एकीकृत पाठ्यक्रम अस्तव्यस्त नै छ तयारी

शिक्षक–प्रशिक्षक तालिमसँग सम्बन्धित काम हाम्रो होइन।
पाठ्यक्रम विकास केन्द्र

पहिले पाविकेबाटै तालिम–पाठ्यक्रमको खाका आउनुपर्छ।
साविकको शिक्षा विभाग

२०७६ को शैक्षिक सत्र वैशाखको पहिलो हप्ता शुरू भयो । तर त्यसको एक महीनापछि; काठमाडौं, भक्तपुर र ललितपुरका ९ वटा सामुदायिक विद्यालयका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रमका बारेमा जानकारी दिन जेठ ८ र ९ गते मात्र प्रबोधीकरण (ओरिएन्टेसन) का निम्ति निम्त्याइयो ।

नयाँ पाठ्यक्रम परीक्षणका लागि छानिएका ती ९ सहित देशका १०३ वटा विद्यालयमा वैशाखको पहिलो साताबाट पहिलेकै पाठ्यक्रम/पाठ्यपुस्तकको पढाइ–लेखाइ शुरू भइसकेको थियो । प्रबोधीकरण कार्यक्रममा सहभागी प्रअ तथा शिक्षकका अनुसार सो कार्यक्रम पहिलेको पाठ्यक्रम र नयाँ पाठ्यक्रमबीचको अन्तरका विषयमा केन्द्रित थियो । त्यसमा सहभागी थुप्रै शिक्षकले नयाँ पाठ्यक्रमबारे आफूहरू स्पष्ट हुन नसकेको बताएका छन् ।

यो शैक्षिक सत्रदेखि कक्षा–१ मा एकीकृत पाठ्यक्रम परीक्षण भइरहेका १८ जिल्लाका १०३ सामुदायिक विद्यालयमध्ये एउटा हो काठमाडौंको पञ्चकन्या आधारभूत विद्यालय । विद्यालयकी प्रअ विनिता रंजितलाई आफ्नो विद्यालय परीक्षणमा पर्दा खुशी लागेको छ । तर पुरानो पाठ्यक्रम अनुसार पढाइ भएको एक महीनाभन्दा बढी भइसकेपछि मात्र यसबारेमा थाहा दिएकोमा उनको गुनासो छ । उनी भन्छिन्, “चैतमै प्रबोधीकरण कार्यक्रम र तालिम हुनुपथ्र्यो । वैशाखको पहिलो हप्ता पुस्तक पुग्नुपथ्र्यो । जसरी पनि गर्नुपर्छ भनेर होइन शिक्षकलाई तयार पारेर कार्यान्वयन गर्नुपथ्र्यो ।” काठमाडौंकै कमलपोखरीस्थित कमल आधारभूत विद्यालयका शिक्षक बलराम खड्का पनि उक्त प्रबोधीकरण कार्यक्रममा गएका थिए । तर त्यहाँ खासै केही नसिकाइएको उनको भनाइ छ । उनी भन्छन्, “अन्तर्राष्ट्रिय अभ्यास अवलम्बन गर्न खोजिएको पक्ष राम्रो छ । तर शिक्षकलाई तयार नै नगरी हतारमै ल्याइयो । कक्षा–१ का सबै शिक्षकले एकीकृत पाठ्यक्रम र कार्यान्वयन निर्देशिका पढेर कक्षाकोठामा सिकाउन सक्दैनन् ।”

कमल आभूविका प्रधानाध्यापक मानबहादुर खड्का पनि पाठ्यक्रम विकास केन्द्रले हतारमा कार्यक्रम शुरू गरेको ठान्छन् । उनी भन्छन्, “एकीकृत पाठ्यक्रम परीक्षण पहिलोपल्ट गर्दा यसको मूल मर्म बुझउनुपथ्र्यो । ‘वान वे’ रूपमा लागू गनुपर्छ भनियो । नबुझइकन झरा टार्ने रूपमा शुरू भयो ।” प्रअ खड्का थप्छन्, “तालिम विनै शुरू भएको छ । पाँच महीना भयो । हामी आफ्नै पारामा गर्दैछौं । सफ्ट स्कील के हो भन्ने बुझनै सकिएको छैन ।”

चण्डीदेवी आधारभूत विद्यालय, ललितपुरका शिक्षक विष्णुहरि दनुवारका अनुसार प्रबोधीकरण कार्यक्रम पहिलेको पाठ्यक्रम र नयाँ पाठ्यक्रम अनि पहिलेको किताब, विषय र अहिलेको कार्यपुस्तकबीचका भिन्नता बारेमा मात्रै केन्द्रित थियो । नेपाली विषय पढाउने दनुवार भन्छन्, “तर त्यसले केही भएन । कसरी सिकाउने भनेर नमूना शिक्षणबारे जानकारी गराउनुपथ्र्यो । हामीलाई चाहिएको त्यो हो । तर त्यही चाहिं सिकाएनन् ।”

शान्ति निकेतन मावि, भक्तपुरका प्रअ महेन्द्र गोपाल कर्माचार्यको बुझइमा एकीकृत पाठ्यक्रमको अवधारणा धेरै राम्रो छ । त्यसमा सिकाइमा जोड दिइएको छ । तर पूर्व तयारी जसरी हुनुपर्ने त्यो भएन भन्ने उनको पनि गुनासो छ । प्रारम्भिक पठन सीपका लागि पहिल्यै तालिम लिइसकेका शिक्षक भएका कारण आफ्नो विद्यालयका शिक्षकलाई नयाँ पाठ्यक्रमको अवधारणा बुझन सजिलो भएको उनको भनाइ छ ।

नयाँ र पुरानो पाठ्यक्रम सँगसँगै
शैक्षिक सत्रको शुरूमै एकीकृत पाठ्यक्रम शुरू हुन नसक्दा कतिपय विद्यालयले नयाँ र पुराना दुवै पाठ्यक्रमका किताब सँगसँगै पढाइरहेका छन् । पञ्चकन्या आधारभूत विद्यालय, काठमाडौंमा पुरानो पाठ्यक्रम अनुसारका किताब पनि पढाइ भइरहेको छ र नयाँ एकीकृत पाठ्यक्रम पनि चलिरहेको छ । प्रअ रंजित भन्छिन्, “पढाइरहेका किताब हटाउँदा अभिभावकलाई पनि मनाउनुपर्छ । उनीहरू बोर्डिङमा कति धेरै किताब हुन्छ भनेर तुलना गर्छन् ।”

शान्ति निकेतन मावि, भक्तपुरले एकीकृत पाठ्यक्रम लागू गरेपछि अरू विषयका पुराना किताब हटाए पनि अंग्रेजी माध्यमका अतिरिक्त अंग्रेजी र गणितका किताब भने यथावत् पढाउँदैछ । “नभए अभिभावकले सामुदायिकलाई पत्याउँदैनन्” प्रअ महेन्द्र गोपाल कर्माचार्य भन्छन् । चण्डीदेवी आधारभूत विद्यालय, ललितपुरका प्रअ सीताराम खड्काका अनुसार अभिभावकहरूसँग छलफल गरी पहिले पढाइँदै आएको किताब हटाइएको छ । “तर अभिभावकहरूले साइन्स किताब खोइ त ? हाम्रा केटाकेटी कमजोर हुन्छन् कि भन्ने चिन्ता व्यक्त गरेका छन्”, प्रअ खड्काले भने ।

आधारभूत तह अन्तर्गत कक्षा १–३ को एकीकृत पाठ्यक्रमलाई हाम्रो सेरोफेरो, गणित र भाषाअन्तर्गत नेपाली र अंग्रेजी गरी चार क्षेत्रमा बाँडिएको छ । एकीकृत पाठ्यक्रम भनिए पनि हाम्रो सेरोफेरो बाहेक बाँकी तीन किताब छुट्टाछुट्टै विषयका रूपमा आएका छन् । हाम्रो सेरोफेरोमा सामाजिक अध्ययन, विज्ञान तथा वातावरण, स्वास्थ्य तथा शारीरिक शिक्षा, सिर्जनात्मक कला अन्तर्गतका विषयवस्तुहरूलाई एकीकृत गरी अन्तरविषयक स्वरुपमा प्रस्तुत गरिएको छ । कतिपय ‘थिम’ चारैवटा पुस्तकका एकै छन् । अर्थात् अन्तरसम्बन्धित छन् ।

नर्सरी तथा ईसीडीमा सिकाइ सकिएको कुरा नयाँ पाठ्यक्रमको कक्षा–१ को पुस्तकमा भएको र यसका विषयवस्तुलाई कतिपय शिक्षकले धेरै सजिलो भयो भनेर बुझेका छन् । त्यसैले पनि पुराना किताब छाडेका छैनन् कतिपय विद्यालयले । पञ्चकन्याकी शिक्षक सपना थापा भन्छिन्, “क ख ग घ त नर्सरीमै सिकाइसक्छौं यहाँ । त्यही दोहोरियो ।”

नयाँ पाठ्यक्रम अनुसार नेपाली विषयमा कक्षा–१ का विद्यार्थीलाई स्वर र व्यञ्जन वर्ण पहिचान, मात्रा प्रयोग, हलन्त व्यञ्जन वर्णको पहिचान र प्रयोग गर्न सिकाए पुग्छ । ‘निजी विद्यालयसँगको प्रतिस्पर्धाका कारण सामुदायिकमा पनि नर्सरी÷ईसीडीमा उमेरभन्दा बढी लेखपढ गराउनुपर्ने बाध्यता छ । यसो गरेन भने अभिभावकले एक वाक्य पनि लेख्न जानेनन्’ भनेर गुनासो गर्छन् । शान्ति निकेतनका प्रअ कर्माचार्य भन्छन्, “तल विषयवस्तुको बोझ् बोकेकालाई नयाँ किताब हल्का भयो । यसले गर्दा सामुदायिक विद्यालयलाई नकारात्मक असर पुग्ला कि ?” कमल आधारभूत विद्यालयका शिक्षक बलराम खड्कालाई पनि यसैबारेमा चिन्ता छ । उनी भन्छन्, “कन्टेन्ट ईसीडी÷नर्सरीका जस्ता छन् । यसले गर्दा हाम्रा भएका बच्चा पनि निजीतिर जाने हुन् कि ? त्यसैले पुरानो पाठ्यक्रमका कतिपय पुस्तक पढाइरहेका छौं ।”

स्कूल जानेबित्तिकै पढ्न लेख्न जान्नुपर्छ भन्ने कतिपय अभिभावकको सोचका कारण पनि सानैमा उमेरभन्दा बढी पढाउने र रटाउने समेत गरेको पाइन्छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा.लेखनाथ पौडेल भन्छन्, “औपचारिक पढाइ–लेखाइ पाँच वर्षको उमेरमा शुरू गर्ने गरी बालबालिकालाई सृजनशील बनाउने उद्देश्यले विषयवस्तु (कन्टेन्ट) राखेका छौं ।”

मूल्याङ्कनमा अन्योल
पुस्तकका विषयवस्तु सजिलो भएको धेरै शिक्षकको प्रतिक्रिया रहे पनि विद्यार्थीले पाठ्यक्रमको उद्देश्य अनुसार के सिके, कति प्रगति गरे भन्ने थाहा पाउन अपरिहार्य मूल्याङ्कन पद्धतिप्रति शिक्षकहरूमा अन्योल छ । विद्यार्थीले लेख्न जाने कि जानेनन्, शिक्षकहरू यसमै बढी केन्द्रित पाइएको छ । पञ्चकन्याकी शिक्षक सपना थापा नयाँ पुस्तकमा भएका अभ्यास गराउँछिन् । र, पुरानो किताब अनुसार त्रैमासिक परीक्षा पनि लिइएको उनले बताइन् । चण्डीदेवी आधारभूत विद्यालयका शिक्षक दनुवारलाई अहिलेसम्मको अनुभवमा केटाकेटीले गीत–कविता सुन्न त्यति मन नपराएको भन्ने लागेको छ । आफूले लय, भाका वा तरिका नजानेर हो कि जस्तो पनि उनलाई लागेको छ । “यसबारे शैक्षिक सामग्री वा सीडी वा अडियो दिनुपथ्र्यो हामीलाई” उनले भने । मूल्याङ्कन कसरी हुँदैछ त ? यस सम्बन्धमा दनुवार भन्छन्, “अक्षर चिने चिनेनन् । शब्द चिने चिनेनन् सोध्छु । पुस्तकका अभ्यास गर्न लगाउँछु ।” शान्ति निकेतनका प्रअ कर्माचार्यले भने लिखित र मौखिक परीक्षाबाट मूल्याङ्कन गरिएको बताए ।

नयाँ पाठ्यक्रमको मुख्य उद्देश्य विभिन्न क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराई उमेर अनुसार विषयगत सीप र ‘सफ्ट स्कील’ अर्थात् व्यवहार कुशल सीप (संचार सीप, सहयोग र सहानुभूति सीप, सहकार्य सीप, प्रयोग सीप) सिकाउने छ ।

जस्तो, नेपालीमा ‘म र मेरो परिवार’ भन्ने विषय (थिम १) पढेपछि ध्वनि सचेतीकरण, श्रव्य दृश्यबोध, पठनप्रवाह, पठनबोध, लेख्य वर्ण सचेतीकरण, लेखाइ, शब्दभण्डार, कार्यमूलक व्याकरण लगायतका लक्षित सिकाइ उपलब्धि हासिल गरेको हुनुपर्छ । यसका साथै संचार सीप, प्रयोग सीप जस्ता अपेक्षित व्यवहार कुशल सीप पनि छन् । यसका लागि नमूना क्रियाकलाप दिइएको छ— एकीकृत पाठ्यक्रम कार्यान्वयन निर्देशिकामा । दिइएका नमूना क्रियाकलापका आधारमा शिक्षकले आफ्नो परिवेश अनुसार नमूना क्रियाकलापमा समायोजन, परिमार्जन र थपघट गर्न आवश्यक हुनुपर्ने भनिएको छ । यी सबैको मूल्यांकन मौखिक प्रश्नोत्तर, छलफलमा सहभागिता, समूह कार्यमा सहभागिता, अवलोकन जस्ता आधारमा मूल्यांकन गरिने भनिएको छ । तर यस सम्बन्धमा शिक्षकलाई सहज हुने गरी कुनै निश्चित सूत्र वा खाका दिइएको छैन ।

यसरी हतारमा परीक्षण गरिंदा शिक्षकहरूबाट नयाँ पाठ्यक्रमको उद्देश्य अनुसार प्रस्तुति हुन नसकेको अवस्था छ । एकीकृत पाठ्यक्रम परीक्षण भइरहेका मोरङका ७ वटा विद्यालय अनुगमन गरेर फर्केका प्राध्यापक उमानाथ पाण्डे भन्छन्, “घरपरिवार र समुदायलाई जोडेर शिक्षा दिन खोजिएको पाठ्यक्रमप्रति शिक्षक अभिभावक सकारात्मक छन् । चित्रै चित्र भरिएका किताबका कारण केटाकेटी पनि आकर्षित देखिए । तर विषयवस्तु अनुसार कसरी सिकाउने भन्नेमा शिक्षकको प्रस्तुति कमजोर देखियो । उनीहरूलाई ‘ओरिएन्टेशन’ आवश्यक देखियो ।”

मोरङ बाहेक अन्य ठाउँमा पनि धेरैले एकीकृत पाठ्यक्रमबारे कुरै नबुझेकाे भन्ने कुरा आएको छ । पाठ्यक्रम निर्माणका क्रममा सहभागी नाम उल्लेख गर्न नचाहने एक विज्ञ भन्छन्, “प्रवचन विधिमा पढाइरहेका शिक्षकलाई विना तालिम क्रियाकलापमा आधारित विधिमा अभ्यस्त हुन गाह्रो देखिएको छ । नयाँ पाठ्यक्रमको पनि निरन्तर मूल्याङ्कन प्रणाली ‘क्यास’कै हविगत हुने हो कि ?” एकीकृत पाठ्यक्रम निर्माणका क्रममा जुटेका तथा हाम्रो सेरोफेरो पुस्तकका लेखकमध्येका एक सरस्वती मावि, ललितपुरका शिक्षक महेन्द्र विष्ट शिक्षकलाई तालिम नदिई परीक्षणमा लैजाँदा नै यो स्थिति आएको बताउँछन् । विष्ट भन्छन्, “फरक अवधारणाबाट आएको विद्यार्थीको सिकाइ केन्द्रित पाठ्यक्रमको उद्देश्यका लागि शिक्षकलाई सघन तालिम चाहिन्छ । र यस्तो तालिमपछि पनि के कस्ता समस्या आए भनेर निरन्तर सहयोग चाहिन्छ ।”

केन्द्रका महानिर्देशक डा.पौडेलका अनुसार शिक्षक निर्देशिका र सिकाइ मूल्यांकनका लागि टुल तयार हुँदैछन् । पौडेल भन्छन्, “परीक्षण कार्यक्रम भएकोले आशा गरे अनुरूप नहुन सक्छ । कतिपय ठाउँमा सकारात्मक पाइएको छ । आउने वर्षका लागि हामी फागुनमा शिक्षा विकास तथा समन्वय इकाई मार्फत तीनदिने अभिमुखीकरण कार्यक्रम गर्छौं ।”

तालिमका लागि बजेट अपुग
यो शैक्षिक सत्रदेखि १०३ वटा विद्यालयमा परीक्षण गरिएको एकीकृत पाठ्यक्रम (कक्षा–१ मा) आउने शैक्षिक सत्र (वैशाख २०७७) देखि देशभरका ३० हजारभन्दा बढी विद्यालयमा लागू हुनेछ । सामुदायिक र संस्थागत विद्यालयका गरी एक लाखभन्दा बढी शिक्षकहरूलाई तालिम दिनुपर्नेछ । नयाँ पाठ्यक्रमका लागि तालिम पाठ्यक्रम र प्रशिक्षक तयार गर्नुपर्नेछ । स्वीकृत पाठ्यक्रमका आधारमा तालिम प्याकेज बनाउनुपर्ने हुन्छ । शिक्षक–प्रशिक्षकको तयारी कसरी हुँदैछ भनेर बुझदा शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविकको शिक्षा विभाग) का उच्च अधिकारी नै कसले तयारी गर्ने हो भन्नेमा अन्योलमा रहेको पाइयो । पाठ्यक्रम विकास केन्द्रका अधिकारीले तालिमसँग सम्बन्धित काम आफ्नो होइन भन्ने गरेका छन् ।

नयाँ पाठ्यक्रमको उद्देश्य र अवधारणा अनुसार कस्तो तालिम–पाठ्यक्रम बनाउने अनि प्रशिक्षक तयार गर्ने हो भन्ने बारेमा शुरूमा पाठ्यक्रम विकास केन्द्रबाटै अवधारणा र खाका आउनुपर्नेमा अहिलेसम्म त्यहाँबाट केही पनि नआएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका एक अधिकारी बताउँछन् । यसरी पाठ्यक्रम बनाउने र कार्यान्वयन गर्ने निकायबीच पटक्कै समन्वय नभएको देखिन्छ ।

शिक्षक तालिम चलाउँदै आएको साविकको निकाय शैक्षिक जनशक्ति विकास केन्द्र, मानव स्रोत विकास केन्द्र (साविकको शिक्षा विभाग) मा गाभियो र त्यहाँ मानव संसाधन महाशाखाका रूपमा रहेको छ । शिक्षक तालिम शाखाकी अधिकृत कुन्ती अधिकारी एकीकृत पाठ्यक्रमका लागि प्रशिक्षक प्रशिक्षण र तालिम प्याकेजको तयारी यसै आर्थिक वर्षमा गर्ने कार्यक्रम रहेको बताउँछिन् । उनी भन्छिन्, “प्रशिक्षक तयारीका लागि पहिले शिक्षामन्त्री अध्यक्ष रहने शैक्षिक जनशक्ति विकास तालिम परिषद्बाट तालिम पाठ्यक्रम पास हुनुपर्छ । त्यसपछि प्रशिक्षक प्रशिक्षण र तालिम प्याकेज तयार पार्न थालिनेछ ।”

तर अहिलेसम्म यस सम्बन्धमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्ययोजना समेत बनाएको छैन । केन्द्रका महानिर्देशक बाबुराम पौडेल भन्छन्, “कसरी पढाउने, सिकाउने, मूल्याङ्कन गर्ने नयाँ अवधारणा पाविकेले बनाएको हो । अहिलेसम्मको फिडब्याक के छ, पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरेर प्रशिक्षक तयारीका बारेमा हामी छिट्टै कार्ययोजना बनाउँछौं ।”

प्रशिक्षक प्रशिक्षण तालिम र शिक्षकको पेशागत विकास (टीपीडी) कोर्सका लागि रु.२० लाख बजेट छ । यस्तै, सबै जिल्लामा तीनदिने अभिमुखीकरण कार्यक्रमका लागि कुल रु.७ करोड ६६ लाख बजेट छुट्याएको छ । केन्द्रका कार्यक्रम शाखा अधिकृत अर्जुन ढकालका अनुसार अभिमुखीकरण कार्यक्रममा एउटा विद्यालयबाट दुई जना शिक्षक सहभागी हुने गरी बजेट छ ।

एकीकृत पाठ्यक्रमको छोटो अभिमुखीकरणका लागि बजेट छुट्याइएको भए पनि तालिमका लागि भने थोरै शिक्षकका लागि मात्र बजेट राखिएको छ । एकीकृत पाठ्यक्रम समेत भनी आधारभूत तह (१–५) का १ हजार ९२५ जना शिक्षकको टीपीडी तालिमका लागि जम्मा रु.३ करोड १६ लाख २५ हजार राखिएको छ । “एकीकृत पाठ्यक्रम देशैभरि लागू हुने निर्णय पाठ्यक्रम विकास केन्द्रले पछि गरेकोले यस्तो भएको हो । तर अपुग बजेट रकमान्तर गरी वा शिक्षा मन्त्रालयसँग प्रस्ताव राखी हामी जुटाउँछौं”, महानिर्देशक बाबुराम पौडेलले भने ।

शिक्षक  मासिक, २०७६ कात्तिक अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial