छन् । किनभने त्यस दिन मनाइने राष्ट्रिय शिक्षक दिवस मा समस्त शिक्षकले निष्फिक्रीसँग आराम र मनोरञ्जन लिऊन् भनी अधिकांश विद्यालयमा विदा दिइन्छ । जे–जति विद्यालय खुल्छन् तिनमा पनि यो दिन शिक्षकले पढाउनुपर्दैन । विद्यालयहरूमा दोस्रो त्रैमासिक सत्र शुरू हुनुअघिको यो दिन उनीहरूको पुनर्ताजगीका लागि हो । थाइल्याण्डमा सन् १९५७ देखि नै शिक्षक दिवस मनाइँदै आइएको छ ।

चीन: जनवादी गणतन्त्र चीनको राष्ट्रिय शिक्षक दिवस १० सेप्टेम्बरमा पर्छ । चिनियाँहरू विदाको यस दिनलाई शिक्षकले आफ्ना विद्यार्थीको लागि गरेको समर्पण, संघर्ष र योगदानको कदर गर्ने पवित्र तिथि मान्छन् । विद्यार्थीले शिक्षकलाई शुभकामना कार्ड र पुष्पगुच्छा दिएर सम्मान प्रकट गर्छन् ।

चिनियाँ शिक्षक दिवसको इतिहास रोचक छ । सन् १९३९ मा त्यहाँको शिक्षा मन्त्रालयले अगष्ट २७ तारिखलाई शिक्षा दिवसको रूपमा मनाउने निर्णय गर्‍यो । त्यो दिनलाई इसापूर्वको छैटौं शताब्दीका प्रख्यात दार्शनिक कन्फ्युसियसको जन्मदिन मानिएको थियो । कन्फ्युसियसको जन्मदिन तत्कालीन समयको आठौं सौर्य महीनाको २७औं दिन भएकाले आधुनिक पात्रो अनुसार पनि इस्वी संवत्को आठौं महीनाको त्यही दिनलाई उनको जन्मदिन मानियो । चिनियाँ कम्युनिष्ट पार्टी सत्तामा आइसकेपछि सन् १९५१ मा शिक्षक दिवसको विदा कटौती गरी मे १ अर्थात् मजदूर दिवसकै दिनलाई शिक्षक दिवस मान्ने नियम लगायो । तर शिक्षण पेशाप्रति छुट्टै सम्मान दिन अलग शिक्षक दिवसको माग त्यसपछि पनि बढ्दै गयो । फलस्वरुप सन् १९८५ जनवरी २१ मा सरकारले १० सेप्टेम्बरलाई सार्वजनिक विदा सहितको नयाँ राष्ट्रिय शिक्षक दिवस घोषणा गर्‍यो । मिति सारिए पनि शिक्षक दिवसका दिन प्राचीन चिनियाँ समाजलाई सदाचारको बाटो देखाउने कन्फ्युसियसको सम्झ्नामा उनका मन्दिरहरूमा ड्रम बजाउँदै नाचगान गर्ने चलन अहिलेसम्म छ ।

अस्ट्रेलिया: हरेक वर्ष अक्टोबर महीनाको अन्तिम शुक्रवार अस्ट्रेलियाको राष्ट्रिय शिक्षक दिवस हो । यस दिन विद्यालयलाई कुशल नेतृत्व, विद्यार्थीलाई समुन्नत शिक्षा र समाजलाई अघि बढ्न अभिप्रेरणा दिने शिक्षकलाई सम्मान गरिन्छ । विद्यार्थीसँगै उनीहरूका अभिभावक र समुदायका अगुवाहरूले पनि शिक्षकलाई सम्मान गर्छन् । त्यसरी गरिने सामाजिक सम्मानले योग्य, दक्ष र प्रेरणादायी शिक्षकको महत्वलाई सर्वस्वीकार्य रूपमा स्थापित गर्ने मान्यता त्यहाँ छ ।

अमेरिका: अमेरिकामा मे महीनाको पहिलो पूर्ण सातामा पर्ने मङ्गलवार राष्ट्रिय शिक्षक दिवस मनाइन्छ । यस दिन विद्यार्थीलाई अध्ययन र जीवनमा सफल बनाउन तिनका शिक्षकले पुर्‍याएको योगदानको स्मरण गरिन्छ । एक दिन मात्र नभई शिक्षक दिवस परेको सिङ्गो साता देशभरका शिक्षकहरूको सम्मानमा शिक्षक र विद्यार्थीबीच आत्मीय अन्तरक्रिया लगायतका विभिन्न क्रियाकलाप गरेर शिक्षक सराहना सप्ताह मनाउने चलन त्यहाँ छ । अमेरिकी समाजमा शिक्षणलाई अति नै प्रतिष्ठित पेशा मानिने कुरा यसबाट प्रष्ट हुन्छ ।

चिली: हरेक वर्षको अक्टोबर १६ तारिख चिलीको शिक्षक सम्मान दिवस हो । यो त्यहाँको शिक्षक सङ्गठन स्थापना दिवस पनि हो । यहाँका विद्यार्थीले आफ्ना सबै शिक्षकलाई भेटेर वर्षभर उनीहरूबाट पाएका प्रशंसनीय पथ–प्रदर्शनको विवरण लिखित रूपमा बुझाउँछन् । साथमा कदरको सन्देश, कविता, कलाकृति र प्रमाणपत्र शिक्षकसामु प्रस्तुत गर्ने यहाँको प्रचलन अन्यत्र भन्दा पृथक् छ ।

जाम्बिया: आन्तरिक द्वन्द्व र युद्धका कारण थुप्रै आर्थिक, राजनीतिक तथा सामाजिक सङ्कटहरूसँग जुधिरहेको सानो पश्चिम अफ्रिकी देश जाम्बियामा शिक्षकहरूलाई समाजले उच्च सम्मान दिएको छ । विशेषगरी विद्यालयमा छात्राहरूलाई पढ्ने अवसर सुनिश्चित गर्न यहाँका शिक्षकहरूले पुर्‍याएको योगदान र उठाएको जोखिमको सर्वत्र प्रशंसा गरिन्छ । त्यही योगदानको मूल्य चुकाउन हरेक वर्ष अक्टोबर ५ अर्थात् विश्व शिक्षक दिवसका दिन विद्यार्थी, विद्यालय व्यवस्थापनका अगुवा र समुदायका अभिभावकहरू जम्मा हुन्छन् र तमाम शिक्षकहरूको सम्मानमा अहोभाव प्रकट गर्छन् । त्यसले जाम्बियाका सम्पूर्ण शिक्षकलाई अर्को एक वर्षसम्म पुनर्बल दिन्छ ।

लिथुआनिय: युनेस्कोले घोषणा गरेको विश्व शिक्षक दिवसकै दिन, अक्टोबर ५ मा मनाइने लिथुआनियाको राष्ट्रिय शिक्षक दिवसमा त्यहाँका विद्यालय त खुल्छन् तर शिक्षकले पढाउँदैनन् । त्यसदिन माथिल्लो कक्षाका विद्यार्थीले पढाउँछन् र शिक्षकहरू विद्यार्थीसँगै कक्षामा बस्छन् । त्यसदिन कक्षाकोठामा शिक्षक र विद्यार्थी बीच परस्पर विपरीत भूमिकाको आदानप्रदान हुन्छ । सिकाइ प्रक्रियामा सहभागी दुवै पक्षका समस्या आपसमा बुझन यस्तो अभ्यास उपयोगी हुने लिथुआनियालीहरूको विश्वास छ । कक्षाबाट बाहिरिएपछि शिक्षक र पढाउने भूमिका पाएका विद्यार्थी बीच अन्तरक्रिया गरिन्छ र सकिएपछि विद्यार्थीले साङ्गीतिक कन्सर्टको आयोजना गर्छन् जहाँ शिक्षकलाई मनोरञ्जनका लागि आमन्त्रण गरिन्छ । सँगसँगै शिक्षकहरूलाई पुष्पगुच्छा दिएर विद्यार्थीले सम्मान दर्शाउँछन् । उनीहरू कक्षामा पढाउने शिक्षक बाहेक विद्यालयका प्राचार्य तथा कर्मचारीहरूलाई चाहिं अक्टोबर महीनाको पहिलो शनिवार धन्यवाद दिने गर्दछन् ।

टर्की: देशकै संस्थापक एवं प्रथम राष्ट्रपति मुस्तफा अतातुर्क (सन् १८८१–१९३८) लाई सर्वोच्च गुरु मान्ने मुलुक गणतन्त्र टर्कीमा उनैले तोकेको दिन २४ नोभेम्बरमा राष्ट्रिय शिक्षक दिवस मनाइन्छ । राष्ट्रिय शिक्षक दिवस मनाउने क्रममा टर्कीका सम्पूर्ण शिक्षकहरू ‘नयाँ पुस्ताको सिर्जना शिक्षकले गर्नेछन्’ भनी अतातुर्कले दिएको अभिव्यक्तिलाई आदर्श मान्छन् र त्यसलाई चरितार्थ गर्नु आफ्नो कर्तव्य ठान्छन् ।

मलेशिया: नेपालमा कसैले ‘हरि गुरु’ भन्यो भने हरि नाम गरेका अलि पाका शिक्षकलाई सम्बोधन गरे जस्तो सुनिन्छ । तर मलेशियामा ‘हरि गुरु’ देशभरका शिक्षकको राष्ट्रिय पर्व हो । त्यहाँ शिक्षक दिवसलाई नै ‘हरि गुरु’ भनिन्छ । किनभने मलाय भाषामा ‘शिक्षक’ लाई ‘गुरु’ र ‘दिन’ लाई ‘हरि’ भनिन्छ । त्यहाँ हरेक वर्ष ‘हरि गुरु’ मनाउने दिन मे १६ तारिख हो । त्यस दिन विद्यार्थीले आदर सम्मानका साथ उपहार दिएर शिक्षकलाई अधिकतम खुशी बनाउने प्रयत्न गर्छन् ।

शिक्षक  मासिक, २०७६ असोज अंकमा प्रकाशित ।

commercial commercial commercial commercial