५० वर्षपछिको अन्तरिक्ष दुई सम्भावनाः पर्यटन र युद्ध

आणविक हतियारका साथै सैन्य शत्तिाmमा अग्रणी राष्ट्रहरूले अहिलेसम्म चालेका कदमहरूको लक्षण हेर्दा भविष्यमा कुनै दिन अन्तरिक्ष युद्घ नहोला भन्न सकिन्न। सिङ्गो अन्तरिक्षमण्डल शायद अहिले पृथ्वीपछिको युद्घक्षेत्र बन्ने पर्खाइमा छ ।

५० वर्षअघि, सन् १९६९ जुलाई २० तारिखको दिन अमेरिकाका निल आर्मष्ट्रङले चन्द्रमामा पहिलो पटक मानव पाइला राखेका थिए । आर्मष्ट्रङसँगै सो अन्तरिक्ष मिसनका कमाण्डर बज अल्ड्रिन पनि थिए । उनीहरूले चन्द्रमामा पाइला मात्र टेकेनन्, तीन घण्टासम्म चन्द्रमाको सतहमा यताउता हिंडडुल पनि गरे, त्यहाँ अमेरिकाको झ्ण्डा गाडे । फर्कंदा चन्द्रमाको धूलो र चट्टानको केही अंश प्रमाणका रूपमा लिएर आए । तर आज आधा शताब्दी बित्दासम्म मानिसले त्यो इतिहास दोहोर्‍याउन सकेको छैन । अर्थात्, त्यसपछि अर्को मानव पाइलाले चन्द्रमा या अरू कुनै ग्रह–उपग्रह स्पर्श गरेको छैन । त्यसै कारण एउटा स्वाभाविक प्रश्न पैदा हुन्छ— अबको ५० वर्षमा अन्तरिक्ष जगतमा मानिसले के गर्ला, के गर्न नसक्ला ? यसमा धेरै वैज्ञानिकहरूको दाबी छ— आउँदा ५० वर्षमा अन्तरिक्ष विज्ञानले निकै लामो फड्को मार्नेछ, अन्तरिक्षमा हुने मानवीय गतिविधि बितेका ५० वर्षसँग तुलना नै गर्न नसकिने विन्दुमा पुग्नेछन् !

वैज्ञानिकहरूको विचारमा शक्तिशाली राष्ट्र र संसारका धनाढ्य व्यक्तिहरूका लागि ५० वर्षपछिको अन्तरिक्ष पानीपँधेरो सरह भइसक्नेछ । किनभने अन्तरिक्ष विज्ञान र प्रविधि चन्द्रमामा मान्छे उतार्ने जस्तो सामान्य कीर्तिमानीको तहबाट अहिले नै निकै माथि उठिसकेको छ । अबको अन्तरिक्ष त विज्ञान र प्रविधिसँग जोडिएको सामरिक शक्ति प्रदर्शनको माध्यम र खानदानी पर्यटन गन्तव्य समेत बन्दैछ । यसतर्फ लक्षित निकट भविष्यमा हुन गइरहेका दुई खास घटनाक्रमलाई त्यस्तो संभावनाको प्रमाणका रूपमा लिन सकिन्छ । पहिलो, चीनले अबको १६ वर्ष, अर्थात् सन् २०३५ सम्ममा चन्द्रलोकमा मान्छे उतार्ने योजना बनाएर तदनुरूपको तयारी गरिरहेको छ । दोस्रो, वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चिनियाँ नागरिक पुग्नुभन्दा ११ वर्षअघि सन् २०२४ मै आफ्ना नागरिकको नयाँ पाइलो चन्द्रमामा फर्काइसक्ने योजनाका साथ सम्पूर्ण प्रयत्न त्यसतर्फ लगाएको छ । भारतको चन्द्रयान–२ नामक मानवरहित अन्तरिक्षयानले भर्खरै चन्द्र सतह नजिकसम्मको यात्रा पूरा गरेको छ । तथापि, चन्द्रमामा अवतरण गरेर खोजबिनको काम गर्न भने सो यान असफल भयो । २०१९ सेप्टेम्बर ७ (२०७६ भदौ २१ गते) को दिन उक्त यान सम्पर्कविहीन हुन पुग्यो । ठूला देशका यस्ता प्रयासबाट के बुझनुपर्छ भने अन्तरिक्ष आरोहण योजनाका लागि लाग्ने खर्च घटिरहेकाले वैज्ञानिक अन्वेषणमा सामथ्र्य राख्ने राष्ट्रहरूले यो म्याराथनमा नयाँ कीर्तिमान थप्ने प्रतिस्पर्धा अरू तीव्र पार्दै जानेछन् ।

अन्तरिक्ष पर्यटनको युग
अन्तरिक्ष विज्ञान र प्रविधिको प्रगति सँगसँगै ‘अन्तरिक्ष–पर्यटन’ को नयाँ अवधारणाले आजको दुनियाँलाई रोमाञ्चित पार्न थालेको छ । हुन पनि पृथ्वीबाट अन्तरिक्षतर्फको उडान अबका दिनमा उपल्लोस्तरको उद्यमका रूपमा अगाडि आउनेवाला स्पष्ट देखिंदैछ । आम्दानीको बलियो आधार देखेर नै संसारका अग्रणी व्यापारिक घरानाहरूको ध्यान त्यसतर्फ मोडिएको हो । सन् १९५८ देखि २००९ सम्म सम्पन्न देशका सरकारहरूले मात्र अन्तरिक्ष अन्वेषणमा लगानी गर्दै आएका थिए । तर एक दशकयता यसमा निजी कम्पनीहरूले वार्षिक सरदर दुई अर्ब अमेरिकी डलर लगानी गर्दै आएका छन् । तर यो रकम पनि यस क्षेत्रमा भइरहेको कुल लगानीको १५ प्रतिशत मात्र हो ।

अन्तरिक्षमा आगामी ५० वर्षका संभावित मानवीय गतिविधिबारे द इकोनोमिस्ट (२० जुलाई, २०१९) ले विशेष सामग्री छापेको छ । सो साप्ताहिकका अनुसार बितेको ५० वर्षमा पृथ्वीको कक्ष (orbit) मा ५७१ जना पुगेका छन् । तर घट्दो लागत र यसतर्फ निजी क्षेत्रले दिएको चासोका कारण अबको तीन वर्षभित्रै रकेटको टिकट काटेर अन्तरिक्ष घुम्न जाने धनाढ्य पर्यटकको संख्या त्योभन्दा बढी हुन गएमा आश्चर्य हुने छैन । अमेरिकी अन्तरिक्ष संस्था नासा को विवरण अनुसार त आगामी वर्ष (सन् २०२०) देखि शुरू हुने अन्तरिक्ष पर्यटनका लागि टिकटको अग्रिम किनबेच पनि शुरू भइसकेको छ । सन् २०२२ सम्ममा प्रति वर्ष एक हजार धनाढ्य पर्यटकले अन्तरिक्ष यात्रा गर्न सक्नेछन् । स्पेशएक्स (Spacex) नामको कम्पनीले बनाएको विशेष रकेटमा जाने–आउने र अन्तरिक्ष केन्द्रमा बसेर अवलोकन गर्ने समय समेत बढीमा ३० दिनसम्मको पर्यटन प्याकेजका लागि प्रतिव्यक्ति टिकट खर्च ५ करोड २० लाख अमेरिकी डलर तोकिएको छ ।

विश्व अर्थतन्त्रको विस्तारमा आगामी दशकको शुरूमै थपिने अन्तरिक्ष–उद्यमको यो नयाँ आयामसँगै बैंकका लागि वित्त परिचालनको नयाँ ढोका खुल्नेछ । स्विट्जरल्याण्डको जुरिचमा मुख्यालय रहेको युबीएस बैंकको अनुमानमा सन् २०३० सम्ममा अन्तरिक्ष पर्यटनको आम्दानी १६०० करोड डलर पुग्नेछ । यतिबेला संसारका सबैभन्दा धनाढ्य व्यक्ति बनेका अमेजन डटकम का संस्थापक जेफ बेजोसले विगत केही वर्षयता आफ्नो साविक कम्पनीबाट वार्षिक एक अर्ब डलरको शेयर बेचेर अन्तरिक्ष पर्यटनका लागि खोलेको नयाँ कम्पनी ब्लु ओरिजिन  (Blue Origin) मा लगानी गर्दै आएका छन् । यस वर्ष पनि भर्खरै (जुलाई २०१९ मा) उनले एक अर्ब ८० करोड डलर बराबरको शेयर बिक्री गरी यही नयाँ उद्यममा लगानी थपेका छन् । यो लगानीबाट अन्तरिक्षलाई अझ् सस्तो गन्तव्यका रूपमा विकास गर्दै पृथ्वीका दशौं लाख मानिसले त्यहाँ गएर खुशियाली मनाएको हेर्ने उनको सोख छ । कम्तीमा पनि निल आर्मस्ट्रङको पाइला चन्द्रमामा परेको शतकोत्सव मनाउनुअघि नै आफ्नो यो सपना साकार हुनेमा बेजोस आशावादी छन् । उता आगामी वर्षदेखि अन्तरिक्षको व्यावसायिक उडान शुरू गर्न लागेको कम्पनी स्पेशएक्स का मालिक एलन मस्कले आफ्ना लक्षित पर्यटकलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रपछि मङ्गल ग्रहमा लैजाने सपना समेत देखिसकेका छन् । तर त्यो स्तरको प्रगतिसँगै अन्तरिक्षमा मानवता जोगिएला कि नजोगिएला भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

अन्तरिक्ष युद्धको खतरा
आउँदो आधा शतकमा अन्तरिक्ष माथि पर्ने मानवीय चापसँग जोडिएको सुखद सपनासँगैको अर्को पाटो चाहिं डरलाग्दो छ । किनभने पछिल्ला केही वर्षयता विशेषगरी अमेरिका, चीन, रूस, फ्रान्स र भारतले आफ्नो विनाशकारी प्रविधि र शस्त्र क्षमता बढाउँदै लगेका छन् । उनीहरूको ध्यान स्थल, जल र वायुपछि अब अन्तरिक्षलाई नै सैन्य केन्द्र बनाउनमा केन्द्रित छ । सन् १९६७ मा भएको बाहिरी अन्तरिक्ष सन्धि (Outer Space Treaty) यस सम्बन्धी हालसम्मको एक मात्र अन्तर्राष्ट्रिय कानून हो । हाल (सन् २०१९ अगष्ट) सम्म १०९ राष्ट्रले हस्ताक्षर गरेको सो सन्धिले अन्तरिक्षलाई सबै मानव जातिको साझ थलो घोषित गर्दै त्यहाँ कुनै राष्ट्र वा सत्ताको सार्वभौम अधिकारको दाबी निषेध गरेको छ । तर सो सन्धिको अगुवा देश अमेरिकाले नै मूल प्रावधान अस्पष्ट भएको भन्दै अन्तरिक्षमा निजी कम्पनीहरूको स्वामित्वका स्रोतकेन्द्रहरू स्थापना गर्नमा बाधा नपर्ने दाबी गर्दै आएको छ ।

सन्धिको व्याख्यामा देखिएको अमेरिकी दृष्टिकोण दाबीमा मात्रै सीमित पनि छैन । दीर्घकालीन रणनीतिक योजना अनुसार उसले अन्तरिक्ष सैन्य बल समेत गठन गरिसकेको छ । अन्तरिक्षमा निरन्तर क्रियाशील तीन वटा सन्देशवाहक यान र सेनाको अन्तरिक्ष नियन्त्रण दस्ता सहित क्यालिफोर्नियामा रहेको भ्यानडेन्बर्ग एअर फोर्स बेस  (Vandenberg Air Force Base) त्यसैको उदाहरण हो । त्यससँग जोडिएका वासिङ्टन डीसी, कोलोराडो लगायतका अन्तरिक्ष निगरानी केन्द्रहरूको सञ्जाल अमेरिकी हवाई तथा अन्तरिक्ष सैन्य कमाण्ड मातहतको एउटा इकाइका रूपमा क्रियाशील छ । अन्तरिक्षमा विश्वका विभिन्न देशहरूले प्रक्षेपण गरेका सबै स्याट्लाइट (भूउपग्रह) र तिनका गतिविधिको निगरानी गर्न सक्रिय त्यस्ता केन्द्रहरूले प्रतिद्वन्द्वी देशहरूलाई चिढाउन बल पुर्‍याएका छन् । वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले त मजबूत अन्तरिक्ष सैन्य बलको स्थापनालाई आफ्नो प्राथमिक योजनामा समेत समावेश गरिसकेको छ । त्यस्तो योजना पूरा भएसँगै प्रतिरक्षा मामिलामा ७२ वर्षअघि, सन् १९४७ मा पहिलो पटक हवाई सैन्य दस्ता निर्माण भएयताको सबैभन्दा दह्रो फड्को मार्ने अमेरिकी योजना छ । त्यसको जवाफमा गत जुलाई १४ मा भएको एउटा सैन्य परेडलाई सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले पनि आफ्नो सेनामा अन्तरिक्ष कमाण्ड गठन गर्ने घोषणा गरेका छन् ।


पेशएक्स नामको कम्पनीले बनाएको विशेष रकेटमा जाने–आउने र अन्तरिक्ष केन्द्रमा बसेर अवलोकन गर्ने समय समेत बढीमा ३० दिनसम्मको पर्यटन प्याकेजका लागि प्रतिव्यत्तिाm टिकट खर्च ५ करोड २० लाख अमेरिकी डलर तोकिएको छ।

रूस र चीनले पनि अन्तरिक्षमा हुने युद्ध व्यवस्थापनका लागि चार वर्षअघि नै अलग–अलग इकाइ खडा गरिसकेका छन् । चीनले त भूउपग्रह प्रतिरोधी क्षेप्यास्त्र सन् २००७ मै परीक्षण गरेको थियो । भारतले पनि यस वर्षको शुरूमै त्यस्तो क्षेप्यास्त्रको सफल परीक्षण गरिसकेको छ । यस्ता सब घटनाक्रमलाई नियालिरहेका अमेरिकी प्रतिरक्षा मामिलाका तत्कालीन निमित्त मन्त्री प्याट्रिक सनाहन भन्छन्, “अब अन्तरिक्ष पनि मानव सिर्जित खतराबाट सुरक्षित रहेन ।”

अन्तरिक्षमा आधारित प्रतिरक्षात्मक क्रियाकलापमा बढ्दो अमेरिकी अग्रसरताले उसको स्थायी प्रतिद्वन्द्वी चीन र रूस जस्ता देशहरूलाई पनि सँगसँगै तताउँदै लगेको छ । अमेरिकी गतिविधिको दबदबापछि उनीहरूले पनि अन्य देशका सञ्चार स्याट्लाइटले पठाएका सन्देशलाई निस्तेज पार्ने र जासूसी गर्ने जस्तो हस्तक्षेपकारी क्रियाकलाप अन्तरिक्षमा गरिरहेकोमा सन्देह छैन । आणविक हतियारका साथै सैन्य शक्तिमा अग्रणी राष्ट्रहरूले अहिलेसम्म चालेका कदमहरूको लक्षण हेर्दा भविष्यमा कुनै दिन अन्तरिक्ष युद्ध नहोला भन्न सकिन्न । किनभने पृथ्वीको कक्षमा उनीहरूले हालसम्म गरेका सैन्य गतिविधि र अन्तरिक्षमा प्रयोग गरेका उपकरणहरूले पृथ्वीमा युद्ध लड्न प्रेरित गरिरहेका छन् । सिङ्गो अन्तरिक्षमण्डल शायद अहिले पृथ्वीपछिको युद्धक्षेत्र बन्ने पर्खाइमा छ ।

भूउपग्रहहरूको भीड
अमेरिकी अन्तरिक्ष अन्वेषण संस्था नासा  का अनुसार विभिन्न देशले अन्तरिक्षमा प्रक्षेपण गरेका दुई हजार भन्दा बढी मानवनिर्मित भूउपग्रहहरूको भीडलाई उसले नियमित रूपमा नियालिरहेको छ । ती उपग्रहसँगै पुराना र जीर्ण भएर बनेका तिनका पाँच लाखभन्दा बढी स–साना टुक्रा समेत प्रतिघण्टा २७ हजार किलोमिटरको वेगमा आकाशमा हुइँकिइरहेको दृश्य पनि नासा  को जानकारीमा छ । पृथ्वीको कक्षमा एकनाशले घुमिरहने गरी सग्लो अवस्थामा छाडिएका भूउपग्रह अर्थात् स्याट्लाइटहरू ठूलो मात्रामा टुटफुट भएका घटनाले मानवीय हस्तक्षेपका कारण विगतदेखि नै अन्तरिक्ष अशान्त भइसकेको प्रमाण पेश गर्छन् । भूउपग्रहका अवशेष असंख्य मात्रामा अन्तरिक्षमा थपिंदै जानु भविष्यमा अझ् भयावह परिस्थिति आउन सक्ने संकेत पनि हो । तसर्थ अन्तरिक्ष माथिको विजय विज्ञान, प्रविधि र मानवीय शक्तिको सदुपयोग हो वा दुरुपयोग भन्ने द्विविधा पनि उत्पन्न हुन पुगेको छ ।

यस्तो भय र अनिश्चयका लागि मूलतः शक्ति प्रदर्शनको होडबाजीमा लागेका सम्पन्न राष्ट्रहरू जिम्मेवार छन् । तिनले नै आफ्ना सैन्य स्याट्लाइटको माध्यमबाट शक्तिशाली परावैजनी किरण पठाएर अन्य देशका स्याट्लाइटहरूबाट पृथ्वीतर्फ आउँदै गरेका सन्देशमूलक संकेत अवरुद्ध पार्ने र विपक्षीका स्याट्लाइटहरूमाथि आक्रमण गरेर फुटाइदिने हदसम्मको बेइमानी गरिरहेका छन् । अर्को स्याट्लाइटलाई टुक्र्याएर नष्ट पार्न सशक्त परावैजनी किरण नै पर्याप्त हुन्छ । टुक्रिएर काम नलाग्ने भएका स्याट्लाइटका अंश पनि पृथ्वीको कक्षमा निरन्तर घुमिरहने भएकाले अन्तरिक्षमा छरपष्ट भूउपग्रहका भग्नावशेषहरूको थुप्रो थप्दै लैजाने त्यस्तो हर्कत स्वयं शक्तिका ती खेलाडी सहित सौर्यमण्डलका समस्त ग्रह, उपग्रह, जीव, वनस्पति र सिङ्गो प्रकृतिका लागि भविष्यमा प्रलय सावित हुन सक्छ ।

पहिलेको हावाविहीन शून्यतामा वर्षैपिच्छे थपिंदो कृृत्रिम भूउपग्रह (स्याट्लाइट) र सामरिक मानवीय हस्तक्षेपका कारण तीबाट टुक्रिएका काम नलाग्ने पिण्डहरू परस्पर ठोक्किन सक्ने सम्भावनाका दृश्य त्यहाँबाट प्राप्त तस्वीरहरूले देखाउने गरेका छन् । अमेरिकाको भ्यानडेन्बर्ग एअर फोर्स बेस मा रहेको कम्बाइन्ड स्पेश अपरेशन्स सेन्टर  (Combined Space Operations Center) ले गत वर्ष अन्तरिक्षमा भइरहेका गतिविधिसँग सम्बन्धित ४० लाख सन्देशहरू प्राप्त गरेको थियो । तीमध्येका कतिपय सन्देश र तस्वीरले त्यस्तै खतराको संकेत गरेका थिए ।

अन्तरिक्षमा छाडिएका कृत्रिम भू–उपग्रहहरूको अनुगमन अष्ट्रियाको भियनास्थित संयुक्त राष्ट्रसंघीय एजेन्सी युनाइटेड नेशन्स अफिस फर आउटर स्पेश अफियर्स (यूएनओओएसए) ले गर्छ । त्यसले सन् २०१९ को जनवरीमा अद्यावधिक गरेको सबैभन्दा पछिल्लो विवरण अनुसार पृथ्वीलाई परिक्रमा गरिरहेका भू–उपग्रहहरू ४ हजार ९८७ वटा छन् जसमध्ये ४२२ वटा सैन्य प्रयोजनका हुन् । स्याट्लाइट र विभिन्न प्रयोजनका अन्य उपकरण समेत गरी अन्तरिक्षमा छाडिएका मानव निर्मित वस्तुको संख्या जोड्दा ८ हजार ७०४ पुगेको छ । प्रक्षेपण गरिएकामध्ये ३ हजार ३० वटा कृत्रिम भू–उपग्रहहरू निष्क्रिय अवस्थामा छन् । बाँकी १ हजार ९५७ वटाले मात्र काम गरिरहेको यूएनओओएसएको भनाइ छ ।

भू–उपग्रह अर्थात् स्याट्लाइटको आयु यति नै हुन्छ भन्ने निश्चित हुँदैन । तर कुनै बाह्य असर नपरेको अवस्थामा एउटा भू–उपग्रहले १० देखि १५ वर्षसम्म काम गर्छ र त्यसपछि त्यसको बदलामा अर्को भू–उपग्रह पठाइन्छ । अन्तरिक्षको वातावरण अस्थिर हुने हुँदा कतिपय भू–उपग्रहहरू जतिबेला पनि बिग्रन सक्छन् । स्वाभाविक कारणले नै निष्क्रिय भएका भू–उपग्रहहरू लाखौंको संख्यामा टुक्रा पैदा हुने गरी फुट्दैनन् । तर विभिन्न राष्ट्रका स्याट्लाइटहरू बीचको परस्परको आक्रमणका कारण त्यस्ता टुक्रा पैदा हुने गर्छन् । पृथ्वीबाट विभिन्न प्रयोजनका नयाँ–नयाँ भू–उपग्रहहरूको प्रक्षेपण भइरहने र शक्ति राष्ट्रहरूको रणनीतिक हस्तक्षेपको निशानामा परेर तिनको खण्डीकरण भई छरिएका ठोस वस्तुको मात्रा जम्मा हुँदै जाने क्रम चलिरहँदा कुनै दिन यस्तै टुक्रा र पिण्डबाट अन्तरिक्ष भरिएमा के होला ? अहिले भइरहेको भद्रगोलको बढोत्तरी हेर्दा यो प्रश्न सान्दर्भिक हुने समय पक्कै आउनेछ ।

अन्तरिक्षमा घुमिरहेका कैयौं भू–उपग्रहहरूबीचको लडाइँ तिनका स्रोत राष्ट्रहरूको लक्ष्य र मनसायसँग जोडिने गरेका उदाहरण धेरै छन् । अमेरिकी प्राज्ञहरूको संस्था सेक्युर्ड वल्र्ड फाउन्डेसन  (Secured World Foundation) का अनुसार एकातिर उभिएको अमेरिका र उसको प्रतिरोध गरिरहेका रूस तथा चीनका जासूसी भू–उपग्रहहरूबीच आक्रमण/प्रत्याक्रमणको शृंखला बेलाबेला निकै आक्रामक स्तरमा देखापर्ने गरेको छ । भू–उपग्रहहरूबीचका त्यस्ता कतिपय ‘भिडन्त’ भूगोलबाट अन्तरिक्षतर्फ नियालिरहेका टेलिस्कोपले राम्ररी ठम्याउन नसकुन् भनी पृथ्वीको छायाँ पर्ने समयमा पारेर गराउने प्रवृत्ति समेत देखिएको फाउन्डेसनको दाबी छ । त्यस्तो आक्रमणको बेला दुई प्रतिद्वन्द्वी देशका स्याट्लाइटहरू निकै नजिकको दूरीबाट गुज्रिएका हुन्छन् । अमेरिकाले चीन र रूसका स्याट्लाइटहरूलाई लक्षित गरी सन् २०१४ यता त्यस्ता सयौं आक्रमण गरिसकेको छ । चीन र रूसले पनि अमेरिकालाई उसरी नै प्रत्युत्तर दिंदै आएका छन् । स्याट्लाइटहरूबीच अन्तरिक्षमा चलेको त्यस्तो टकराव देख्दा लाग्छ, त्यहाँ ‘म तिमीलाई सिध्याउँछु, तिमी मलाई सिध्याऊ’ भने झैं एकअर्कालाई नष्ट गर्ने होडबाजी चलिरहेछ ।

यी परिदृश्यहरूबाट स्पष्ट हुन्छ— सञ्चालन पृथ्वीबाट होस् वा कुनै स्याट्लाइटबाट, अन्तरिक्षमा हुने हिंसाका लागि सैन्य शक्तिको भौतिक बल प्रयोग जरूरी छैन । पृथ्वीमा भइरहेका सुरक्षा गतिविधिहरूको सूचना सङ्कलन गर्न विभिन्न देशले प्रक्षेपण गरेका जासूसी स्याट्लाइटहरूबीच परावैजनी किरण (Utravoilet rays) बाट एकअर्कोलाई निष्प्रभावी तुल्याउनमा चलिरहेको टक्कर नै युद्धको अभिमान र प्रतिशोध बढाउन पर्याप्त छ । त्यसमाथि पृथ्वीको कक्षमा घुमिरहेका ती स्याट्लाइटहरू नै एकअर्काको अस्तित्व मेट्ने प्रयोजनका लागि प्रयोग भइरहेपछि त्यहाँको गतिविधिको प्रभावस्वरुप सम्बन्धित राष्ट्रहरूबीचको तनावपूर्ण सम्बन्धले पृथ्वीमा अशान्ति पैदा हुने र अन्तरिक्षलाई असुरक्षित तुल्याउने दुवै सम्भावना निश्चित छ । यो रफ्तार बढ्दै जाँदा वैज्ञानिक खोज र अन्वेषणका लागि मानवले असीमित धन, ध्यान र विवेक बगाएर आर्जन गरेको उपलब्धि कुन समयमा पुगेपछि पूरै अभिशाप सिद्ध होला, त्यो भने अनिश्चित छ ।

अनुवाद तथा सम्पादनः एकल सिलवाल

शिक्षक  मासिक, २०७६ असोज अंकमा प्रकाशित ।

commercial commercial commercial commercial