सत्सङ्ग ठूलो कि तपस्या ?

ऋषिद्वय विश्वामित्र र वशिष्ठबीच बहस पैदा भयो— सत्सङ्ग ठूलो कि ध्यान–तपस्या ? आफूले तपस्या गरेर विभिन्न सिद्धि र शक्ति प्राप्त गरेकाले विश्वामित्र तपस्यालाई बढी महत्वपूर्ण ठान्थे । तर वशिष्ठ यो तर्कसँग सहमत थिएनन् । उनी तपस्यालाई भन्दा ईश्वर भक्ति र ज्ञानीहरूसँगको सरसङ्गतलाई श्रेष्ठ ठान्थे ।

तर्क–वितर्क गर्दागर्दा कुनै टुङ्गोमा पुग्न नसकेपछि फैसला गराइमाग्न उनीहरू ब्रह्माजीको ढोकामा पुगे । प्रश्नमा विश्वामित्रको केही घमण्ड लुकेको गन्ध पाएपछि ब्रह्माजीले आफू सृष्टि–कार्यमा व्यस्त भएको बहाना बनाएर विष्णु भगवानकहाँ जाने सल्लाह दिए । विष्णुले उनीहरूलाई शङ्करकहाँ जाने सुझव दिए । शङ्कर भगवानले शेषनागकहाँ पठाइदिए ।

प्रश्न सुनिसकेपछि शेषनागले भने— “हेर्नुस्, मैले शिरमा पृथ्वीको भार थामेको छु । तपाईंहरूले एकछिन यो भार थेगिदिनुहुन्छ भने म सोचेर जवाफ दिन सकुँला ।”
तपको बलमा अति नै विश्वस्त विश्वामित्रले अघि सर्दै भने— “खै, मलाई दिनुस् पृथ्वी, म थेगिदिन्छु ।” तर शेषनागले विश्वामित्रको काँधमा के राखिदिएका दिए, पृथ्वी रसातलतिर चिप्लिन थाल्यो ।

यो सबै दृश्य हेरिरहेका वशिष्ठले आफूले असल र योग्य मानिसहरूसँग गरेको सरसङ्गत तथा भागवत भक्तिको शक्ति सम्झ्एिर पृथ्वीलाई रोकिन आग्रह गरे । नभन्दै पृथ्वी टक्क अडियो ।

पृथ्वीलाई पुनः आफ्नो काँधमा राख्दै शेषनागले भने— “तपाईंहरूले आफ्नो प्रश्नको जवाफ पाइहाल्नुभयो होला । जीवनभरको तप, ध्यान र एक्लो चिन्तनले विश्वामित्रजीलाई विद्वान् र बलशालीसँगै घमण्डी एवं एकलकाँटे पनि बनाइदिएछ । त्यसै भएर उहाँले त्यत्रो बल लगाउँदा पनि पृथ्वी अडिएन । तर वशिष्ठजीको आधा घडीको सत्सङ्गको भरमा पृथ्वी अचल भयो ।

भावार्थः सत्सङ्ग अर्थात् प्रकृति, गुरु, ज्ञानी र कर्मशील व्यक्तिहरूसँगको उठबस र सङ्गतबाट पाइने व्यावहारिक एवं अनुभवजन्य ज्ञान तप अर्थात् एकोहोरो किताबी अध्ययन, एक्लो ध्यान–चिन्तन भन्दा उत्तम र जीवनोपयोगी हुन्छ ।

शिक्षक  मासिक, २०७६ कात्तिक अंकमा प्रकाशित ।

commercial commercial commercial commercial