असल पाठमा तोडमरोड

काभ्रेपलाञ्चोक जिल्लामा पर्ने प्रसिद्ध बौद्ध तीर्थस्थल ‘नमोबुद्ध’ यताका दिनमा पर्यटकीय आकर्षणको गन्तव्य पनि बन्दै गएको छ । गौतम बुद्ध (इ.पू. ५६३–४८३) ले आफ्नो अघिल्लो जीवनमा यही स्थानमा प्राण त्यागेको र दान पारमिताको अपूर्व उदाहरण पनि यहीं प्रस्तुत गरेको भनी बौद्धहरू यो ठाउँप्रति अत्यन्त श्रद्धाभाव व्यक्त गर्दछन् । महायानी बौद्ध ग्रन्थ ‘सुवर्णप्रभास सूत्रम्’‘बोधिसत्व अवदानमाला’ मा महासत्व नाम गरेका राजकुमारको उल्लेख पाइन्छ । जस अनुसार उनी राजा महारथका तीन राजकुमारमध्ये कान्छो थिए । तीनै जना राजकुमार एक दिन वनक्रीडा गर्न वनतिर लागे । वनमा तिनीहरूले भर्खरै व्याएकी बघिनी र त्यसका डमरू देखे । बघिनी भोक र थकानले निकै कमजोर भइसकेकी थिई र डमरूहरू आमाको दूध खान खोजिरहेका थिए । बघिनी खानाकै अभावमा मृत्युवरण गर्ने अवस्थामा पुगिसकेकी थिई । यो दृश्य देखेर महासत्वमा अत्यन्तै करुणा जाग्यो । दुई दाजुसँग अगाडि बढिरहेका महासत्व केही भुले झैं गरी एक्लै फर्केर आए र आफ्नो शरीरबाट मासु काटी बघिनीलाई दिए । अन्ततः उनले त्यहीं आफ्नो प्राण त्यागे । वास्तवमा महासत्व नाम गरेका ती राजकुमार एक बोधिसत्व थिए । (भविष्यमा बुद्धत्व लाभ गरी बुद्ध हुनका लागि साधनारतलाई बोधिसत्व भनिन्छ) उनै बोधिसत्व अर्को जन्ममा गौतम बुद्धका रूपमा जन्मिएको ठानिन्छ ।

बौद्ध साहित्यमा धर्म–दर्शनका कुरा मात्रै छैनन् । गौतम बुद्धले आफ्नो पूर्वजन्मका सम्बन्धमा सुनाएका कुराहरू पनि त्यसमा संग्रहित छन्, जसलाई जातक कथा भनिन्छ । अर्को शब्दमा भन्दा, गौतम बुद्धले आफ्नो बोधिचर्या (बोधिसत्व भई सम्पादन गरेका साधनाहरू) का सम्बन्धमा बताएका कुरा नै जातक कथा हुन् । यी कथा पालि त्रिपिटक मा ५४७ वटा संग्रहित छन् भने त्यसभन्दा बाहेक पनि अन्य जातक कथाहरू प्रचलनमा रहेको पाइन्छ । महासत्व जातक पालि त्रिपिटक  मा संग्रहित छैन । सुवर्ण प्रभास सूत्र  बोधिसत्व माला  मा यसको उल्लेख भेटिन्छ । यो कथा नेपालमा लोकप्रिय हुने क्रममा स्थानीयकरण समेत भएको पाइन्छ । स्थानीयकरण गर्ने क्रममा देशको नाम हालको पनौती र वनक्रीडा गर्न जाँदा प्राण त्याग गरेको ठाउँ नमोबुद्ध भनी हाल प्रसिद्ध भएको ठाउँलाई देखाउने गरिएको छ ।

पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित कक्षा–७ को नेपाली विषयको पाठ्यपुस्तकमा भने महासत्व सम्बन्धी जातक कथालाई बेग्लै ढङ्गले प्रस्तुत गरिएको छ । ‘बोधिसत्वको कथा’ शीर्षकमा नारायण रिजालद्वारा लिखित उक्त पाठमा प्रस्तुत गरिएका विवरण बौद्ध समाजमा प्रचलित कथाभन्दा फरक छन्, तर गौतम बुद्धसँग नै सम्बन्धित गरेर देखाइएका छन् । त्यसैकारण यो समीक्षा गर्नु परेको छ ।

मूल कथामा ठाउँविशेषको नाम उल्लेख नभए पनि नेपाली जनमानसले राजकुमार महासत्व हालको पनौतीका हुन् भन्ने कुरा मान्दै आएको छ । यस आख्यानसँग सम्बन्धित गरेर पनौतीमा स्थानविशेष र सांस्कृृतिक उत्सव हुने गरेबाट जनजीवनसँग यसको घनिष्ट सम्बन्ध रहेको बुझन सकिन्छ । तर पाठ्यपुस्तकका लेखकले यस पाठमा ‘नेपालको पहाडी क्षेत्रको कुनै गाउँमा एक जना सम्पन्न मानिस बस्ने गरेको, उनको घरमा जन्मेको एक शिशुको नाम बोधिसत्व राखिएको र सोही शिशु प्राण त्याग गरी स्वर्गमा गई पुनः पुनः पृथ्वीमा जन्मी गौतम बुद्ध बनेको’ भनी माथि उल्लिखित जातक कथाको प्रसङ्गलाई अत्यन्तै पृथक् ढङ्गले प्रस्तुत गरेका छन् ।
बौद्ध जातक कथाहरूलाई ऐतिहासिक सन्दर्भमा लिनु मनासिव हुँँदैन । गौतम बुद्ध र उनको जीवनी ऐतिहासिक भए पनि उनका पूर्व जीवनका कुराहरू इतिहाससम्मत छैनन् । तर बौद्ध समाजमा स्थापित ती कथाहरू बौद्ध धर्म–दर्शन बुझन–बुझउन सहायकसिद्ध भने हुन्छन् । प्रचलित कथालाई तोडमोड गरेर प्रस्तुत गर्नु भनेको तथ्यमाथि खेलवाड गर्नु हो । राजा महारथको कान्छो राजकुमार भनी स्थापित लोक–मान्यता ‘कुनै एउटा ठाउँको सम्पन्न मानिस र छोराको नाम बोधिसत्व राखिएको’ भन्नु यथार्थलाई तोडमोड गरी मनलाग्दी प्रस्तुत गर्नु हो । यो पाठले जुन सन्देश दिन खोजेको हो, त्यसनिम्ति प्रचलित तथ्यहरू नै प्रस्तुत गर्दा केही फरक पर्दैनथ्यो ।

पाठ अनुसार बोधिसत्व नामका ती पात्र ज्ञान र ध्यान सिकाउने र शिष्यगण नै राखेर बस्ने हैसियत राख्दथे । एक दिन अजित नामका एक काल्पनिक पात्रले आफूलाई पनि साथै लैजान अनुरोध गर्दछन् र गुरु–चेला हालको काभ्रे जिल्लाको धुलिखेलभन्दा पूर्वतर्फको जङ्गलमा पुग्छन् । त्यहाँ जङ्गलको बीचमा एउटा गुफाभित्र भर्खरै व्याएको कमजोर बघिनी र दूध खान नपाएका बच्चाहरू हुन्छन् । बघिनीले भोकाएको झेंकमा आफ्नै बच्चालाई खान लागेको उनीहरूले देख्छन् र बघिनीको आहाराका लागि कुनै जन्तु खोजेर ल्याउन बोधिसत्वले अजितलाई पठाउँछन् ।

बोधिसत्वमा सबै प्राणीलाई समता भावले हेर्ने गुण हुन्छ । तर यो पाठमा बघिनीको ज्यान जोगाउन उनले अर्को प्राणीको ज्यान मार्न खोजेको कुरा प्रस्तुत गरिएको छ; जुन बोधिसत्वको आदर्श अनुरूप छैन । बोधिसत्वहरूले साधनाका क्रममा अरूको भलाइका लागि अनेक उपाय अपनाउने र अन्तिम विकल्पका रूपमा आफ्नै प्राण समेत त्याग गरिदिने गर्छन् । अरूको भलाइका लागि आफ्नो प्राण नै न्यौछावर गरिदिने आदर्शकै कारण बौद्ध धर्ममा बोधिसत्वहरूको ठूलो मान्यता छ । तर पाठमा ध्यान दृष्टिले हेर्दा आफ्नो आयु सकिनै लागेको देखेर बघिनीका लागि आफैं आहारा भइदिने निर्णय गरेको छ । बोधिसत्व आदर्शमा यस्तो दान पारमिता पूरा गर्ने क्रममा हिसाब–किताब गरेर बस्दैनन् ।

महासत्व नामका ती बोधिसत्वका हाड निदान गरी चैत्यको निर्माण गरिएको कुरा स्वयं गौतम बुद्धले आफ्ना शिष्यहरूलाई सुनाएको कुरा आख्यानमा उल्लेख छ । स्थानीय जनविश्वास अनुसार गौतम बुद्ध स्वयम्भू महाचैत्यको दर्शनका लागि भिक्षुगण सहित काठमाडौं उपत्यकामा आउँदा हाल ‘नमोबुद्ध’ अवस्थित स्थलमा पनि पुगेको र पृथ्वीको गर्भभित्र पुरिएर रहेको स्तूपलाई प्रकाशमा ल्याएर पूर्व वृत्तान्त (जातक कथा) सुनाएको बताइन्छ । तर गौतम बुद्ध काठमाडौं उपत्यका आएको लगायतका कुराहरू इतिहाससम्मत भने होइनन् ।

महासत्व जातकको प्रसङ्गले टड्कारो रूपमा दुई कुराको महत्व राख्दछ । पहिलो, यसले बौद्ध धर्मको आदर्शबारे सर्वसाधारणलाई पनि सजिलैैसँग जानकारी दिन्छ । दोस्रो, बौद्ध समाजमा तीर्थस्थलका रूपमा रहेको नमोबुद्ध आजभोलि पर्यटकीय स्थलका रूपमा विकसित भएको छ भने सो स्थलको महत्व बढाउने मुख्य आधार यही जातक कथा हो ।

एउटा बौद्ध आख्यान प्रस्तुत गरिएको पाठमा बौद्ध आदर्शको छनक दिन नसक्नु उक्त पाठ्यपुस्तकका लेखक तथा सम्पादकको कमजोरी हो भने स्थापित कथाका विवरणहरूलाई अनावश्यक रूपमा तोडमोड गर्नु अर्को ठूलो भूल । समय र उमेर अनुसार पाठ्यपुस्तकमा प्राचीन आख्यानहरूलाई सरलीकृत गर्नुपर्दछ, तर तिनलाई तोडमरोड गर्नु अनैतिक हुन्छ । यसले उक्त पाठ्यपुस्तकको सम्पादनमा परिपक्वता नभएको पुष्टि हुन्छ ।



 

commercial commercial commercial commercial