‘सिजोफ्रेनिया’ असाध्य होइन

समयमै उचित उपचार नपाएमा जीवनको दोस्रो–तेस्रो दशकमा नै शुरू हुने यो रोगले रोगीलाई युवावस्थामै परनिर्भर बनाइदिन सक्छ। तर, उपचार गरेको खण्डमा बिरामी दुरुस्त भई पुनः ऊर्जाशील जीवन बाँच्न सक्षम हुन्छ ।

‘सिजोफ्रेनिया’— व्यक्तिगत विचार/चिन्तन अनि संवाद/संचारमा आघात पुगेर देखा पर्ने दीर्घ एवं गम्भीर किसिमको मानसिक रोग हो । रोगीले अश्रव्य शब्द सुन्ने, अनि त्यसमा प्रतिक्रिया जनाउँदा वरिपरिकाले एक्लै बर्बराए झैं ठान्ने, अरूले नबुझने शब्दोच्चारण÷क्रियाकलाप गर्ने आदि व्यवहार देखाउँछन् । शनैःशनैः दैनिक विधि व्यवहार अनि व्यक्तित्व विकासमा असर पर्न गई परिवार अनि समाजबाटै अलग हुन पुग्ने अवस्था सिर्जना हुन्छ । समयमै उचित उपचार नपाएमा जीवनको दोस्रो–तेस्रो दशकमा नै शुरू हुने यो रोगले रोगीलाई युवावस्थामै परनिर्भर बनाइदिन सक्छ । उसको ऊर्जाशील समय बेकार हुन जान्छ, अन्ततः परिवार र समाजबाटै ऊ तिरस्कृत/बहिष्कृत हुन्छ । त्यसैले विश्वस्वास्थ्य सङ्गठनले विश्वव्यापी रूपमा नै अशक्तताको प्रमुख कारकतत्वका रूपमा यस रोगलाई सूचीकृत गरेको छ ।

विश्व स्वास्थ्य संघको तथ्याङ्क अनुसार विश्व जनसंख्याको करीब ०.५ प्रतिशतमा यो रोग रहेको अनुमान छ । अर्थात् झण्डै ३ करोड विश्ववासी ‘सिजोफ्रेनिया’ सँगै बाँचिरहेका छन् । यससँग सम्बन्धित ‘साइकोसिस’, ‘डेल्यूजनल डिस्अर्डर’ आदिको पनि गणना गर्ने हो भने त अझै भयावह बन्छ यसको तस्वीर ।

सिजोफ्रेनियाबाट आक्रान्तहरूमध्ये ५–१० प्रतिशतले आत्महत्या गर्ने र ६–७ गुणा बढी बेरोजगार रहने आँकडा प्रक्षेपण गरिएको छ । ‘सिजोफ्रेनिया’ का रोगीहरू अत्यधिक धूम्रपान गर्न रुचाउँछन्; तिनमा उच्च रक्तचाप अनि मधुमेह जस्ता रोगहरू पनि बढी नै पाइन्छन् । परिणामतः उपचार नगरेको खण्डमा औसत व्यक्तिभन्दा १५–२० वर्ष अघि नै तिनले मृत्युवरण गर्ने समेत देखिएको छ ।

तथ्याङ्क यस्तो डरलाग्दो पाइए तापनि यो निको नै नहुने रोग भने होइन । नियमित औषधि सेवन/उपचार गरेमा सिजोफ्रेनियाका बिरामीले पनि अरूहरू जस्तै आफ्नो काम, पेशा वा व्यवसाय गरेर आत्मनिर्भर, स्वाभिमानी र सार्थक जीवन बाँच्न सक्छन् । तर अपशोच ! विश्वका करीब ५० प्रतिशत ‘सिजोफ्रेनिया’ रोगीहरू उचित उपचारको पहुँचमा छैनन्, त्यस्ता उपचारविहीन बिरामीहरू ९० प्रतिशत हाम्रो जस्तो अल्पविकसित मुलुकमै रहेका छन् । हाम्रा सडक, बाटा–घाटा, पाटी–पौवामा अलपत्र तथा गाउँघरका गोठ, खोर र अँध्यारा कोठामा दाम्ला–डोरीको बन्धनमा बाँचिरहेका अधिकांश सिजोफ्रेनियाबाट ग्रसित अभागीहरू हुनसक्छन् ।

‘किन यस्तो त ?’ सिजोफ्रेनियाका बिरामीको बेहाल हुनुका कारणहरूको खोजी गर्दा अन्धविश्वास, अज्ञानता, चेतनाको कमी, गरीबी अनि लोकलज्जा जस्ता चिरपरिचित कारणहरू नै अगाडि आउँछन् । वास्तवमा यस्तै कारक तत्वहरूद्वारा ढाकिएको मध्ययुगीन विश्वमा भरपर्दो उपचारको अभावमा यस्ता रोगीहरू ‘पागल’ को दर्जामा रहन्थे । तिनलाई थुनिन्थ्यो, बाँधेर राखिन्थ्यो, यातना दिइन्थ्यो, अनि मर्न विवश पारिन्थ्यो । कति जलेर मर्थे, कोही भोकभोकै पर्थे, अनि कति त विभिन्न अन्य रोग/संक्रमणका कारण मृत्युवरण गर्दथे । सन् १९५० पछि सिजोफ्रेनियाको औषधिको विकास भएपछि त्यस्ता बिरामीले उचित उपचार पाए, तथाकथित ‘बहुलाहा’हरू सद्दे जीवन जिउने भए । अचेल हरेक अस्पतालमा सञ्चालित मानसिक स्वास्थ्य यूनिटबाट त्यस्ता बिरामीले उपचार पाइरहेका छन् । स्थानीय समुदायमा समेत–उपचार औषधि उपलब्ध हुन थालेपछि परिवारको माया प्रेमले तिनको उपचार प्रक्रिया सरल अनि सुलभ हुँदै गएको छ ।

तर पनि, हाम्रो जस्तो मुलुकमा चेतनाको कमीका कारण यस्ता रोगहरू लुकाइन्छ, आर्थिक अभावले गर्दा उपचार सुपथ अनि सबैका निम्ति सुगम पनि भइसकेको छैन । त्यसैले दैनन्दिन रूपमा बाँधिएका, थुनिएका, अनि सडकमा बरालिइरहेका मानसिक रोगीहरू (पक्कै ‘सिजोफ्रेनिया’) भेटिइरहन्छन् । यसरी रोगी मात्र नभई तिनका साथीभाइ, परिवारजन, स्वास्थ्यकर्मी, समाज अनि समग्र राष्ट्रसहित हामी सबै ‘सिजोफ्रेनिया’ सँगै बाँचिरहेछौं । यसबाट मुक्त भएर अगाडि बढ्न सबै पक्षको सामूहिक प्रयास अपरिहार्य छ ।

शिक्षक  मासिक, २०७६ मंसीर अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial