जिज्ञासा र जवाफ

६ भन्दा बढी ग्रेड कसैले पाउँदैनन्

मसँगै २०६७/३/२५ मा मावि दोस्रो श्रेणीमा बढुवा भएका एक जना शिक्षक शुरू नियुक्तिमा मभन्दा ९ वर्षले कनिष्ठ भए पनि उनले ७ ग्रेड पाइराखेका छन् । कुनै किसिमको विभागीय सजाय नपाएको, असाधारण विदा नलिएको र ग्रेड रोक्का पनि नभएको अवस्थामा मैले भने जम्मा ६ ग्रेड मात्र पाएको छु । २०५७ सालसम्म मैले प्राविधिक ग्रेड पनि खाएको थिएँ । मेरो स्थायी नियुक्ति २०५१/९/३ को हो । ती शिक्षक र म एउटै गाउँपालिकाको विद्यालयमा कार्यरत छौं । अब म यो समस्या लिएर कहाँ जाऊँ ?

रामबाबु कुशवाह

तपाईंको भनाइ अनुसार शुरू नियुक्तिमा तपाईं भन्दा कनिष्ठ अर्का शिक्षकले तपाईंले भन्दा बढी ग्रेड पाउनुको पछाडि विभिन्न वैधानिक कारणहरू हुनुपर्छ । जस्तै शिक्षक नियुक्ति हुनका लागि चाहिने न्यूनतम शैक्षिक योग्यताका अतिरिक्त २०५७ साउन १ गते भन्दा पहिले सेवाकालीन तालिम लिएका, १० महीने आधारभूत तालिम पाएका वा एकवर्षे बीएड गरेका शिक्षकले यस्ता अतिरिक्त योग्यता हासिल नगरेका शिक्षकको तुलनामा बढी ग्रेड पाउन सक्ने अवस्था थियो । तपाईंले शुरू नियुक्तिमा आफ्नो सेवा अवधि उनको भन्दा ९ वर्षले बढी भएको मात्र उल्लेख गर्नुभएको र ग्रेडमा प्रभाव पार्ने अन्य परिस्थिति नखुलाउनुभएकाले यसबारे यकिनसाथ बताउन सकिंदैन ।

अर्को कुरा, तपाईंले २०५७ सालअघि प्राविधिक ग्रेड पनि पाएको बताउनुभए पनि २०७१ सालदेखि प्राविधिक ग्रेड काटिएकाले त्यस बापत ग्रेड संख्या थपिंदैन । त्यसमाथि नेपाल सरकारको अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेटसँगै २०७६ साउन १ गतेदेखि लागू गरेको सरकारी तलब स्केल सुविधा अनुसार कुनै पनि शिक्षकले ६ ग्रेडभन्दा बढी नपाउने व्यवस्था कायम भएकाले अब कसैको पनि ७ ग्रेड हुन सक्दैन । यसबाट के भन्न सकिन्छ भने अहिले तपाईं र तपाईंले प्रसंग उठाउनुभएको अर्को शिक्षक दुवै जनाको ६/६ ग्रेड नै कायम भएको हुनुपर्छ । तसर्थ सेवा–सुविधामा असमानता भयो भन्ने तपाईंको दाबी युक्तिसंगत नदेखिने हुँदा यसबारे निरुपण खोज्न कहीं पनि जानु जरूरी छैन ।

रवीन्द्र बुढाप्रिथी, निर्देशक (सूचना अधिकारी), विद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौं

विदामा काम लगाएपछि थप सुविधा दिनुपर्छ कि पदैन ?

शिक्षा नियमावली २०५९ को परिच्छेद १५ अन्तर्गत नियम ८५, उपनियम ३ मा ‘हिउँदे वा बर्खे गरी ४५ दिन विद्यालय बन्द रहनेछ’ भनी उल्लेख गरिएको छ । कुनै गाउँपालिकाको शिक्षा समितिले उक्त विदा कटौती हुने गरी विद्यालयमा पठनपाठन सञ्चालन गर्ने शैक्षिक क्यालेन्डर बनाई लागू गर्‍यो । यसरी नियमावलीमा नै उल्लेख भएको विदा कटौती गरी शिक्षकहरूलाई काममा लगाए बापत थप सेवा सुविधा दिनुपर्छ कि पर्दैन ? नियमावलीमा उल्लिखित विदा कटौती गर्न मिल्छ कि मिल्दैन ?

कृष्णबहादुर बुढा, श्री सर्वोदय मावि, राप्ती गाउँपालिका–५, दाङ

शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम ८५ अन्तर्गत विद्यालय बन्द सम्बन्धी निम्न व्यवस्था छः
– उपनियम १ अनुसार नेपाल सरकारले सार्वजनिक विदा तोकेको दिन,
–  उपनियम २ अनुसार बडा दशैंको घटस्थापनादेखि पूर्णिमासम्म,
– उपनियम ३ अनुसार एक शैक्षिक सत्रमा हिउँदे वा बर्खे विदा वा दुवै गरी ४५ दिन,
–  उपनियम ४ अनुसार विद्यालय व्यवस्थापन समितिले दिने स्थानीय विदाका रूपमा
एक शैक्षिक सत्रमा थप पाँच दिनसम्म

त्यसमा उल्लेख भएको व्यवस्था बाहेक एक शैक्षिक सत्रमा विद्यालयमा काम गर्ने दिन २२० भन्दा कम नहुने गरी प्रदेश सरकार वा स्थानीय सरकारले कानून बमोजिमको अधिकार क्षेत्रभित्र रहेर विदा थपघट गर्न सक्छन् । यस अन्तर्गत हिउँदे वा बर्खे विदा विद्यालयको भौगोलिक परिवेश अनुसार दिन सकिन्छ । त्यसबाहेक काम गर्ने अवधि २२० दिन भन्दा कम हुने गरी विद्यालय बन्द गरेमा प्रधानाध्यापकलाई विभागीय कारबाही गरिने व्यवस्था नियम ८५ को उपनियम ५ मा छ ।

जहाँसम्म २२० दिन भन्दा बढी काममा लगाए बापत शिक्षकहरूलाई थप सेवासुविधा दिनुपर्छ कि पर्दैन भन्ने तपाईंको प्रश्न छ, यसमा विद्यालय व्यवस्थापन समिति वा स्थानीय सरकारको स्रोत र निर्णयका आधारमा त्यस खालको अतिरिक्त सेवा सुविधा लिन/दिन बाधा पर्दैन । तर विदा अधिकार भन्दा पनि सहुलियतको कुरा भएकाले सुविधा पाउनै पर्छ भन्नु मनासिब मानिंदैन । शिक्षण विद्यालय खुलेको दिन हाजिर भएर जागिर पकाउने औपचारिकता पूरा गर्ने पेशा मात्र नभई अत्यन्त उच्च मर्यादा र गहन जिम्मेवारीसँग जोडिएको कर्म हो । शिक्षकहरूले विद्यालयमा दिने अधिकतम समयले कलिला बालबालिकाको भविष्य फुलाउन/फलाउन र उनीहरूको जीवनमा शिक्षाको मलजल पुर्‍याउन योगदान गरिरहेको हुन्छ ।

भुवनेश्वर जोशी, शाखा अधिकृत, शिक्षक व्यवस्थापन समन्वय शाखा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुर

commercial commercial commercial commercial