ठाउँसँगै स्थानीय वस्तु चिनौं !

नेपालको भूपरिवेश र संस्कृतिले प्रदान गरेको विविधतालाई केलायौं भने प्रायः हरेक जिल्लामा केही न केही मौलिक सम्पदा भेटिन सक्छन् । केही जिल्लाहरूको त त्यस्तै सम्पदा मार्फत पहिचान पनि कायम भएको छ । कृषि उत्पादन, हस्तकला, लोकगीत–संगीत, साहित्यकला एवं प्राकृतिक सम्पदाका मौलिक खुराकहरू मेचीदेखि महाकालीसम्म केही जिल्लास्तरमा, केही प्रदेशस्तरमा र केही गाउँ वा नगरपालिकास्तरका स्थानीय विशेषताका रूपमा स्थापित छन् । नेपाल भ्रमण वा नेपाल–अध्ययनको सिलसिलामा गरिएका केही टिपोटको सँगालो यहाँ प्रस्तुत गर्ने जमर्को गर्दैछु । स्थानविशेषका मौलिक ज्ञान, सीप र सम्पदाहरूलाई वर्तमान नेपालको आर्थिक, सामाजिक एवं भौतिक विकाससँग गाँस्न सकियो भने दिगो विकासमा दह्रो टेवा मिल्न जान्छ । पर्यटकीय क्षेत्रहरूमा तिनबाट विशेष योगदान पुग्न सक्छ ।

पञ्चायतकालमा स्थापना भएका ७५ जिल्ला, १४ अञ्चल र पाँच विकास क्षेत्रहरू वर्तमान संघीय व्यवस्थामा सात प्रदेश र ७७ जिल्लाको संरचनामा रूपान्तरित गरिएका छन् । त्यसो भए तापनि जिल्लाको नाम र रूपरेखामा खासै परिवर्तन भएको छैन । त्यसले गर्दा मेरा पुराना सम्झना–बिर्सनाका कुराहरूको सन्दर्भ पनि उति फेरबदल भएको छैन । बरु, कतिपय पुराना मौलिक सम्पदाहरू लोप हुने र नयाँ विषयवस्तुबाट विस्थापित हुने क्रम भने निकै बढेको छ । यस सन्दर्भमा कुरा कोट्याउँदा स्थानीय सम्पदा र सीपको संरक्षण र विकासमा केही नयाँ सोच आउन सकोस् भन्ने मनसायले यो लेखनी तयार पारेको हुँ ।


मेरो बाल्यकालमा देखेका र भोगेका तथा स्थानीय परिचय बोकेका वस्तुहरूमध्ये— खोकनाको तोरीको तेल, भादगाउँले टोपी तथा जुजुधौ, चित्लाङको कागेभेडा र रोशीको वाम माछा तथा पाटनको पालुङ्गोको साग विशेष सम्झनामा आउँछन् ।


काठमाडौं उपत्यकामा जन्मे/हुर्केको हुनाले तत्कालीन वागमती अञ्चलतिर मेरो ध्यान केन्द्रित हुन्छ । हाल यो क्षेत्र प्रदेश–३ भित्र पर्दछ । मेरो बाल्यकालमा देखेका र भोगेका तथा स्थानीय परिचय बोकेका वस्तुहरूमध्ये— खोकनाको तोरीको तेल, टोखाको चाकु, टिकन गाउँको चिउरा (टिकन बजी), खावा गाउँको दही (खावा धौ), पलाञ्चोके काने जुत्ता, नुवाकोटे पिंडालु, भादगाउँले टोपी तथा जुजुधौ (राज दही), फर्पिङको नास्पाती, त्रिशूलीको माछा (असला), चित्लाङको कागेभेडा, रसुवाको च्याङ्ग्रा–भेडा, सुनकोशीको सहर माछा र रोशीको वाम माछा तथा पाटनको पालुङ्गोको साग विशेष सम्झ्नामा आउँछन् । त्यस्तै काभ्रेको कोकिटा र खद्दर कपडा पनि प्रचलित जिनस नै थियो । तीमध्ये धेरै वस्तुहरू घरेलु उद्योगका रूपमा स्थापित पनि थिए । आज ती कतिपय उद्योग, वस्तु र तिनका उत्पादनसँग गाँसिएका कला, सीप र परम्परागत ज्ञान लोपप्रायः भएको अवस्था छ ।

पूर्वाञ्चलतिरका कुरा कोट्याउँदा हाल प्रदेश–१ भित्र पर्ने जिल्लाहरूमा भोजपुरको खुकुरी, ठोसेको फलाम, चैनपुरका भाँडा–वर्तन, भोजपुरे कोकिटा कपडा आदि पनि लोप हुने क्रममा छन् । तर ताप्लेजुङको तोङ्बा, इलामको चिया, संखुवासभाको अल्लो, तेह्रथुमको ढाका, धनकुटाको सुन्तला र जुनार, मूलघाटको उखु, दिङ्लाको रुद्राक्ष एवं तिनजुरे–मिल्केका गुराँसले लोकप्रियताको नयाँ दिशातिर प्रगति गर्दैछन् । त्यस्तै गरेर इलाम–ताप्लेजुङतिरको दुरुखो–छुर्पीले पनि समुद्रपारका नयाँ बजारहरू भेट्टाउन थालेका छन् । तर झापा, मोरङ र सुनसरीको सनपाटले भने बजारसँगै अस्तित्व नै गुमाएको अवस्था छ ।

प्रदेश–२ मा पर्ने तराईका जिल्लाहरूमा मेरो अनुभव ज्यादै न्यून छ । तर यो प्रदेश हात्तीको लागि प्रख्यात थियो । एक अंग्रेज अन्वेषक कर्कपाट्रिक (Kirkpatrick) द्वारा सन् १७९३ अर्थात् आजभन्दा २२६ वर्ष पहिले गरेको वर्णन अनुसार चितवन (प्रदेश–३) सोमेश्वरदेखि सप्तकोशीसम्मको वन क्षेत्रबाट प्रति वर्ष २०० देखि ३०० हात्ती भारतका राजारजौटाहरूका निम्ति निकासी हुन्थ्यो । आज हात्तीको वासस्थान पर्सा वन्यजन्तु आरक्षभित्र सीमित छ । तर सिरहाको सहलेसा वनको सुनाखरी भने अझै प्रत्येक वर्ष वैशाख संक्रान्तिमा फुल्ने क्रम जारी नै छ । प्रदेश–२ निश्चित रूपमा थुप्रै मौलिक वस्तुको रैथान हो । तिनलाई मिथिला संस्कृति लगायत अरू संस्कारबाट प्रष्ट्याउने काम विद्वान्हरूबाट हुने नै छ ।

वर्तमान नेपालको गण्डकी प्रदेश वा प्रदेश–४ तथा प्रदेश–५ भित्र पञ्चायतकालका पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गतका अधिकांश जिल्लाहरू पर्न आउँछन् । साविकको रुकुमलाई पूर्वी रुकुम र पश्चिम रुकुम तथा नवलपरासीलाई पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी दुई दुई जिल्लामा विभाजन गरिएको हुँदा नेपालका जिल्लाको संख्या ७५ बाट बढेर ७७ बन्न पुगेको छ । हालको प्रदेश–४ वा गण्डकी प्रदेशका स्थानविशेषलाई पहिचान दिलाउने वस्तुहरू सम्झ्ँदा कास्की, पोखराको सारङ्गी र सुन्तला अनि माझी, ताल र जाल (माछा मार्ने) दिमागमा आउँछन् । कास्की क्षेत्रको ‘जेठी बूढो’ नामक स्थानीय धान, त्यस्तै लुम्लेको आलु, मुस्ताङको जिम्बु तथा लुलु गाई, बाग्लुङको लोक्ता र हाते कागज, गुल्मीको कफी तथा तनहुँको मुंग्रे केरा वा बन्दीपुरको स्लेट (छाना छाउने ढुंगा) पनि बिर्सन मिल्दैन ।

बाह्रसिंगाः शुक्लाफाँटा, कञ्चनपुर । तस्वीर: भवानी/इकान्तिपुर

प्रदेश–५ भित्रका जिल्लाहरूलाई सम्झाउने विषयवस्तुमध्ये पाल्पाको करुवा, ढाकाटोपी तथा हाँसको छ्वेला (पोलेको मासु) र चुकौनी, (आलु र दहीको विशेष परिकार) अधिक चर्चामा आउँछन् । यस्तै गरेर पाल्पाको सूठो–अदुवा, प्यूठानको मूला, बाँके, नेपालगञ्जको राबडी (दूधको परिकार), भैरहवा–रूपन्देहीको पेडा वा बुटवल खस्यौलीको लाहा (छाप लगाउने लाहा) पनि स्थानीय पहिचानका वस्तु हुन् । यसै सन्दर्भमा दाङको बँधुवा कुखुराको भाले अचेल निकै चर्चाको विषय बनेको छ । कुखुराको भालेलाई ‘खसी’ बनाउने प्रविधि निश्चय पनि नौलो र मौलिक हो भन्नुमा अत्युक्ति नहोला । बर्दिया जिल्ला भने पाटेबाघको निम्ति नै विशेष प्रसिद्ध छ । त्यस्तै कपिलवस्तु र रूपन्देहीका तालहरू सारस चराका लागि र कर्णाली तथा मोहना नदी सोस (डल्फिन) का लागि प्रख्यात छन् ।

प्रदेश–६ अर्थात् कर्णाली प्रदेशमा साविकको मध्यपश्चिमाञ्चलका पहाडी एवं हिमाली जिल्लाहरू पर्न आउँछन् । कर्णाली प्रदेशको रैथाने वस्तुहरूको कुरा गर्दा जुम्ली मार्सी धान र त्यहाँको स्याउले मानसपटलमा अग्रणी स्थान ओगट्छ । त्यस्तै दैलेखको दही र सुन्तला, दुल्लूतिरको सावरको छाला, सल्यान र जाजरकोटको टिमुर तथा सुगन्धकोकिला (जडीबुटी), हुम्लाको डाले चुक र मुगुको च्यान्टे घोडा तथा राराको असला माछा (अन्यत्र कहीं नपाउने माछा), सल्यानको खोटे सल्ला तथा जुधालु बट्टाई चरा पनि उल्लेख गर्नुपर्ने कुरा हुन आउँछ ।

बैतडीलाई विशेष परिचय दिन सक्षम च्याखुरा । तस्वीरः इन्टरनेट

सुदूरपश्चिम प्रदेश वा प्रदेश–७ मा पहिलेको सुदूरपश्चिमाञ्चलको सेती तथा महाकाली अञ्चलका जिल्लाहरू समावेश छन् । यो प्रदेशको स्थानीय विशेषताको कुरा गर्दा डोटी, डडेल्धुरा आदि पहाडी जिल्लाले अग्रणी स्थान ओगट्छन् । त्यस सिलसिलामा डोटीको खप्तडतिर हुने बाघबुट्टे निगालोको नली (हुक्का, तमाखु तान्ने नली) र बझङको अभ्रक विशेष उल्लेख्य वस्तु हुन् । तर ती वस्तु आजभोलि खास प्रचलनमा छैनन् । यस्तै गरेर अछामको नौमुठ्ठे गाई, बझाङ एवं दार्चुलाको भाङ–चरेस तथा बैतडीको लडाकु च्याखुरा चरा पनि आजभोलि त्यति प्रचलनमा छैनन् । कैलाली र कञ्चनपुरको प्रख्यात विजयसाल पनि कम प्रयोगमा मात्र आउने गरेको छ । पर्वतीय क्षेत्रको हाडेओखर र दारको तेल पनि उति चल्तीमा छैन । मेरो सम्झ्नाको डडेल्धुरामा चिउरी र महले विशेष स्थान ओगट्थ्यो । कञ्चनपुरको शुक्लाफाँटमा चहार्ने बाह्रसिंगाका बथान र त्यहाँको पलाँसको वन भने अझै पनि लोकप्रिय छन् ।

विभिन्न क्षेत्रका जातजाति र समुदायविशेषले विकास गरेका खाद्य एवं पेय पदार्थको विविधताले यता आएर विशेष चर्चा पाउन थालेका छन् । जस्तो; चितवन, नारायणगढको तास (सेकुवा मासु सहितको खाजा परिकार), थकाली भान्छा र झवाइँखट्टे (चामलको दानालाई घिउमा फुराएर झानेको रक्सी), धरानको च्वाँचे (कालो बंगुर वा सुँगुर) को मासु, दाङको बँधिया कुखुराको मासु, ताप्लेजुङ–तेह्रथुम क्षेत्रको तोङ्बा (कोदोको गरमागरम जाँड) तथा काठमाडौंको नेवारी छ्वेला र ऐला (पोलेको मासु र रक्सी) आदि परिकारले राम्रै बजार लिइरहेको अवस्था छ । त्यसैगरी म्याग्दीको मह अर्थात् भीर मौरीको महले पनि नयाँ बजार ओगट्दैछ । यो महको मात लाग्दाखेरी केही रोगव्याध निको हुने विश्वास गरिन्छ । यस्तै विशेष परिकारको सन्दर्भमा संखुवासभाका राईहरूको वाचिपा (तिते) भने प्रचलनबाट हट्दैछ । सिंगो कुखुरालाई भुत्ला समेतै पोलेर तयार गरिएको मासुमा चामल, टिमुर, अदुवा आदि मसलामा पकाएको यो परिकार आफ्नो क्षेत्रमा लोकप्रिय भए तापनि अन्यत्र यसले स्थान पाउन सकेको छैन ।

वर्तमान नेपालको संघीय स्वरुपभित्र ७ प्रान्त, ७७ जिल्ला, ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाहरूमा लगभग ३५ हजार सार्वजनिक विद्यालय छन् । प्रत्येक विद्यालयले आफ्नो गाउँ, जिल्ला वा प्रान्तको प्रतिनिधित्व गर्ने स्थानीय पहिचानका विषयवस्तुतिर ध्यान पुर्‍याउन सके समृद्धिका लागि नयाँ स्वरुप निर्माण गर्न सकिन्छ । स्थानीय पाठ्यक्रमको प्रावधानलाई सदुपयोग गर्न सकियो भने प्रत्येक प्रान्त, जिल्ला वा गाउँले आफ्नो पहिचान र आफ्नो गौरवलाई अगाडि सार्ने अवसर मिल्न जान्छ ।

शिक्षक  मासिक, २०७६ मंसीर अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial