विश्व–वनस्पति सम्पदामा नेपालको देन

अब हामी पनि नेपालबाट अहिलेसम्म १६५८ प्रजातिका फूल फुल्ने वनस्पति विश्वको निम्ति फेला पारिएका छन् भन्न सक्ने अवस्थामा पुगेका छौं। यो निश्चय नै राष्ट्रको लागि गौरवको विषय हो ।

भक्तबहादुर रास्कोटीले यस वर्ष सुनाखरीका दुईवटा प्रजाति— क्यालेन्थी हिमालइकम् (Calanthe himaicum) र ह्याबेनारिया पाल्पेन्सिस् (Habenaria palpensis) विश्वलाई उपहार दिए । उनले ती प्रजाति नेपालका डोटी र पाल्पा जिल्लामा पत्ता लगाएका (डिस्कभर्ड गरेका) हुन् । यस सम्बन्धी विस्तृत जानकारी वनस्पति पहिचान सम्बन्धी विश्व प्रसिद्ध जर्नल फाइटोट्याक्सा (PHYTOTAXA) को २०१९ मार्च संस्करणमा प्रकाशित छ । योसँगै नेपालमा फेला परेका फूल फुल्ने वनस्पति प्रजातिको संख्या १६५८ पुगेको तथ्य केशवराज राजभण्डारी, संजीवकुमार राई, मोहनदेव जोशी, सुभाश खत्री, गंगादत्त भट्ट र रीता क्षेत्री लिखित फ्लावरिङ प्लान्टस् डिस्कोभर्ड फ्रम नेपाल शीर्षकको पुस्तकबाट थाहा हुन्छ ।

राजभण्डारी, राई आदिद्वारा लिखित उक्त पुस्तक वन मन्त्रालय अन्तर्गत वनस्पति विभागले जुलाई २०१९ मा प्रकाशित गरेको हो । सो पुस्तकमा नेपालमा पत्ता लागेका वनस्पति कसले, कहिले, कहाँबाट सङ्कलन गरेको थियो, त्यो जानकारी सर्वप्रथम कुन जर्नल वा पुस्तकमा छापियो र ती वानस्पतिक नमूना कुन संग्रहालयमा संग्रहित छन् भन्ने पनि खुलाइएको छ । नेपालबाट पत्ता लागेका वनस्पति सम्बन्धी तीन शताब्दी लामो इतिहास केलाउँदा १९औं शताब्दीमा सबैभन्दा बढी ‘डिस्कभर्ड’ भएको देखिन्छ ।

ह्यामिल्टन, स्मिथ र डन
वैज्ञानिक अध्ययन–अनुसन्धान तथा प्रमाणका निम्ति संक्षिप्त विवरण (फिल्ड–नोट) सहित कुनै वनस्पतिको नमूना ४३x२९ सेमीको बाक्लो सेतो कागजमा टाँसेर राखिएको सामग्री हर्बेरियम (Herbarium) हो । बुचानन फ्रान्सिस् ह्यामिल्टनले सन् १८०२–०३ ताका काठमाडौं उपत्यकामा करीब एक हजार प्रजातिका वानस्पतिक नमूना संकलन गरेका थिए । उनले ती नमूनाको एक सेट जर्नलमा प्रकाशन गर्नका लागि जेम्स इडवार्ड स्मिथलाई हस्तान्तरण गरे । ह्यामिल्टनका मित्र स्मिथ आफैं पनि एक मूर्धन्य वनस्पति विज्ञ थिए । उनले एक्जोटिक बोटनी (Exotic Botany) नामक जर्नल सम्पादन गर्थे । ह्यामिल्टनले उपलब्ध गराएका नमूना तथा तिनको स्केच र विवरण पहिलो पटक सन् १८०५ मा फिगर्स एण्ड डिस्क्रिप्सन अफ नेपाल प्लान्टस् शीर्षकमा स्मिथको जर्नलमा प्रकाशित भए । नेपालको वनस्पति सम्बन्धमा छापिएको त्यो नै पहिलो वैज्ञानिक आलेख हो । उक्त लेखमा विश्वकै निम्ति नेपालबाट पत्ता लागेको बेगोनिया पिक्टा (Begonia picta) को सचित्र विवरण पहिलो नम्बरमा छ । यसबाट नेपालबाट विश्वको निम्ति ‘डिस्कभर्ड’ भएको पहिलो वनस्पति बेगोनिया पिक्टा (मगर काँचे) हो भन्ने बुझिन्छ ।

गोफाला (Holboellia latifolia)

स्मिथले एक्जोटिक बोटनी  पछि ब्रिटिश इन्साइक्लोपेडिया  को पनि सम्पादन गरे । यसमा पनि नेपालको वनस्पतिबारे सन् १८१९ सम्म फाट्टफुट्ट छापियो । ती दुवै जर्नलमा ह्यामिल्टनद्वारा संकलित वनस्पतिमध्ये करीब दुई प्रतिशत मात्र प्रकाशित भए । बाँकी नमूना २०औं शताब्दीको अन्तसम्म अध्ययन नगरिएकै अवस्थामा रहे । रोयल बोटानिकल गार्डेनका मार्क फ्रान्सिस् वाट्सनका अनुसार हिजोआज ती नमूना लिन्नियन सोसाइटी अफ लन्डन (The Linnean Society of London) मा संग्रहित छन् ।

ह्यामिल्टनले आफूसँग बाँकी रहेको हर्बेरियमको अर्को एक सेट लण्डनकै संग्रहकर्ता एैल्मर बोर्क ल्यामबर्टलाई पनि दिएका थिए । उनलाई दिनुको कारण ल्यामबर्टको निजी संग्रहालयमा विश्वका करीब ५० हजार वनस्पतिका नमूना संग्रहित थिए । उक्त संग्रहालयमा वनस्पति विज्ञहरू डि क्यान्डोले, जर्ज डन, डेभिड डन आदिले नमूना अध्ययन गरी नेपाल लगायत एशियाका सयौं–सयौं वनस्पतिको इतिवृत्त तयार पारे ।

वनस्पतिको वर्गीकरण, पहिचान र नामकरण अर्थात् प्लान्ट ट्याक्सोनोमी सम्बन्धी लेख तथा पुस्तकमा वनस्पतिको वैज्ञानिक नाम पछि उक्त वनस्पति पत्ता लगाउने वैज्ञानिकको पनि संक्षिप्त नाम लेखिन्छ । यस अनुसार कुनै वनस्पतिको वैज्ञानिक नामपछि बुच् डट् ड्यास् हयाम् डट् (Buch.-Ham.), डिसी डट् (DC.), जे डट् डन (J. Don), डि डट् डन (D. Don), एसएम डट् (Sm.) आदि लेखिएको छ भने त्यसले क्रमशः बुचानन् फ्रान्सिस् ह्यामिल्टन, डि क्यान्डोले, जर्ज डन, डेभिड डन, जेम्स ईडवार्ड स्मिथले पत्ता लगाएका वनस्पति हुन् भन्ने जनाउँछ ।

डेभिड डन एैल्मर बोर्क ल्यामबर्टको संग्रहालयका लाइबेरियन पनि थिए । ह्यामिल्टनले एैल्मर बोर्क ल्यामबर्टलाई उपलब्ध गराएका वनस्पतिका नमूना डेभिड डनले पनि अध्ययन गरे । यसै आधारमा डेभिड डन लिखित प्रोड्रोमस फ्लोरा नेपालेन्सिस्  सन् १८२५ मा छापियो । सो पुस्तकमा ७६६ प्रजातिका वनस्पतिको वृत्तान्त ल्याटिन भाषामा लेखिएको छ । तीमध्ये दुईतिहाइ वनस्पति प्रजाति सोही पुस्तक मार्फत पहिलो पटक सार्वजनिक जानकारीमा आएका थिए । त्यो जानकारी मार्फत पश्चिमा देशमा नेपालमा पत्ता लाग्न बाँकी (डिस्कभर्ड नभएका) प्रशस्त वनस्पति पाइन्छन् भन्ने सन्देश फैलियो । केशवराज राजभण्डारी लिखित हिष्टोरी अफ बोटानिकल इक्सप्लोरेसन इन नेपाल: १८०२–२०१५ (सन् २०१६) शीर्षकको लेख अनुसार ह्यामिल्टनले काठमाडौंको स्वयम्भूबाट मात्रै विश्वका निम्ति नौला ५० वटा नयाँ प्रजातिका वनस्पति संकलन गरेका थिए ।

गार्डनर, वालिच र रक्सबर्घ
इडवार्ड गार्डनर नेपालका लागि इष्ट इण्डिया कम्पनीको पहिलो स्थायी आवासीय प्रतिनिधि भएर सन् १८१६ मा काठमाडौं आएका थिए । त्यसवेला रोयल बोटानिकल गार्डेन; कलकत्ताको सुपरीटेन्डेन्ट (प्रमुख) नाथानियल वालिच थिए । गार्डनर र वालिच एकअर्काका मित्र थिए । वालिचले गार्डनरलाई नेपालबाट वनस्पति सङ्कलन गरेर कलकत्ता पठाउन अनुरोध गरे । त्यही प्रयोजनको निम्ति रोबर्ट स्टुअर्ट, फ्रान्सिस् डि सिल्भा र भरत सिंले काठमाडौं उपत्यका र आसपास क्षेत्रबाट वनस्पति सङ्कलन गरे । वालिच आफैं पनि सन् १८२० मा आएर एक वर्षसम्म काठमाडौं बसे । उनीहरूले गोसाइँकुण्डबाट समेत वनस्पति सङ्कलन गरेका थिए । त्यसवेला नेपालबाट सयौं–सयौं डोको वनस्पति कलकत्ता लगेको जानकारी सन् १८२२ मा वालिचद्वारा लिखित एक्स्ट्रयाक्ट पब्लिक लेटर्स् फ्रम बिन्गाल शीर्षकको प्रतिवेदनबाट थाहा पाइन्छ । त्यसअनुसार पहिलो र दशौं खेपमा क्रमशः ४४ र २०० डोको वनस्पतिका नमूना कलकत्ता लगिएको थियो ।


फूल फुल्ने २४ वटा र उन्यूका चारवटा प्रजातिको नामकरणमा नेपाली व्यत्तिाmको नाम जोडिएको छ। त्यस्तै, फूल फुल्ने २४५ प्रजातिको वैज्ञानिक नाममा नेपाल बुझाउने नेपालेन्सिस्, नपाउलेन्सिस्, नेपालिका, निपालेन्सिस् आदि शब्द प्रयोग भएका छन्।

वालिचले टेन्टामेन फ्लोरा नापालेन्सिस् इलुस्ट्रेड: बोटानिकल डिस्क्रिप्सन एण्ड लिथोग्राफिक फिगर्स सेलेक्टेडेड निपाल प्लान्टस  शीर्षकको पुस्तक दुई खण्डमा सन् १८२४–२६ मा निकाले । उक्त पुस्तकमा वालिचले नेपालमा पत्ता लगाएका गोफाला (Holboellia latifolia), चाप (Magnolia insignis) लगायत दर्जनौं दर्जन वनस्पति परेका छन् । यसैगरी उनका प्लान्टा एशियाटिक रारिओर्स्  शीर्षकको पुस्तक तीन खण्डमा सन् १८३०–३२ मा प्रकाशित भयो । यो पुस्तक सबै खण्ड हिजोआज अप्राप्य जस्तै छन् ।

विलियम रक्सबर्घ रोयल बोटानिकल गार्डेन, कलकत्तामा सन् १८१४ सम्म सुपरीटेन्डेन्ट थिए । यहाँ अलिकति रक्सबर्घ र नाथानियल वालिच बीचको सम्बन्ध केलाउनु आवश्यक हुन्छ । वालिच डेनिस वनस्पति विज्ञ थिए । उनी सन् १८०७ मा कलकत्तास्थित ‘सेराम्पुर’ मा डेनिस कारिन्दाको रूपमा नियुक्त थिए । सेराम्पुरलाई पहिले श्रीरामपुर भनिन्थ्यो । डेनिसले सेराम्पुर भन्न थालेपछि यसको नाम नै सेराम्पुर भयो । उता युरोपमा डेनमार्कले नेपोलियन बोनापार्टलाई साथ दिइरहेको थियो । त्यसैको बदलामा यता भारतमा इष्ट इण्डिया कम्पनी (ब्रिटिश) ले सन् १८०८ मा डेनिस नियन्त्रित सेराम्पुर कब्जा गर्‍यो । त्यहाँ कार्यरत सबै डेनिस ‘युद्धबन्दी’ बनाइए । रक्सबर्घले वालिचको वनस्पति अध्ययन–अनुसन्धान दक्षताबारे पहिल्यै सुनेका थिए । त्यसैले, उनले वालिचलाई युद्धबन्दीबाट मुक्त गरेर सन् १८०९ मा रोयल बोटानिकल गार्डेन कलकत्ताको कारिन्दा बनाए ।

रक्सबर्घले भारतीय उपमहाद्वीपमा पाइने वनस्पतिबारे तीन खण्डमा फ्लोरा इन्डिका  को पाण्डुलिपि तयार गरेका थिए । उनको स्वास्थ्य नाजुक भएकाले उक्त पाण्डुलिपि रोयल बोटानिकल गार्डेन, कलकत्ताकै उपप्रमुख नाथानियल वाचिललाई सन् १८१४ मा सुम्पेर रक्सबर्घ बेलायत फर्के । रक्सबर्घको फ्लोरा इन्डिका को १ र २ खण्ड सन् १८२० र १८२४ मा विलियम क्यारीको सम्पादनमा प्रकाशित भयो । सो पुस्तकमा वालिचले नेपालबाट सङ्कलन गरेका केही दर्जन वनस्पति सहित करीब २०० प्रजाति समाविष्ट छन् । ती दुई खण्ड प्रकाशन हुँदा रक्सबर्घको निधन भइसकेको थियो । त्यसवेला उनका तीन भाइ छोरा भारतमा सैनिकको उच्च ओहोदामा थिए । आफ्ना बुबाको पुस्तकमा नाथानियल वालिचको नाम उल्लेख भएको रक्सबर्घका छोराहरूलाई पाच्य भएन । उनीहरूले विलियम क्यारीलाई सम्पादन गर्न लगाई वालिचबाट थपिएका सबै प्रजाति हटाएर उक्त दुई खण्डको पुनप्र्रकाशन गरे । साथै उनीहरूले बाँकी रहेको तेस्रो खण्ड पनि प्रकाशन गराए । रक्सबर्घका छोराहरूले आफूले प्रकाशन गरेको पुस्तकका सबै खण्ड संसारका विभिन्न पुस्तकालयमा पठाए । पहिले छापिएका सबै प्रति फिर्ता गरिएका थिए ।

सन् १९६६ मा अमेरिकाका वनस्पति विज्ञ डि.एच. निकोल्सन वनस्पति अध्ययन गर्न फुल ब्राइट स्कलरसिपमा नेपाल आएका थिए । उनले सिन्दुरे वनस्पति अन्तर्गत नेपालको एक रैथाने प्रजाति ‘म्यालोटस बाइकार्पेलाटस्’ ९ःबिियतगक दष्अबचउभििबतगक० पत्ता लगाए । उनैले रक्सबर्घको फ्लोरा इन्डिका को १ र २ खण्डको नयाँ भूमिका लेखेर सन् १९७५ मा न्यूयोर्कबाट छपाए । तर, आजसम्म पनि रक्सबर्घ लिखित पुस्तकमा नेपालका वनस्पति समावेश छन् भन्ने कुरा धेरै कमलाई मात्र जानकारी छ ।

हूकर र डुथी
जोसेफ डाल्टन हूकर वनस्पति संकलन गर्न नोभेम्बर १८४८ मा दार्जीलिङबाट नेपालतर्फ प्रवेश गरे । हूकर जंगबहादुर राणाबाट प्राप्त ६ जना नेपाली सिपाही र दुई कर्मचारी सहित जम्मा ५६ जनाको टोली लिएर डिसेम्बर महीनामा ताप्लेजुङको ओलाङचुङगोला पुगेका थिए । तिनी ओलाङचुङबाट तिब्बततर्फ जान चाहन्थे । तर, जाडोका कारण भरियाहरू जान नमाने पछि ताप्लेजुङको उत्तर–पूर्वी क्षेत्र घुन्सा हुँदै दार्जीलिङ फर्के । उनी तीन वर्षका लागि भारत आएका थिए । जङ्गबहादुर राणा सन् १८५० मा बेलायत जाँदै गर्दा हूकरले कलकत्तामा भेटेर नेपालको पश्चिम भूभागमा वनस्पति संकलन गर्न अनुमति माग्छन् । जङ्गबहादुर बेलायतबाट फर्केपछि अनुमति लिएर हूकर पश्चिमका हिमालय क्षेत्रमा वनस्पति संकलन गर्न जान्छन् ।

सन् १८५५ मा हूकर र थोमस थोम्सनले फ्लोरा इन्डिका भोलम वान  शीर्षकमा पुस्तक निकाले । तर उक्त पुस्तकमा हूकरले नेपालबाट संकलन गरिएको वनस्पतिका नमूना अध्ययन गर्न समय नपाएको कारण देखाइ नगन्य मात्रामा मात्र समावेश गरेका थिए । बरू, ती नमूना हूकरका पिता विलियम ज्याक्सन हूकर र थोमस थोम्सनले अध्ययन गरे । पुस्तकमा विलियम ज्याक्सन हूकरले पत्ता लगाएको पापाभर वालिची (Papaver wallichii) परेको छ । थोम्सनले अध्ययन गरेका नमूनामध्ये चार वटा प्रजाति जोफेस डाल्टन हूकर र थोमस थोम्सनबाट पत्ता लागेको लेखिएको छ । पछि हूकरको सम्पादनमा फ्लोरा अफ ब्रिटिश इन्डिया  का ७ भाग सन् १८७२–१८९७ मा प्रकाशित भयो । ती भागमा नेपालसँग सम्बन्धित ८४५ प्रजातिका वनस्पति समावेश छन् । जसमा हूकरबाट मात्रै संकलित वनस्पतिका ४१ प्रजाति अनि हूकर र थोमस थोम्सनले संयुक्त रूपमा संकलन गरेका १९ प्रजाति छन् । सन् १८७६ मा जोह्न स्कुल्लीले पनि महाकाली उपत्यकामा वनस्पति संकलन गरेका थिए । हूकरले स्कुल्लीबाट संकलित नमूनामध्ये सम्मानस्वरुप एउटा वनस्पति प्रजाति स्कुल्लीकै नाममा इम्पाटियन्स् स्कुल्ली (Impatiens scullyi) आफ्नो पुस्तकम समावेश गरेका छन् ।

चाँप  (Magnolia insignis)

जुलाई १८८५ मा जोह्न फिर्मिन्गर डुथी सुदूरपश्चिम तराईबाट दार्चुलाको नम्पागडसम्म पुगेका थिए । उनको संकलनबाट करीब आधा दर्जन नयाँ वनस्पति पत्ता लागेका थिए । एक, दुई वटा वनस्पति डुथी आफैंले फेला पारेका थिए । एउटा भने उनैको सम्मानमा सन् १९५९ मा अक्जिट्रपिस डुथिईएना (Oxytropis duthieana)अर्पण गरियो ।

संक्षेपमा भन्दा विश्वका निम्ति नेपालमा पत्ता लागेका (डिस्कोभर्ड) फूल फुल्ने १६५८ प्रजातिमध्ये दुईतिहाइ जति वनस्पति १९औं शताब्दीमै फेला पारिएका हुन् । फूल फुल्ने २४ वटा र उन्यूका ४ वटा प्रजातिको नामकरणमा नेपाली व्यक्तिको नाम जोडिएको छ । त्यस्तै, २४५ प्रजाति (फूल फुल्ने मात्र) को वैज्ञानिक नाममा नेपाल बुझाउने नेपालेन्सिस्, नपाउलेन्सिस्, नेपालिका, निपालेन्सिस् आदि शब्द प्रयोग भएका छन् । शुरूमा नेपालमा फेला पारिएको अर्थ बुझाउने नेपालेन्सिस आदि शब्द प्रयोग भएका २४५ मध्ये २०६ प्रजातिका वनस्पति भारत, भूटान, बङ्गलादेश, चीन लगायतका देशमा पनि पाइन्छन् ।

विश्वका विभिन्न देशले आ–आफ्ना देशबाट पत्ता लागेका वनस्पतिका एकमुष्ट तथ्याङ्क प्रकाशन गर्ने गरेका छन् । उनीहरू स–गौरव ‘हाम्रो देशबाट यति प्रजातिका वनस्पति वा जन्तु विश्वको निम्ति फेला पारिएका छन्’ भन्ने गर्छन् । अब हामी पनि नेपालबाट अहिलेसम्म १६५८ प्रजातिका फूल फुल्ने वनस्पति विश्वको निम्ति फेला पारिएका (डिस्कभर्ड) छन् भन्न सक्ने अवस्थामा पुगेका छौं । यो निश्चय नै राष्ट्रको लागि गौरवको विषय हो । यसरी, फ्लावरिङ प्लान्टस् डिस्कभर्ड फ्रम नेपाल शीर्षकको पुस्तकका लेखकहरूले समस्त नेपालीलाई गुण लगाएका छन् । लेखक गणलाई साधुवाद ।

शिक्षक  मासिक, २०७६ पुस अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial