कक्षा ११,१२ मा दुई नयाँ विषय तयारी छैन, लागू गर्नै हतार !

शिक्षा मन्त्रालयले कक्षा ११ मा सामाजिक अध्ययन र १२ मा जीवनोपयोगी शिक्षा नामका दुई नयाँ विषयलाई अनिवार्य बनाउँदै परिमार्जन गरेको पाठ्यक्रम आगामी शैक्षिक सत्र (२०७७) देखि लागू गर्ने घोषणा गरेको छ । तर पढाइ शुरू गर्नुअघि सक्नुपर्ने पाठ्यपुस्तक लेखन तथा परीक्षण र शिक्षक तालिम जस्ता तयारीलाई भने खासै महत्व दिएको पाइँदैन । परिणामतः आगामी वर्ष कक्षा ११ मा भर्ना हुने विद्यार्थी नै प्रयोगमा पर्ने अथवा ‘गिनिपिग’ बन्ने सम्भावना देखिएको छ ।

कक्षा ११ र १२ का सबै विषयमा नयाँ पाठ्यक्रम लागू गर्न खोजिएको छ । सामान्यतः नयाँ विषयको पाठ्यक्रम कक्षाकोठामा पढाइ शुरू हुनु अगाडि नै परीक्षण सकिएर पाठ्यवस्तु बमोजिमका तालिमप्राप्त शिक्षक र शिक्षण सामग्री तयार भइसक्नुपर्छ । कक्षा १२ को परिमार्जित पाठ्यक्रम लागू गर्ने तयारीका लागि दुई वर्ष बाँकी रहेकाले समस्या नपर्ने तर कक्षा ११ को नयाँ पाठ्यक्रम आउँदो शैक्षिक सत्रको शुरू अर्थात् २०७७ भदौदेखि नै कार्यान्वयनमा ल्याउनुपर्ने हुँदा त्यसअघि सक्नुपर्ने काम नयाँ शैक्षिक सत्रसम्म धकेलिने देखिएको स्वयं पाठ्यक्रम विकास केन्द्रले पनि जनाएको छ ।
चालू शैक्षिक सत्रभित्रै विज्ञहरूबाट नयाँ विषयका पाठ्यपुस्तक लेखाएर कक्षा ११ को परीक्षाअघि नै तिनको परीक्षण गर्न समय नपुग्ने देखिएको केन्द्रका निर्देशक एवं सूचना अधिकारी गणेशप्रसाद भट्टराईले बताए । ‘आउँदो शैक्षिक सत्र लागेपछि विद्यार्थी भर्ना हुँदै गर्दाको पहिलो महीनामा पाठ्यपुस्तक परीक्षण, परिमार्जन र संशोधित पाठ्यवस्तु अनुसार शिक्षक तालिम समेत सकेर दोस्रो महीनादेखि नयाँ पाठ्यक्रम लागू गर्ने योजनामा छौं’– उनले भने । यी सबै काम चाँडै सक्न जिल्ला जिल्लाका विभिन्न विद्यालयमा छुट्टाछुट्टै पाठको परीक्षण १५ दिनभित्रमा सकेर विश्लेषणपछि आवश्यक परिमार्जन गरी अर्को १५ दिनमा शिक्षक तालिम समेत सकिने अपेक्षा गरिएको भट्टराई बताउँछन् ।

कक्षा ११ र १२ मा पढाइ हुने १५० वटा विषयको नयाँ पाठ्यक्रम बनाउनुपर्नेमा हालसम्म ७० वटाको बनिसकेको र १०० वटा जति बनाइसकेपछि कम्तीमा चार–पाँच हजार विद्यार्थीले पढ्ने इच्छाधीन विषयका पाठ्यक्रम बनिसक्ने हुँदा पढाइ सञ्चालन गर्न समस्या नपर्ने केन्द्रको दाबी छ । ती पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक पनि सँगसँगै तयार गर्दै जाने र थोरै विद्यार्थी संख्या हुने बाँकी विषयको काम त्यसपछि गरेर समय व्यवस्थापन गरिने निर्देशक भट्टराईले जानकारी दिए ।

पाठ्यक्रम, पाठ्यपुस्तक शिक्षण निर्देशिका लगायतका सामग्री टुङ्ग्याउने काममा केन्द्रले सक्रियता देखाइरहँदा जनशक्ति व्यवस्थापन गर्नुपर्ने निकायको सक्रियता भने सुस्त देखिएको छ । परिमार्जित पाठ्यक्रम अनुसार नयाँ विषय थपिंदा पढाउने शिक्षक पर्याप्त भए/नभएको यकिन गरी अपुग भएमा व्यवस्था गर्ने र उनीहरूलाई तालिम दिएर तयारी थाल्ने काम शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविकको शिक्षा विभाग) को हो । तर शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भने नयाँ पाठ्यक्रम लागू गर्दा शिक्षणका लागि नयाँ जनशक्ति चाहिने/नचाहिने वा भइरहेकैले पुग्ने भएमा उनीहरूलाई तालिम दिनुपर्ने/नपर्ने विषयमा कुनै जानकारी नभएको जनाएको छ ।

‘पाठ्यक्रम विकास केन्द्रले परिमार्जित पाठ्यक्रमको प्राविधिक विश्लेषण गरी परीक्षण प्रतिवेदन दिएपछि आवश्यक परेमा त्यसको तयारी गरिन्छ’– केन्द्रका प्रवक्ता दीपक शर्माले भने । निर्धारित पाठ्यक्रमको प्रभावकारिता त्यसको कार्यान्वयनमा लागिपर्ने शिक्षकको दक्षतासँग जोडिने भएकाले पाठ्यक्रम विकास केन्द्रसँगको समन्वयमा स्रोत विकास केन्द्रले कुनै काम गरिरहेको छ कि छैन भन्ने प्रश्नमा शर्माको जवाफ थियो– ‘अहिले परिमार्जित पाठ्यक्रमकै लागि भनेर छुट्टै तयारी भएको मलाई जानकारी छैन तर शिक्षकलाई आवश्यकता अनुसार तालिम दिने काम भने हामीले नियमित रूपमा गरिरहेकै हुन्छौं ।’

पाँचको सट्टा अब कम्तीमा ६ विषय
कक्षा ११ को परिमार्जित पाठ्यक्रममा नेपाली र अंग्रेजीसँगै अनिवार्य हुने गरी सामाजिक अध्ययन विषय थपिएको छ भने तीन वटा समूहबाट एक/एक वटा पर्ने गरी अन्य तीन विषय विद्यार्थीले रोजेर पढ्न पाउने व्यवस्था गरिएको छ । यसप्रकार कक्षा ११ का विद्यार्थीले अबको शैक्षिक सत्रमा तीन अनिवार्य र तीन इच्छाधीन गरी न्यूनतम ६ विषय पढ्नुपर्नेछ । सात विषय पढ्न चाहने विद्यार्थीले अघिल्ला तीन इच्छाधीन विषयभन्दा फरक प्रकृतिको अर्को एउटा विषय पनि पढ्न पाउने विकल्प खुला राखिएको छ जसलाई अतिरिक्त इच्छाधीन विषय भनिएको छ ।

यसैगरी कक्षा १२ मा पनि नेपाली र अंग्रेजी तथा जीवनोपयोगी शिक्षा गरी तीन वटै अनिवार्य विषय रहनेछन् । इच्छाधीनतर्फ कक्षा ११ मा जस्तै तीन समूहबाट एक/एकवटाका दरले विद्यार्थीले रोजेका तीन विषय र अतिरिक्त इच्छाधीन समेत पढ्न चाहेमा चौथो विषय पनि रहनेछ । यसप्रकार दुवै कक्षामा बराबर विषय राखिएको छ । परिमार्जित पाठ्यक्रममा अन्य सबै विषयको साप्ताहिक पाठ्यघण्टा ५/५ राखिए पनि अनिवार्य नेपाली र अंग्रेजीलाई भने घटाएर क्रमशः ३ र ४ कायम गरिएको छ । यसको अर्थ, आइन्दा कक्षा ११ र १२ मा नेपाली र अंग्रेजी विषय सातामा ३ र ४ पिरियड मात्र पढाइ हुन्छ । दुवै कक्षामा ६ विषय पढ्ने विद्यार्थीले विद्यालयमा साताको २७ र ७ विषय पढ्नेले ३२ पाठ्यघण्टा पढ्नुपर्छ । कक्षा ११ र १२ मा हाल दुई अनिवार्य र तीन इच्छाधीन गरी पाँच विषयको मात्र पढाइ हुँदै आएको छ ।  

केका लागि जीवनोपयोगी शिक्षा ?
पाठ्यक्रम विकास केन्द्रका अनुसार कक्षा १२ मा थप गरिएको अनिवार्य विषय जीवनोपयोगी शिक्षा माध्यमिक तह पूरा गरेका सबै विद्यार्थीलाई स्व–उद्यम गर्न सक्ने गरी कुनै न कुनै सीपले युक्त बनाउने उद्देश्यले समावेश गरिएको हो । यसको पाठ्यक्रम २०७६ भदौ १९ मा मात्र पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले पारित गरी त्यसको भोलिपल्ट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृति गरेको छ । पहिले यो विषय कक्षा ११ र १२ दुवैमा राख्ने गरी छलफल भए पनि अन्ततः ११ कक्षामा सामाजिक अध्ययन र १२ मा जीवनोपयोगी शिक्षा रहने गरी नयाँ पाठ्यक्रमले अन्तिम रूप पाएको हो ।
प्राविधिक क्षेत्रमा जान चाहने विद्यार्थीका लागि ९ देखि १२ कक्षासम्म प्राविधिक धारको पाठ्यक्रम लागू भएको छ । त्यतातर्फ नलागेका विद्यार्थीले पनि कक्षा १२ उत्तीर्ण गर्दा कुनै न कुनै सीपको शिक्षा पाउन् भन्ने अभिप्रायले यो विषय प्राथमिकतामा परेको पाठ्यक्रम विकास केन्द्रको भनाइ छ ।

जीवनोपयोगी शिक्षाको पाठ्यक्रम मस्यौदा समितिमा नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.लेखनाथ शर्मा, त्रिवि पाठ्यक्रम विकास केन्द्रका प्रमुख प्रा.डा. पारसनाथ यादव, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा.लेखनाथ पौडेल संलग्न थिए । समितिले अरू तीन जना विज्ञलाई आमन्त्रण गरेर उनीहरूको सहयोगमा पाठ्यक्रम तयार पारेको हो । ७५ प्रतिशत सैद्धान्तिक र २५ प्रतिशत प्रयोगात्मक सिकाइमा केन्द्रित पाठ्यक्रममा जीवनोपयोगी शिक्षा विषय अन्तर्गत पठनपाठनका लागि समेटिएका ९ क्षेत्रहरू यस्ता छन्ः
१. दर्शन, जीवनदर्शन र विश्व दृष्टिकोण,
२. जीवनमुखी शिक्षा र जीवनोपयोगी सीप
३. सोचाइ सीप
४. संवेग व्यवस्थापन सीप
५. सामाजिक सीप
६. सूचनाप्रविधि सीप
७. नागरिक सीप
८. दुव्र्यसन, कुलत र मानसिक असन्तुलन
९. स्वस्थ र सन्तुलित जीवनशैली ।

त्यसअघि २०६८ सालदेखि आधारभूत तहको ४ देखि ८ सम्मका कक्षाहरूमा ‘पेशा, व्यवसाय र प्रविधि’ भन्ने विषय राखिएको थियो जुन हालसम्म कायम छ । त्यसले पूर्व व्यावसायिक शिक्षाका रूपमा विद्यार्थीलाई सामान्य व्यावसायिक ज्ञान दिएको छ । अब उक्त विषयलाई हटाएर त्यसभित्रका पाठ्यवस्तुलाई व्यवहारकुशल सीप (Soft Skill) को रूपमा अन्य विषयहरूसँग मिसाई पढाउने गरी पाठ्यक्रम परिमार्जन गरिएको छ । नयाँ पाठ्यक्रम आउँदो वर्ष कक्षा ६ मा परीक्षण गरेर २०७८ सालको शैक्षिक सत्रदेखि क्रमशः ६ देखि ८ कक्षासम्म लागू गर्दै लैजाने केन्द्रको योजना छ । विद्यालय तहमा कक्षा १ देखि ५ सम्मका लागि पनि नयाँ पाठ्यक्रम निर्माण भएको छ । यो वर्ष कक्षा १ मा परीक्षण भइरहेको पाठ्यक्रम अर्को शैक्षिक सत्रदेखि क्रमशः लागू गर्दै लगिने केन्द्रले जनाएको छ ।

शिक्षक  मासिक, २०७६ कात्तिक अंकमा प्रकाशित ।

commercial commercial commercial commercial